जीवनशैली

रन–वेमा एक्ली रेसु

  • १८ वर्षमै सानो ट्राभल एजेन्सीमार्फत एभिएसन फिल्डमा उत्रेकी रेसु ठूलो जेट विमान ह्यान्डल गर्ने एक्ली महिला
- -सुरज कुँवर
दुर्घटनाग्रस्त विमानका कारण काठमाडौं रनवे चार दिन ठप्प भयो। त्यस बीचमा उनले के–के मात्र गर्नुपरेन

चैत्र ११, २०७३- समय : २० फागुन, ०७१ 

युरोपबाट २ सय २४ यात्रु बोकेर उडेको टर्किस एयरलाइन्सको वाइडबडी जेट विमान (एयरबस ३३०) काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तरखरमा छ। टर्किसका तर्फबाट काठमाडौं एयरपोर्ट हेर्न तोकिएकी कमर्सियल म्यानेजर रेसु सिंह अरू दिनजस्तै केहीबेरमा यताबाट उड्ने तयारीमा रहेका २ सय ५० यात्रुलाई बोर्डिङ गराउने छिन् भने युरोपबाट आएका यात्रुहरूलाई एयरपोर्ट बाहिर निकाल्ने छिन्। तर, दुर्भाग्य ककपिटमा बसेका ५५ वर्षीय कमान्डर क्याप्टेनका आँखाले काठमाडौंको रनवे प्रस्ट देख्न सक्दैन। १४ हजार घण्टा आकाशमा बिताइसकेका उनले दोस्रोपटक गरेको अवतरण प्रयास असफल हुन्छ। जहाज धावनमार्गमा नभई चौरमा छड्किएर दुर्घटनामा पर्छ।

गौचरन विमानस्थलका कर्मचारी, प्रहरी, सेना सबै धावनमार्गतर्फ दौडिन थाल्छन्। रेसु पनि उनीहरूकै पछि लागेर कुद्छिन्। जहाज दबदबे हिलो भएको घाँसे मैदानमा धसियो। उनीभन्दा अघि दमकल र सेना पुगिसकेका छन्। कस्तो आपत्। हुन त रेसुको मोबाइलमा धेरैपटक ‘जहाज किन ल्यान्ड भएन? किन आकाशमा धेरैबेर होल्डमा पर्‍यो?’ भनेर सोध्यासोध्यकै अवस्था छ। हेडक्वार्टर इस्तानबुलबाट धेरैपटक गरिएको कलमा उनले ‘बिग्रँदो मौसमका कारण भएको लो भिजिबिलिटी’ भनिदिएकी पनि हुन्। 

हिउँदयाममा काठमाडौंको एयरपोर्ट बिहान ६ नबजी खुल्दैन। विमानस्थल खुले पनि हुस्सुले विमान डिलेमा पर्छन्। टर्किसको विमान हिउँदे सिजनमा प्राय: ३० मिनेटेदेखि ४५ मिनेटअघि नै नेपालको सिमाना आइपुग्छ। त्यस दिन पनि विमान आधा घण्टाअघि नै सिमराको आकाशमा पुगिसक्छ। त्यहाँबाट उसले काठमाडौं टावरलाई धेरैपटक मौसमको रिपोर्ट माग्न कल पनि गर्छ। तर, विमानस्थल ६ बजेपछि मात्रै खुलेकाले जुलियट–अस्कर–चार्ली नाम गरेको त्यो विमान आधा घण्टासम्म नेपाली आकाशमा फन्को मारिरहन्छ। बनारसको सम्पर्कमा रहेको विमान एकपटक काठमाडौंभित्र पनि आउँछ। तर, अवतरण गर्न सक्ने मौसम नभएकाले पाइलट ओभरसुट गराई विमानलाई फेरि सिमरामाथिकै आकाशमा पुर्‍याउँछन्। दुर्घटनापछि रेसु नेपालका लागि तोकिएका जीएममार्फत हेडक्वार्टरमा पनि खबर पठाउँछिन्।
...

 ‘त्यति मात्रै होइन, टावर र टीडीओलाई पनि थाहा थिएन, मैले नै खबर गरेकी थिएँ,’ हालैको भेटमा रेसुले घटना सम्झिइन्। 
त्यो दुर्घटनाले ब्रेकइभनमा गइनसकेको टर्किस एयरलाइन्सको काठमाडौं स्टेसन सबैतिर चर्चाको विषय बन्यो। भलै त्यो सकारात्मक थिएन। ३ सय ३६ वटा विमान भएको कम्पनीको हेडक्वार्टरमा पनि काठमाडौंलाई नोटिस गर्न थालियो। १ सय १६ मुलुकका २ सय ९० गन्तव्यमध्ये काठमाडौंलाई टर्किसले अलि गम्भीर भई वाच गर्न थाल्यो। घटनापछि कम्पनीका भाइस चियरम्यान र त्यहाँको नागरिक उड्डयनका अधिकारीहरू काठमाडौं ओर्लिन बाध्य भए। 
यो घटनापछि काठमाडौं स्टेसनकी मेरुदण्ड बनिन् ३० वसन्त पार गरेकी रेसु। सानो उमेरको ठूलो अभिभारा। दुर्घटनाग्रस्त विमानका कारण काठमाडौं रनवे चार दिन ठप्प भयो। त्यसबीचमा उनले के–के मात्र गर्नुपरेन ∕ ‘त्यो क्षण सपना थियो कि विपना, अहिले पनि कस्तो–कस्तो लाग्छ,’ टर्किसका २० हजार कर्मचारीमध्येकी रेसुले भनिन्। 

विमानस्थलको रनवेको ठ्याक्कै बाहिर धसिएको जहाजलाई निकाल्न रेसुले कतार एयरसँग 
पाङ्ग्रा मागिन्, नेपाल एयरलाइन्सका इन्जिनियर ल्याइन्, विमानस्थल विस्तारको ठेक्कामा आबद्ध भएको स्पेनिस कम्पनी सानजोसेबाट लरी र कुल्ली लिइन्। यतिले पनि पुगेन। त्यसताका काठमाडौंमा रहेका अन्य विदेशी एयरलाइन्सहरूबाट रेसुले मद्दत मागिन्। अधिकांशले आ–आफ्नै ठाउँबाट सघाए पनि। तर जहाज खाल्डाबाट निकाल्न नेपालमा भएको प्रविधि र प्राविधिकहरूले नसक्ने भएपछि परराष्ट्रमार्फत भारतबाट इन्डियन एयरफोर्सको विमान झिकाइयो। त्यो विमानले काठमाडौंमा ल्याएका प्राविधिकको बन्दोबस्ती सबै रेसुको जिम्मामा थियो। ‘८० लाखको बिल त होटलकै आएको थियो,’ असनमा जन्मेर वनस्थलीमा हुर्केकी रेसुले भनिन्, ‘पछि भारतीय दूतावासमार्फत इन्डियन एयरफोर्सको ३ लाख डलरको बिल मैले नै क्लियरेन्सका लागि हेडक्वार्टर पठाएँ।’ 

यतिमात्रै होइन, नेपाल एयरलाइन्सले पनि आफ्ना उपकरण र प्राविधिकहरूको ज्यालाको २ करोड बढीको बिल रेसुलाई नै भुक्तानीका लागि थमायो। बुम र ट्रस्ट दिने बुद्ध एयरदेखि लरी दिने स्पेनिस कम्पनी सानजोसेको १ करोड ७९ लाखको बिल पनि रेसुकै इमेलमा पुगे। यी सबैलाई व्यवस्थापन गर्नेदेखि लिएर बिग्रेको विमानको दैनिक ५० हजार रुपैयाँ हाराहारी पार्किङको रकम तिर्ने कार्यमा रेसुकै संलग्नता रह्यो।

‘त्यो दुर्घटना नकारात्मक थियो, तर एउटा अविस्मरणीय लर्निङ पनि बन्यो,’ केही समयअघि रेसुले विमानस्थलमा रहेको स्टेसन अफिसमा भनिन्, ‘अब म कुनै कलेज वा एभिएसनका विद्यार्थीलाई उडानमा हुने विपत्लाई कसरी व्यवस्थापन गर्नेबारे आफ्नो सिकाइ सेयर गर्न सक्ने भएकी छु।’
अहिले रेसुको प्रमोसन भएको छ। उनी स्टेसन म्यानेजर हुन्। मासिक पारिश्रमिक पनि ६ अंक हाराहारीमै छ। हालसम्म वैवाहिक जीवनमा नबाँधिएकी उनीसँग एयरपोर्टमा ५ जना स्पोर्टिङ स्टाफको टिम छ। हरेक दिन जहाजको काम सकिएपछि उनी दरबारमार्गस्थित हेड अफिसमा पुग्छिन्। झन्डै डेढ वर्षपछि टर्किसको त्यो दुर्घटनामा परेको विमान केही करोड रुपैयाँमा धनगढीको वेद उप्रेती ट्रस्टले खरिद गरिसकेको छ। अर्थात् अब यो विमानको व्यवस्थापनमा पनि रेसुकै संलग्नता थियो।
...
काठमाडौं विमानस्थलमा काम गर्न सजिलो छैन। अझ विदेशी एयरलाइन्सले नेपालको ब्युरोक्रेसीसँग काम गर्नु चुनौती छ। अल्झन, झुलाउने, फाइल हराउने, चाकरी, उपहार त प्राय: यहाँ काम गर्ने अधिकांशका लागि नौला शब्द होइनन्। अझ इकोनमी क्लासको टिकट काटेपछि बिजनेस कलासमा अपग्रेड गर्न भनसुनको होड चल्छ। एयरलाइन्ससँग फ्री टिकट माग्ने, ककटेल डिनर प्रोग्रामको निम्तोमा नबोलाउँदा रिसाउने कर्मचारीको बानी बेहोरा अझै हटिसकेको छैन। यस्तो धमिलो, आचरण नभएकाहरूको समाजमा रेसु मज्जैले टिकेकी छन्। कतिपयले उनलाई छुच्ची पनि भन्छन्। तर, उनी हक्की स्वभावकी छन्। त्यसैले होला लैनचौरको कन्या स्कुल हुँदै पब्लिक युथ कलेजबाट एमबीएस सकेकी उनी ३० बढी एजेन्सी भएको विमानस्थलमा सन्तोषका साथ खटेकी छन्। 

१८ वर्षकै कलिलो उमेरमा एउटा सानो ट्राभल एजेन्सीबाट टुरिजम क्षेत्रमा देखापरेकी यी किशोरी काठमाडौंमा ठूलो विमान ह्यान्डल गर्ने एक्ली नेपाली हुन्। जो हरेक दिन २६ अर्ब रुपैयाँको विमानमा आउने यात्रु, उनीहरूका सामानको ख्याल राख्छिन्। यताबाट फर्किनेहरूलाई पठाउँछिन्। केही समयअघि पार्किङ वेमा भेटिँदा उनी चिकित्सकको खोजीमा थिइन्। ‘जहाजमा एक नेपाली महिला बिरामी थिइन्, डाक्टरसहित एम्बुलेन्स हिजै मागेको अहिलेसम्म आई नै दिएन,’ वाकीटकीबाट चिकित्सकको खोजी गरिरहेकी उनी त्रिभुवन विमानस्थल व्यवस्थापनलाई भन्दै थिइन् ।

 बिरामी आउँदा वा पुर्‍याइँदा ख्याल राख्नुपर्ने मात्रै होइन। करिब ८ घण्टा लामो उडान गरेर आउने विमानमा काठमाडौंबाट इन्धन भराउने काम पनि उनैको हो। ‘कहिलेकाहीँ ५५ हजार लिटर इन्धन हाल्नुपर्छ, बेलैमा यो सबै व्यवस्थापन नगर्दा यताबाट इस्तानबुल हँुदै युरोप र अमेरिका जाने कनेक्टिङ यात्रुको जहाज नै छुट्छ,’ एक मात्रै भाइकी एक्ली दिदी रेसुले भनिन्। 

नाकाबन्दीका बेला टर्किसको विमानले करिब ७ हजार लिटर इन्धन जहाजभित्रै ट्यांकीमा राखेर ल्याउँथ्यो। त्यो बेला महँगो इन्धन नपाएपछि यो विमान दिल्लीमा टेक्निकल ल्यान्डिङ गर्न बाध्य भयो। भूकम्पको बेलाको पीडा त छँदै छ। 
आफ्नै कम्पनीको विमान दुर्घटना, भूकम्प, नाकाबन्दी र इन्धन अभाव रेसुले विमानस्थलको पार्किङ वेमा बसेर सामना गरेका समस्या हुन्।

उडान सञ्जालमा विश्वको चौथो स्थानमा पर्ने टर्किसले प्राय: आफ्ना कर्मचारीहरूलाई वर्षमा थुप्रैपटक ट्ेरनिङमा बोलाइरहन्छ। जसमा रेसु पर्छिन् नै। कति तालिम लिइन्, हिसाब निकाल्नै पर्छ। 

तीन पाइलट, एक एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर, एक फ्लाइङ सेफ, नौ क्याबिन क्रु बोकेर काठमाडौं आउने टर्किस विमानले हरेक पटक फर्किंदा यति नै संख्याको अर्को सेट काठमाडौंबाट पठाउँछ। अर्थात् एक सेट यहाँ आउँछ, रेस्ट गर्छ। अर्को सेटले उडाएर लैजान्छ। उनीहरूको जेनरल डिक्लिरिएसन फर्म राख्ने जिम्मा पनि रेसुकै हो।

तीन सय यात्रु र ७० टन कार्गो क्षमता भएको विमान दुर्घटनापछि रेसुमा एउटा मनोवैज्ञानिक त्रासले स्थान लिएको छ। जहाजले काठमाडौंमा अवतरण गरेपछि धावनमार्ग तरेर ट्याक्सी–वे नसमातुन्जेल उनको मनमा संशय उम्लिरहन्छ। 

प्रकाशित: चैत्र ११, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार