मनोरञ्जन

नो रुल इन फेसन

- मधु शाही, काठमाडौं

वैशाख ७, २०७४- गुलाबी ओठ, कालो केश, मृगको जस्तै नयन । यस्तै सौन्दर्यको परिकल्पना गरेर कसैले सिर्जना रचना गर्छ भने अब सान्दर्भिक नहुन सक्छ । समयको बहावले फेसनजगत्मा यति ठूलो प्रभाव पारेको छ कि सौन्र्दयको परिभाषा नै परिवर्तन हुँदै छ । बलिउड अभिनेत्री ऐश्वर्या रायले पर्पल कलरको लाली लगाएर दर्शक तानेकी थिइन् । अरूभन्दा फरक र नौलो देखिन फेसनेबल व्यक्तिहरू सधैं आतुर हुन्छन् । कोरियोग्राफर एवं मोडल कला सुब्बा भन्छिन्, ‘ट्रेन्डविपरीत देखिँदा नै फेसनेबल भइन्छ ।’ उनको विचारमा फेसनको फलो गर्नुपर्छ भन्ने छैन । उनी आफ्नो व्यक्तित्व विशेष राख्न अरूभन्दा बेग्लै हुनुपर्ने धारणा राख्छिन् । जगत्ले के भन्ला ? भन्नेमा उनी खासै तनाव दिएर बस्दिनन् । 

यतिबेला उनको फेसबुक हेर्ने हो भने छाते टोपी लगाएका तस्बिर प्रशस्तै देखिन्छ । यहाँसम्म कि उनले टोपीको विज्ञापन गरेर निकै गर्मी भएको भन्दै भिडियोसमेत सामाजिक सञ्जालमा अपलोड गर्न भ्याएकी छन् । उनको अनुभवमा प्राय: नेपाली युवतीले छाते टोपी लगाउन मन गर्दैनन् । उनले लगाएर हिँड्दा कसै कसैले त टोपी निकै मन पर्छ कि क्या हो ? भनेर जिस्काउने गरेको पनि सुनाइन् । ‘बाल मतलब,’ उनले थपिन्, ‘केटीले टोपी लगाउनु हुँदैन भन्ने कहाँ लेख्या छ र ?’ कलाले गर्मीबाट अनुहारलाई सुरक्षित राख्न पनि टोपी लगाउने गरेको बताइन् । त्यस्तै, फेसनको दुनियाँमा यस्तो गर्नुहुन्छ र यस्तो गर्नुहुँदैन भनेर कुनै पनि नियम लागु नहुने फेसनेबल युवाको धारणा छ । 

हलिउड र बलिउडको खुल्दो फेसन स्टाइलको प्रभाव नेपाली समाजमा व्यापक हुँदै छ । कोरियोग्राफर एवं मोडल प्रशान्त ताम्राकार भने स्टाइलको निश्चित आकार नहुने बताउँछन् । समय, परिवेश र चाहना गरी तीन पक्षले फेसन स्टाइलको निर्धारण गर्ने उनको ठम्याइ छ । ‘फेसन इज ओपन प्लेट फर्म,’ उनी भन्छन्, ‘मानव चाहनामा भर पर्ने कुरा हो ।’ सन् १९६० र ७० को दशकका फिल्महरू हेर्ने हो भने त्यतिबेला नै ओपन फेसन फलो गर्ने जमात भेटिन्छ । यति फरक हो कि त्यसबेला अहिलेजस्तो धेरै फलोअर थिएनन् । प्रशान्तका विचारमा अचेलका युवा स्टाइलमा बन्देज लगाउन चाहँदैनन् । 

र्‍याम्प मोडल शिक्षा संग्रौला पनि आफ्नो शरीरले सहज मान्ने खालका पहिरन लगाउन रुचाउँछिन् । तर, मोडलिङ गर्दा भने उनी हरेक प्रकारका पहिरन सुन्दर तरिकाले पस्किन सक्ने क्षमता राख्छिन् । करिब तीन वर्षे करिअर अनुभवमा उनले विभिन्न अनौठा प्रकारका लुगा लगाएर दर्शकलाई देखाइसकेकी छन् । ‘र्‍याम्पमा हिँड्दा लाग्छ कि म पुतली हुँ,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘खुल्ला पक्षीजस्तै ।’ फेसनको फराकिलो रूप देख्न चाहनेले सामाजिक बन्धनबाट मुक्त हुनै पर्ने उनी बताउँछिन् । ‘मन लागे हाफ जिन्समा फुल सर्ट लगाउँदा के हुन्छ ?’ उनी भन्छिन्, ‘कसले के भन्ला भनेर सोच्न थाल्दिनँ ।’ उनका अनुसार कहिलेकाहीँ कल्पना नै गर्न नसकिएका पहिरन लगाउनुपर्छ । स्टाइलिस्ट खुस्बु गौचनचाहिँ फेसनको सौन्दर्य बढाउन स्टाइलले सघाउ पुर्‍याउने बताउँछिन् । चलेको फेसनजस्ताको त्यस्तै फलो गर्नु स्टाइल होइन् । खुस्बुले गर्मी बढेसँगै युवतीले लगाउने पहिरनमा लुज शैलीको स्टाइल फलो गर्ने सल्लाह दिन्छिन् । 

‘सर्ट लगाएर कम्मरमा बाँध्दा बेग्लै देखिन्छ,’ उनी भन्छिन्, ‘खुल्ला टाँक राख्दा झनै राम्रो ।’ 
उनका अनुसार पनि स्टाइल स्वतन्त्र हुन्छ । खुस्बुले कामकाजी युवतीले पछिल्लो समय ओपन र लुज स्टाइल फलो गर्न थालेको अनुभव सुनाइन् ।

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार