समाचार

लुम्बिनीबाट पाकिस्तानी बेपत्ता

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र २७, २०७३-पाकिस्तानी सेनाबाट दुई वर्षअघि सेवा निवृत्त लेफटिनेन्ट कर्णेल मोहम्मद हबिब तीन दिनदेखि लुम्बिनीबाट हराइरहेका छन् । एक गैरसरकारी संस्थामा कामका लागि अन्तर्वार्ता दिन नेपाल आएका उनी आएकै दिन बेपत्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । पाकिस्तानी दूतावासले हबिब हराएको जानकारी शुक्रबारै नेपाल सरकारलाई गराएको छ । दूतावासले परराष्ट्र र गृह मन्त्रालयलाई त्यस्तो जानकारी दिँदै पहिलोपटक नेपाल आएका आफ्नो नागरिकको खोजी गर्न आग्रह गरेको छ । 

हबिब भारतीय सीमा क्षेत्रमा हराएकाले यसलाई पाकिस्तानी अधिकारीले ‘गम्भीर’ भन्दै योजनाबद्ध ढंगबाट भएको हुन सक्ने आशंका गरेको डनले जनाएको छ । ‘गौतम बुद्धको जन्मस्थल छेउछाउबाट हराइरहेको र त्यो स्थान भारतीय सीमासँग निकट रहेकाले यो योजनाबद्ध हुन सक्छ,’ डनले लेखेको छ । डनले पाकिस्तानको काठमाडौंस्थित नेपाली दूतावासका उपप्रमुख जावेद इब्रानीलाई उद्धृत गर्दै उनी हराएको विषयको जानकारी नेपाल सरकारलाई पठाइएको उल्लेख गरेको छ । 

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागले हराएका पाकिस्तानी नागरिकका विषयमा सम्बन्धित निकायमा खबर गरेर खोजी कार्य र यथार्थ बुझ्ने काम भइरहेको जानकारी दिएको छ । ‘उनी कसरी त्यहाँ जागिरका लागि आए भन्ने विषय र नेपालबाट सम्पर्क गर्ने सूत्रहरूको आधार बुझ्न आग्रह गरिएको छ,’ परराष्ट्र अधिकारीले भने, ‘पाकिस्तानी दूतावासले खबर गरेलगत्तै कन्सुलर विभागले यो विषयलाई बुझ्न सम्बन्धित निकायमा आग्रह गरेको हो ।’ 

हबिबलाई कसैले बन्दी बनाएको आशंका परिवारले गरेको डनले उल्लेख गरेको छ । 

प्रकाशित: चैत्र २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार