समाचार

प्रमुख कार्यकारी अधिकृतमा सम्भव स्वाँर सिरोहिया

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ७, २०७४-कान्तिपुर मिडिया ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सम्भव स्वाँर सिरोहिया नियुक्त भएका छन् । यसअघि कान्तिपुर टेलिभिजन नेटवर्क र कान्तिपुर डिजिटल कोर्प (केडीसी) को सीईओ रहेका स्वाँर सिरोहियालाई कान्तिपुर पब्लिकेसन्स र रेडियो कान्तिपुरसमेत हेर्ने गरी ‘ग्रुप सीईओ’ नियुक्त गर्ने निर्णय सञ्चालक समितिले लिएको हो । 

कान्तिपुर मिडिया ग्रुपको चौथो सदस्यका रूपमा सन् २०१३ मा स्थापित केडीसीको संस्थापक सीईओ रहेका स्वाँर सिरोहियाले उक्त कम्पनीमार्फत कान्तिपुरसम्बद्ध प्रकाशनहरूको डिजिटल विस्तारमा व्यवस्थापकीय नेतृत्व गरेका थिए । केडीसी हाल नेपालको सबभन्दा ठूलो डिजिटल मिडिया कम्पनी बन्न सफल भएको छ । शतप्रतिशत ट्राफिक विस्तार गर्न सफल केडीसीले छोटो अवधिमै ५ हजार प्रतिशत राजस्व वृद्धि गरेको जनाएको छ । केडीसीअन्तर्गत ६ वटा सब–ब्रान्डहरू छन्, जसले गुणस्तरीय सामग्रीहरू संसारभरि प्रवाह गरिरहेका छन् । 

स्वाँर सिरोहिया कान्तिपुर टेलिभिजनको सीईओमा अघिल्लो वर्ष नियुक्त भएका थिए । उनको नेतृत्वमा टेलिभिजन महत्त्वपूर्ण रूपान्तरणमा गइरहेको छ । 

यसलाई चाँडै ‘कम्प्लिट रिप्याकेजिङ’ र ‘रिब्रान्डिङ’ सहित एचडी ट्रान्समिसनमा लगिँदै छ । उनी सन् २०१६ मा स्थापित मुभर्स एन्ड सेकर्स (एमएनएस) होल्डिङ्सका संस्थापक पनि हुन् । त्यसअन्तर्गत डिजिटल भिडियो म्यागेजिन, पर्यटन, व्यापारिक उत्प्रेरणा, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘पोर्टफोलियो म्यानेजमेन्ट’सँग सम्बन्धित ५ वटा कम्पनी सञ्चालित छन् । 

प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि स्वाँर सिरोहियाले आफूले यो जिम्मेवारीलाई गहनतम् रूपमा लिएको बताए । ‘कान्तिपुरले स्थापनाकालदेखि नै व्यापारिक लाभभन्दा जनउत्तरदायी र जिम्मेवारपूर्ण चौथो अंगका रूपमा आफ्नो गरिमा बनाइआएको छ । त्यो सदा कायम रहनेछ,’ उनले भने, ‘प्रत्येक वर्ष कान्तिपुरका पाठक, श्रोता र दर्शक वृद्धि भइरहेका छन् । पत्रिकाको छपाइ परिमाण हालसम्मकै उच्चतम् विन्दुमा पुगेको छ र अझ विस्तार भइरहेको छ । डिजिटल पहुँच धेरै गुणा बढेको छ । कान्तिपुर मिडिया ग्रुप स्मार्ट अफिससहित महत्त्वपूर्ण रूपान्तरणमा गएको छ । हाम्रा सहकर्मी, पाठक र विज्ञापनदाताका लागि अझ बढ्ता प्रभावकारी उपलब्धिहरू प्रस्तुत गर्ने विश्वास दिलाउन चाहन्छु ।’ 

प्रकाशित: वैशाख ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार