ब्लग

भट्टराईले भारत भ्रमणलाई 'लो प्रोफाइल' मा राख्नुका कारणहरु

- कमलदेव भट्टराई, नयाँदिल्ली
अहिले राजनीतिक भेटघाट गरेर त्यसलाई मिडियावाजी गर्ने भन्दा पनि नेपालको वारेमा भारतीयहरुले के सोचिरहेका छन् भन्ने वुझ्नु उनको मुल ध्येय हो । त्यसैले उनी भारतीय संस्थापनसंग निकट रहेका व्यक्तिहरुसंग छलफल तथा अन्तरक्रिया गरिरहेका छन् ।

चैत्र ७, २०७३-नयाँ शक्ति नेपालका संयोजक विगत  सात दिनदेखि भारतमै छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको आतंकवाद प्रतिवाद सम्वन्धी सम्मेलनमा भाग लिन आएका भट्टराईले आफ्नो भारत भ्रमणलाई 'लो प्रोफाइल'मा राख्न चाहेका छन् ।

आतंकवाद प्रतिवाद सम्वन्धी सम्मेलनमा भाग लिन आएका भट्टराईले अन्य दुई कार्यक्रममा समेत सहभागिता जनाएका छन् । नीति अनुसन्धान केन्द्रले आयोजना गरेको नेपाल—भारत सम्वन्ध विषयक अन्तरक्रिया र व्यापारीहरुसंगको साक्षात्कार । सो दुवै कार्यक्रममा उनको अभिव्यक्त गरेको धारणलाई भट्टराईको सचिवालयले उपलब्ध गराएको छ ।

 

यि सार्वजनिक कार्यक्रम वाहेक आइतवार उनी पार्टीको कार्यक्रममा सहभागी हुनको लागि गोवा पुगे भने सोमवार दिल्लीमा पार्टीको कार्यक्रममा सहभागी भएर मंगलवार मात्र काठमाडौं फर्ने छन् । यस वाहेक उनी विभिन्न राजनीतिक भेटघाटमा पनि व्यस्त छन् । तर, उनको सचिवालयले त्यसलाई गोप्य राख्न चाहेको छ । दिल्ली आएको पर्सीपल्ट उनले भारतीय जनता पार्टीका महासचिव राममाधवसंग भेटघाट गरे । तर, भेटघाटमा भएको कुराकानीको वारेमा उनको सचिवालयले कुनै जानकारी दिएको छैन ।

 

भेटघाटपछि राममाधवले दुई देशको सम्वन्धको वारेमा विस्तृतमा कुराकानी भएको भन्दै ट्वीट गरे । त्यस वाहेक पनि उनको अन्य राजनीतिक भेटघाटको कार्यक्रम थियो । तर, त्यसवारेमा उनको सचिवालयले केही वताएको छैन । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटघाट गर्ने इच्छा गरेपनि आइतवारसम्म उनको भेटघाट तय भईसकेको थिएन । उसो त भट्टराईले राजनीतिक भेटघाट गरेर हल्लीखल्ली गर्ने भन्दा पनि वौद्धिक व्यक्तित्वहरुलाई भेटेर नेपाल र भारतको पछिल्लो सम्वन्धको डाइनामिक्सलाई पहिल्याउन खोजेका छन्, उनी निकटका एक नेता भन्छन् ।

 

उनी निकटका अनुसार भेटघाटलाई लो प्रोफाइलमा राख्नुको कारण हो— अहिले उनले भनेका कुराहरुलाई भारतीय पक्षले त्यति गम्भीर रुपमा लिंदैनन् । अहिले उनले गर्ने राजनीतिक भेटघाटले राष्ट्रिय राजनीतिलाई त्यति प्रभाव पार्दैन भन्ने पनि उनलाई थाहा छ । ‘अहिले भारतीय पक्षले नसुने पनि आफ्नो कुरा भनिराख्नुपर्छ र उनीहरुले यसलाई पछि रियलाइज गर्छन् भन्ने उहाँको भनाई हो,’ उनी निकट एक नेताले भने । अहिले राजनीतिक भेटघाट गरेर त्यसलाई मिडियावाजी गर्ने भन्दा पनि नेपालको वारेमा भारतीयहरुले के सोचिरहेका छन् भन्ने वुझ्नु उनको मुल ध्येय हो । त्यसैले उनी भारतीय संस्थापनसंग निकट रहेका व्यक्तिहरुसंग छलफल तथा अन्तरक्रिया गरिरहेका छन् । 

औपचारिक तथा अनौपचारिक भेटघाटमा उनले भारतीय पक्षलाई एउटा कुरो चाहि स्पष्ट रुपमा भन्न थालेका छन्, 'तिमीहरुले पहिचान र समावेशी सिद्धान्त वोकेकाहरुलाई समर्थन गर्नुपर्छ ।' भट्टराईले सार्वजनिक रुपमा नै भनेका छन् पहिलो संविधान सभाको निर्वाचनपछि भारतले पहिचान र समावेशी शक्तिहरुलाइ समर्थन गरेन । तर, अहिले उसले त्यही एजेण्डा उठाईरहेको छ ।  ‘उदाहरणको निम्ति, विगत डेढ वर्षदेखि भारतले समावेशी संविधानकै पक्षमा जोड दिंदै आएको हो । तर, भारतको निम्ति यो नै प्राथमिकताको विषय थियो भने उसले पहिलो संविधानसभामा समावेशी लोकतन्त्रका पक्षधरलाई साथ दिएन,’ उनले नीति अनुसन्धान केन्द्रको कार्यक्रममा भने । उनले भारतीय पक्षलार्इ अबको निर्वाचनमा समावेशी पक्षधरहरुले एलायन्स गर्ने तयारी गरेको समेत वताएका छन् ।

 

उनले नेपाल र भारतको सम्वन्धलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा समेत स्पष्ट रुपमा कुरा राखेका छन् । प्राय सबै भेटमा उनले भारतलाई नेपालको सानो सानो कुरामा चासो नदिन आग्रह गरिरहेका छन् । उनले त्यसको साटो नेपालको आर्थिक विकासमा सहयोग गरे नेपालमा भारतको इमेज राम्रो वन्ने वताएका छन । सार्वजनिक कार्यक्रमहरुमा उनले भनेका छन्, नेपालको आर्थिक विकास र समृद्धीमा भन्दा पनि भारतको चासो माइक्रोम्यानेजमेन्टमा छ । यदि भारत नेपालको माइक्रोम्यानेजमेन्टमा नलाग्ने हो भने भारतविरोधी भावना कम हुन्छ ।  उनले नेकपा एमालेको उग्रराष्टवाद र भारतको माइक्रोम्यानेज दुवै नेपाल र भारतको सम्वन्धको लागि सहयोगी नहुने भारतीय पक्षलाई वताईरहेका छन् । उनले भन्ने गरेका छन्— भारतको अहिलेको नेपालमा भुमिकाले केपी ओली प्रवृत्तीलाई नै फाइदा गरिरहेको छ ।

 

त्यसैगरी उनले भारतको योगदान रहँदा–रहँदै पनि नेपालप्रति भारतको दृष्टिकोणमा एकरुपताको कमी छ, स्पष्ट रुपमा कमी रहेको समेत वताएका छन् । ठूला प्रमुख नीतिगत विषयहरुमा भारत प्राय: अस्पष्ट रहेको सन्देश भट्टराईले भारतीय पक्षलाई दिएका छन् । सन् १९५० को शान्ति तथा मैत्री सन्धी तथा अन्य दुई पक्षीय सम्वन्धलाई अगाडी वढाउन प्रवुद्ध समुहको गठन गर्ने प्रक्रिया भट्टराई प्रधानमन्त्री भएकै समयमा शुरु भएको हो । अहिले सो समुहले काम गरिरहेका छ ।

 

यस वाहेक भखैरै स्थापना भएको पार्टीको संरचनाहरुलाई वल दिनु पनि भट्टराईको भारत भ्रमणको उदेश्य हो । नयाँ शक्तिले भारतभरी नै आफ्नो संरचनालाई वढाउँदै लगेको छ । उसो त प्रत्येक अन्तरक्रिया तथा राजनीतिक भेटघाटमा भट्टराईले नयाँ शक्ति एक वैकल्पिक राजनीतिक शक्ति भएको र सो पार्टी स्थापना गर्नुका पछाडीका कारणहरु वारेमा जानकारी गराईरहेका छन् । आफ्नो नयाँ दलप्रति भारतका राजनीतिक दल तथा अन्य समुदायको समर्थन तथा सद्भाव वटुल्नु भ्रमणको अर्को उदेश्य हो ।

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार