विचार/विश्‍लेषण

बालविवाहको मार्मिक तस्बिर

- रामेश्वरी पन्त

चैत्र ८, २०७३-चैत चार गते मुखपृष्ठमै राखेको तस्बिरले मन छोयो । तस्बिरमा जाजरकोट कार्की गाउँकी किशोरी निर्मला खत्रीले उच्च माध्यमिक परीक्षा (एसईई) को पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिने क्रममा परीक्षा केन्द्र नजिकैको चौरमा टुक्रुक्क बसेर आफ्नो शिशुलाई स्तनपान गराइरहेकी छन् । झट्ट हेर्दा यो तस्बिर निर्मला खत्रीको लागे पनि समग्रमा यो नेपाली समाजका अनगिन्ती निर्मलाको प्रतिबिम्ब हो, जसले छोरीहरूलाई आफ्नो ‘पढ्ने रहर’लाई पूरा गर्न के कस्ता संघर्षका पहाड चढ्नुपर्छ भन्ने कुरालाई प्रस्ट्याउँछ । 

यता स्याङ्जाका ६९ वर्षीय दुर्गे कामीको एसईई परीक्षाले पनि सञ्चार माध्यममा राम्रै महत्त्व पाएको देखियो । उमेरले पढाइमा बाधा पार्दैन भन्ने सन्देश बोकेका दुर्गे कामी कैयौं निरक्षर प्रौढहरूका लागि उदाहरणीय छन् नै । दुर्गे कामीमात्र होइन, भक्तपुरमा एकजना ७० वर्षीया हजुरआमा मिठु खनाल पनि एसईई परीक्षामा सामेल भएको सुन्नमा आयो । उमेरले नेटो काटेका दुर्गे र मिठुका आ–आफ्नै रहर होलान्, पढ्ने र सजिलै सुगम स्थानमा रहेर परीक्षा दिइरहेछन् । तर निर्मला खत्रीको पढ्ने रहरभित्र अनेकौं सपनाको चाङ हुनसक्छ । उनका सपनाभित्र पढेर जागिर खाने रहर होला, स्वरोजगारबाट आत्मनिर्भर बन्ने रहर होला । आशा गर्छु, संघर्षको पहाड चढ्दै—चढ्दै उनका सबै रहरले मूर्तरूप लिनेछन् । 

एक वर्षको बच्चा लिएर घरदेखि टाढाको परीक्षा केन्द्रमा परीक्षा दिन जानुपर्ने बाध्यता र त्यही बाध्यताबीच पनि कोठा खोजेर बसी एक्लै बच्चा स्याहार्ने र खाना बनाएर खाने अर्को बाध्यतालाई स्वीकार्दै परीक्षा दिइरहेकी १६ वर्षीया निर्मलामात्र होइन, अर्की उही उमेरकी किशोरी सविना पुन पनि आफ्नो ६ महिनाको शिशु च्यापेर उसैगरी जगातिपुरमा डेरा गरी परीक्षा दिँदै गरेको जाजरकोटको खबरले नेपालको मध्य र सुदूर पश्चिममा हुने गरेका बालविवाह र यसबाट छोरीहरूले खेप्नुपरेका शारीरिक, मानसिक समस्यालाई प्रतिविम्बित गर्छ । एकातिर पढेर केही गर्ने रहर, अर्कोतिर परीक्षा दिँदादिँदै सन्तानको मायाले चिमोट्ने कहर ! तैपनि ‘आमाहरू हार्दैनन्’ भन्ने कुराको दृष्टान्त यी निर्मला र सविनाहरूले योभन्दा अगाडिको शैक्षिक यात्रामा घरपरिवारको सहयोग र समर्थन पाउन त्यति सहज पक्कै हुँदैन होला । 

परीक्षा केन्द्रमा शिशुलाई स्तनपान गराउनुपर्ने बाध्यताभन्दा पनि अझ गम्भीर खालका बाध्यताले घेरिएर परीक्षा दिन आउने र परीक्षा केन्द्रमै शिशु जन्माउने किशोरीहरूको सूची पनि हरेक वर्ष थपिने गर्छ । भनिन्छ, शिक्षाले चेतना दिन्छ, तर यो नै पूर्ण सत्य हुनसक्दैन भन्ने कुराको उदाहरण हुन्, निर्मला र सविना । सामान्यत: माध्यमिक परीक्षा दिने उमेर १६ वर्ष हुन्छ, तर कोही—कोही १६ वर्ष मुनिका पनि हुनसक्छन् र कोही त्योभन्दा एक—दुई वर्ष माथिका पनि । नेपालको प्रचलित कानुनले विवाहको उमेर छोरीको हकमा १८ वर्ष तोकेको छ (अब बन्ने कानुनमा यो हद छोरीहरूका लागि २० वर्ष हुनेछ) तर निर्मला र सविनाहरू १५–१६ वर्षमै आमा भएका छन् । त्यसो त पश्चिमका कर्णाली लगायत दुर्गम र पिछडिएका जिल्लाहरूमा बाल विवाहका कारण छोरीहरूले कलिलै उमेरमा आमा बन्नुपर्ने र अनेक रोगको सिकार भई असमयमै बुढ्यौली र मृत्युवरण गर्नुपर्ने बाध्यता त्यहाँको वास्तविकता हो । 

कुनै पनि कानुन बनाउनु एउटा कुरा हो । तर त्यसको पालना कति हदसम्म भएको छ, त्यो अर्कै कुरा हो । कागजका ठेलीमा कानुनको अनुहार सुन्दर देखिएर मात्र हुँदैन, त्यसले व्यवहारमा कत्तिको पूर्णता पाएको छ, त्यो नै महत्त्वपूर्ण हुन जान्छ । तर हाम्रो समाजको ठूलो हिस्साले कानुनका ठेली पढ्दैन । नत हाम्रो शिक्षा प्रणाली नै देशका दूरदराजमा चेतनाको बीउ नै छर्नसकेको छ । नत्र बालविवाह कानुनी अपराधमात्र नभएर यसले छोरीहरूको जिन्दगीलाई नर्क गराउँछ भन्ने ज्ञान दिने शिक्षा जाजरकोट, कालिकोटमा पुगेको छ कि छैन ? माध्यमिक शिक्षाको पाठ्यक्रममा किशोर—किशोरीका लागि प्रजजन शिक्षा राखिएको छ कि छैन ? छ भने किन कर्णाली लगायत मध्य र सुदूर पश्चिममा बाल विवाहको बिगबिगी छ ? किन हरेक वर्ष परीक्षा हलमा जन्मिन्छन्, शिशुहरू ? साक्षरतासँगै यसले दिने प्रतिफलबारे सोच्नु जरुरी छैन र ? 

हामी प्राय: सोच्ने गर्छौं, प्रजनन शिक्षा महिला तथा किशोरीलाई दिनुपर्छ । विभिन्न खाले संघ/संस्थाका कर्मकाण्डीय कार्यक्रममा पनि महिलालाई जम्मा गरेर यसबारे भाषण दिइन्छ । तर विवाह, प्रजनन स्वास्थ्य र सन्तान जन्माउने कुरा महिलाका मात्र अधिकार र सरोकारका कुरा होइनन्, पुरुष पनि उत्तिकै जिम्मेवार हुनेहुँदा दुबैलाई सँगसँगै राखेर चेतनामूलक जानकारी र शिक्षा दिन सक्यो भने यस्ता समस्या प्रभावकारी रूपले घट्दै जान सक्छन् । नत्र निर्मला र सविना जस्ताले एक्लै यी समस्याको भारी बोकेर बाँच्नुपर्ने हुन्छ । बाल विवाह र किशोरी आमाका कुरा गरिरहँदा बेला—बेलामा पढ्न र सुन्न पाइन्छ–सहरका प्रसूति केन्द्र र क्लिनिकहरूमा गर्भपतन गर्न आउनेहरूमा स्कुले किशोरीको संख्या अत्यधिक रहेका खबर । अनि ती दुर्गमका किशोरी र सहरका किशोरीमा फरक के त ? फरक यत्ति हुनसक्छ, उनीहरू अज्ञानताका कारण कलिलो उमेरमै बच्चा जन्माएर आमा बन्छन् र सन्तानको बोझसँगै शरीरलाई जीर्ण बनाउँछन् । तर यिनीहरू आधुनिकताको नाममा कलिलो उमेरमै गर्भपतन गराएर आफ्नो जिन्दगीमाथि खेलवाड गर्छन् ।

बाल विवाह एकातिर धर्म र परम्परासँग जोडिएकोले निमिट्यान्न हुनसकेको छैन भने अर्कोतिर अशिक्षा र अवचेतनाले यसलाई मलजल गरेको छ । यतिमात्र नभएर पछिल्लो समय हात—हातमा आएको मोबाइल–इन्टरनेटका कारण यौनजन्य विकृतितर्फ बालबालिका र किशोर—किशोरी आकर्षित हुँदा यसले पनि बाल विवाहलाई केही हदसम्म प्रोत्साहित गरेको देखिन्छ । साथै कलिलो उमेरमा गर्भधारण गर्ने र गर्भपतन गर्नेजस्तो गम्भीर रोगले सहरदेखि गाउँसम्म नै संक्रमित पारेको छ । 

छोराहरूलाई न बिहेले रोक्छ, न जन्मेका सन्तानले । न पढ्न बाधा पर्छ, न रोजगारमा लाग्न । बाल विवाहले छोरीहरूको जीवन, स्वास्थ्य, कार्यक्षमतादेखि जन्मेको शिशु समेतलाई असर पार्न सक्छ भन्ने ज्ञान र चेतनाले भरिएको पाठ्यक्रम देशका कुना—कुनासम्म लागु हुनसके परिवार र समाजको महत्त्वपूर्ण भूमिका बोकेका छोरीहरूले पढ्न पाउने अधिकारलाई सुरक्षित राख्दै पढ्ने रहरलाई निर्वाध रूपमा पुरा गर्नेछन् र उनीहरूले दूधेशिशु बोकेर परीक्षा केन्द्रमा जानुपर्ने बाध्यतामा कमी आउन सक्नेछ । 

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार