अर्थ / वाणिज्य

रकम हिनामिना गरी प्रबन्धक फरार

- कान्तिपुर संवाददाता , पोखरा

वैशाख ७, २०७४- बैंकको निक्षेप, ग्राहक तथा सर्वसाधारणको लाखौं रुपैयाँसहित यहाँको एक बैंकका शाखा प्रबन्धक फरार भएका छन् । कैलाश विकास बैंकको लामाचौरस्थित शाखा कार्यालयका प्रबन्धक रविचन्द्र खनाल सम्पर्कविहीन भएका हुन् । 

खनाल सम्पर्कविहीन भएपछि बैंकले शाखाको अडिट गरिरहेको छ । त्यसक्रममा डेढदेखि २ करोडसम्म बैंकको रकम हिनामिना गरेको हुन सक्ने देखिएको बैंकका सहायक महाप्रबन्धक सूर्य तिवारीले बताए । उनका अनुसार अडिटको काम भइरहेकाले घटबढ हुन सक्छ । तर, व्यक्तिगत रूपमा कति रकम उठाए भन्ने यकिन छैन । 

खनालले धेरै व्यक्तिसँग सापटी माग्ने, चर्को ब्याजको लोभ देखाएर ऋण लिने, बैंकका ठूला ग्राहकसँग चेक मागेर रकम निकाल्नेलगायत काम गर्दै आएका थिए । खनालले जग्गाको कारोबार पनि गर्दै आएका थिए । बैंकमा राख्दा धेरै ब्याज आउँदैन भन्दै उनले चर्को ब्याजको लोभ देखाउने गरेका थिए । केही समयअघि लायन्सको कार्यक्रममा अमेरिका गएर उनी फर्किएका थिए । उनको साथमा अमेरिकाको मल्टिपल भिसा भएकाले लामो बिदाको दिन पारेर उनी उतै गएको अनुमान छ । खनालविरुद्ध बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कास्की प्रहरीमा उजुरी दिएको छ । कास्कीका प्रहरी प्रवक्ता डीएसपी खडगबहादुर खत्रीले बैंकले आर्थिक अनियमितता गरी बिनासूचना कार्यालयमा अनुपस्थित भएको भन्दै जाहेरी दिएको बताए । 

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार