अर्थ / वाणिज्य

संस्थाहरूको रकम महिनाभित्रै दिन निर्देशन

- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ८, २०७३- आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सहुलियत पसल सञ्चालन गर्ने नेसनल ट्रेडिङ, खाद्य संस्थान र साल्ट ट्रेडिङको बक्यौता रकम एक महिनाभित्र उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । यी संस्थाहरूले चाडपर्वका अवसरमा सहुलियत पसल सञ्चालन गर्ने गर्छन् । त्यस्ता पसल सञ्चालन गरेबापत यी संस्थानहरू ५ वर्ष अवधिमा छुट दिएबापत १२ करोड ८९ लाख रुपैयाँ पाउन सकेको छैनन् । 

सर्वसाधारणलाई सुविधा दिन दसैंमा सञ्चालन गरिने सुपथ मूल्य पसलको रकम संस्थानहरूले ५ वर्षदेखि पाएका छैनन् । साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले ५ वर्ष अवधिमा छुटबापत ८ करोड ३२ लाख ८६ हजार रुपैयाँ लिन बाँकी रहेको बताइन् । नेसनल ट्रेडिङ कर्पोरेसनले करिब ५४ लाख पाउन बाँकी छ । 
त्यसैगरी नेपाल खाद्य संस्थानले पसल सञ्चालन गरेबापत ४ करोड ३ लाख रुपैयाँ लिन बाँकी छ । अर्थ मन्त्रालयले समयमै रकम उपलब्ध नगराउँदा संस्थानहरू धराशायी हुँदै गएको हुन् । सोमबार बसेको उपसमिति बैठकले तीनै संस्थालाई महिनाभित्रै रकम उपलब्ध गराउन अर्थलाई निर्देशन दिएको छ ।

‘संस्थानलाई उपलब्ध गराउन बाँकी सम्पूण शोधभर्नाको रकम एक महिनाभित्र सम्बन्धित संस्थानलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिन्छु,’ उपसमितिका सयोजक शुभासचन्द्र ठकुरीले भने, ‘रकम उपलब्ध गराउन आवश्यक पर्ने कागजात र विवरण मिलाई सहजीकरण र समन्वय गर्न/गराउन आपूर्ति मन्त्रालयलाई पनि निर्देशन दिन्छु, ।’

 त्यस्तै व्यवस्थापिका संसदअन्तर्गत गठित उपसमितिले सहुलियत पसल सञ्चालका लागि सम्बन्धित बजेट शीर्षकमै व्यवस्था गर्न निर्देशन दिएको छ । दसैं, तिहार र छठसम्म सञ्चालन हुने पसलका लागि बजेटमै व्यवस्था गर्न आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिइएको हो । पर्वहरू नजिकिएपछि उपभोग्य वस्तुको अभाव र कालोबजारी रोक्न सरकारले हरेक वर्ष सहुलियत पसल सञ्चालन गर्छ । 

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार