मनोरञ्जन

'लभ लभ लभ' फिल्म समीक्षा : सरल र स्वाभाविक

- सुशील पौडेल, काठमाडौं
निर्देशक : दीपेन्द्र के खनालकलाकार : स्वस्तिमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, आयन खड्का, ए गुरुङ, देशभक्त खनाल

वैशाख ६, २०७४-गत साता रिलिज बलिउड फिल्म ‘हाफ गर्लफ्रेन्ड’ को ट्रेलरले युटयुबमा भाइरल भइरहेको छ । चेतन भगत लिखित सोही शीर्षकको उपन्यासमा आधारित रही मोहित सुरीले फिलम बनाएका हुन् । भगतले क्वाइन गरेको उक्त शब्दले साथीभन्दा बढी र गर्लफ्रेन्डभन्दा कम हुने सम्बन्धलाई अथ्र्याएको हो । त्यही साताको शुक्रबार नेपाली फिल्म रिलिज भयो, ‘लभ लभ लभ’ । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको उक्त फिल्मले पनि साथी, त्यसभन्दा माथि र प्रेम सम्बन्धका तीन मायाका आयामलाई केलाउन खोजेको छ ।

 सुरज (सुरज) र समृद्धि (स्वस्तिमा) बालसखा त हुन् नै, पारिवारिक चिनाजानी पनि छ, तर नकारात्मक । विगतमा भएको एक सडक दुर्घटनापछि पत्नी गुमाउन पुगेका सुरजका बुबाले त्यसको कारक समृद्धिलाई मान्दै घृणाभावले हेर्छन् । तर सुरज भने उनीतर्फ एकोहोरो आसक्तिमा छ । सोझो र एउटा कान कम सुन्ने सुरज समृद्धिलाई प्रेम प्रस्ताव राख्छ । बच्चैदेखि साथीका रूपमा सोच्ने समृद्धि सुरजको प्रस्तावपछि आफूलाई गर्लफ्रेन्डको अनुभूति दिलाउन समयसीमा दिन्छे । समयसीमापछि उसका केही बाध्यता छन् । ‘लभ लभ लभ’ साथीदेखि प्रेमीसम्मको भावनात्मक यात्रामा केन्द्रित छ । यात्राले गन्तव्य भेट्छ वा भेट्दैन ? दर्शकका लागि उत्तर रोचक लाग्न सक्छ ।

सामाजिक कथावस्तुमा फिल्म ‘पशुपतिप्रसाद’ निर्देशन गरेर वाहवाही बटुलेका दीपेन्द्र ‘लभ लभ लभ’ बाट प्रेमका पत्र केलाउने प्रयासमा छन् । सामान्य पात्रका सामान्य प्रेमकथामा पनि असामान्य र तीव्र भावना लुकेको हुन्छ भन्ने भाव दिन खोजेका छन् दीपेन्द्रले । केही लजालु र बढी सजग स्वभावका सुरज प्रेमप्रस्तावकै कारण साथीत्व टुट्ने पो हो कि भन्ने द्विविधामा हुन्छ । साथीको उक्साहट वा सल्लाहमा प्रस्तावका लागि आँटिन्छ । त्यसपछि फिल्मले ‘लिनियर वे’ मा गति लिन्छ । घटनाक्रम कम भएकाले फिल्मको स्क्रिप्ले धिमा लाग्ने डरलाई कम गर्न निर्देशक खनाल पात्र संवेदना र हाउभाउमा सविस्तार प्रस्तुत भएका छन् । धैर्यवान् दर्शकका लागि ‘लभ लभ लभ’ ले मीठो स्वाद चखाउनेछ ।

‘लभ लभ लभ’ को सबैभन्दा सबल पक्ष सरलता हो । कसैको मन जित्न गरिएको शान्त हस्तक्षेपमा पूरा फिल्म बगाउने आँट निर्देशकले देखाएका छन् । लार्जन दयान लाइफको फिल्मी मान्यतालाई पूर्णत: नकार्दै फिल्मले भुइँमान्छेका रंगीन सपनालाई ठूलो क्यान्भासमा पोत्ने काम गरिएको छ । ठूला उतारचढाव छैनन् । सूचना/प्रविधिको विकाससँगै प्रेमको सम्बन्ध कायम र विच्छेदको गति बढिरहेको अहिलेको बेलामा दीपेन्द्रले आदर्शवादी प्रेमको परिकल्पना गरेर उल्टो गंगा बगाउने प्रयास गरेका छन् । कतिपयका लागि यही कुरा पुराना याद बनिदिन सक्छ भने कतिपयलाई वाहियात लाग्ने खतरा पनि उत्तिकै छ । यसमा दर्शकको उमेर र सोच बढी जिम्मेदार हुन सक्छ ।

फिल्मको लिडमा रहेका स्वस्तिमा र सुरज चारित्रिक हिसाबले सहज अभिनयमा देखिएका छन् । पहिलोपटक फिल्म खेलिरहेका भए पनि सुरजको अभिनयमा गहनता झल्कन्छ । बोलीचालीकै भाषा शैलीमा राखिएको संवादले दृश्यलाई नाटकीय हुन दिएका छैनन् । पात्र समवेदनशील हुँदाका केही संवाद भने थोरै तर शक्तिशाली छन् । निरज कँडेलको भ्यु फाइन्डरबाट व्यक्त दृश्यभाषाले शीतलता दिन्छ । खासगरी ग्रामीण लोकेसनलाई उनले दर्शकमाझ अनुभूत हुने गरी क्यामेरा हयान्डल गराएका छन् । पृष्ठभूमि संगीतले फिल्मको पेसलाई बढाइदिएको छ । 

सरलता नै उत्कृष्ट भन्ने मान्यतामा विश्वास गर्नेका लागि र आमपात्रका मनोदशा बुझ्ने चाहना हुनेका लागि ‘लभ लभ लभ’ हेराइ सुखद हुन सक्नेछ । खासगरी सच्चा माया गर्ने जोडीले सँगै हेर्दा फिल्म बढी सरल, स्वाभाविक, शान्त र प्रीतकर लाग्न सक्नेछ । प्रयोगधर्मी निर्देशकको पहिचान बनाउँदै गएका निर्देशक दीपेन्द्रले भने यसपालि प्रेमकथामा फिल्म बनाएर नयाँ पारी खेलेका छन् । सुरुवाती ब्याटिङ सुखद भए पनि क्रिजमा टिकिरहन भने उनले खँदिलो र गतिशील स्क्रिनप्लेमा बढी गृहकार्य गर्नु जरुरी छ ।

प्रकाशित: वैशाख ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार