जीवनशैली

सारथि शशी

  • चित्रकलाको भविष्य उज्ज्वल देखेका चित्रकार शशी शाह कलाप्रेमी समाज अझै निर्माण नहुँदा भावी पुस्ताप्रति चिन्ता व्यक्त गर्छन् ।
- मधु शाही

चैत्र २७, २०७३-‘नमस्कार ! सन्चै हुनुहुन्छ ?’ 

निहुरिएको नाकमाथि अडिएको पावरवाल चस्मा सार्दै उनले उत्तरमा मात्र मुस्कान दिए । एक टक हेरेर र भित्र गेस्ट रुममा बस्ने इसारा गरे । भित्ताहरू उनैले सिर्जिएका चित्र सजिएका थिए । यिनै चित्र माझ कलिला अनुहारका शशी शाह पनि थिए । ब्ल्याक एन्ड ह्वाइट रंगको आफ्नै फोटो देखेर शशी आफैं दंग पर्छन् । 

प्रष्ट सुन्न नसके पनि शशी शाह ७७, का आँखा भने अझै क्यानभासका रेसा कोर्न सक्षम छन् । दैनिक भेट्न आउनेसँग उनी गफ गर्न रुचाउँछन् । त्यसलाई सहज बनाउन कापी र कलम सँगै राख्छन् । प्रश्न सोध्न चाहनेले कापीमा लेख्नुपर्छ । उनी लेखेरै त्यसको जवाफ तुरुन्तै दिने गर्छन् । 

कहिलेकाहीं ‘टाइम पास’ गर्न मन लागे उनी त्यही कापीका पाना पल्टाउँछन् । ‘खै कसले हो, स्या खानुहुन्छ ? भनेर सोधेका रहेछन्,’ उनी कापी हेर्दै भन्छन्, ‘स्या भनेको रक्सी रे, धेरै भयो चटक्कै छाडेको ।’ रमाइलो उत्तर फर्काउन पनि उनी माहिर छन्, ‘स्या न छाडेको भए अहिलेसम्म संसार छाडिसक्थें ।’ 

उच्च रक्तचापका बिरामी शशी पछिल्लो समय स्वास्थ्यमा निकै सचेत हुन थालेका छन् । खानपिन र दैनिकीमा उनी विशेष ध्यान राख्छन् । खासगरी चित्र कोर्दा यसले ध्यानको काम गर्ने र एक प्रकारको मानसिक सन्तुष्टी मिल्ने उनको विचार छ । त्यसैले उनी यो उमेरमा पनि क्यानभास कोर्न भने छाडेका छैनन् । 

कति रात यस्ता थिए जतिबेला चित्रकार शशी क्यानभास पोत्न सुरु गरेपछि कहिलेकाहीं छ्यांगै उज्यालो पार्थे । तर, यो युवा जोस र जाँगर हुँदाको कुरा । अहिले भने शशी तिनै रात सम्झँदै दिनमा क्यानभास कोर्छन् । त्यो पनि फुर्सदमा । कुपन्डोलस्थित आफ्नै निवासमा उनले बनाएको सामान्य स्टुडियोभित्र महँगा र अमूल्य कला संकलित छन् । ‘बस्दा दिक्क लागे चित्र कोर्न थाल्छु,’ भन्छन् । चित्र कोर्न जाँगर गरे पनि अचेल उनी कला बिक्री गर्न भने खासै जोड दिँदैनन् । आफूसँग थोरै कलेक्सनमा रहेका चित्र पनि बेचेर रित्तो हुन चाहन्न उनी । घरमै किन्न आउने ग्राहकलाई समेत चाहिनेभन्दा बढी मूल्य तोकेर तर्साउने गर्छन् उनी । ‘नकिनुन् भनेरै बढी मूल्य राख्छु’, उनी भन्छन्, ‘अब जति भन्यो त्यतिमै किन्छन् भने बेची पनि हाल्छु, सकभर नकिनुन् भन्ने लाग्छ ।’ जाँगर चल्नेबित्तिकै शशी बँगैचामा होस् या कोठामा साधा क्यानभासलाई रंगाउन थालिहाल्छन् । 

बाल्यकालमा शशी चित्रकार नै बन्छु भनेर लागेका थिएनन् । दरबार हाई स्कुलमा पढ्दा शशीले चित्रकला विषय एसएलसी सजिलै पास गरिन्छ रे भन्ने हल्लामा लिएका थिए । ‘चित्रकला पढ्नेले सजिलै एसएलसी गर्छन् भन्थे,’ उनी सम्झन्छन्, ‘आफू पनि लहैलहैमा लागियो ।’ पछि त्यही लहैलहै विस्तारै लत बन्न पुगेछ । शशी आखिर यो पेसामा चाहिँ किन लागे त ? सेताम्मै फुलेका कागजमा लेखेर उत्तर दिन्छन्, ‘बाल्यकालमा जान्दै नजानी लागें, जवानीमा पेट पाल्न र अहिले बुढेसकालमा समय कटाउन ।’ 

चित्र कोर्दा धेरै पछि मात्रै उनले घोडा ‘थिम’ मा करिअर बनाएको बताउँछन् । घोडा नै किन ? उनलाई अधिकांशले सोध्ने साझा प्रश्न हो । हिन्दु शास्त्रमा घोडालाई शक्तिशाली जनावरको प्रतीक मानिन्छ । शशी त्यही शास्त्रलाई टेकेर चित्र बनाउँछन् । उनका अनुसार कुनै पनि जनावर जति दौडिए पनि थाक्छ । घोडाचाहिँ कहिल्यै थाक्दैन । त्यसैले घोडाप्रति उनको गहिरो आत्मीयता छ ।

समय ठ्याक्कै अनुमान लगाउन नसके पनि उनी जापानमा पहिलो पटक कला प्रर्दशन गर्न जाँदाको क्षण अझै स्मरण गर्छन् । ‘कतिपय कुरा भुल्नै सकिँदोरहेनछ,’ उनी भन्छन्, ‘जापानमा पहिलो चित्र बिकेको क्षण निकै रमाइलो थियो ।’ उतिबेला २ सय डलरमा बिक्री भएको चित्र शशीको मानस्पटलमा गडेर बसेको छ । ती दिन सम्झिँदा जीवन अहिले फ्ल्यासब्याकजस्तै लाग्छ उनलाई । बाँच्नका लागि तन्नेरी अनुभूति गर्नैपर्छ । त्यसैले क्यानभासमा ताजापन ल्याउन उनी सधैं प्रयत्नशील छन् । 

पछिल्ला युवा पुस्ताको काम हेरेर आफूमा ऊर्जा थप्नुपर्ने उनको विचार छ । युवाहरूले गर्दा नै आफ्नो मूल्यांकन ओझिलो हुने उनको धारणा छ । यसकारण पछिल्लो समय उनका केही काम बेग्लै छन् । ‘समुन्द्र मन्थन’ थिमको चित्र उनले आधी बनाएका छन् । बीचका केही भाग पूरा गर्न बाँकी नै छ । चित्रको एक भागमा देवताको ताँती अर्को तिर राक्षसहरू । बीचमा शिव भगवान्ले विष पान गरेको दृश्य । हिन्दु धर्मको मिथमा आधारित उक्त चित्रको मुख्य सन्देश सत्य र असत्यको तुलनात्मक क्षमता प्रदर्शन गर्नु हो । शशीले कोरेको अर्को नयाँ काम पनि छ । जुन हेर्दाभन्दा पनि मनन गर्दा गम्भीरता महसुस गराउँछ । सातवटा घोडा । यसमा उनले डरलाग्दा घोडा कोरेका छन् । एउटा छेउमा सानो बालक पखेटा फिजाउँदै घोडामा आकर्मण गरेको, अर्को तर्फ निराश बुद्धको आकृति देख्न सकिन्छ । ‘क्रूर घोडा नकारात्मक पक्षको प्रतीक हो,’ उनी आफ्नै चित्र समीक्षा गर्दै भन्छन्, ‘सानो बालकले चुनौती दिइरहेको छ, त्यो समयको संकेत हो ।’ 

शशीले गरेका नयाँ काम प्रदर्शन गर्न चाहन्छन् । यसको लागि आयोजक र व्यवस्थापक खोज्न निकै झन्झट छ । यही दु:ख खेप्न नसकेर उनी यी नयाँ सिर्जना घरै थन्काउन बाध्य छन् । कसैले प्रदर्शन गरिदिए नाइ नभन्ने उनी बताउँछन् । करिब ६० वर्ष क्यानभास रंगाउँदा उनले चित्रकलालाई सतही रूपमा मात्रै बुझेको बताए । सतहमा बसेर जीवनको गहिराइ देखाउनु चित्रकारको दायित्व मान्छन् उनी । यो उमेरमा चित्रकलाको बुझाइ कस्तो छ त ? उनी भन्छन्, ‘अचम्म छ, चित्रकला जति बुझ्न खोज्यो उति बुझ्न नसकिने विधा रहेछ ।’ सतहमा बसेर उचाइ दिनुपर्ने चुनौती खेप्नुपर्छ चित्रकारलाई । झलक्क हेर्दा कला सतही ज्ञान होजस्तो लाग्छ । ‘पाकेर सेत्तै फुलिसकें, रंगको गहिराइ बल्ल बुझ्दैछु’, शशी भन्छन् । शशी अचेल चित्र मात्रै कोर्दैनन् । घोडाकै बारेमा प्रतिस्थापन कलासमेत बनाउन थालेका छन् । 

पत्रिकाका केही टुक्रा बटुलेर फलामका सरियाको सहारामा उनले घोडाको जमात बनाएका छन् । कलाका नयाँ विकास र शैलीसँग उनी ‘अपटेड’ भएको उदाहरण हो यो । प्रतिस्थापन कलाको आफ्नै महत्त्व छ । तर, व्यावसायिक सफलता भने नेपालको सन्र्दभमा लगभग छैन । 

जीवनको फ्ल्यास ब्याक कोट्याउँदा उनी आफूले बिगारेका र गरेका नचाहिने विषय समय आए फेरि सुधार्ने चाहना रहेको बताए । ‘फेरि उही उमेर पाए बिगारेका कुरा सपार्थें,’ भन्छन्, ‘समय फर्केर आउँदैन ।’ १९६७ मा मुम्बईको जेजे स्कुल अफ फाइन आर्ट्समा डिप्लोमा गरेका शशीले मुराल्ससम्बन्धी विशेष कोर्स लिएका छन् । कला व्यवस्थित हुन नसके पनि शिक्षाको हिसाबले पछिल्लो समयभन्दा कला अध्ययन राम्रो हुँदै गएको शशी बताउँछन् । युवाहरूले प्रविधिको भरपुर प्रयोग गरेर कलामा नौलोपन भित्र्याउने जर्मको गर्दैछन् । शशीले उनीहरूको यही काम गर्ने शैलीबाट आफू पनि थप फरक सिर्जना कोर्न प्रेरित भइरहेका छन् । ‘बाँचुन्जेलसम्म चित्रै कोर्ने रहर छ’ उनी भन्छन्, ‘अझै सिक्दै छु ।’ 

चित्रकलाको भविष्य उज्ज्वल देखेका शशी कलाप्रेमी समाज अझै निर्माण नहुँदा भावी पुस्ताप्रति चिन्ता व्यक्त गर्छन् । डिजिटल युगमा प्रवेश गरेको कला जति माथि उठ्नु पर्ने हो नेपालमा त्यति विकास भएको छैन । यसको अर्थ नेपाली कलाकारका काममा गुणस्तर छैन भन्नेमा शशी पटक्कै सहमत छैनन् । बरु देशको व्यवस्थापन र चासोमा सकरात्मक सोचको विकास नहुँदा कला क्षेत्र खुम्चिनु परेको उनको गुनासो छ । युवा कलाकारले आफ्नै बुतामा संघर्ष गर्दैछन् । व्यक्तिले धानेको कला संस्कृति कहिलेसम्म टिक्ने ? शशीको मनमा यही प्रश्न खट्किरहन्छ । 

प्रकाशित: चैत्र २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार