खेलकुद

सिटी र लिभरपुल बराबर

- एएफपी, म्यानचेस्टर

चैत्र ८, २०७३- सर्जियो अगुइरोले ६९ औं मिनेटमा गरेको गोलबाट म्यानचेस्टर सिटीले आइतबार लिभरपुलसँग १–१ को बराबरी गरेको छ । यो नतिजाले सिटीको प्रिमियर लिगको शीर्ष ४ टोलीमा पर्ने लक्ष्य जीवित बनाएको छ । 

लिभरपुलले सिटीलाई उछिन्दै तेस्रो स्थानमा पर्ने उद्देश्य राखेको थियो । जेम्स मिल्नरले दोस्रो हाफको सुरुमै पेनाल्टी गोलबाट लिभरपुललाई अग्रता दिलाए । सिटी उनको पूर्वक्लब हो । समर्थकले उनलाई हतोत्साहित गर्न पनि खोजेका थिए । तर अगुइरोको गोलले प्रतिद्वन्द्वीमाथि १ अंकको अग्रता कायम भएको छ । लिभरपुलले सिटीभन्दा १ खेल बढी खेलेको छ । सिटीका लागि यो विजय एकखाले सान्त्वना हो । सिटीसँग गत साता च्याम्पियन्स लिगबाट मोनाकोसँग हार्दै बाहिरिनुपरेको पीडा थियो ।

‘च्याम्पियन्स लिगपछि हाम्रा केटाहरू उदास थिए । मानिसहरू धेरै बोल्नै छाडे,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने । 

च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा ३–१ ले हार्दै सिटी बाहिरिएपछि ग्वार्डिओलाको आलोचना हुँदै आएको छ । अब उनको टोलीले लगातार चेल्सी र आर्सनलको सामना गर्दै छ । लिगमा चाहिँ टोलीले पछिल्ला ७ खेलमा हार्नुपरेको छैन । 

योर्गन क्लोपले ग्वार्डिओलामाथि लिग डबल गर्ने पहिलो प्रशिक्षकको मौका गुमाए । तर उनको टोली यो सिजनमा शीर्ष ६ टोलीविरुद्धका १० खेलमा हार्नुपरेको छैन । 

‘सिटीसँग १ अंक लिनु पनि ठीकै हो,’ उनले भने । पानी परेर भिजेको मैदानमा २ आक्रामक टिम खेल्दा इतिहाद रंगशालामा सनसनी फैलिएको थियो । 

सिटीले खेलै जित्ने थुप्रै मौका पाएको थियो । अगुइरोले दुई सुन्दर मौका गुमाए । केभिन डी बु्रएनेले पोस्टमा हिर्काए । एडम लालानाले मुखमै आएको गाँस गुमाए जसरी मौका खेर फाले । सिटी शीर्ष टोली चेल्सीभन्दा १२ अंक पछि छ । तर लिभरपुलभन्दा १ अंक माथि छ ।

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार