फिचर

प्रकाशको गोल

  • प्राविधिक परिबन्दले निचोरेर पर पुर्‍याइसकिएका प्रकाश अर्याल यस्ता ‘भाग्यमानी’ बने, अन्तत: अर्काले हालिदिएको मुद्दाले निर्माण गरिदिएको वातावरण उनी प्रहरी प्रमुख बन्न अनुकूल बन्यो ।
- अखण्ड भण्डारी, काठमाडौं

वैशाख २, २०७४- त्रिभुवन विश्वविद्यायलयको छात्रावासमा बसेर भूगोलमा स्नातकोत्तर गर्दै गरेका एक युवाले जब प्रहरी इन्स्पेक्टरमा भर्ना खुलेको देखे, निवेदन दिन सकसक लाग्यो । लिखितमा नम्बर १ मा नाम निस्किएपछि ध्यानै त्यता मोडे । अन्तर्वार्तापछि अन्तिम परिणाम पनि जब एक नम्बरमै आयो, प्रथम वर्षको प्रथम श्रेणी हापेर सोच्दै नसोचेको सरकारी सेवामा प्रवेश गरे । तिनै व्यक्ति २९ वर्षमा प्रहरी ‘करिअर’ को टुप्पैमा पुगेका छन्, निकै बक्ररेखा छिचोल्दै । 

इन्स्पेक्टरमा नाम निस्किइसक्दा पनि एक सहपाठीले प्रकाश अर्याललाई परामर्श दिइरहेका थिए, ‘छोडिदेऊ, सरकारी जागिरमा नजाऊ ।’ दोधारै दोधारमा ‘हेरौं’ भन्दै छिरेका उनमा अब भने दोधार सकिएको छ, ‘जे गरेछु, ठीक गरेछु ।’ निजी क्षेत्र छानेका थिए भने सम्भवत: उनी यो उचाइमा पुग्ने थिएनन्, जुन प्रहरी महानिरीक्षक हुँदा मिलेको छ । नयाँ वर्षको मध्याह्न भेट्दा अर्याल फोनमा लगातार शुभकामना फर्काइरहेका थिए, एकसाथ खप्टिएका दुई शुभक्षण– देशको नयाँ वर्ष र आफ्नो पेसाको नेतृत्व ग्रहण ।

२०४४ सालमा ६८ जनाबीच उत्कृष्ट बनेर सेवा सुरु गरेका उनलाई चुनौती त्यही थियो, उत्कृष्टता बचाइरहन सक्छु कि सक्दिनँ । देशमा पञ्चायत शासनविरुद्ध आन्दोलन उत्कर्षमा जाँदै थियो । २०४६ को आन्दोलनताका उनी कहिले प्रहरी प्रधान कार्यालयको अपरेसन कक्षमै खटाइए, कहिले फिल्डमा परे । प्रजातन्त्र आएलगत्तै २०४७ वैशाख १० मा टेकुमा प्रहरीमाथि सांघातिक आक्रमण भयो । केहीको ज्यान गयो । त्यसपछि राजधानीका चौकीहरूको नेतृत्व गर्न सबै डराउन थाले । त्यही मेसो दरबारमार्ग चौकीको अभिभारा उनको काँधमा आयो । नेपालगञ्ज तालिम केन्द्र, काठमाडौंको ट्राफिक कार्यालय, प्रहरी एकेडेमीको पाठ्यक्रम निर्माणजस्ता फरक–फरक भूमिका निर्वाहको फेरो लाइसकेपछि २०५२ मा उनी डीएसपी बनाइए । उनका लटका ३६ जनाको पदोन्नति हुँदा उनी पुगे ३१ औं नम्बरमा ।

उनको प्रतिस्पर्धा आफ्नै ब्याचका साथीहरूसँग थियो । २०६१ मा एसपीमा पदोन्नति हुँदा चौथो बरियातामा उक्लिए । शेयरबजारजस्तै उनको कार्यसम्पादनको ग्राफ तलमाथि दौडिइरह्यो । २०६६ मा एसएसपी र २०६९ मा डीआईजी हुँदा दुवै पटक २ नम्बरमा आइपुगे । उनका ब्याचका चारजना डीआईजी भएमध्ये १ नम्बरमा नवराज सिलवाल, २ मा अर्याल, ३ मा जयबहादुर चन्द र ४ मा बमबहादुर भण्डारी थिए । 
तत्कालीन महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगै सबै एआईजी उमेर हदका कारण अवकाशमा गएपछि डीआईजीबाट सोझै महानिरीक्षक बनाउनुपर्ने अवस्था आयो । त्यसका प्रतिस्पर्धी थिए तिनै चार जना । सरकारले जब फागुन १ गते चन्दलाई महानिरीक्षकमा नियुक्त गर्‍यो, सिलवाल न्यायालय पुगे । सर्वोच्च अदालतले तत्कालै सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्‍यो । त्यही आदेशलाई सदर गर्दै फैसला आएपछि सिलवाल महानिरीक्षक बन्ने अड्कालबाजी चुलियो । डीआईजी बन्दाका १ र ३ नम्बर उम्मेदवारबीच ‘स्यान्डविच’ ठानिएका अर्यालका पक्षमा यसरी समय फर्कियो, अन्तत: प्रहरी प्रमुखको जिम्मेवारी उनको काँधमा आइपुग्यो । एक प्रकारले ‘उम्किएको माछो बलियो’ सावित भयो । 

अघिल्लो बरियता डीआईजी बन्नलाई थियो । त्यसमाथि पदोन्नतिमा कसको कार्यसम्पादन मूल्यांकन अंक कति थियो, उनीहरूलाई थाहा थिएन । अर्याललाई महानिरीक्षक बनाउँदा सरकारले सर्वोच्चको आदेशबमोजिम कार्यसम्पादनमा सर्वोत्कृष्टतालाई आधार बनाएको खुलायो । पुरानो कार्यसम्पादन हेरफेर गरिएको अभियोगसहित सिलवाल पुन: अदालत गए । सर्वोच्चको फैसलाले भविष्यमा जे–जस्तो परिणाम निकाले पनि अर्यालले फुली पहिरिएर कमाण्ड सम्हालिसकेका छन् । प्राविधिक परिबन्दले निचोरेर पर पुर्‍याइसकिएका उनी यस्ता ‘भाग्यमानी’ बने, अन्तत: अर्काले हालिदिएको मुद्दाले निर्माण गरिदिएको वातावरण उनको अनुकूल बन्यो । 

त्यसो त यसपालि प्रहरी महानिरीक्षक बन्न निकै घम्साघम्सी थियो । त्यसमा केही ‘अस्वस्थ एवं अव्यावसायिक’ चलखेल चलेको नेपथ्यमा गाइँगुइँ चल्यो । ‘मैले आफूले विगतमा गरेका र भविष्यमा गर्न सक्ने कामका खाकासहित नीति निर्माता एवं निर्णायक तहमा जम्मा एकपटक अवगत गराएको हुँ । यो कुनै परीक्षा दिने पद थिएन । दाबी प्रस्तुत नगर्दा मैदानबाटै भागेजस्तो हुन्थ्यो । तर, दोहोर्‍याएर मैले कसैलाई भेटिनँ’, महानिरीक्षक अर्यालले भने, ‘तर, जसरी पनि मै हुनुपर्छ भन्ने मेरो मान्यता थिएन । पद्धति, प्रणाली र मूल्यांकनका आधारमा जिम्मेवारी पाए ठीकै छ, नत्र जुन पदमा रहेर पनि देशको सेवा गर्न दृढ थिएँ ।’ त्यही ‘जसरी पनि’ बन्ने दौडमा अनेक बजार हल्ला मिसिएका थिए । त्यसमा पनि अर्याल नै ‘भाग्यमानी’ सावित भए, जसले अन्तिम क्षण सरकार र सिलवालको जुँगाको लडाइँमा उल्टो सहानुभूति पाए । 

बीचको एक पद (एआईजी) को अनुभव नसम्हाली प्रहरी महानिरीक्षकको कुर्सीमा पुगेका अर्यालको थाप्लामा आसन्न चुनाव र गडबड भइरहने शान्ति सुरक्षा मुख्य चुनौती हुन् । उनले आफ्नो कार्ययोजनाको मुख्य बुँदा यसैलाई बनाएका छन् । ‘शान्ति सुरक्षाको जुन अवस्था छ, त्यसमा अनुभूति दिलाउने गरी सुधारको प्रयास गर्नेछु’, उनले कार्यसूची सुनाए, ‘अपराध अनुसन्धानलाई थप भरपर्दो र परिणाममुखी बनाउनेछु । अनि, प्रविधिको प्रयोग बढाएर प्रहरी संगठनलाई अझ अत्याधुनिक पार्नेछु ।’ 

२०२० असार १४ गते दाङको भरतपुरमा जन्मिएका अर्यालले स्नातकसम्म जिल्लामै पढे । काठमाडौं आइ भूगोल विषयमा शुरु गरेको स्नातकोत्तरलाई बिचैमा बिट मारेर प्रहरी सेवामा प्रवेश गरे । नेतृत्वदायी पद लिन योग्यता बढाउन जब जरुरी देख्न थाले, सन् २०१० मा काठमाडौं विश्वविद्यालयमा ‘बिजनेस एडमिनिस्ट्रेसन’ मा स्नातकोत्तर भर्ना भए । जागिरसँगै राति–राति पढेर तीन वर्षमा त्यसलाई छिचोले । उनका अग्रजहरू उनलाई लगनशील र व्यावसायिक रूपमा लिन्छन् । निर्वतमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको मूल्यांकनमा, ‘प्रकाश व्यावसायिक निष्ठाको दायरामा रही जिम्मेवारी निर्वाह गर्ने इमानदार पुलिस अफिसर हुन् । उनी व्यावसायिकता भन्दा दायाँ–बायाँ हल्लिएको मैले देखेको छैन ।’
त्यही व्यावसायिकता नै उनको कार्यसम्पादनको सुई माथि पुर्‍याउने प्रमुख मापक थियो । जब उनका ब्याचका चारजना डीआईजी भए, प्रधान कार्यालयले चारै जनालाई एक–एक क्षेत्रको जिम्मा दियो । 
भनियो, ‘भविष्यमा प्रहरी महानिरीक्षक हुने परीक्षा हो यो । उस्तै कामबाट जसले राम्रो कार्यसम्पादन देखाउँछ, उसैले पछि मौका पाउनेछ ।’ त्यसमध्ये अर्याल मध्यक्षेत्रमा खटाइए । तस्करी र अन्य अपराध बढी हुने क्षेत्रमा पर्छ यो ।

‘त्यो जिम्मेवारीलाई मैले काम गरेर देखाउने अवसर र चुनौती दुवैका रूपमा लिएँ’, उनले सुनाए, ‘पर्फरमेन्स देखाउने मुख्य काम आफ्नै संगठन भित्रको सुधारलाई ठानें । प्रहरीमाथि नै स्टिङ अपरेसन गराएँ । व्यावसायिक मर्यादाविपरीत चल्नेलाई ठाउँका ठाउँ कारबाही गरें । फरार अपराधीलाई समात्ने कामलाई प्राथमिकता दिएँ । सबैभन्दा धेरै फरार अपराधी त्यही कालमा समातिए ।’ 

त्यतिबेला प्रहरी कार्यालयहरूमा अघोषित ‘चुंगी’ उठाइन्थ्यो । समस्या परेको उजुरी गर्न प्रहरीकहाँ कोही गएमा निवेदन लेखेको १ सय ५०, सरोकारवालाबीच छलफल गराउने नाममा ५ सय रुपैयाँजस्ता दस्तुर लिने गरिन्थ्यो । तिनको न बिल दिइन्थ्यो, न कुनै नियम–कानुनले उठाउन मिल्थ्यो । ‘जब मैले त्यो थाहा पाएँ, एकसाथ अनुगमन गरेर १५ वटा कार्यालयलाई कारबाही गरें । त्यसपछि बाँकीले पनि रोके ।’ 
यस्तो प्रचलन अझै कहीं–कतै छैन होला त ? ‘हुन पनि सक्छ, नहुन पनि’, उनले भने, ‘अब म सबैतिर हेर्ने पदमा आइपुगेको छु । यसबारे तुरुन्त अनुगमन गरेर कतै रहेछ भने बन्द मात्रै गराउँदिनँ, संलग्न प्रहरीलाई कारबाहीसमेत गर्नेछु ।’ अपराध नियन्त्रणमा खटिने प्रहरीबाटै यदाकदा हुने अपराधका घटना प्रकाशमा आइरहन्छन् । अर्यालको मुख्य टाउको दुखाइ त्यसमै छ । उनीसँग भेट्दाभेट्दै सचिवालयका एक कर्मचारीले कानमा आएर केही भने । उनले सोधे, ‘पुलिसले युनिफर्ममै त्यसो गरेको ? त्यसलाई तुरुन्त कारबाही गर्नू, पर्छ भने निलम्बनै गर्नू ।’

बाँकी त हेर्नु नै छ, क–कसलाई कति कारबाही गर्नेछन् !

प्रकाशित: वैशाख २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार