विचार/विश्‍लेषण

परोपकारी संस्थाको साख जोगाऔं

- सम्पादकीय

चैत्र ८, २०७३- नेपाल रेडक्रसजस्तो परोपकारी संस्थाभित्र आर्थिक अपारदर्शिता र अनियमितताका शृंखला थपिँदै जानु चिन्ताको विषय हो । मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकता रेडक्रसका सात सिद्धान्त हुन् । संसारभरि रेडक्रसका विभिन्न सञ्जालमातहत ९ करोड ७० लाख स्वयंसेवक क्रियाशील छन् । तिनले आर्जन होइन, सेवालाई आफ्नो आदर्श बनाएका छन् । नेपालमा भने विध्वंसकारी भूकम्पलाई यसका पदाधिकारीले यस्तो ‘चाड’ बनाए, लगत्तै त्यसकै राहतबाट पारिश्रमिक बुझ्ने नयाँ सिलसिला सुरु गरे । जतिबेला भूकम्पले सर्वसाधारण छटपटाइरहेका थिए, रेडक्रसका उच्च पदाधिकारी उद्धारका लागि होइन, तलब तोक्न बैठक गरिरहेका थिए । यो रेडक्रस सिद्धान्तविपरीत थियो । 

रेडक्रसको आवश्यकता र उपस्थिति त्यतिबेला खड्किन्छ, जतिबेला विपत्ति भोग्नुपर्छ । जति ठूलो विपत्ति आउँछ, यसको भूमिका एवं जिम्मेवारी उति नै ठूलो हुन्छ । त्यही प्रयोजन र आदर्श बोकेर खुलेको विश्वव्यापी परोपकारी संस्थाका पदाधिकारीले ‘गाह्रो पर्‍यो’ भनेर सुविधा खोज्नु विरोधाभासपूर्ण विषय हो । रेडक्रसका पदाधिकारीहरूले स्वयंसेवी भावले डटेर–खटेर लाग्ने बेलै विपत्तिमा हो । ठूला विपत्तिमा सहयोगका लागि विश्वसमुदायलाई अपिल गर्न पाउने सुविधा रेडक्रसलाई उपलब्ध छ । भूकम्पपश्चात् त्यही सुविधा प्रयोग गरेर रेडक्रसले आह्वान गर्दा १६ अर्ब रुपैयाँको प्रतिबद्धता मिलेको थियो । त्यसको ७० प्रतिशत रेडक्रसको अन्तर्राष्ट्रिय महासंघमार्फत प्राप्त भएको छ । त्यसबाट पीडितलाई ठोस लाभ हुने क्षेत्रमा भन्दा सेवा, सुविधा, घुमफिर, विलासिताका सामानमा बढ्ता खर्च भएको जुन विवरण सार्वजनिक भएको छ, त्यो दु:खदायी छ । भूकम्पपीडितलाई तत्काल राहत र सहयोग गर्न विश्वभरिबाट संस्थागत र व्यक्तिगत रूपमा ६७ करोड ५८ लाख रुपैयाँ रेडक्रसको खातामा आएको थियो, जसलाई खर्चै नगरी राखेर यतिबेला देशका विभिन्न ठाउँमा गोदामघर बनाउन लागिएको छ । त्यसका लागि अत्यन्त कमसल जग्गा बढी टेन्डर हाल्नेसँग महँगो मूल्यमा किनिएको दृष्टान्त पनि सार्वजनिक भएको छ । 

रेडक्रसमाथि ठूलो जनभरोसा छ । विपत्तिका बेला सबैले यो संस्थालाई सम्झन्छन् । त्यही आधारमा सरकारले यसलाई विशेष सहुलियत एवं प्राथकिमता दिँदै आएको छ । पचहत्तरै जिल्लामा फैलिएको यो संस्थाले सबैतिर कुनै न कुनै रूपबाट सरकारी सम्पत्ति उपहारस्वरूप पाएको छ । रेडक्रस नेपालकै धनी संस्थामध्ये पर्छ, जसको जग्गा–जमिन के–कति छ, यकिन अभिलेख उपलब्ध छैन । सदस्यता वितरणलगायत अन्य सरसहयोगबाट जम्मा भएको ठूलो धनराशि पनि यो संस्थासँग छ । देशभर रक्त संकलन र व्यवस्थापनको एकाधिकार रेडक्रसलाई छ । उसको केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक) भूकम्पले भत्काएपछि त्यसको पुन:निर्माण गर्न थाई रेडक्रसले तत्काल ५० करोड रुपैयाँ सहयोग दिएको थियो । त्यही खर्चमा ८ जनाको टोली थाइल्यान्ड भ्रमणमा गयो । निर्माण प्रक्रिया भने अझै सुरु गरिएको छैन, अनुदानको पनि सदुपयोग भएको छैन । 

रेडक्रस अन्तर्राष्ट्रिय ख्यातिप्राप्त परोपकारी सञ्जाल हो, जसको सकारात्मक योगदानलाई कदर गर्दै चारपटक नोबेल शान्ति पुरस्कार प्रदान गरिसकिएको छ । यसको पवित्र साखलाई जोगाउनु संसारभरिका रेडक्रसकर्मीको दायित्व हो । त्यो नैतिक धरातलमा आफूलाई राख्न नेपाल रेडक्रसका पदाधिकारीले भए–गरेका गल्ती स्विकार्दै, सच्याउँदै आर्थिक कारोबारलाई पूर्ण रूपमा पारदर्शी बनाउनुपर्छ । परोपकारी संस्थालाई व्यक्तिगत वा अन्य कुनै पनि प्रकारका स्वार्थमा प्रयोग गर्ने काम तुरुन्त बन्द गर्नुपर्छ ।

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार