रोचक

कठपुतली विवाह !

- प्रकाश अधिकारी

चैत्र २७, २०७३-राजनीतिमा कठपुतली शब्द खुबै प्रयोग हुन्छ । अरू कसैको इसारामा चल्नु अर्थात् वास्तविक अर्कै तर देखिने रूप एउटा छ भने त्यसलाई कठपुतली भन्ने गरिन्छ । नेपाली राजनीति सधैंजसो उच्चारण भइरहने कठपुतली शब्द विवाहजस्तो विशुद्ध सामाजिक संस्कारमा प्रयोग नहुनुपर्ने हो । किनकि, विवाह एउटालाई देखाएर अर्कैसँग गरिन्न । पश्चिम सुर्खेतमा एउटा अनौठो संस्कार जीवित छ । जहाँ बाल उमेरका केटी–केटीबीच बिहे हुने गर्छ । समलिंगी भने होइन । एक दिन तामझामका साथ विधिपूर्वक बालिकालाई नै वर–वधू बनाएर बिहे गरिन्छ । बिहे सम्पन्न भएकै रात वर–वधूलाई आ–आफ्नै घरमा पठाइन्छ । यसैलाई कठपुतली विवाह भन्ने गरिन्छ । 

बालिकालाई नै दुलहाको भेषमा सजाउने चलन छ । गुटु–४ भाप्रका रामलाल बयकको घरमा केहीअघि ठूलै चटारो थियो । घरआँगनमा मानिसहरूको बाक्लो जमघट । पञ्चेबाजा घन्किरहेको थियो । ११ वर्षीया छोरी दीक्षालाई दुलहा बनाएर जन्तीको लावालस्करसहित डोली लिएर बयक परिवार दुलही लिन नजिकको अर्को गाउँ जाँदै थियो । सोही ठाउँ डाबकी १३ वर्षीया किरण देवकोटा दीक्षाकी दुलही अर्थात् बयक परिवारकी बुहारी थिइन् । जन्तीलाई स्वागत गर्न र दुलही अन्माउन डाब टोलमा पनि उस्तै चटारो थियो । गाउँभरिका मान्छे दुलहा–दुलही हेर्न भेला भए । दुलही लिएर गएपछि रामलालको घरमा दीक्षा र किरणको औपचारिक बिहे भयो । गत माघमा गुटु बजारकै मिलनचोकमा पनि विवाहको भव्य उत्सव थियो । मिलनचोककी १० वर्षीया पार्वती बीसी दुलहा थिइन् । उनका घरपरिवारसहित छरछिमेकीहरू दुलही लिन सोही ठाउँकै मोतीसेरा टोल पुगेका थिए । मोतीसेराकी सम्झना बयकलाई दुलहीका रूपमा पार्वतीको घरमा अन्माइयो ।

यो बिहेमा कोसेलीका रूपमा माल्टाटा (मालुको रूखमा फल्ने बोक्राभित्रको एक प्रकारको फल) लिने गरिन्छ । ‘बिहेपछि राति नै दुलहीलाई ससम्मान फर्काउँछौं,’ रामलाल भन्छन्, ‘अन्य बिहेजस्तो यसमा पनि सबै विधि पूरा गर्छौं ।’ यो चलन पुर्खौंदेखि चलिआएको उनी बताउँछन् । ८४ वर्षीय लक्ष्मीप्रसाद उपाध्यायका अनुसार हिउँद याममा भुवाको ठूलो जात्रा लाग्दो रहेछ । आगोको मुढा ताप्ने क्रममा बिहे गर्ने उमेरका (पहिले–पहिले निकै कलिलो उमेरमा बिहे गर्ने चलन थियो) दुई बालिकाको जलेर मृत्यु भएछ । घटनापछि छोरीको बिहे गर्ने सपना अधुरै भएछ । अनि, घटनाको एक वर्षपछि तिनै बालिकाको सम्झनामा उनका परिवार, इस्टमित्रले उनीहरूकै प्रतिरूप बनाएर विवाह गरेछन् । त्यसयताका हरेक वर्ष गुटु र आसपासका गाउँमा बाल उमेरका केटी–केटीबीच विवाह हुने गर्दोरहेछ । 

प्रत्येक साल दुलहा–दुलही पक्ष साटासाट हुन्छन् । ‘यो साल दुलहा हुने गाउँमा अर्को साल दुलही बनाउँछौं । दुई गाउँबीच यस्तो क्रम चलिरहन्छ,’ विष्णुप्रसाद भन्छन्, ‘रजस्वला नभएकालाई वर–वधू बनाउने चलन छ ।’ 

प्रकाशित: चैत्र २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार