प्रवास

कतारमा लोकदोहोरी

- कान्तिपुर संवाददाता , काठमाडौं

वैशाख ६, २०७४-विभिन्न गायकगायिकाको प्रस्तुति साथ कतारका नेपालीहरूले नयाँ वर्षको स्वागत गरेका छन् । दोहामा आयोजित सांगीतिक प्रस्तुतिका लागि अमेरिकाबाट लोकदोहोरी गायक भगवान भण्डारी, जापानबाट रामकृष्ण बम मल्ल, नेपालबाट भगिरथ चलाउने, जुना श्रीस मगर, तेजस रेग्मी, रमेश भट्टराई पुगेका थिए । 

उनीहरूले आआफ्ना प्रस्तुतिमार्फत दर्शकश्रोतालाई मनोरञ्जन मात्रै दिएनन्, गाउँघरको मौलिक भाकामा गाउँघरकै कथाव्यथा गाएर प्रवासी मनलाई भावुक तुल्याएको आयोजक वसन्त फिल्मस्ले विज्ञप्तिमा जनाएको छ ।  मुख्य आर्कषण बनेका गायक भण्डारीले ‘खैरेनीमा गेट...’, ‘वनमा काँडा छ...’, ‘फूलमा भमरा...’ लगायतका चर्चित गीत गाएको आयोजकले जनाएको छ । 

मल्लले ‘दिनमा नि सपना देख्न थालियो...’, ‘सालै जो...’, ‘मेरो मायाको सीमामा नाकाबन्दी लायौ...’ जस्ता प्रस्तुति दिए । हास्य कलाकार यादव देवकोटा (सरापे) ले समसामयिक विषयमा हँसाए । कतारमै रहेका कलाकारहरू अजय परियार, तुफान काफ्ले, सन्त तामाङ, अन्जान सुनार लगायतले ‘काले दाइ...’ गीतमा नृत्य प्रस्तुति दिए । अभिनेत्री मन्जिता केसी पनि नाचिन् ।

सांगीतिक प्रस्तुतिपछि कलाकारलाई सम्मान गरिएको वसन्त फिल्म्सका अध्यक्ष ईश्वर काफ्लेले जनाए । सम्मानितहरूलाई प्रमुख अतिथि विलबहादुर गुरुङ, साहित्यकार एवं संस्थाका प्रमुख सल्लाहकार माया केसी, उत्तम गुरुङ, एनआरएन कतारका महासचिव नन्द गर्बुजा लगायतले सम्मानपत्र र दोसल्ला अर्पण गरेका थिए । 

प्रकाशित: वैशाख ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार