विश्व

२० वर्षसम्म भुलेनन् हयारीले आमालाई

- बीबीसी, लन्डन

वैशाख ५, २०७४- बेलायती राजकुमार हयारीले आफ्नी आमा डायनाको मृत्युको पीडालाई २० वर्षसम्म लुकाएर बस्नुपरेको खुलासा गरेका छन् । त्यो पीडाबाट मुक्ति पाउन चार वर्षअघि चिकित्सकसँग काउन्सिलिङ लिएको पनि उनले बताएका छन् । 

बेलायती अखबार ‘दी टेलिग्राफ’ लाई अन्तरवार्ता दिँदै हयारीले सानै उमेरमा आमा गुमाएपछि आफू पूरै अस्तव्यस्त भएको बताए । ‘१२ वर्षको उमेरमा आमा गुमाउनु र त्यसपछि २० वर्षसम्म आफ्नो भावनालाई दबाएर राख्दा व्यक्तिगत जीवनका साथै मेरो काममा पनि असर पार्‍यो,’ उनले भने । सन् १९९७ को अगस्ट ३१ मा पेरिसमा भएको कार दुर्घटनामा राजकुमारी डायनाको मृत्यु भएको थियो । ‘त्यो पीडाको सामना गर्न मैले आमाबारे सोच्नै बन्द गरिदिएँ,’ उनले अन्तरवार्तामा भनेका छन् । 

आमाको निधनको ५ वर्षपछि १६ वर्षको छँदा हयारीलाई बाबु चाल्र्सले लागूऔषध पुनस्र्थापना केन्द्रमा पठाएका थिए । उनी त्यतिबेला मदिरा सेवन र गाँजा सेवनको लतमा परेका थिए । उनले आफ्ना भावनासँग सामना गर्नुपर्छ भन्ने महसुस हुनुअघि त्यसलाई वर्षौंसम्म दबाएर राखेको पनि बताए । उनले आफ्ना दाजु विलियमले चिकित्सकसँग सहयोग माग्न सुझाएको पनि सम्झे । पीडाबाट मुक्ति पाउन आफूले बक्सिङ खेलको सहयोग लिएको पनि उनले बताए । 

मानसिक स्वास्थ्यका पीडाबारे खुलेर बोल्न मानिसलाई प्रेरणा दिने उद्देश्यले हयारीले आफ्नो मानसिक अवस्थाबारे बोल्ने निर्णय गरेको टेलिग्राफले जनाएको छ । आफ्ना दाजु–भाउजूसँगै उनले ‘हेड्स टुगेदर’ नामको मानसिक स्वास्थ्य अभियानको प्रव्द्र्धन गरिरहेका छन् । यो संस्था लन्डन म्याराथनको वर्ष च्यारिटी संस्था हो ।

आमा डायना र दाजु विलियमसँग राजकुमार हयारी (बायाँ) । फाइल तस्बिर : बीबीसी

प्रकाशित: वैशाख ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार