फोटोफिचर

मुखैले लेखेर एसईई [फोटोफिचर]

- विमल खतिवडा, चितवन

चैत्र ७, २०७३- चितवनको रत्ननगर नगरपालिका १६ स्थित खैरेटीका २० वर्षीय भरत गुरुङ मुखले लेखेर एसईई परीक्षा दिन ब्यस्त छन् । भद्रकाली माध्यमिक विद्यालयमा अध्ययन गरेका उनको परीक्षा केन्द्र जनजागृति माध्यमिक विद्यालय पिठूवा हो । 

एसईई परीक्षा सुरु भएदेखि आमा चन्द्रमायाले छिमेकीसँग सहयोग मागेर परीक्षा केन्द्र पुर्‍याउँछिन् । भरतको हात खुट्टा चल्दैन । बोल्न मात्र सक्ने उनले मुखले नै लेख्न सिके । जन्मजात अपाङ्ग उनलाई भाई सुजनले पढेको देखेपछि पढ्न मन लाग्यो । 

हात र खुट्टाले लेख्न नमिलेपछि उनले मुखले लेख्न सिके । अहिले हात सुकेकाले खाना ठिक्क पारिदिएपछि आफैं खान्छन । 

घर गोरखा घ्याम्पेसाल देउराली हो । बाबुले अर्कै बिहे गरे । त्यही भएर उनी अहिले आमासँगै मामा घर बसेका छन् । भाई सुजन काठमाडौंमा प्लसटु पढ्दैछन् । 

उनलाई एसईई पास भएपछि उच्च शिक्षामा लेखा विषय लिएर पढ्न मन छ । भरतपुर अस्पतालमा जन्मिएका उनको सुरुमा दाहिने खुट्टा ठाडो भयो । बनेपामा पुगेर उपचार गरियो । पछि पछि चिकित्सकले हिंड्न सक्ने भनेपनि उनी हिंड्न सक्दैनन् । हातका औंला सुकेका छन् । सामान्यरुपमा हातको औंला चलाएर डटपेन सम्म समाउन सक्छन । नत्र कितावको पाना पल्टाउनेदेखि पानी पीउन सम्म मुखकै भर पर्नुपर्ने बाध्यता छ । 

उनले परीक्षा दिने साथी खोजेनन । साथीहरुको पढाई बिग्रने डरले उनी आफैंले परिक्षा दिन तयार भए । विद्यालयका केन्द्राध्यक्ष विनोदप्रसाद अधिकारीले उनलाई नियमित समय भन्दा डेढ घण्टा बढी समयको ब्यवस्था गरिएको बताए । परीक्षामा आवश्यक पर्दा उनी मुखैले क्यालकुलेटर, स्केल चलाउँछन् ।

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार