कुराकानी

‘एउटी महिला राष्ट्रपति बन्दैमा स्थिति फेरिन्न’

  • तसलिमा नसरिनसँग वार्ता
- कान्तिपुर संवाददाता , काठमाडौं

चैत्र ८, २०७३-बंगलादेशी लेखक तसलिमा नसरिनको नाम नेपाली पाठक र फ्यान–फ्लोवरमाझ उत्तिकै स्थापित छ । महिला हकअधिकार र विशेषत: इस्लाम धर्मभित्रको ‘अतिवाद’का विरुद्ध लेखेर र बोलेर आवाज उठाउँदै आएकी नसरिन पढाइ र पेसाले चिकित्सक हुन् । सन् १९९४ पछि जन्म–कर्मभूमि बंगलादेशबाट लखेटिएकी ५५ वर्षीया नसरिन युरोपेली मुलुक स्विडेन, जर्मनी, फ्रान्स हुँदै अमेरिकामा पनि ‘आप्रवासी’ बनेर केही वर्ष बिताइन् । पछिल्ला वर्षमा भारतको दिल्ली बस्दै आएकी नसरिनले ‘आफू पढेर होइन, परेर नारीवादी लेखक’ बनेको बताउँदै आएकी छन् । ‘बंगलादेश छउन्जेल मेडिकल क्षेत्रको अभ्यासमा थिएँ, तर पनि छेउछाउमा भइरहेका असमानता र अन्यायप्रति आवाज उठाइरहने बानी ममा हुर्किएको थियो,’ अन्तर्राष्ट्रिय महिला दिवस पारेर काठमाडौंको एक समारोहमा सहभागी हुन आएकी नसरिनले सोमबार कान्तिपुरसँग होटल अन्नपूर्णमा भएको वार्तामा भनिन्, ‘मलाई समाज, समय र अवस्थाले नारीवादी बनायो, अधिकारवादी बनायो ।’ नसरिनसँग देवेन्द्र भट्टराईले गरेकाे वार्ताको सम्पादित अंश :

 

यसअघि पनि नेपाल आउने हल्ला चलेको थियो, एकाएक किन रोकियो ?

तीन वर्षअघि एक कार्यक्रममा काठमाडौं आउने अवसर जुटेको थियो । तोकिएको त्यही दिन म पेरिसबाट दिल्ली उत्रिएकी थिएँ । त्यही रात काठमाडौं आउनु थियो । काठमाडौंमा एक/दुई रात मात्रै बस्ने भएकाले यता आउन सानो ब्याग तयार गरेकी थिएँ । तर त्यो ब्यागमा पासपोर्ट हाल्नै भुलेछु । फेरि डेरामा फर्केर पासपोर्ट लिएर आउँदा प्लेन उडिसकेको थियो । अनि, मैले ट्वीट गरेकी थिएँ, हतारमा पासपोर्ट भुलेकाले आउन सकिनँ ।

मैले त्यो टवीटमा ‘नेपाल भारतकै भूमि हो’ भनेकी थिइनँ । नेपाललाई ‘फरेन कन्ट्री’का रूपमा मैले ठानिनँ भनेर टवीट गर्नुको अर्थ नेपालसँग मेरो भावनात्मक सम्बन्ध छ भन्ने थियो । तर यता काठमाडौंमा त ठूलै अपव्याख्या र मविरुद्ध घृणाभावका विचार उब्जिसकेका रहेछन् । साँच्चिकै, मैले नेपाललाई एकदमै निकटको र आफ्नोपनले भरिएको ठाउँ ठानेकी थिएँ । म बंगलादेशमा मेडिकल विद्यार्थी छँदा सविना नामकी नेपाली साथी थिइन् । मेरो घरमा आउनेजाने, सँगै बस्ने धेरै मनमिल्दो थियो । बंगलादेशमा मेडिकल पढ्न जाने थुप्रै नेपाली भेट्ने गर्थें । त्यो लिंकले पनि मैले नेपाललाई निकटमा राखेकी थिएँ । म टवीटरबाट नेपाली साथीभाइसँग सधैं सम्पर्कमा छु । हो, पहिलो पटक नेपाल आउन लागेको अवसर आफ्नै लापरबाहीले ‘मिस’ भएको थियो ।

नेपाल–नेपालीसँगको ‘लिंक’ भनेको तपाईंका पुस्तक पनि हुन् । ‘लज्जा’ उपन्यास (१९९३) र त्यसपछिका अधिकांश कृति नेपालीमा अनूदित छन् । यसबारे जानकार हुनुहुन्छ ?

हो, मैले यो सुन्दै आएकी छु । तर आश्चर्य लाग्छ, मलाई कुनै नेपाली अनुवादक अथवा प्रकाशक कसैले पनि अनुमति अथवा लेखकस्वबारे कुरा गरेको थाहा छैन । मैले कुनै कृतिको नेपाली अनुवादबाट आजसम्म एक पैसा पाएकी पनि छैन । भारतका कतिपय स्थानीय भाषाको हालत पनि उही छ । मेरा कृति अनूदित भएका छन्, बजारमा म देख्छु, तिनै कृति खुबै बिक्री पनि भएका छन् । तर म सबै स्थितिबारे बेखबरै छु ।

फेरि यी कृति मूल बंगालीबाट नेपालीमा अनूदित भएको हो अथवा अरू भाषाबाट तानिएको हो । यदि नेपालीमा हिन्दीबाट अनुवाद गरिएको अवस्था छ भने त्यो अर्को बबन्डर हो । मेरा कृति हिन्दीमा अनर्थ हुने गरी अनुवाद गरिएको छ भन्नेबारे मैले भन्दै आएकी छु । यत्ति हो कि पाठकले हाम्रो सही र दुरुस्त लेखन पढ्न पाउनुपर्छ । ‘गलत अनुवाद’को अर्को महागलत अनुवाद पढेर न लेखकलाई बुझ्न सकिन्छ, न लेखिएका कुरा ।

अर्कातिर, म एक अन्तर्राष्ट्रिय नागरिक हुँ । मेरो सिमाना छैन । ‘तेरो भूगोल यो हो, मेरो यो हो’ भन्नेमा म विश्वास गर्दिनँ । म ‘युनिभर्स’मा विश्वास गर्छु । एउटा विश्व जहाँ हामी सबैजना छौं, सीमा र रेखापर्तिर । पासपोर्ट, भिसा नै मेरा लागि अमान्य छ । कतिसम्म मेरो सोचाइ छ भने हाम्रा पुर्खाहरूजस्तै बिना सिमाना, बिना भूगोलको रेखा यताउता गरिरहने स्वतन्त्र जीवन बिताउन पाउनुपर्ने पक्षमा म छु ।

अघिल्लो पटक नेपाल आउन लाग्दा पनि यही ‘आउट अफ लभ’ भावनामा पासपोर्ट नचाहिने कुरा गरेकी हुँ, त्यो त अपव्याख्याका कारण ‘आउट अफ हेट’ झैं बन्यो ।

आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ? महिला अधिकारवादी, मानव अधिकारवादी वा एक विशुद्ध लेखक ?

हेर्नुस्, म बंगलादेशमा जन्मे, हुर्के । पछि लखेटिएँ । त्यहाँबाट म स्विडिस नागरिक बनें, युरोपेली संघको नागरिक भन्न सक्नुहुन्छ । मसँग अमेरिकाको ग्रिनकार्ड पनि छ । तर मैले भारतमा बस्न चाहें । त्यसमा पनि आफ्नै भाषा मिल्ने पश्चिम बंगालमा बस्न चाहें । तर त्यहाँबाट लखेटिएर दिल्ली आइपुगें । बंगलादेशको नजिक, कुनै दिन घर फर्कन पाउँदा पनि सहज लाग्ने ठाउँमा म बसेकी हुँ ।

अर्कातिर, जसले जसरी बुझ्न र चिन्न चाहन्छ, त्यो आ–आफ्नै हुन्छ । कसैले नारीवादी लेखक भन्छन्, कसैले मानव अधिकार पक्षधर । कसैले कवि भन्लान् अथवा कसैले फिजिसियन । म भने हरेक क्षेत्रमा बाँडिएकी छु जस्तो लाग्छ । तपाईंलाई थाहा छँदैछ, बितेको २४ वर्षयता म आफ्नै देशबाट लखेटिएकी एक पात्र हुँ, जो हरेक पटक आफू बंगाली नागरिक हुनुको अर्थ र अभिप्रायमा बंगलादेशी दूतावास (विभिन्न मुलुकमार्फत) धाइरहेकी हुन्छु ।

अलि असहज प्रश्न पनि हुन सक्छ, तपार्इं कुनै दिन आफ्नो हकअधिकारसहित आफ्नो भूमि फर्केको सपना देखिरहनुभएकै छ ?

हो, म एकदमै सपना देख्छु । म दिल्लीमा आएर बस्नाको कारण पनि कुनै दिन सहज स्थिति आएमा छोटो समय (अवस्था) मा पनि घर फर्कन पाइयोस् भन्ने नै हो । तर मैले आफ्नो बंगलादेशी पासपोर्ट नवीकरण गर्न अथवा स्विडिस पासपोर्टमा भिसा पाउनका लागि गर्दै आएको पहल सधैं खेर गएको छ । युरोपेली मुलुकहरू, अमेरिका वा भारतस्थित बंगलादेशी दूतावासमा म सधैं धाइरहेकी हुन्छु । तर बंगलादेशमा जो शासनसत्तामा आए पनि मेराबारेमा सबैतिर ‘मौनता’ मात्रै छ ।

बंगलादेशमा उपन्यास ‘लज्जा’ प्रकाशनमा आएको केही महिनामै यसमाथि प्रतिबन्ध लाग्यो । इस्लाम धर्ममा आलोचनात्मक दृष्टि राखेको र महिला अधिकारबारे लेख्न/बोल्न थालेपछि तपाईंको टाउकाको मूल्य (फतवा जारी भयो) तोकियो । तपाईंले धार्मिक स्वतन्त्रता र धर्मको व्याख्याबीच के अन्तर देख्नुभएको छ ?

 म कुनै धर्ममा विश्वास गर्दिनँ । धार्मिक स्वतन्त्रतामा विश्वास गर्छु । यदि तपार्इं कुनै धर्ममा विश्वास गर्नुहुन्छ भने म त्यसको बचावटमा लाग्छु, तपाईंले मानेको धर्मको ‘आइडोलोजी’ लाई नमानेरै पनि म विश्वासको बचावटमा लाग्छु । मैले ‘लज्जा’ उपन्यासमा मन्दिर भत्काइएको कुराको विरोध गरेकी छु । अल्पसंख्यक हिन्दुको पक्षमा फ्याक्ट–फिक्सन जोडेकी छु । यसो भन्दैमा म के हिन्दुवादमा विश्वास गर्छु र ?

त्यसो होइन । म मानव अधिकार र स्वतन्त्रताको पक्षधर मात्रै हुँ । म तपाईंले मान्ने धर्मको अभ्यास गर्न पाउने अधिकारमा विश्वास गर्छु । यदि मैले कुनै धर्ममा विश्वास गरिनँ भने तपाईंले पनि यो मेरो ‘विश्वास नगर्ने’ अधिकारको सम्मान गर्नुपर्छ । म इस्लामलाई मात्रै होइन, अरू धर्मका विभिन्न व्यवस्थालाई पनि आलोचना गरिरहेको हुन्छु । एउटा महत्त्वपूर्ण पक्ष के हो भने हरेक धर्ममा ‘आलोचनात्मक परीक्षण’ (क्रिटिकल स्क्रुनिटी) हुनु जरुरी छ । यो परीक्षाबाट इस्लाम धर्म पनि बाहिर पर्नु हुँदैन, जुन अरू सबैमा लागू हुन्छ ।

धर्मभित्र रहेका अमानवीय, अनैतिक, अवैज्ञानिक र असमान पक्षमा प्रश्न गर्नैपर्ने हुन्छ, जस्तो म निरन्तर गरिरहेकी छु ।

हो, यो ‘क्रिटिकल स्क्रुटिनी’का बारेमा बारम्बार आवाज उठाइरहनुभएको छ । सिरियादेखि अमेरिकासम्मका ‘अतिवाद’ मा तपाईं सार्वजनिक सञ्जालबाट मुखर बन्नु भएको देखिन्छ । तर यो अतिवाद अझ बढ्ने क्रममा छ । जस्तो तपाईंकै मुलुक बंगलादेशमा गतवर्ष १२ भन्दा बढी ब्लगर/लेखक मारिएका छन् । के भन्नुहुन्छ ?

अहिले बंगलादेश सरकारले केही कारबाही प्रक्रिया अघि बढाएको देखिन्छ । ‘ब्लगर’ हरू मारिएको सन्दर्भ मात्रै होइन, गत वर्ष जुलाईमा ढाका क्याफेमा भएको आतंकवादी आक्रमणमा २९ जना सर्वसाधारणको ज्यान गएको थियो । त्यो घटनामा पनि सरकारी तबरबाट कारबाही प्रक्रिया अघि बढेकै हो । अतिवाद आतंक र सुरक्षा खतरा कहाँ बढेको छैन ? बढीघटीको अनुपात होला । युरोपका फ्रान्स, जर्मनीमा पनि असुरक्षाको स्थिति यथावत् बढेको छ । तैपनि आफ्नो आवाज उठाउने र चाहिने कुरामा ‘क्रिटिकल स्क्रुनिटी’ गर्ने पक्षमा म मृत्युपर्यन्त लागिरहनेछु ।

भारतमा निर्वासित जीवन बिताइरहनुभएको छ । भारतका कतिपय घटनाक्रम पनि अतिवाद उन्मुख र कतै जातीय/धार्मिक अतिवाद देखिन थालेको छ । आफूलाई कत्तिको सुरक्षित ठान्नुभएको छ ?

त्यसो होइन । सुरक्षा कहाँ छ ? मैले अघि पनि भनें, युरोपका जर्मनी, फ्रान्स आज सुरक्षित छन् ? हो, इस्लामिक राज्य (आईएस) को प्रभाव भारतमा पनि बढेको छ । मलाई आईएसको खतरा पनि छ । हो, कुनै दिन आतंकवादीबाट मारिन पनि सक्छु । यसमा आश्चर्य छैन । तर मैले इन्डियन–सबकन्टेन्टमै बस्ने निधो गरेकाले भारत मेरा लागि उपयुक्त स्थल बनेको छ । यहाँबाट बाहिर जाने इच्छा राखेकी छैन । मैले भन्नैपर्छ, म सधैं त्रासका बीचमा बसिरहेकी हुन्छु । असुरक्षा सधैं हुन्छ नै ।

महिला हकअधिकार र सेवासुरक्षाबारे सधैं मुखर हुनुहुन्छ । दक्षिण एसियाली मुलुक बंगलादेश, पाकिस्तान, भारत र नेपालमै पनि महिलाहरू राज्यशक्तिको उपल्लो तहमा पुगेका उदाहरण छन् । शिक्षा/चेतनाको स्तर पनि अब्बल छ । तैपनि महिलाकै स्थिति तुलनात्मक रूपमा कमजोर किन देखिएको हो ?

पद, शक्ति वा कुर्सीका आधारमा मात्रै तुलना गरेर नहुँदो रहेछ । सदीयौंदेखि नपाइरहेको शिक्षा–स्वास्थ्यको अधिकार, सामाजिकीकरण हुन नदिइएको यथास्थिति र पितृसत्तात्मक सोच (समाज) का अघि कुनै महिला प्रधानमन्त्री हुनु अथवा राष्ट्रपति हुनुले त्यति फरक नपार्ने रहेछ । एउटी महिला सत्ता/शक्तिमा आउँदैमा सबै महिलाको स्थिति हठात फेरिएला भन्न सकिन्नँ । मन–मस्तिष्कमा ‘पुरुषवादी समाज’को चित्र (माइन्ड–सेट) लिएर के परिवर्तनको अपेक्षा गर्नु ?

परिवर्तनका लागि वैचारिक प्रतिबद्धता (आइडियोलजिकल कमिटमेन्ट) चाहिने रहेछ । यस्तो प्रतिबद्धता महिलामै हुनुपर्छ भन्ने केही छैन, पुरुषमै भए पनि काफी छ । तपार्इं पुरुष हुनुहुन्छ र महिलाले पाउनुपर्ने समान अधिकारका बारेमा प्रतिबद्ध त हुनुहुन्छ भने परिवर्तन आइहाल्छ । ‘जेन्डर’ भनेको आफैंमा केही होइन, यो सोचाइ र विचारको संयोजन हो ।    

२४ वर्षयताको ‘एक्जाइल’ जीवनमा दक्षिण एसियाली सन्दर्भमा परिवर्तन के देख्नुभयो ? तपाईंको मुलुक बंगलादेशमै महिला–पुरुष समानता अथवा अधिकारका बारेमा परिवर्तन भएको छ ?

सकारात्मक र नकारात्मक दुवै परिवर्तन देखेकी छु । सकारात्मक यस अर्थमा, धेरै महिला पढेलेखेका देखिन थालेका छन् । जागिरका अवसर र आयाम थपिएका छन् । बाल विवाह वा अन्य सामाजिक विभेदका घटनामा मुछिएका महिला पनि आत्मविश्वासी बनेर आफैं गरीखाने अवस्थामा पुगेका छन् । तर नकारात्मक पक्ष पनि उस्तै छ । अति ‘इस्लामीकरण’का कारण बंगलादेशमा बुर्का र हिजाब लगाउने महिला पनि उत्तिकै बढेका छन् ।

यस आधारमा समाज पछिल्तिर धकेलिने क्रममै छ । बरु मेरै पालामा भित्री गाउँघरमा अथवा वृद्ध महिला मात्रै बुर्कामा हिँडिरहेका देखिन्थे । अहिले मेडिकल/इन्जिनियरिङ कलेजमा जाने विद्यार्थीलाई समेत बुर्का लगाउन बाध्य बनाइएको देखिन्छ । महिलालाई अझै पनि ‘सेक्स–सब्जेक्ट’का रूपमा हेर्दै बुर्का/हिजाबमा हिँडाउने क्रम छँदै छ ।  

शासन, शक्तिले मात्रै हकअधिकार पाउने र परिवर्तन नहुने यो अवस्था आफैंमा विरोधाभासपूर्ण होइन ?

तपाईंलाई भन्दा अचम्म लाग्न सक्छ, बरु इँटाभट्टामा काम गर्ने एउटी महिलाले आफ्नो ज्यालादारी पुरुषभन्दा कम भएमा आवाज उठाउने गर्छिन् । पुरुषले दैनिक १० डलर पाउँछ भने आफूले (महिलाले) किन नपाउने भनेर आवाज उठाउने एउटा साधारण/असाक्षर महिला हुन्छिन् । तर पढेलेखेका महिलाले यसप्रकारले समानताको कुरा उठाइरहेका हुँदैनन् । ‘करवाचौध’का अवसरमा श्रीमानको दीर्घायु कल्पेर, व्रत र उपासना गरेर बस्ने महिला आफूले भने के पाएका छन् ?

आफ्ना लागि पितृसत्तात्मक समाजले के दिएको छ भनेर सोच्नु जरुरी छ । यहाँ धेरै पढेलेखेका महिला कम्पनीमा सीईओ/एमडी छन्, तर उनीहरू पूरै पुरुष निर्भर हुन्छन् । यो ‘माइन्डसेट’ हो । पढेलेखेका महिला बढी पितृसत्तात्मक समाजका ‘फ्लोवर’ छन्, यो हाम्रो सबकन्टिनेन्टको यथार्थ हो ।

व्यक्तिगत जिज्ञासा राखौं । तपाईंका ४० भन्दा बढी कृति प्रकाशित छन् । ती २० भन्दा बढी भाषामा अनूदित छन् । के यी पुस्तकको रोयल्टी अथवा लेखकस्वले जीवनयापन हुने स्थिति छ ?

आफ्नै कृतिको रोयल्टी र विभिन्न पत्रपत्रिकामा छापिएका लेखको आम्दानीबाट मेरो जीवनयापन भइरहेको छ । (तर नेपालबाट नेपाली प्रकाशक अथवा अनुवादकबाट भने अहिलेसम्म केही पैसा पाएकी छैन है..।) विशेषत: युरोपेली मुलुकका विभिन्न संस्करणका कृतिले राम्रै पैसा दिन्छन् । दैनिकी चलाउन सजिलो होस् भन्नाका लागि मैले अखबारमा लेखेकी हँु । यसले मेरो समय खाइरहेको छ, म कविता/कथा लेख्न पाइरहेकी छैन । तर दैनिक खर्च चलाउन पनि अखबारी लेखन समात्नैपर्छ ।

तस्बिर : हेमन्त श्रेष्ठ

प्रकाशित: चैत्र ८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार