कुराकानी

निजी क्षेत्रको आत्मविश्वास जगाउँछु-शेखर गोल्छा

  • मध्यम र साना उद्योगीको उत्थान गर्छु-किशोर प्रधान

चैत्र २७, २०७३-नेपाल उद्योग वाणिज्य महासंघमा यही चैत २९ गते नयाँ नेतृत्व चयन हुँदै छ । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वत: अध्यक्ष हुनेगरी विधान संशोधन भएपछि वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानेर महासंघमा चुनावी सरगर्मी बढेको छ । हालका उपाध्यक्षद्वय शेखर गोल्छा र किशोर प्रधान वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । अर्को कार्यकालमा सिधै अध्यक्ष हुन पाउने भएकाले वरिष्ठ उपाध्यक्षको चुनावी माहोल विगतमा अध्यक्षको जस्तै देखिएको छ । चुनाव प्रचारप्रसारमा व्यस्त दुवै आकांक्षीसँग कान्तिपुरका गोकर्ण अवस्थीकृष्ण आचार्यले गरेको कुराकानीको सम्पादित अंश : 

तपाईंका चुनावी एजेन्डा के–के हुन् ?

पहिलो एजेन्डा अब हुने अध्यक्षलाई सहयोग गर्ने हो । अब स्वत: भवानी राणा अध्यक्ष हुँ‘दै हुनुहुन्छ । उहाँको कार्यकाल सफल गराउनु छ । उहाँले गर्ने कामलाई कसरी प्राथमिकता दिने भन्ने मेरो जिम्मेवारी हो । उहाँलाई सहयोग गर्दै गर्दा मेरो लक्ष्य पनि पूरा हुनेछ । किनभने हामी दुवैको एउटै लक्ष्य हो, आर्थिक विकास । नेपाल आर्थिक विकासका हिसाबले स्वर्णिम युगमा प्रवेश गर्दै छ, जुन मौका ३० वर्षपछि आएको छ । सन् ’९० को दशकमा निजीकरण सुरु भएको थियो । त्यसले ७ तथा साढे ७ प्रतिशत आर्थिक वृद्धिदर भएको थियो । त्यसपछि फेरि राजनीतिक द्वन्द्व भयो । राजनीतिक अस्थिरताले लगानी आउन सकेन । हाम्रो अर्थतन्त्र पनि क्रमश: कमजोर हँ‘दै गयो । औद्योगिक क्षेत्रको योगदान १४ देखि १५ प्रतिशत थियो, त्यो क्रमश: घट्न थाल्यो । हामी औसत आर्थिक वृद्धिदर २ देखि ३ प्रतिशतमा सीमित भयौं । फेरि ‘गोल्डेन’ समय आएको छ । आर्थिक परिसूचकहरू राम्रो हुँ‘दै गएका छन् ।

हामीजस्तै अविकसित अन्य देशमा देखिने चुनौती हामीकहाँ छैनन् । धेरै मुलुकमा शोधनान्तर स्थीति (ब्यालेन्स अफ पेमेन्ट) कम छ । यसलाई विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाले ऋण दिएर सुधार्न कोसिस गर्न खोजिरहेका छन् । तर नेपालमा अझै पनि १२ महिनाको सञ्चिति छ । हाम्रो मुद्रा भारतसँग पेग भए पनि स्थीर छ । माग र आपूर्तिका हिसाबले हाम्रो मुद्रा बलियो छ । अर्कोतर्फ, पहिलो सात महिनामा १५ प्रतिशतले निर्यात बढेको छ । ऊर्जाको समस्या थियो, त्यो कम भएर पनि औद्योगिक उत्पादन बढेको छ । कृषि उत्पादन पनि बढी नै छ । पर्यटनमा ६० प्रतिशतले वृद्धि भएको छ । समग्र सूचकहरू राम्रो देखिएका छन् । हामी करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै छौं । नाकाबन्दी र भूकम्पलगत्तैको वर्षमा यति वृद्धिदर हुनु सकारात्मक हो । हाम्रामा ६० प्रतिशत जनसंख्या आर्थिक गतिविधिमा सक्रिय छन् । तर अविकसित मुलुकमा यस्तो अवस्था छैन । निजी क्षेत्रले उठाउँदै आएका ऊर्जा समस्या समाधान हुँदै आएको छ । औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन पनि निजी क्षेत्रले भनेअनुसार आइसकेको छ । श्रम ऐन आउन लागेको छ । श्रम लचकतालाई त्यसमा समावेश गरिएको छ । वाणिज्य ऐन, कालोबजारी ऐनलगायत धेरै ऐन आउन बाँकी छन्, तर काम सुरु भइसकेको छ । बन्द हडताल हुने क्रम कम भएको छ । श्रम सम्बन्ध सुधार भइरहेको छ । 

-    सरकारको सहयोगी हात र निजी क्षेत्रको विश्वासका लागि काम गर्नेछु 

-    चुनावका बेला गुटबन्दी हुनु स्वाभाविक हो, चुनाव सकिएपछि गुटबन्दी रहनु हुन्न

-    कर तिरेर कमाएको पैसा कोही खर्च गर्न चाहन्छ भने किन नगर्ने ?

-    महासंघ छिरिसकेपछि तपाईंले राजनीतिक दलको एजेन्डा पछाडि राख्नुपर्छ

-    हुनेवाला अध्यक्षले आफ्नो समूह रोज्न पाउने कि नपाउने ?

आगामी दस वर्षमा महासंघमा आउने नेतृत्वले उद्योगीको दु:ख बुझोस् भनेर मैले उम्मेदवारी दिएको हुँ । मैले विगत १० वर्षमा विभिन्न पदमा रहेर काम गरिसकें । मेरो पछिल्लो जिम्मेवारी रोजगारदाता परिषद्को थियो । परिषद्को मात्रै नभएर उद्योग व्यापारमा पनि काम गरें । त्यसभन्दा पहिला बैंकिङ क्षेत्रमा काम गरिसकेको छु । त्यसैले व्यवसायी तथा उद्योगको दु:ख म बुझ्न सक्छु । महासंघका लागि मेरो नेतृत्व आवश्यक छ । सरकारका लागि सहयोगी हात र निजी क्षेत्रको विश्वासका लागि म काम गर्नेछु ।

तपाईंले समग्र अर्थतन्त्रको विकास, निजी क्षेत्र र सरकारबीचको सम्बन्ध सुधारको कुरा गर्नुभयो । तर, महासंघ र सरकारबीच सुमधुर सम्बन्ध देखिँदैन, नीतिगत एजेन्डाभन्दा पनि अन्य क्षेत्रमा महासंघ लाग्यो भन्ने आरोप छ नि ? 

हाम्रो प्राथमिकता परिवर्तन भएको छैन । हामीले चाहेको शान्ति हो । औद्योगिक वातावरण हो । बन्द नगरौं भन्ने हो । यो नगरौं भन्नका लागि हामीले मध्यस्थका रूपमा पनि काम गरेका छौं । हामीले एउटा ऐतिहासिक निर्णायक बहस पनि गराएका थियौं । मधेस आन्दोलन र नाकाबन्दीमा पनि हामीले आफ्नो भूमिका निर्वाह गरेकै हो । मधेसी र सरकारबीच निर्णायक वार्ता हुनुपर्छ भनेर प्रयास गरेकै हो, तर हुन सकेन । हाम्रो उद्देश्य कुनै राजनीतिक स्वार्थ प्राप्त गर्ने हैन । उद्योग, व्यवसायको सुरक्षा गरौं, बन्द हडताललाई अन्त्य गरौं भन्ने नै हो । 

यो त आम फाइदाका केही उदाहरण भए । तर महासंघ नेतृत्वले निजी व्यापार तथा व्यावसायिक फाइदाका लागि काम गरेको गुनासो छ, के भन्नुहुन्छ ?

मैले यस्तो उदाहरण पाएको छैन । महासंघ निजी स्वार्थका लागि प्रयोग भएको देखेको पनि छैन । म निजी स्वार्थभन्दा पनि संस्थागत स्वार्थमा काम गर्नेछु । मेरो उम्मेदवारी संस्थागत स्वार्थका लागि हो । 

तपाईं ठूलो उद्योगीमा पर्नुहुन्छ, ससाना उद्योगीको दु:ख बुझ्नुहुन्न, त्यसैले तपार्इंबाट उनीहरूको प्रतिनिधित्व हुन सक्दैन भन्ने आरोप छ नि ? 

म ५० वटा जिल्ला/नगर घुमें । विभिन्न वस्तुगत तथा एसोसिएटका साथीहरूसँग छलफल गरें । मैले समस्यालाई मुख्य तीन भागमा विभाजित गरेको छु । पहिलो समस्या, सरकारसँग गर्नुपर्ने काम हो । त्यसमा मैले ७० प्रतिशत समस्या समान देखें । साना, मझौला र ठूला व्यवसायीको समस्या राजस्वसँग सम्बन्धित छन् । रोजगार या श्रमसम्बन्धी समस्या पनि समान छ । ठूलोमा अलि बढी, सानोमा अलि कम हुने गरेको छ । तर, विभिन्न ऐन–कानुनसम्बन्धी छन् । त्यो समान छ । साना व्यवसायीको ‘थ्रेस होल्ड’को समस्या फरक हो । ‘मिसम्याच’ को समस्या सानामा अलि बढी छ ।

दोस्रो समस्या, स्थानीय छन् । उदाहरणका लागि कुनै जिल्लाको व्यवसायीले सुन्तला निर्यात गर्दै थियो, पूर्वाधार नभएर कुहियो । यो स्थानीय समस्या हो । तेस्रो समस्या भनेको जिल्ला र केन्द्रसँगको सम्बन्धको हो । पक्कै पनि म ठूलो उद्योगबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, तर हाम्रा समस्या समान छन् । समस्या समाधान हुनेबित्तिकै त्यो सबैका लागि भइहाल्छ । २० वर्ष भयो म यस क्षेत्रमा लागेको, विगतलाई हेर्नुस्, मैले नबुझेको भए कसरी समाधान गर्थें होला ? 

महासंघका पूर्वअध्यक्षदेखि लिएर हालका पदाधिकारीबीच चरम गुटबन्दी भइरहेको छ । समग्र क्षेत्र सुधारका लागि काम गर्न यस्तो गुटबन्दीले असर पार्दैन ? 

चुनावका बेला गुटबन्दी हुनु स्वाभाविक हो । चुनाव सकिएपछि गुटबन्दी रहनु हुन्न । हाम्रामा जित्नेले उन्माद गर्ने, घमन्ड गर्ने र हार्नेले प्रतिशोध गर्ने संस्कृति विकास भएको छ । मलाई लाग्छ, गुटबन्दी हुनु स्वाभाविक भए पनि चेम्बर आन्दोलनमा हामी आउनुको त एउटै उद्देश्य हो । एउटै उद्देश्य छ भने किन गुटबन्दी गर्ने ? चुनावको परिणाम आएपछि सबैजना मिलेर अघि बढ्नुपर्छ । सबै बिर्सेर हामी चेम्बर आन्दोलनमा लाग्नुपर्छ ।

व्यापारीको पनि आफ्नै आचारसंहिता हुन्छ । कुनै बेला महासंघमा पनि व्यावसायिक आचारसंहिता बनेको थियो । यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?

महासंघमा कोही पनि गैरकानुनी व्यवसायीका पक्षमा लागेको छैन । मलाई लाग्छ, भविष्यमा पनि हामी कोही पनि गैरकानुनी पक्षमा लाग्नेछैनौं । यो आचारसंहिता लागू गर्नेछांै । व्यवसायीले नाफा खोज्छ नै, तर हाम्रो छवि सुधार गर्न आवश्यक छ । पहिला पूर्वअध्यक्षहरूले आचारसंहिता बनाएका पनि छन् । त्यसको कार्यान्वयन कति भयो/भएन भनेर समीक्षा गर्नुपर्नेछ । लागू गर्न काम गर्नेछु । 

महासंघको चुनाव उम्मेदवारहरू अत्यधिक खर्च गर्छन् भनिन्छ । यसपालि तपाईं झन् बढी खर्च गर्नेमा पर्नुहुन्छ भन्ने पनि छ नि ?

मेरो उम्मेदवारी घोषणासभा बुटबलमा गरिएको हो । भैरहवा, नवलपरासी, हेटांैडा, विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढीमा ठूला घोषणासभा भए । म धेरै जिल्ला/नगर घुमें । हरेक ठाउँमा जिल्लाका साथीहरूले नै खर्च गर्नुभयो । सायद यो मप्रति उहाँहरूको विश्वास पनि हो । मलाई बढी खर्च गरेको दोष लगाइएको छ । यो उद्योगी–व्यवसायीको निर्वाचन हो । कर तिरेर कमाएको पैसा कोही खर्च गर्न चाहन्छ भने किन गर्न नपाउने ? म खर्च गर्न सक्छु भने गर्छु । मैले मिहिनेत गरेर कमाएको पैसा आफ्नो उम्मेदवारीका लागि खर्च गरेको हुँ । त्यसलाई के गलत भन्ने ? मैले बढी खर्च गरेको हुन सक्छ । तर गैरकानुनी क्रियाकलापमा खर्च गरेको त हैन नि । म हेलिकप्टर लिएर कुनै साथीको समस्या बुझ्न अथवा नजिक हुन गएँ भने त्यो मेरो निजी कुरा हो । यसलाई कसरी गलत मान्ने ?

निजी क्षेत्रको हितमा काम गर्ने महासंघको नेतृत्व चयन गर्ने बेला राजनीतिक ‘लबिइङ’ तथा दबाब पनि निकै हुने गरेको छ । यो त विकृति होइन र ?

यो महासंघका लागि सबभन्दा ठूलो रोग हो, जसलाई हामीले मत्थर गर्नुपर्छ । यसलाई हामीले रोक्न सकेनौं भने महासंघ खत्तम भएर जान्छ । यसलाई अर्को तर्फबाट पनि हेर्नुपर्छ । झन्डै दुई दशक भयो स्थानीय चुनाव नभएको । जिल्लामा निर्वाचित निकाय भनेको एउटा मात्रै हो, उद्योग–वाणिज्य संघ । संघको मात्रै निर्वाचन हँ‘दा केही जिल्लामा राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि आएका छन् । तर महासंघमा छिरिसकेपछि तपार्इंले राजनीतिक दलको एजेन्डा पछाडि राख्नुपर्छ । म आफू पनि भन्छु, मैले कुनै पनि राजनीतिक दलको एजेन्डा बोकेको छैन । किनभने त्यसले मलाई कमजोर बनाउँछ । म कुनै राजनीतिक दलकामा पुगेँ भने भोलि फेरि अर्को राजनीतिक दलकामा पुग्नुपर्छ । अनि मैले कसरी महासंघको नेतृत्व हाँक्ने ? त्यसैले मैले कुनै पनि दलको झन्डा र एजेन्डा बोकेको छैन ।

प्रतिस्पर्धी समूहले तपाईंको समूहले निर्वाचन आचारसंहिता उल्लंघन गर्‍यो भनेर पत्रकार सम्मेलन नै गर्‍यो । यसबारे तपाईंको प्रतिक्रिया के छ ?

अहिलेका अध्यक्षले अरूका लागि भोट माग्न पाउँदैन भनेर आचारसंहितामा लेखिएको छैन । हाम्रो विधानमा पनि लेखिएको छैन । विगतलाई पनि हेर्न सकिन्छ । पहिलेकाले आफ्नो उत्तराधिकारीको लागि भोट मागेका छन् । उसलाई प्रोत्साहित गरेका छन् । सबैले गरेका छन् । अब हुनेवाला अध्यक्षले आफ्नो समूह रोज्न पाउने कि नपाउने ? भवानी राणा स्वत: अध्यक्ष बन्दै हुनुहुन्छ । उहाँले ‘मलाई यो समूह भयो भने सहयोग हुनेछ’ भन्नु कुनै नौलो हैन । जब कोही व्यक्ति प्रधानमन्त्री बन्छ भने उसले आफ्नो नेतृत्व सफल पार्न भोट मागेकै हुन्छन् । जस्तो अहिले सरकारमा रहनेले स्थानीय तहको चुनावमा भोट मागिरहनुभएको छ । यो सामान्य कुरा हो । म काम गर्न चाहन्छु, बलिया हातहरू चाहिन्छन् । बलियो हात उहाँहरू हो भन्न पाइन्छ । यसमा कुनै आचारसंहिता उल्लंघन भएको छैन । मनमा भएको कुरा भन्नलाई कसरी गलत हो ?

मलाई अर्को आरोप पनि लाग्ने गरेको छ– मैले हतार गरेँ, मैले नेतृत्व लिने बेला भएको छैन रे । मैले दुई दशक विभिन्न चेम्बरमा काम गरिसकें । सबैभन्दा गाह्रो काम गरेँ । मलाई चुनौतीपूर्ण कामहरू मात्रै आइलागे । त्यसलाई मैले प्रभावकारी रूपमा गरेर देखाएको छु । जस्तो श्रम सम्बन्धको विषय, जुन निकै गाह्रो थियो । मैले समाधान गरें । मेरो कार्यशैली अरूको भन्दा फरक छ । टेबल ठोकेरभन्दा पनि तथ्यांक र तर्कका आधारमा आफ्नो र साथीहरूको काम गराएको छु । धेरैले भन्छन्– शेखर गोल्छाले सचिवको टेबल ठोक्न सक्छ ? म सक्दिनँ । मेरो स्वर ५ लाखभन्दा बढी उद्योगी–व्यवसायीको हो । म तथ्यांकका आधारमा, सौहार्दपूर्ण वातावरण र तर्कका आधारमा काम गर्छु ।

मेरा प्रतिद्वन्द्वीले धेरैपटक भन्नुभएछ, ‘म उमेरले परिपक्व छु ।’ नेतृत्व गर्न उमेरको आवश्यकता पर्ने हो भने सबैभन्दा बूढो मान्छेलाई देशको प्रधानमन्त्री बनाइदिए हुन्छ । सबैले महासंघमा परिवर्तन होस् भन्ने चाहेका छन् । मलाई लाग्छ, परिवर्तन ल्याउने युवाले नै हो । म अहिले पनि युवा छु । म परिवर्तन ल्याउन सक्छु । मैले साथीहरूको समर्थन पाएँ भने उहाँहरूलाई निराश गर्दिनँ । तन, मन, धन र बुद्धि–विवेकले भ्याएसम्म चेम्बर आन्दोलनलाई अगाडि बढाउँछु । निजी क्षेत्रको आत्मविश्वास जगाउन मेरो उम्मेदवारी हो ।

‘मध्यम र साना उद्योगीको उत्थान गर्छु’

तपाईंका चुनावी एजेन्डा के–के हुन् ?

मैले १५ वटा चुनावी एजेन्डा सार्वजनिक गरिसकेको छु । मुख्य एजेन्डा उद्योग–वाणिज्य महासंघमार्फत देशको अर्थतन्त्रलाई विकास गर्नु हो । साना तथा मझौला उद्योगीलाई ठूला उद्योगी बनाउने मेरो प्रयास छ । महासंघमा विजयी भएँ भने अबको ६ वर्षमा साना तथा मझौला उद्योगीको संख्या १७ प्रतिशतबाट ५० प्रतिशत पुर्‍याउनेछु । 

सरकार, राजनीतिक दल र सार्वसाधारणको उद्योगी–व्यवसायीप्रति रहेको नकारात्मक भावनालाई सकारात्मक बनाउने अर्को एजेन्डा हो । जस्तै जिल्ला/नगरको उद्योग–वाणिज्य संघलाई नवीकरण गर्न सरकारले दिएको अधिकार अहिले खोसिएको छ । वाणिज्यमन्त्री उत्पत्तिको प्रमाणपत्र खोसिदिने प्रक्रियामा हुनुहुन्छ । कृषि उद्यम केन्द्रका सम्पूर्ण निकायमा प्रश्नचिन्ह लागेको छ । यो अन्योल दूर गरेर सरकारसँग विश्वसनीयता बढाउने मेरो प्रयास रहनेछ ।

अहिले भोट माग्न राजनीतिक दलको ढोका–ढोका धाइरहनुभएको छ । भोली तिनै दलले नेतृत्व गर्ने सरकारसँग कसरी सशक्त रूपमा प्रस्तुत हुन सक्नुहोला ?

यसको सुरुवात मेरो खेमाबाट भएको हैन । साथीहरू ‘लबिइङ’ गर्दै राजनीतिक दलकहाँ पुग्नुभएको हो । २० वर्षदेखि स्थानिय निकायको निर्वाचन भएको छैन । राजनीतिक दलका स्थानीय नेताहरू हाम्रो उद्योग–वाणिज्य संघमा केन्द्रित भए । राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू उद्योग–वाणिज्य संघको अध्यक्ष पनि भएका छन् । झन्डै–झन्डै आधाभन्दा बढी छन् । यस्तो अवस्थामा के गर्ने ? मतदाता मेरो राजनीतिक पृष्ठभूमिको छ, मत कोसँग माग्ने त ? मेरो मात्रै हैन, मेरो प्रतिपक्षको पनि बाध्यात्मक परिस्थिति छ । यो परिस्थितिलाई ध्यानमा राखेर अनुरोध गर्ने काम भएको छ । मैले झुट बोलिरहनु पर्दैन । 

अहिले आर्थिक एजेन्डामा सबै दलहरू एक ठाउँमा छन् । नेपालको समग्र अर्थतन्त्रका विषयमा नेतृत्वदायी भूमिका महासंघले निर्वाह गर्नेछ । जुनसुकै दल सरकारमा आएपनि उनीहरूले अर्थतन्त्र सुधारलाई मूल एजेन्डा बनाएका छन् । हाम्रो मुलुक आयातमुखी छ । यसको मतलब आर्थिक अवस्था सुदृढ नहुनु हो । सुदृढीकरण गर्न व्यावसायिक वातावरण कसरी बनाउने, उत्पादनमूलक उद्योगलाई कसरी प्रवद्र्धन गर्ने, जलविद्युत्लाई कसरी विकास गर्ने, पर्यटन क्षेत्र कसरी स्थापित गर्ने भन्ने हो । यो समग्र विषयमा जुनसुकै दल सत्तामा आएपनि हामीले सहकार्य गरेर अघि बढ्ने हो । मसँग राजनीतिक चिन्ह लागिसकेको छैन, न कांग्रेसको चिन्ह छ, न कम्युनिस्टको । म ‘डेमोक्रयाट’ हुँ । मैले जति पनि शिक्षा हासिल गरेँ, प्रजातान्त्रिक मूल्य–मान्यताका आधारमा आर्जन गरेको हुँ । आस्था राख्नु खराब हैन, तर मैले दलको प्रमाणपत्र लिएको छैन । म मध्यमवर्गीय र सानो वर्गको उत्थानका लागि महासंघ नेतृत्वमा पुग्ने प्रयास गरेको हुँ । मैले महासंघमा २१ वर्ष योगदान गरेको छु । के म महासंघलाई सक्षम नेतृत्व दिन उत्तरदायी छैन ? मैले युवाकालमै राष्ट्रिय जेसिसको अध्यक्ष भएर नेतृत्व दिइसकेको छु । सानो गोदाममा रहेको उद्योग संगठन मोरङलाई नेपालको उत्कृष्ट उद्योग–वाणिज्य संघ बनाएको छु । पूर्वाञ्चल उद्योग–वाणिज्य संघको अध्यक्ष हँ‘दा महासंघले गर्न नसकेको काम गरें । आर्थिक विकासका लागि पूर्वाञ्चलको संरचना भन्ने विषयमा सातजना सचिव, मुख्य सचिव र तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई राखेर कार्यक्रम गरें । पूर्वमा अर्थतन्त्रको विकास भइरहेको छ । सडकहरू चौडा हुँदै छन् । किमाथांकाको अवधारणा मैले ल्याएको हुँ । आर्थिक विकासका लागि अर्थतन्त्रका लागि हामीले गर्नुपर्ने योगदानमा कुनै दलले लाञ्छना लगाउन सक्दैन भन्न खोजेको हुँ ।

  • अहिलेका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आचारसंहिताविपरीत काम गरिरहनुभएको छ 
  •   महासंघमा ५० प्रतिशत हिस्सा लिएर बसेको पदाधिकारी हुँ, अरूको २०–३० प्रतिशत हो 
  • आफ्ना व्यक्तिगत कुरा लुकाउनसमेत महासंघमा प्रतिनिधित्व गर्ने बानी छ 
  • मैले सहमतिको विरोध गरेको छैन, तर सहमतिको प्रयास एकदमै ढिलो भयो 
  • व्यापारीले इमानदारीपूर्वक काम गरेर पनि माथि पुग्न सकिन्छ 

उम्मेदवारीको विषयलाई लिएर गुटहरू त एकदमै कडा रूपले आए नि ?

हामीले परम्परा बिगारेका छौं । बिगार्ने हाम्रै अग्रजहरू होलान् । म अध्यक्ष भएँ भने यस्तो परम्परा तोड्छु । अहिलेका अध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष भवानी राणाले खुल्लमखुला आचारसंहिता विपरीत काम गरिरहनुभएको छ । उहाँहरूले संस्थाको मर्यादाविपरीत काम गर्नुभयो । 

आचारसंहितामा कुनै उम्मेदवारकहाँ जान नहुने भन्ने छ र ?

आचारसंहितामा कुनै पनि पदाधिकारीले प्रभावित पार्न हुँदैन भन्ने प्रस्ट छ । त्यो प्रस्ट्याइँलाई ‘तपार्इं त शेखर गोल्छाकहाँ जान हुँदैन’ भनेर लेख्नुपर्ने हो ? ‘किशोर प्रधानकहाँ जान हुँदैन’ भनेर लेख्नुपर्ने हो ? भवानी राणाजीले भन्नुभएको छ रे– जान पाउनुपर्छ भनेर । उहाँलाई महासंघको अध्यक्ष बनाउन किशोर प्रधानको पनि योगदान थियो । अझ मेरो योगदान बढी थियो । महासंघमा ५० प्रतिशत हिस्सा लिएर बसेको पदाधिकारी हुँ म, अरूको २०–३० प्रतिशत हो । ५० प्रतिशत हिस्सा बोकेको व्यक्ति म उसको कसरी हैन ? हैन भने उहाँ कसरी त्यहाँ पुग्नुभयो ? संस्थाको हित हुन्छ भनेर मैले उहाँलाई अध्यक्ष बनाउन योगदान गरें । उहाँले उत्तरदायित्व निर्वाह नगरेकोमा दु:खी छु । जुन व्यक्तिले विशेष साधारणसभामा ‘हामीले सुधार गर्न विधान संशोधन गर्नुपरेको हो, फोहोरी खेल नहोस् भन्न विधान संशोधन गरेको हो, पैसाको चलखेल नहोस् भनेर संशोधन गर्दैछौं’ भन्नुभएको थियो, तर त्यही फोहोरी खेल उहाँले गर्नुभयो । 

पूर्वअध्यक्षले उम्मेदवारलाई बोकेर हिंड्ने काम त विगतमा पनि हुन्थ्यो नि ?

यसबारे अहिलेका अध्यक्ष पशुपति मुरारकाले धेरै कुरा गर्नुभएको छ, जुन नितान्त गलत छ । अनौपचारिक रूपमा बहालवाला अध्यक्षले उम्मेदवारको ‘लबिइङ’ गर्नुभएको छ । तर सार्वजनिक रूपमा माला र टीका लगाउने काम कसैले पनि गरेको छैन । पूर्वअध्यक्ष कुशकुमार जोशीले आजाद श्रेष्ठको प्रचार गरेको हो । सुरज वैद्यले भाष्करराज राजकर्णिकारको प्रचार गरेको हो । तर सार्वजनिक समारोहमा गएर टीका लगाएको हैन । यतिसम्म संयमित हुन नसक्ने व्यक्तिले कसरी न्याय गर्छ ? 

तपार्इंले बोलाउनुभएन होला कि ?

मसँग टेपरेकर्ड त छैन, तर भवानी राणालाई मैले आफंै फोन गरेको हो । पशुपति मुरारका, पूर्वअध्यक्ष चण्डीराज ढकाललाई पनि फोन गरेको हो । तर उहाँहरू बोलाउनुभएन भन्दै हिंड्नुभएको छ । यो सरासर झुट हो । अध्यक्ष हुने निश्चित भइसकेको व्यक्तिले सार्वजनिक समारोहमा कार्यक्रम सञ्चालन गर्ने, उम्मेदवारलाई टीका लगाउने, माला लगाउने काम गर्नु हुँदैन । कुनै पनि पूर्वअध्यक्षले यो काम गरेको छैन । गर्नु पनि हुँदैन । 

तपाईंले निम्न र मध्यम वर्गीयलाई माथि उठाउँछु भन्नुभयो । तर महासंघ धेरै पैसा भएको व्यक्तिले नेतृत्व लिने हो भन्नेहरू पनि छन् । ठूला उद्योगी हुनुपर्छ, तपाईं त्यो हैन भन्ने छ नि ?

सबैजनाको समान हिस्सा भएन भने देशको अर्थतन्त्रको विकास हुन सक्दैन । अहिले सीमित व्यक्तिसँग मात्रै पैसा भएकाले यो देश गरिब छ । अहिले १३ प्रतिशतमात्रै ठूला व्यवसायी भनिएको छ । यसले देशको समग्र अर्थतन्त्रको विकास हुन सक्दैन । कमसेकम ९० प्रतिशतभन्दा बढीको सहभागिता भयो भने विकास हुन्छ । यो देशको विकास गर्ने हो भने सबै समान हुनुपर्छ ।

महासंघमा व्यक्तिगत लाभका लागि काम गरिन्छ भनिन्छ । तपाईं समग्रका लागि कसरी काम गर्न सक्नुहुन्छ ? 

अहिलेसम्म तपार्इंले भन्नुभएको कुरा ठीक होला । त्यही कुरा चिर्न किशोर प्रधानको आवश्यकता छ । किशोर प्रधानको कुनै स्वार्थ छैन । अब युवा व्यवसायीको हितका लागि फलानोले काम गरेन भन्ने अवस्था आउन दिन्नँ । अहिलेसम्मको नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त छ । शतप्रतिशत स्वार्थमा लागेका छन् । आफ्ना व्यक्तिगत कुरा लुकाउनसमेत महासंघमा प्रतिनिधित्व गर्ने बानी छ ।

तपाईंले पनि भोलि नेतृत्व लिइसकेपछि त्यसै गर्नुहुन्छ होला नि ?

हो, गर्न सक्छु । तर म गर्दिनँ । किन गर्दिनँ भने मलाई लोभ छैन । जब मान्छेलाई लोभ हँ‘दैन, तब मान्छेले गलत काम गर्दैन । मान्छे भ्रष्ट कहिले हुन्छ भने जब लोभी हुन्छ । मलाई किन लोभ छ ? मध्यमवर्गीय भएपनि मसँग सबै छ । मेरो उमेर परिपक्व तहमा पुगिसकेको छ । मलाई कमाउने इच्छा छैन । मेरा छोराछोरी शिक्षा हासिल गरी अगाडि बढ्न सक्ने बनिसकेका छन् । चार छोरीको विवाह गरिसकेको छु । एउटा छोराले एमबीए गरिसकेको छ ।

तलबाट माथि पुग्न स्वस्थ व्यापारबाट पनि सम्भव हुन्छ । व्यापारीले इमान्दारीपूर्वक काम गरे पनि माथि पुग्न सकिन्छ । तर हामीकहाँ कुनै गलत काम नगरी, राजस्व र अन्तशुल्क चोरी नगरी धनी भइन्न भन्ने गलत धारणा छ । त्यसलाई रोक्नु छ । 

तपाईं जिल्ला/नगरतर्फको उपाध्यक्ष हुनुहुन्छ । उम्मेद्वारले जिल्ला, नगरमा बढी पैसा खर्च गर्छन् भन्ने आरोप छ । तपाईंहरूले पनि धेरै खर्च गरिरहनुभएको छ रे ?

योचाहिं मैले पनि सुनेको हुँ । तर, जति पनि साथीहरू हुनुहुन्छ, उहाँहरूले गलत तरिकाले पैसा लिनुहुन्न भन्ने मलाई विश्वास छ । कुनै संस्थाको हितका लागि कसैले योगदान गर्न सक्छ । जस्तो दार्चुलामा केहीअघि पर्यटन महोत्सव भयो । त्यसको सफलताका लागि योगदान गरेको छु । यी (चेक देखाउँदै) मैले दार्चुलालाई चेक दिनुपर्छ । यो संस्थागत विकासका लागि हो । व्यक्तिगत रूपमा दिनु हँ‘दैन । त्यो काम मबाट कदापि हँ‘दैन । साथीहरूलाई मेरो विनम्रतापूर्वक अनुरोध पनि छ, तपाईंहरूजस्तो जिम्मेवार व्यक्तिले त्यस्तो काम गर्नु हँ‘दैन ।

तपाईंसँग ठूला र उत्पादनमूलक उद्योग छैनन् । त्यस्तो समूहको प्रतिनिधित्व तपाईं गर्न सक्नुहुन्न, उनीहरूको दु:ख बुझ्न सक्नुहुन्न भन्ने आरोप छ नि ?

यो आरोप सरासर गलत हो । कुनै बेला म पनि ठूला उद्योगीका रूपमा कहलिन्थें । त्यतिबेला मसँग ठूलो गार्मेन्ट उद्योग थियो । १२ सय व्यक्तिले रोजगारी पाएका थिए । मसँग ‘डब्लूएचओ’ मान्यताप्राप्त पहिलो ‘फर्मास्युटिकल्स’ उद्योग थियो । केही कारणले गर्दा म ठूलो उद्योगी बन्दाबन्दै पनि स्थापित हुन सकिनँ । तर मैले कर्मक्षेत्र छाडेको छैन । म कसैगरी पनि इमानदारीपूर्वक ठूलो उद्योगी बनेरै छाड्छु । यताउति गर्ने छैन । इमानदारीपूर्वक काम गरेकै कारण मलाई कसैले पनि औंला उठाउन सकेको छैन । आज पूर्वाञ्चलका सबै साथी चिन्तित हुनुहुन्छ, किशोर प्रधानलाई कसरी जिताउने भनेर । त्यो नै मेरो जित हो । देशभरिका साथीको चिन्ता छ । मेलमिलाप गर्ने कुरा पनि आइरहेको छ । मेलमिलाप गरौं भन्नुको मतलब मेरो आवश्यकता कहीं न कहीं छ भन्ने हो । म विश्वस्त छु, खेलमा हारजित त हुन्छ–हुन्छ । कसैले गोल लगाउला, कसैले नलगाउला । गोल लगाउन नसक्नेले पनि संयमपूर्वक हार स्वीकार गर्नुपर्छ । जित्ने व्यक्तिले पनि उन्मुक्त भएर जानु हँ‘दैन ।

तपाईंहरूबीच सहमति हुने सम्भावना कत्तिको छ ? 

विराटनगरमा अध्यक्ष पशुपति मुरारकाले (चैत) २७ गतेसम्म प्रयास गर्छु भन्नुभएको छ । प्रयास गर्ने उहाँको काम हो । महासंघको समग्र विकासका लागि सहमति हुने सम्भावना भयो भने मेरो साथ हुनेछ । मैले कहिल्यै पनि सहमतिको विरोध गरेको छैन । तर सहमतिको प्रयास एकदमै ढिलो भएको छ । जति ढिलो भएपनि संस्थालाई मर्यादित बनाउन उहाँको योजना छ भने म पनि उहाँलाई सहयोग गर्न चाहन्छु । 

साथीहरूलाई मेरो एउटै अनुरोध छ– तपाईंको अमूल्य मत महासंघको भविष्यका लागि हाल्नुस् । आउने पुस्ताको भविष्य महासंघको नेतृत्वले पनि निर्धारण गर्छ । महासंघमा गलत गर्ने र पछुताउने परम्परा पनि छ । जस्तो विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष भवानी राणालाई अध्यक्ष बनाउने व्यवस्था गर्‍यौं । अहिले पछुताइरहेका छन् । पशुपति मुरारकालाई सर्वसम्मत अध्यक्ष बनायौं, अहिले पछुताइरहेका छन् । अब त्यस्तो नहोस् । गल्ती गरेर पछुताउने काम नगरौं । जे गरौं, आफ्नो अन्तरआत्माले गरौं ।

 

प्रकाशित: चैत्र २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार