विचार/विश्‍लेषण

खेतीपाती सुधार्ने तरिका

- कृष्णप्रसाद पौडेल
अहिले पनि विश्वलाई चाहिने दुई तिहाइभन्दा बढी खानेकुराको उत्पादन साना किसानले नै गर्छन् ।

वैशाख ६, २०७४-अहिले संसारभरि नै मुटुरोग, मिर्गौलाको समस्या, रक्तचाप र क्यान्सर महामारीको रूपमा फैलिरहेको छ । यी सबै हुनुमा खानेकुरा नै मुख्य समस्याको रूपमा देखिएको छ । मानव जीवनको आधार, खाना स्वस्थ हुनुको साटो जटिलता र जोखिमको केन्द्र बनेको छ । योभन्दा ठूलो विडम्बना के होला ? त्यसैले स्वच्छ खेतीपातीबाट स्वस्थ खाना अहिले सबैतिर पेचिलो सवाल र आम नागरिकको चासो बनेको छ । 

हजारौं वर्षदेखि अपनाउँदै आएको परम्परागत रसायन, विषादी र प्लाष्टिकमुक्त खेतीपातीलाई निर्वाहमुखीको आरोप लगाएर खेद्न थालेको केही दशक नबित्दै मानव तथा प्रकृतिको स्वास्थ्यमा देखिएका बिकराल समस्याले सबैलाई सताउन थालेको हो । मुख्यत: जलवायु परिवर्तनका असर तथा प्रभावहरू खेतीपातीमा क्रमश: देखिन थालेको छ । यसबाट खेतीपाती बचाउन के गर्ने सबैको टाउको दुखाइ बनेको छ । साना किसानहरू यसका असरको जोखिम एक्लै झेल्न नसक्ने हुँदा निराश हुँदै पलायनको बाटो समाउन बाध्य हुँदैछन् ।

‘किसानले खेती नगरे हामी सबै भोकभोकै मर्ने हो,’ अस्ट्रेलियाका कृषिकर्मी विल मोलिसनको यो सामान्य लाग्ने भनाइको मर्मको बेवास्ता भविष्यमा हाम्रालागि धेरै महँगो सावित हुने पक्का छ । किनभने स्वस्थ र पोषणयुक्त खानेकुरा नखाए सामान्य मानिस पाँच दिनभन्दा बढी बाँच्न सक्दैन । यो यथार्थबाट पर भाग्न खोजेर हामीले हाम्रो समाजको भविष्य कस्तो बनाउन खोजेको हो ? सबैतिर प्रश्न उठ्न थालेको छ । विडम्बना, हामी भने अझै पनि सुतुरमुर्गले जस्तो टाउको लुकाएर बच्ने आशा पालिरहेका छौं । आम मानिस ‘मर्नभन्दा बौलाउन निको’ भन्ने उखानको सहारा लिँदै विषाक्त खाना खान बाध्य छन् । 

रसायन र विषादीमा आधारित व्यापारिक र नाफामुखी कृषि मानव स्वास्थ्यका लागि उपयुक्त नभएको निष्कर्षसहित यसलाई फेर्न दबाब पनि बढिरहेको छ । स्वस्थ खानाका लागि पर्यावरणीय कृषि पद्धति अपनाउनुपर्ने कुरा संसारकै साझा अभियान दिगो विकास लक्ष्यले समेत सुझाएको छ । यससँगै सन् ९० को संकटमा पर्यावरणीय कृषि अपनाउन पुगेको क्युवा अहिले सबैलाई बलियो प्रेरणाको स्रोत बनेको छ । यो कुरालाई आत्मसात गर्दै हामीले समयमै अहिलेको खेतीपातीको बाटो फेर्न नसके केही दशकपछि अरुको सिको गर्दै लुरुलुरु पछि लाग्न बाध्य हुनुपर्ने पक्का छ । किनभने अहिलेको रसायन र विषादीमा आधारित खेतीपातीको कुनै भविष्य छैन । 

तर यो कुरा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वले अझै राम्ररी भेउ पाउनसकेको छैन । त्यसमाथि विज्ञताको अहंकारले विवेक र बौद्धिकता दुबै गुमाउन पुगेका खेतीपातीका परामर्शदाताले यो नेतृत्वलाई झन् कुहिराका काग बनाएका छन् । त्यसैले त उनीहरू अहिले पनि रसायन र विषादीका आधारमा गरिने व्यापारिक खेतीपातीको पक्षपोषण गर्दै आम नागरिकलाई विषाक्त खानेकुरा खान बाध्य बनाइरहेका छन् ।

नेपालको कृषिले सही बाटो समात्न नसक्दा, अहिले कृषिमा आश्रित बहुसंख्यक समुदाय मुग्लान पस्न बाध्य भएका छन् । घरवार चलाउन विगत दुई दशकदेखि युवा किसान विदेशिने बाध्यकारी दुष्चक्र चलिरहेको छ । परिणामत: स्थानीय जनजीवन बजारको नियन्त्रणमा पुगेको छ । अहिले आम मानिसहरू नगदमुखी, उपभोगमुखी र सहरमुखी बन्दै गएका छन् । अन्य उपाय नहुनेको पेसा बन्न पुगेको कृषि कर्म एकाएक महिला र वृद्धवृद्धाहरूको काँधमा आइपुगेको छ । स्थानीय स्तरमा पुरुष कामदारको अभावमा महिलाहरूले मात्र सबै खेतीयोग्य जमिनको व्यवस्थापन गर्न नसक्दा स्थानीय उत्पादनमा कमी र खाद्यान्न आयात तथा खाद्य असुरक्षामा वृद्धि गराएको छ ।

अर्को कुरा, नेपालले पहाडी भूगोल तथा पर्यावरणीय विशेषता बोकेको पर्वतीय कृषि प्रणालीको मर्मलाई आत्मसात गरी यसलाई उन्नत बनाउँदै लैजाने बाटो छोडेर मैदानी कृषि प्रणाली अपनाउन खोज्दा नेपालको कृषिको यो चाल हुनपुगेको हो । मुख्यत: बाहिरी स्रोतसाधनको अधिकतम प्रयोग गर्नाले उत्पादनको तुलनामा लागत बढ्न गई किसानहरू कृषि क्षेत्रबाट पलायन हुँदैगर्दा कृषि क्षेत्र निरन्तर ओरालो लागेको हो । यसमाथि खेतीयोग्य जमिनको अतिक्रमण, बिग्रँदो माटो, पानीको हाहाकार, प्रदूषण, निरन्तर घट्दो जैविक विविधता र अन्दाज गरेभन्दा निकै विकराल बनेको जलवायु परिवर्तनको असरले अन्य क्षेत्रको तुलनामा हाम्रोजस्तो पर्वतीय कृषि निकै जोखिममा परेको छ । यो कुरालाई नीति–निर्माता र तिनका परामर्शदाताले नजरअन्दाज गरेका छन् । नेपालको कृषि क्षेत्रलाई सुधार्ने हो भने यो पनि एउटा प्रमुख चुनौती हो ।

हाम्रो आफ्नै भौगोलिक, पर्यावरणीय, सामाजिक, सांस्कृतिक विशेषता र मर्मलाई आत्मसात गर्ने कृषि प्रणालीको योजनाबिना नेपालको कृषि बलियो बनाउन सकिँदैन । यसका लागि कम बाह्य लगानी र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमा आधारित हाम्रो परम्परागत सघन तथा एकीकृत कृषि अभ्यासलाई उन्नत बनाउँदै लैजानुको विकल्प छैन । यसले कृषि क्षेत्रको रूपान्तरणको मार्गचित्र स्पष्ट बनाउँदै अगाडि बढ्न सहज बनाउँछ । यसका लागि नपुंसक (फलेको दाना बिउ नबन्ने) बिउमा बन्देज लगाउँदै स्थानीय बिउ तथा बिजनको गुणस्तर बढाउने, गोठ सुधार, जैविक मल र विषादी बनाउने प्रविधि किसानसमक्ष पुर्‍याउने र रासायनिक मल तथा विषादी घटाउँदै जाने संक्रमणकालीन योजना तत्काल बनाउन आवश्यक छ । 

मुख्यत: दिगो खेतीपाती तथा वस्तुभाउ व्यवस्थापन प्रविधि, स्वस्थ माटो र चिस्यान व्यवस्थापनका आधारभूत पक्षहरूमा ध्यान दिँदै ‘किसानले चाहेमा गर्न सक्छन्’ भन्ने आत्मविश्वास जगाउन आवश्यक छ । हामीले के बिर्सनु हुँदैन भने अहिले पनि विश्वलाई चाहिने दुई तिहाइभन्दा बढी खानेकुराको उत्पादन साना किसानले नै गर्छन् । नेपालमा यिनै साना किसानलाई केन्द्रमा राखेर मात्र दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्न सकिने कुरालाई बेवास्ता गरिएको छ । हाम्रो जस्तो बहुसंख्यक किसान समुदाय रहेको मुलुकमा कृषि कर्म प्रबद्र्धन गर्ने सोचबिना अहिलेकै अवस्थामा स्थानीय समुदायको भोक र रोगको समाधान सम्भव छैन । यसो नगरे हामी सबैले भन्ने गरेको समृद्धि कागजमा मात्र आउँछ । 

हाम्रो परम्परागत जीवन पद्धतिको रूपमा रहेको स्वच्छ खेतीपातीलाई उन्नत बनाउनतिर हामीले कुनै प्रयासै गरेनौं । कृषि विकासको समग्र जिम्मा शताव्दीऔं पुरानो कर्मचारीतन्त्रलाई लगायौं र तिनले देखाएका कागजी प्रगतिमै रमायौं । माथिका आदेश तामेल गरेर जागिर खाने परम्परा धानेको कृषि क्षेत्रको कर्मचारीतन्त्रले यसलाई उन्नत बनाउँछ भन्ने भ्रममा पर्नु नै हाम्रो कृषि ओरालो लाग्नुको एउटा कारक हो । यो कुराको चेत अझै पनि राम्रोसँग खुलेको देखिँदैन । 

हामीले विगतमा स्थानीय विशेषताका आधारमा हुने खेतीपातीको योजना स्थानीय तहमै बनाउनुपर्ने सामान्य ज्ञानसमेत ख्याल गरेनौं । स्थानीय सन्दर्भको समीक्षाबिनै हचुवाको भरमा केन्द्रीकृत योजना बनाउने सोच नै कृषि क्षेत्रको विकासको बाधक हो । यसलाई आत्मसात गर्नुको सट्टा अहिले पनि केन्द्रीकृत योजना बनाउने, सरकारी कार्यालय थप्ने र कर्मचारी बढाउने प्रस्तावमात्र गरिँदैछ । कृषिलाई स्थानीय निकायको जिम्मा लगाउन नसकेर यस्तो स्थिति भोग्नुपरेको हो भन्ने कुरा हामीले कहिले बुझ्ने र बुझाउने ? यो गल्ती बारम्बार दोहोरिएको छ र अहिले पनि यसमा सुधार गर्ने छाँट देखिएको छैन । ढिलो नगरी स्थानीय तहमै कृषि विकासका योजना बनाउने र यसको कार्यान्वयनका लागि प्रान्त तथा संघीय तहमा रणनीति बनाउने तयारी गरौं । यो नै अहिलेको लागि खेतीपाती सुधार्ने उपयुक्त तरिका हो । 

पौडेल खाद्य तथा दिगो कृषिका अभियानकर्ता हुन् ।

प्रकाशित: वैशाख ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार