जीवनशैली

आकाशको जिन्दगी

- -सुरज कुँवर

चैत्र २५, २०७३-एसएलसीमा खोटाङ जिल्ला सेकेन्ड दरिएपछि उद्धव घिमिरे पहिलोपटक नेपाल एयरलाइन्सको क्यानडियन टुइनअटर चढेर दिक्तेलबाट काठमाडौं ओर्लिए । उनको सपना थियो, प्लस टुमा साइन्स पढेर डाक्टर बन्ने । निर्वाहमुखी कृषि अँगालेको परिवारका सबैभन्दा कान्छा उनले छात्रवृत्तिमा नाम निकाल्न दुई वर्ष कुरे । तर, नि:शुल्क पढ्ने लिस्टमा नाम चढाउन सकेनन् । काठमाडौं बिजुलीबजारको डेरामा एक दिन पढ्दै गरेको नेपाली अखबारले उनको डाक्टरी सपनालाई पाइलटतर्फ मोडिदियो । अहिले उनी नेपाल एयरलाइन्स (एनएसी) कै पाइलट छन् । जहाज उडाउन सिकेपछि मात्रै बाइक चलाउन सिकेका तर साइकल र कार हालसम्म पनि नचलाएका उनी एनएसीको चिनियाँ विमान वाई१२ई का क्याप्टेन हुन् । एनएसीसँग अहिले यही वर्गका दुई जहाज छन् । प्रतिजहाज ५० करोड रुपैयाँ हाराहारी बिक्री मूल्य रहेको वाई१२ई उडाउने निगमका उनी एक्ला क्याप्टेन हुन् । उनीभन्दा मुनि ६ जना को–पाइलट छन् । एसएलसी सकेपछि मात्रै काठमाडौं एयरपोर्टमा पहिलोपटक मोटर गाडी देखेका यी ३१ वर्षीयले ३ हजार घण्टा बढी आकाशमा बिताइसकेका छन् । नेपालको सबैभन्दा धेरै च्यालेन्जिङ अनि विदेशीहरूले विश्वकै मोस्ट एक्स्टि्रम घोषणा गरेको लुक्ला सेक्टरमा धेरै जहाज अवतरण गराएको अनुभव बटुलेका क्याप्टेन घिमिरेले कान्तिपुरका एभिएसन संवाददाता सुरज कुँवरसँग पछिल्लो नेपाली आकाशको अवस्था र पाइलटहरूको क्रेजबारे यो अंकमा आफ्ना धारणा सुनाएका छन् । थप उनकै भनाइमा : 

२०५७ सालमा लामीडाँडाबाट जहाज चढेर काठमाडौं ओर्लिएपछि एयरपोर्टको गेटमा सार्वजनिक बस देख्दा म चकित परेको थिएँ । त्यो बेला एयरपोर्टबाट बाहिरिँदै गरेका बेला मैले सोचेकै थिइनँ, कुनै दिन यही एयरपोर्टबाट जहाज उडाउने छु भनेर । तर, ११/१२ सकिएपछिको एक दिन अखबारको एउटा हेडलाइनले मेरो जीवनको उद्देश्य मोडियो । ‘नेपालमा पाइलट अभाव’ शीर्षकमा छापिएको खबरलाई पछ्याउँदै म बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरण पुगें । पाइलट बन्ने योग्यता कसरी बनाउने ? पढ्न के गर्नुपर्छ ? कहाँ पढ्ने ? भनी जिज्ञासा राखें । अनि पढेर आएपछि जागिर कनफर्म हो भनेर पनि प्रश्न गरेको थिएँ । 

त्यहाँबाटै मैले मैतीदेवीको एउटा कन्सल्टेन्सीको ठेगाना लिएँ । फिलिपिन्सको मनिलामा ३४ लाखमा पाइलट पढाइ हुने रहेछ । तर, लगानी थिएन । खेतीकिसानी गर्ने परिवारको भएकाले यत्रो रकम जुटाउन चुनौती भयो । एसएलसीमा ७४ प्रतिशत ल्याएपछि ११/१२ पढ्न साँगाको नेपाल प्रहरी स्कुलमा भर्ना पाएँ । त्यहाँबाट ६५ प्रतिशत ल्याएर उच्च शिक्षा सकेर डाक्टरीको तयारीमा थिएँ । दुई वर्ष त्यसै खेर गएपछि अन्तत: मेरा बा गाउँको जग्गा बिक्री गरेर मलाई फिलिपिन्स पठाउन तयार भए । खेत बिक्री गरेको १८ लाख रुपैयाँ बोकेर ०६३ को हिउँदयाममा म फिलिपिन्स उडें । सिंगल इन्जिन भएको सेस्ना क्याराभानमा पाइलट कोर्सको तालिम सकियो । २ सय २० घण्टा त्यो जहाज उडाएर ०६४ मा काठमाडौं फर्किएँ । फर्किएको केही दिनमै मैले अग्नि एयरलाइन्सको डोर्नियर विमानमा को–पाइलट भई उडान सुरु गरें । त्यसपछि सिम्रिकमा डोर्नियर जहाज उडाएँ । फिलिपिन्स जानुअघिसम्म मलाई धनी मान्छेका छोराछोरी मात्रै पाइलट अध्ययन गर्न योग्य हुन् जस्तो लाग्थ्यो तर, भ्रम पो रहेछ । 

मनिलामा एउटै कलेजमा हामी १७/१८ नेपाली तालिम गर्दै थियौं । डब्लूसीसी एरोनटिकल कलेज थियो हाम्रो । त्यसताकाको लटका ३ जना साथीहरूको (मनहरा, लामीडाँडा, जोमसोमका हवाई दुर्घटनामा) मृत्यु भइसकेको छ । ३ जना विदेशी एयरलाइन्समा छन् । बाँकी नेपालकै आन्तरिक उडानमा छौं । ७/८ जना पाइलट साथीहरूसँग नियमित ग्राउन्ड अनि आकाशमा भेटघाट भइरहन्छ । उडिरहँदा अघिअघि उडेको साथीलाई पछाडि आउँदै गरेको साथीले इन–रुटको वेदरबारे सोधिरहेको हुन्छ । काठमाडौंबाट अर्को गन्तव्यमा पुगेपछि बाटोमा झेलेको चुनौती/अप्ठ्याराबारे अनुभव साटासाट गर्छौं । गेटटुगेदर पनि हुन्छ कहिलेकाहीँ । पछिल्लोपटक नेपालमा पाइलटहरूको डिमान्ड उच्च हुँदै गएको छ । अहिले नेपाली हवाई क्षेत्रमा ३ सय ५० हाराहारी पाइलट उडानमा छन् । तर यो संख्या पर्याप्त होइन । चाहिएको ५ सय जति हो । अझै डेढ/दुई सय अभावै छ । धेरै एयरलाइन्समा सिनियर क्याप्टेन, प्रशिक्षक पाइलट (आईपी) चेक पाइलट, डेजिनेटेड चेक पाइलट (डीसीपी) छँदै छैनन् । हेलिकप्टरका लागि विदेशी आईपी, क्याप्टेन ल्याउनुपर्ने अवस्था छ ।

नेपालमा सबैभन्दा पहिले टुइनअटर उडाउने हाम्रै एयरलाइन्समा यसको आईपी पाइलट नै छैन । यो वर्ष मात्रै साना–ठूला गरी १ दर्जन हाराहारी नयाँ जहाज/हेलिकप्टर थपिए । एउटा जहाजका लागि कम्तीमा ३ जनाको एक सेट पाइलट बनाउने हो भने कम्तीमा ५० जना पाइलट थपिएको हुनुपर्छ । अर्को वर्ष नेपाल वायुसेवा निगमले वाइडबडी विमान भित्र्याउँदै छ । निगमले ल्याउने दुइटा वाइडबडीमै मात्र कम्तीमा ४० जना पाइलट आवश्यक पर्ने छ । यिनै विकासक्रमले नेपालमा पाइलटहरूको माग पनि बढ्दै गइरहेको देखाउँछ । 

अहिले हवाई यात्रा गर्नेहरूको संख्या पनि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले भर्खरै एउटा तथ्यांक सार्वजनिक गरेको छ । त्यसले भन्छ, अघिल्लो वर्षको दाँजोमा सन् २०१६ मा आन्तरिक उडानमा यात्रु संख्या २८ प्रतिशतले बढे । सन् ०१५ को दाँजोमा आन्तरिक रुटमा ३ लाख ९३ हजार ५ सय ४८ यात्रु बढ्दा यो संख्या १७ लाख ५७ हजार ५ सय ९६ पुगेको छ । त्यसैगरी सन् २०१६ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या पनि अघिल्लो वर्षको तुलनामा करिब ३ लाखले बढेर ३५ लाख १० हजार ७ सय ४२ पुगेको छ । यिनै तथ्यांकहरूले नेपाली युवाहरूलाई पाइलट कोर्स पढ्न अवश्य तान्नेछ । अहिले नेपाली बजारमा पाइलटहरूले कम्तीमा डेढ लाखदेखि ८ लाख रुपैयाँसम्म मासिक पारिश्रमिक थाप्छन् । दुर्गम रुटमा उडाउने चालक हाई पेमा पर्छन् । 

त्यसैगरी एउटा तथ्यांकअनुसार अहिले विश्वभर व्यावसायिक उडानमा करिब १७ हजार ठूला विमान रहेको अनुमान छ । अबको २० वर्षपछि २५ हजार विमान थपिने प्रक्षेपण गरिएको छ । तर, थपिँदै गरेका विमान मर्मत गर्ने इन्जिनियर र उडाउने पाइलटको भने अभाव विश्वभर बढ्दै गएको छ । अबको १० वर्षभित्र ४ लाख ८० हजार नयाँ प्राविधिक र ३ लाख ५० हजार पाइलटको विश्वभर अभाव देखिने प्रक्षेपण गरिएको छ ।

यसैका लागि संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत रहेको स्वतन्त्र अनि विशेष मानिने अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले विश्वभरि एनग्याप नामको एउटा अभियान घोषणा गरेको छ । यसको उद्देश्य नेपाल जस्तै मुलुकका लागि पाइलटलगायतका जनशक्ति उत्पादन गर्ने रहेको छ । आगामी पुस्ता लक्षित नागरिक उड्डयनकर्मी उत्पादन गर्न सघाउने यो कार्यक्रमले नेपाली विद्यार्थीलाई उड्डयनसँग सम्बन्धित क्षेत्रमा दक्ष जनशक्ति बनाउन कस्तो मद्दत गर्ला, त्यो भविष्यमा देखिएला नै ।

तर, नेपालमा अहिले पनि पाइलटको सामाजिक प्रतिष्ठा बाँकि नै छ । केही हजारदेखी लाखौं केजी तौल भएको विमानमा सयौं ज्यानलाई एक ठाउबाट अर्को ठाउसम्म उडाएर पुर्‍याउने यो पेशाका धेरै क्रेजी भेटीन्छन् । किनकी यस्मा ग्ल्यामर पनि छ हैं । 

प्रकाशित: चैत्र २५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार