मनोरञ्जन

“दयाहाङलाई हेरेर लेखिएको थियो लभ लभ लभ”

- सुशील पौडेल, काठमाडौं

निर्देशक दीपेन्द्र के खनाल भन्छन्– तर, दयाको व्यस्तताले गर्दा काम हुन सकेन । दयालाई सोचेर क्यारेक्टर बनाएकोले पनि मलाई अलि मोटेमोटे, हिरोभन्दा पनि क्यारेक्टर लाग्ने मान्छे चाहिएको थियो ।

चैत्र २९, २०७३-‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा देखिएकी एउटी सानी चुलबुले पात्र थिइन्, स्वस्तिमा खडका । छोटै भूमिकाबाट नोटिस हुने भाग्यमानी स्वस्तिमा यति बेला लिड रोलमा आफ्ना फयानका लागि ‘लभ लभ लभ’ कोसेलीका रूपमा लिएर आएकी छन् ।

दीपेन्द्र के खनालको लेखन/निर्देशन ‘लभ लभ लभ’ मा स्वस्तिमा सुरज पाण्डेको अपोजिटमा छिन् । आमा शर्मिलाकै निर्माणको फिल्मबाट डेब्यु गरेका सुरजले यति बेला निर्माताको छोरो भएर ‘हिरो’ बनेको बजारी हल्ला सुन्नु परिरहेको छ । कस्तो लाग्दो हो ?

‘मलाई खासै नराम्रो लाग्दैन,’ हालैको भेटमा सुरजले हाँसीहाँसी भने, ‘उहाँहरूले बाहिरबाट हेरेर त्यसो भन्नु स्वाभाविकै हो । तर भित्री कुरा मलाई ममीले नभई (निर्देशक) दीपेन्द्र दाइले सेलेक्ट गर्नुभएको हो ।’

दीपेन्द्रले पनि सहमति जनाए । “खासमा पहिले यो स्टोरी मैले दयाहाङ राईलाई सुनाएको थिएँ । ‘झोले’ गर्दै यो लभस्टोरीमा दया र प्रियंका कार्कीलाई खेलाउने भनेर सुनाएको थिएँ । दयाको व्यस्तताले गर्दा काम हुन सकेन । दयालाई सोचेर क्यारेक्टर बनाएकोले पनि मलाई अलि मोटे–मोटे, हिरोभन्दा पनि क्यारेक्टर लाग्ने मान्छे चाहिएको थियो । सुरजलाई देख्नेबित्तिकै चरित्र आँखामा झल्किसकेको थियो ।’

तर दीपेन्द्रले सुरजलाई तौल घटाउनुपर्ने सर्त तेस्र्याए । फिल्म खेल्न पाउने भएपछि सुरजले, दीपेन्द्रका लागि असम्भव जस्तै लागेको, १ सय १२ किलोको तौललाई तीन महिनामा ८० किलोमा झारिदिए । अभियन कक्षा त सुरजले पहिल्यैदेखि रंगकर्मी सुनील पोखरेलसँग लिन थालिसकेका रहेछन् । ‘मेरो फिल्म खेल्ने योजना त थियो, तर यति छिटै ब्रेक पाइएला भन्ने थाहा पाएको भए वजन बढ्नै दिने थिइनँ,’ उनले भने । उनले ‘लभ लभ लभ’ मा कान कम सुन्ने र लजालु स्वभावको केटोको भूमिका निर्वाह गरेका छन्, जो सानैदेखिकी साथीलाई प्रेम गर्छ र पाउने अभिलाषा राख्छ ।

स्वस्तिमालाई फिल्मको स्क्रिप्ट पढ्नेबित्तिकै यसको सरलपनाले तानेको थियो रे । भनिन्, ‘मलाई सबैभन्दा मन परेको यसको सिम्प्लिसिटी हो । दर्शकले फिल्ममा आफूलाई रिलेट गर्न सक्छन् जस्तो लाग्छ । सबैको लाइफमा कहीं न कहीं भइरहने कुरा यसमा छ । फ्रेन्ड जोनवाला लभस्टोरीलाई दर्शकले मन पराउँछन् होला ।’

आखिर दीपेन्द्रले पनि अचेलको झाँगिँदो ‘फास्टफुड’ शैलीको प्रेम सम्बन्धमा चोखो माया गर्नेको कथा भन्न चाहन्थे । नयाँ–नयाँ प्रयोगको जोखिम मोल्न रुचाउने उनले यस पटक फिल्मलाई ‘लार्जर दयान लाइफ’ हुन दिएका छैनन् रे । ‘फिल्म भनेपछि वास्तविकताभन्दा अलि एक्स्ट्रा बनाउनुपर्छ भन्ने दबाब हुन्छ । तर यस पटक दुई केटाकेटी सँगै हुँदा जे गर्छन्, जस्तो बोल्छन्, त्यही कुरा मैले लुकेर खिचें भने कस्तो देखिएला भनेर प्रयोग गर्न चाहें,’ उनले सुनाए । सोही बमोजिम उनले सुटिङमा कलाकारलाई यो भएन वा त्यो भएन भनेर कुनै प्रेसरै दिएनन्, बरु क्यारेक्टरको माइक्रो इमोसनलाई क्याप्चर गर्नतर्फ लागे ।

स्कुल छँदै शिक्षकहरूको क्यारिकेचर गरेर साथीभाइमाझ प्रिय स्वस्तिमाका लागि अभिनय गाह्रो काम नै थिएन । भनिन्, ‘तर फिल्म दुई क्यारेक्टरमा मात्रै फोकस भएकोले झनै काम देखाउने मौका पाएँ ।’

१९ वर्षकै उमेरदेखि फिल्म यात्रा थालेकी स्वस्तिमालाई खेलाउन दीपेन्द्रले उनका पति निश्चल बस्नेतको सिफारिस लगाएका थिए । स्वस्तिमा भने यस्ता सिफारिसको विरोधी रहिछन् । ‘त्यो बेला दीपेन्द्र दाइ र मेरो चिनाजानी पनि थिएन,’ उनले प्रस्टै भनिन्, ‘त्यसैले निश्चललाई सोध्नु नर्मल कुरा थियो । तर मलाई निश्चलले रिकमेन्ड गरेको मन पर्दैन ।’ यो कुरा उनले निश्चललाई पनि बिहेअघि नै भनिसकेकी थिइन् रे । थपिन्, ‘यदि ममा क्षमता छ भने सिफासिर गर्नु जरुरी हुन्न । मेरो लागि निश्चलले रिकमेन्ड गर्नु नेगेटिभ देखिन्छ, अरूले हेर्दा ।’

२० वर्षको उमेरमै ब्रेक पाएका सुरज फिल्म रिलिजको संघारमा आइपुग्दा खुसी, उत्साह र डरको त्रिवेणीमा छन् । चरित्रमा पूरै डुब्ने भएकैले आफूलाई जोनी डेप र सौगात मल्लको फयान बताउने सुरज पनि भविष्यमा विविध चरित्रमा आफूलाई प्रमाणित गर्न चाहन्छन् । स्वदेशमै केही गर्छु भन्ने अठोट बोकेको तर लजालु स्वभावको केटोको भूमिकामा रहेका सुरज वास्तविकतामा पनि त्यस्तै छन् । पहिलो पटक स्वस्तिमासँग भेटदा पनि नर्भस भई आफू पसिनाले निथ्रुक्कै भिजेको अझै बिर्सेका छैनन् । पछि दीपेन्द्रले दुईलाई क्लोज क्याम्पमार्फत घनिष्ठ साथी बनाइदिए र मात्रै फ्लोरमा लगे ।

सुटिङ युनिट स्याङ्जाको पन्चासेदेखि रसुवाको गोसाइँकुण्डसम्म पुग्यो । स्वस्तिमाका लागि गोसाइँकुण्ड अनुभव भने कहालीलाग्दो रहयो । ‘एकदमै धेरै गाह्रो भएको थियो । हाई अल्टिच्युडको समस्या भयो,’ उनले सुनाइन् । डढेको र सुन्निएको अनुहार लिएर गोसाइँकुण्ड पुगेकी उनलाई अहिले पनि त्यो सम्झँदा आफैंलाई बिचरा भन्न मन्न लाग्छ रे । ‘चिसोले झन्डै बेहोसै हुन लागेको थिएँ । रोएको पनि थिएँ ।’

तर तिनै स्वस्तिमा त्यो बेला जति दु:ख भए पनि अहिले सिन हेर्दा रमाइलो लाग्छ भन्न पनि बेर लगाउँदिनन् । गीतको छायांकन गरिएको गोसाइँकुण्डमा जब को–स्टार सुरज तीन–चार वटा स्विटरमाथि कोट लगाएर पनि जाडो भयो भन्थे, तब स्लिभलेस र टयुबवाला ड्रेस लगाइरहेकी स्वस्तिमालाई रिस उठथ्यो रे । भनिन्, ‘हिरोइन हुनुको पीडा त्यहाँ पो रहेछ ।’

 

प्रकाशित: चैत्र २९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार