स्वास्थ्य

‘जोर्नी दुखाइ चिकनगुनियाले पनि हुन सक्छ’

- अतुल मिश्र, काठमाडौं
यो रोग सार्ने लामुखुट्टे काठमाडौंलगायत धेरैजसो पहाडी र तराईका जिल्लामा पाइन्छन्

वैशाख ५, २०७४-अत्यधिक जोर्नी दुखाइबाट पीडित व्यक्तिको उपचार गर्दा चिकनगुनियालाई समेत सम्भावित रोगको सूचीमा राख्नुपर्ने विशेषज्ञले औंल्याएका छन् । मुलुकमा ‘चिकनगुनिया’ को संक्रमण देखिन थालेकाले विशेषज्ञले त्यस्तो सुझाव दिएका हुन् । ती विशेषज्ञका अनुसार जोर्नी दुखेर अस्पताल पुगेका ‘चिकनगुनिया’ प्रभावित धेरैजसोमाथि बाथ रोग, युरिक एसिड वृद्घिजस्ता आशंकामा उपचार थालिन्छ ।

‘जोर्नी दुखाइको लक्षण महसुस गरेर अस्पताल आउनेहरूसँग पूर्वइतिहास सोधेर चिकित्सकले डिफरेन्सियल डायग्नोसिस (सम्भावित रोगको सूची) मा चिकनगुनियालाई समेत राख्निुपर्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुनले कान्तिपुरसँग भने, ‘चिकनगुनियाकै कारण कडा जोर्नी दुखाइ, ज्वरो, बिमिरा आउनेलगायत समस्यासहित उपचारमा आएकाको पनि रोगको सही पहिचान हुन सकेको छैन ।’

डा. पुनका अनुसार टेकु अस्पतालमा शंकास्पद चिकनगुनिया परीक्षणका लागि आएकामध्ये करिब २२ प्रतिशतमा यो रोगको संक्रमण देखिएको छ । अहिले पनि यसको संक्रमण देखिँदै आएको छ । मुलुकमा फाट्टफुट्ट रूपमा हरेक महिनाजसो चिकनगुनिया संक्रमण देखिए पनि वर्षायामपछि भने अझ बढी देखिन्छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माका अनुसार सन् २०१३ मा डा. वासुदेव पाण्डेले गरेको अध्ययनबाट मुलुकमा सबभन्दा पहिले चिकनगुनियासमेत रहेको प्रमाणित भएको हो । 

अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनमा डा. वासुदेव पाण्डे, डा. विश्वास न्यौपाने, डा. किशोर पाँडे, डा. नियात र प्रा.डा. मोरिताले सन् २०१३ मा गरेको अध्ययन रिपोर्टअनुसार ज्वरो, टाउको–मांसपेसी–जोर्नी दुखाइ, थकाइलगायत समस्या देखिएका करिब ५ प्रतिशत चिकनगुनिया प्रभावित छन् । उक्त अध्ययन कञ्चनपुर, पर्सा र चितवन जिल्लामा १ सय ६९ जनाको रगतको नमुना लिएर गरिएको थियो । सोही अध्ययनको थप प्रक्रियाअन्तर्गत गत वर्ष चितवनबाट ज्वरो, जीउ, मांसपेसी, जोर्नी दुखाइलगायत समस्या भएकामध्ये ६९ जनाबाट संकलन गरिएको रगत नमुनामा समेत ७ प्रतिशतमा चिकनगुनिया देखिएको डा. पाण्डे बताउँछन् । उनका अनुसार मुलुकमा हुने गरेको परीक्षणमा यो रोगको सटीक पहिचान भइरहेको छैन । 

इपिडिमियोलजीका अनुसार भारतमा यही संक्रमणले ११ जनाको मृत्यु भएको देखिए पनि नेपालमा हालसम्म मृत्युको तथ्यांक रेकर्ड गरिएको छैन । डा. शर्माका अनुसार भाइरसबाट हुने संक्रमण चिकनगुनिया सार्ने लामुखुट्टे काठमाडौंलगायत धेरैजसो पहाडी र तराईका जिल्लामा पाइन्छ । सामान्यतया यो रोग आफैं नियन्त्रित हुन्छ । संक्रमितमा जोर्नी दुखाइसँगै ज्वरो सामान्यतया तीन दिनसम्म रहन्छ । तर ज्वरो निको भएपछि पनि जोर्नी सुन्निने र दुखाइ कायम रहन सक्छ । यस्तो लक्षण रोगीको उमेरको आधारमा एक, दुई वा तीन सातादेखि महिनौंसम्म रहन सक्ने डा. पुन औंल्याउँछन् । चिकनगुनियाको ज्वरो निको हुनुमा बिरामीको उमेर र रोग प्रतिरोधक क्षमतामा निर्भर गर्छ ।

प्रकाशित: वैशाख ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार