विचार/विश्‍लेषण

सिंहदरबार ‘रेट्रोफिटिङ’ सकारात्मक

- सम्पादकीय

वैशाख ८, २०७४-दुई वर्षअघिको शक्तिशाली भूकम्पमा क्षति बेहोरेको भनिएको सिंहदरबारको मुख्य प्रशासकीय भवनलाई जोगाउने कि भत्काउने भन्ने बहसले निकास पाउने स्थिति देखिएको छ । सम्बद्ध विज्ञ र प्राविधिकहरूले सिंहदरबार पश्चिमी मोहडाअन्तर्गतका भित्री कक्षमा गरेको स्थलगत भ्रमणपछि बाहिर चर्चामा आएजस्तो यो मोहडा जोगाउनै नसकिने गरी ‘क्षतिग्रस्त’ नबनेको भनाइ सार्वजनिक भएको छ । विश्व मानचित्रमा नेपाललाई चिनाउने एउटा ‘सिग्नेचर’ मानिने सिंहदरबारलाई जे–जसरी सकिन्छ, प्रबलीकरण (रेट्रोफिटिङ) नै गर्नुपर्ने साझा रायसुझाव आएका छन् जुन आफैंमा सकारात्मक छ । प्रबलीकरणले एसियाली कलात्मक आकृतिको भवनमै विशिष्ट मानिने सिंहदरबारको स्वरूपलाई जोगाउने निश्चित छ । 

भूकम्पपछि सुरु भएको राष्ट्रिय पुनर्निर्माण अभियानमा कामभन्दा बढी कुरा भइरहेको यथार्थलाई ढाकछोप गर्न सकिने स्थिति छैन । भूकम्प प्रभावित क्षेत्रमा समेत स्पष्ट देखिने गरी पुनर्निर्माण तथा मर्मत–सम्भारका काम नभइरहेका बेला सिंहदरबार र यस्तै सम्पदाजन्य संरचनाको साख जोगाउने दिशामा त्यति प्राथमिकतापूर्वक काम हुन सकेको छैन । विश्व सम्पदामा सूचीकृत स्थलहरूसहित प्रमुख सम्पदाको हेरदेख वा पुनर्निर्माणमा विभिन्न दातृ निकायहरूले साथ दिने भनिए पनि त्यसमा पनि खासै उपलब्धि देखा पर्न सकेको छैन । सिंहदरबारका हकमा पनि बाहिरी सतहबाट गरिएको अध्यनलाई आधार मान्दै यथार्थ धरातलको विश्लेषण हुन सकिरहेकै थिएन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा पहिलोपटक विज्ञ समूहले सिंहदरबारमा गरेको स्थलगत भ्रमणमा जापानबाट आएका विषयविद्ले दिएको राय–सुझाव अर्थपूर्ण छ । 

जापानको क्युसु टापुमा पर्ने कुमामोतो राज्यमा गत वर्ष अप्रिल १६ मा आएको ७ म्याग्निच्युडको भूकम्पमा परेर त्यहाँको ५ सय वर्ष पुरानो ‘कुमामोतो कासल’ (दरबार) भत्केपछि त्यसमा सबलीकरणको काम गरिरहेको निप्पोन कोइ समूहका इन्जिनियरले सम्पदा जोगाउने अर्थमा मूल्यको हिसाब नहुने अनुभव सुनाएका छन् । कुमामोतो कासललाई २० वर्षे योजना बनाएर प्रबलीकरण गर्ने काम सुरु गरिएको अनुभव सुनाएर सिंहदरबारलाई ‘जोगाउन सकिने’ सकारात्मक अनुभव विज्ञले बाँडेका छन् । अब प्राधिकरणले सधैंजस्तै बहस र चर्चामा मात्रै आउन चाहने अभ्यासबाट अघि बढेर कार्य रूपमा पनि सिंहदरबार जगेर्नाका दिशामा परिणाम देखाउन सक्नुपर्छ । सिंहदरबार पुनर्निर्माणमा गठन भएको उपसमितिमा रहेका विज्ञ पदाधिकारीले सिंहदरबारको पश्चिम मोहडामा बाहिरबाट देखिएको ‘क्षतिग्रस्त यथास्थिति’ तत्काल न्यून गराउन मोहडाको छतमा त्रिपाल ओढाउने र स्काफोल्डिङको काम सुरु गर्ने भनेर सुझाव दिएको धेरै भइसकेको छ । तर, तत्कालै असर पर्ने र काममा देखिने संरक्षण–संवद्र्धनका दिशामा प्राधिकरणले समन्वयकारी भूमिका निभाउन सकेको छैन । कहिले सहरी विकास मन्त्रालयको कारण देखाएर अथवा कहिले आफ्नै अनिर्णयलाई अगाडि सारेर कुनै मर्मत–सम्भार र हेरदेख पाउन नसकिरहेको सिंहदरबारले दुई बर्खाको झरीपानी खेपिसकेको छ । अब रेट्रोफिटिङको तहमा विभिन्न तहबाट सकारात्मक बहस र सुझाव आउन थालिसकेको अवस्थामा प्राधिकरणले कार्यप्रगति देखाउन जरुरी छ ।      

अबको चरणमा संरचनागत रूपमा भित्री स्वरूप (स्ट्रक्चरल) को विस्तृत अध्ययनपछि सिंहदरबारले जीवन पाउन सक्ने आशा पलाएको छ । वास्तुकला र निर्माण शैलीका आधारमा सिंहदरबार सिंगो एउटा युगको ‘प्रतिनिधि सम्पदा’ मात्रै होइन, यो नेपाल– नेपालीको चिनारी जोडिएको ‘सिग्नेचर’ समेत हो । पहिलेजस्तै यसलाई भीडभाडयुक्त प्रशासकीय कार्यालयका रूपमा सञ्चालन गर्नु–गराउनुभन्दा कुनै विशेष संग्रहालय अथवा अवलोकन प्रयोजनको केन्द्रका रूपमा मात्रै उपयोग गर्नु उपयुक्त हुन्छ । 

प्रकाशित: वैशाख ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार