स्वास्थ्य

सुरु भयो नि:शुल्क मृगौला प्रत्यारोपण

- अतुल मिश्र, काठमाडौं

वैशाख ४, २०७४-सरकारले २०७४ सालदेखि गर्ने भनेको नि:शुल्क मृगौला प्रत्यारोपण अन्र्तगत दुईजनाको शल्यक्रिया भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा पोखराका ३० वर्षीय दिपक गुरुङ्ग र नाग्लेभार काठमाडौका २६ वर्षीया लक्ष्मी ढकालले नि:शुल्क प्रत्यारोपण गराएका हुन् । केन्द्रले बुधबार र बिहीबारसमेत दुई/दुई जनाको नि:शुल्क प्रत्यारोपण गर्दैछ भने यस वर्षभरीमा १ सय ५० जनाको मृगौला प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ ।  

प्रत्यारोपण केन्द्रबाहेक त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा समेत नि:शुल्क मृगौला प्रत्यारोपण शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले एकजनामा मृगौला प्रत्यारोपण गरेबापत अस्पताललाई ४ लाख रुपैयाँ दिन्छ । मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं बरिष्ठ प्रत्यारोपण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठका अनुसार प्रत्यारोपणका लागि अस्पताल भर्ना भएदेखि डिस्चार्ज हुने बेलासम्म एकजनाको सरदर खर्च ४ लाख लाग्छ । 

यसमा शल्यक्रिया, औषधि, आइसियु, प्रयोगशाला परिक्षण, रेडियोलजी परिक्षण लगायतका शुल्क समावेस गरिएको हुन्छ । प्रत्यारोपण पूर्व हुने क्रस म्याच (मृगौला मिल्ने नमिल्ने परीक्षण) सहितका अन्य जाँचहरुमा लाग्ने करिब १ लाखजति भने सरकारले अस्पताललाई दिँदैन । यसवापत अबदेखि ५० हजार रुपैयाँ विरामीलाई नै उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले बताएको छ । प्रत्यारोपण गरी सकेपछि एक वर्षसम्म औषधिका लागि पनि सरकारले १ लाख रुपैयाँ दिन्छ । यो रकम प्रत्यारोपण गराउने अस्पतालबाट प्राप्त गर्न सकिन्छ ।  

प्रत्यारोपण हुने हरेक सरकारी अस्पतालमा त्यहाँका कार्यकारी निर्देशकको संयोजकत्वमा एउटा मृगौला प्रत्यारोपण सेवा सञ्चालन व्यवस्थापन समिति हुन्छ । विरामीले विभिन्न जाँचबाट आफू प्रत्यारोपण हुने स्थितिमा पुगेपछि उक्त समितिमा निवेदन दिएपछि समितिले आंशिक वा पुर्ण नि:शूल्क प्रत्यारोपन सिफारिस गर्छ ।

डायलासिसमा बसेका बिरामीभन्दा प्रत्यारोपण गराएका विरामीको जीवनकाल झण्डै एक तिहाइ बढी हुने डा.श्रेष्ठ बताउछन् । प्रत्यारोपण गराए लगत्तै महिनाको १५ देखि २० हजारसम्मको औषधि नियमित खानु पर्छ । सरकारले उक्त औषधिको मूल्य कम गर्न गृहकार्य गरिरहेको स्वास्थ्य मन्त्री गगन थापाले कान्तिपुरलाई बताए ।  

प्रकाशित: वैशाख ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार