मनोरञ्जन

चेतनलाई नागरिक अभिनन्दन

- कान्तिपुर संवाददाता , ललितपुर
‘राज्यले हेला गरेको म जस्तो मान्छेले नागरिक स्तरबाट यस्तो गरिमामय सम्मान पाउनु अहोभाग्य हो ।’

वैशाख ७, २०७४-फिल्म निर्देशक एवं गीतकार चेतन कार्कीलाई शुभारम्भ द म्युजिकल जर्नीसहित १८ संस्थाले अभिनन्दन गरेका छन् ।

पुलचोकस्थित फ्रान्सेली सांस्कृतिक केन्द्रमा मंगलबार भएको ‘राष्ट्रिय अभिनन्दन समारोह’ मा कार्कीलाई ३ लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरियो । ताम्रपत्र कार्कीकै उचाइ बराबर थियो । संस्कृतिविद् सत्यमोहन जोशीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

नेता वा मन्त्रीभन्दा साहित्यिक व्यक्तिको हातबाट पुरस्कार पाउनु आफ्ना लागि ठूलो कुरा भएको कार्कीले बताए । ‘राज्यले हेला गरेको म जस्तो मान्छेले नागरिक स्तरबाट यस्तो गरिमामय सम्मान पाउनु अहोभाग्य हो,’ उनले भने, ‘वरिष्ठताको कदर हुँदो रहेछ भन्ने महसुस भएको छ ।’

दुई भागमा विभाजित कार्यक्रमको पहिलो खण्डमा युवा तथा अग्रज स्रष्टाले कार्कीका गीत सुनाएका थिए । रघु शाह, बेनुका राई, शैलेश सिंह, आविश्री कसपाल, आयुष्मान विष्टलगायतले कार्कीका चर्चित गीतहरू गाए । कार्कीले लेखेका ‘तीजको लहर आयो बरि लै...’, ‘कान्छी हे कान्छी....’, ‘माया–प्रीतिको चोखो कथा...’, ‘बुझ्नै सकिनौ तिमीले...’ जस्ता गीत लोकप्रिय छन् । 

फिल्म क्षेत्रमा लागेको छ दशक पुगेका उपलक्ष्यमा कार्कीलाई अभिनन्दन गरिएको शुभारम्भ सम्मान समितिका संयोजक प्रकाश सायमिले बताए । ‘नेपाली फिल्ममा पटकथा र संवाद लेख्ने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ,’ आफैं पनि फिल्मकर्मी रहेका सायमिले भने, ‘उहाँलाई पहिलो नेपाली प्रोडक्सन डिजाइनर पनि मानिन्छ । उहाँअघि विदेशीले हाम्रो लागि ती काम गर्थे ।’

२०१७ देखि रंगमञ्चमा प्रवेश गरेका कार्कीले ‘विश्वास’, ‘भुमरी’ जस्ता फिल्म निर्देशन गरेका थिए । ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवन रेखा’ लगायत फिल्ममा संवाद लेखेका उनले पहिलो नेपाली फिल्म ‘आमा’ का निर्देशक हीरासिंह खत्रीसँग पनि सहकार्य गरे । ‘खत्रीले नै उहाँलाई स्क्रिप्ट लेख्न उक्साउनुभएको थियो,’ कार्कीसँग नजिक रहेका कवि मुरारी सिग्देलले भने, ‘‘खत्रीको ‘परिवर्तन’ जस्ता फिल्ममा उहाँले सघाउनुभएको थियो ।’’

भारतको देहरादुनमा पढे/बढेका कार्की २३ वर्षको छँदा नेपाल आएका थिए । जीव विज्ञानमा स्नातक र हिन्दी साहित्यमा स्नातकोत्तर गरेका कार्कीले मत्स्य विकास अधिकृतका रूपमा केही वर्ष जागिर खाए । ‘पोखरामा पोस्टिङ थियो,’ कार्कीले सम्झिए, ‘भूपी शेरचन, दुर्गाबहादुर मिजार, कल्याण शेरचनहरूसँग संगत भयो । अनि उनीहरूले जस्तै कला–साहित्यमा रम्न जागिरबाट राजीनामा दिएँ ।’

तत्कालीन ‘शाही नेपाली चलचित्र संस्थान’ गठन भएपछि उनलाई निर्माण नियन्त्रकको पद दिइयो । त्यसपछि फिल्म क्षेत्रमा उनी जमेर लागे । साहित्यमा पनि उनी उत्तिकै सक्रिय रहे । उनका गीत, कविता, उपन्यास गरी १० भन्दा बढी पुस्तक निस्केका छन् । 

अभिनन्दन कार्यक्रममा पनि उनले नेपाली र हिन्दीका गरी आफ्ना दुई दर्जनजति कविता वाचन गरेका थिए । 

 

 

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार