समाचार

यस्ता विद्यालय राम्रा

- -दुर्गा खनाल
भौतिक पूर्वाधार र विद्यार्थीअनुसार शिक्षण सामग्री, पुस्तकालय, ल्याब छ कि छैन भनेर ध्यान दिन सक्नुपर्छ, अझै कतिपय विद्यालयहरूमा पूर्ण रुपमा पूर्वाधार छैनन्– हरि लम्साल, प्रवक्ता, शिक्षा मन्त्रालय

चैत्र ७, २०७३- महाराजगन्जका रोहित खतिवडाकी छोरी अस्मिता साढे तीन वर्षकी भइन् । आउँदो शैक्षिक सत्रदेखि छोरीलाई विद्यालय भर्ना गर्ने तयारीमा छन् रोहित । राजधानीको एक निजी कम्पनीमा काम गर्ने उनी छोरीका लागि उपयुक्त विद्यालयको खोजीमा छन् । वैशाखमा भर्ना गर्नुपर्ने भएकाले उनको अहिले मुख्य समय नै विद्यालयबारे अध्ययन गर्न बितिरहेको छ । कस्तो विद्यालय राम्रो हो भन्ने यकिन गर्न उनलाई सकस परिरहेको छ । सामान्य कम्पनीमा जागिरे भएका कारण उनलाई आफ्नो तलब र विद्यालयको तालमेल मिलाउनुपर्ने बाध्यता छ । त्यसबाहेक छोरीका लागि उपयुक्त र सुविधाजनक विद्यालय हुनुपर्ने पनि उनको पूर्वसर्त छ । 

विद्यालय पठाउने उमेर भएका छोराछोरीका धेरै अभिभावकहरूको मनोदशा यतिबेर खतिवडाकै जस्तो छ, ‘विद्यालय छनोट कसरी गर्ने र कुन विद्यालयमा आफ्ना बालबालिका पढाउने । यस्तो मनोदशामा रहेका अभिभावकहरूले केही मापदण्ड ख्याल गर्न सक्ने हो भने आफ्ना सन्तानलाई राम्रो विद्यालयमा पुर्‍याउन सक्छन् । बालबालिकाका सन्दर्भमा एउटा भनाइ नै छ ‘बालबालिका भनेका काँचो माटोजस्ता हुन्, उनीहरूलाई जे मन लाग्यो त्यस्तै बनाउन सकिन्छ ।’ त्यसैले पूर्वप्राथमिक कक्षादेखि नै बालबालिकालाई कस्तो विद्यालयमा पठाइन्छ, त्यसको असर पछिसम्म पनि परिरहन्छ । पहिलोपटक विद्यालयमा प्रवेश गर्ने बालबालिकाले जे सिक्छन् त्यसको प्रभाव दीर्घकालसम्म परिरहन्छ । 

कस्तो शिक्षण पद्धति ? 
सुरुमा अहिले नेपालका विद्यालयहरूमा हुने शिक्षण पद्धतिबारे बुझ्नु जरुरी छ । पूर्वप्राथमिक विद्यालयहरूमा विशेषगरी तीन प्रकारका शिक्षण पद्धति भेटिन्छ । एउटा परम्परागत खालको शिक्षण पद्धति । जुन विधिअनुसार किताबकापीमा पढ्ने लेख्नेमै मात्र बढी ध्यान दिइन्छ । अतिरिक्त क्रियाकलाप– खेल्दै पढाउने शैली अपनाइँदैन । दोस्रो, पूर्ण मन्टेसोरी पद्धतिमा अध्यापन गराउने विद्यालय छन् । त्यस्ता विद्यालयहरूमा पूर्ण रूपमा बालबालिकाहरूलाई प्रयोगात्मक सामग्री दिँदै अभ्यास गर्न लगाएर मनोरञ्जनात्मक तरिकाले अध्ययन गराइन्छ । तेस्रो, अर्धमन्टेसोरी (मन्टेसोरी बेस्ड) पद्धतिमा पढाइ हुने विद्यालयहरू छन् । त्यस्ता विद्यालयमा केही मन्टेसोरी पद्धति अपनाइएको हुन्छ । तर, पर्याप्त प्रयोगात्मक सामग्री हुँदैनन् । धेरैजसो पूर्वप्राथमिक विद्यालय अर्ध मन्टेसोरी पद्धतिमा पढाइ हुने खालका छन् । त्यसैले सुरुमै के स्पष्ट हुनुपर्छ भने यदि पूर्ण रूपमा मन्टेसोरी पद्धतिमा पढाइ हुने विद्यालयमा आफ्नो बच्चालाई पढाउन चाहने हो भने साँच्चिकै मन्टेसोरी हो कि अर्ध मन्टेसोरी हो भन्ने स्पष्ट हुनुपर्छ । 

यीमध्ये अहिले पूर्ण रूपमा मन्टेसोरी पद्धतिमा पढाइ हुने विद्यालयमा शुल्क महँगो छ । अर्ध मन्टेसोरीमा केही कम र परम्परागत शैलीको पढाइ हुन्छ । त्यस्ता विद्यालयमा न्यून शुल्क हुन्छ । त्यसैले आफ्नो आयअनुसारको विद्यालय चयन गर्नु वैज्ञानिक हुन्छ । अभिभावक संघकी वरिष्ठ उपाध्यक्ष सरिता अर्यालका अनुसार अभिभावकहरूको वर्ग अहिले दुई प्रकारको छ । एक थरी जति शुल्क तिर्न पनि तयार हुन्छन् तर त्यसअनुसारको प्रतिफल विद्यालयले दिनुपर्ने उनीहरूको सर्त हुन्छ । अर्को थरी अभिभावकहरू आर्थिक अवस्था ख्याल गरेर मात्र आफ्ना बच्चाका लागि विद्यालय छनोट गर्छन् । शुल्कको आधारमा केही विद्यालयहरूले चाहिने जति सबै सुविधा दिने गरेका छन् । ‘यदि आफ्नो आर्थिक अवस्थाले धान्छ भने त्यस्ता विद्यालयमा जाँदा राम्रो हुन्छ,’ अर्याल भन्छिन्, ‘तर, शुल्कअनुसारको रिजल्ट र बच्चाको प्रस्तुति हुन्छ कि हुँदैन भन्नेमा सचेत हुनुपर्छ ।’ विद्यालयमा पढाउने पद्धति राम्रो भएन भने बच्चाहरूको शैक्षिक गुणस्तर बढ्दैन । अहिलेको जमानामा जोसुकै अभिभावक पनि आफ्नो बच्चा ग्लोबल प्रतिस्पर्धामा उत्रिन सक्ने बनाउन चाहन्छन् । ‘सबै स्थानमा प्रतिस्पर्धा गर्न सक्ने भएन भने अबको जमानामा काम छैन,’ वरिष्ठ उपाध्यक्ष अर्याल भन्छिन्, ‘त्यसैले विद्यालयहरूले ग्लोबल प्रतिस्पर्धामा उत्रिन सक्ने गरी विद्यार्थीलाई सिकाउने खालका पद्धति अपनाउनुपर्छ र अभिभावकले त्यस्ता विद्यालयलाई बढी प्राथमिकता दिनुपर्छ ।’ 

पूर्वाधार के छ ?
विद्यालय हुन चाहिने आधारभूत संरचनासमेत नभएका स्थानमा पनि अहिले विद्यालयहरू चलिरहेका छन् । राजधानीमा करिब प्रत्येक ५ मिटरको आसपासमा विद्यालयहरू भेटिन्छन् । ती विद्यालयहरूमा आधाभूरत संरचनाहरू छन् कि छैनन् ख्याल गर्नु जरुरी छ । कक्षाकोठा कति छन् ? खेलमैदान छ कि छैन ? पर्याप्त खेलसामग्री छन् कि छैनन् ? यातायातको व्यवस्था छ कि छैन जस्ता केही आधारभूत कुरा हेर्नैपर्छ । धेरै विद्यार्थी भएका स्थानमा कक्षाकोठा धेरै चाहिन्छ । तर, सानो कक्षाकोठामा धेरै विद्यार्थी राखेर पढाउँदा विद्यार्थीलाई उल्टै तनाव हुन्छ । त्यसैले विद्यालय यसबारेमा कतिको व्यवस्थित छ ? अभिभावकले यसमा ध्यान दिन जरुरी छ । धेरै विद्यालयमा खेल्ने मैदान नै पर्याप्त हुँदैन । यस्तो भयो भने विद्यालयको कोठामा मात्र सीमित हुनुपर्ने हुन्छ । यातायातको सुविधा दिए पनि कस्ता खालका गाडी छन्, कन्डिसनमा राखिएको छ कि छैन भनेर पनि ख्याल गर्नु जरुरी छ । किनभने वर्षौं पुराना गाडीहरूमा विद्यार्थी ओसार्ने गरेको हामीले राजधानीमा सडकमा दिनहुँ देख्ने गरेका छौं । 

‘भौतिक पूर्वाधार र विद्यार्थीअनुसार शिक्षण सामग्री, पुस्तकालय, ल्याब छ कि छैन भनेर ध्यान दिन सक्नुपर्छ, अझै कतिपय विद्यालयहरूमा पूर्ण रूपमा पूर्वाधार छैनन्,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल भन्छन् । लम्सालका अनुसार राजधानीलगायतका स्थानमा धेरै विद्यालय छन् । तर तोकिएका मापदण्ड पूरा र त्यसलाई नियमित व्यवस्थापन गरेर चल्ने विद्यालयहरू सीमित छन् । ‘सरसफाइ एवं विद्यालयको सुरक्षासम्बन्धी व्यवस्था कस्तो छ भन्नेबारे पनि ख्याल गर्नु राम्रो हुन्छ,’ प्रवक्ता लम्सालको सुझाव छ । 

भुइँचालोपछि त अझै विद्यालयको भौतिक संरचनाबारे पनि उत्तिकै ख्याल गर्नु आवश्यक भएको छ । भुइँचालोले चर्किएका, भत्किएका संरचनाहरू पुनर्निर्माण भई पूर्ण रूपमा सुरक्षित बनाएको छैन भने त्यस्ता विद्यालयमा आफ्ना बच्चा पठाउने जोखिम मोल्नु हुँदैन । कतिपय विद्यालयमा त्यस्ता संरचना भत्काएर भुइँचालोमैत्री भवन बनाएका छन् । यदि कुनै आपत्कालीन अवस्था आयो भने सुरक्षित रूपमा जोगिने उपायहरूको प्रबन्ध विद्यालयमा छ कि छैन भन्ने पनि ख्याल गर्नु आवश्यक छ । कतिपय विद्यालयहरूले भुइँचालोअघिकै संरचनामा पनि काम चलाइरहेका छन् । त्यस्तो अवस्थामा आफ्ना बच्चाहरूलाई पठाउनु जोखिम हुन्छ । 

खानपान र बानीव्यहोरा 
विद्यालयको खानपान र त्यहाँका शिक्षक कर्मचारीको बानीव्यहोरा कस्तो छ भन्ने पनि ख्याल गर्नुपर्ने हुन्छ । अहिले अधिकांश विद्यालयले विद्यालयमै खाना खुवाउने व्यवस्था गरेका हुन्छन् । अतिरिक्त शुल्क लिएर उनीहरूले विद्यालय अवधिभरि आवश्यकताअनुसार आफैं खाना खुवाउँछन् । कामकाजी अभिभावकहरूका लागि यो ठूलै राहत हो । अफिसको समय व्यवस्थापन गरेर विद्यालयमा बच्चालाई खाना खाजा खुवाउन पुग्नुपर्ने झन्झट अहिले छैन । तर, बच्चाहरूलाई कस्तो खाना खुवाउने व्यवस्था छ ? भान्सा कस्तो छ ? सरसफाइ कस्तो हुन्छ ? यी विषयमा ख्याल गर्नुपर्ने हुन्छ । बालबाबालिकाको शारीरिक अवस्था कमजोर हुन्छ, त्यसैले खानपिनमा थोरै गडबडी हुनेबित्तिकै बिरामी पर्छन् । त्यसैले विद्यालयको खानपानको ‘मेनु’ र कति कति समयमा खुवाउने समयतालिका छ त्यो विचार गर्नुपर्छ । विद्यालयमा छोराछोरी भर्नाका लागि लैजाँदा नै यी कुराहरूलाई एकपटक निरीक्षण गर्नु बुद्धिमानी हुन्छ । मौसमअनुसारको खानपानको मेनु छ कि छैन, सुुरुमै हेर्नुपर्छ । विशेषगरी जाडो र गर्मी मौसममा खाना खानाहरू नै फरक–फरक हुने भएकाले त्यसअनुसार मेनु परिवर्तन गरिन्छ कि गरिँदैन विचार पुर्‍याउन जरुरी छ । 

मौसमअनुसारको खाना भएन भने बच्चाहरूलाई असर गर्छ । संधै एकै प्रकारको खाना कसैलाई मन पर्दैन । बच्चाहरू त झन् खानाका ‘चुजी’ हुन्छन् । त्यसैले प्रत्येक दिन विद्यालयमा खानाको मेनु एउटै हुन्छ कि फरक हुन्छ भनेर पनि ख्याल गर्नुपर्छ । हरेक दिनको मेनु फरक भयो भने बच्चाले रमाएर खान्छन् । एकै खालको भए दिक्क मान्छन् । खाना र खाजाको समयमा दिने मेनु पनि एकै खालको हुनु हुँदैन । विद्यालय छनोट गर्ने अभिभावकले यो पक्षलाई मिहिन तरिकाले हेर्नु जरुरी छ । 

जुनसुकै विद्यालयमा पनि अहिले बच्चाहरूलाई तर्साएर होइन, फकाउने र पढाउने शैली विकास भएको छ । यो राम्रो पक्ष हो । पहिले पहिले बच्चाहरूलाई तर्साएर, गाली गरेर पढाउने चलन पनि थियो । अहिले त्यस्तो शैली छैन । तर, पनि विद्यालयमा बालबालिकाप्रति गरिने व्यवहार कत्तिको सरल छ ? शिक्षक, कर्मचारीहरूले बालबालिकालाई गर्ने सम्बोधन, बोलीचाली कस्तो छ ? त्यसले पनि बच्चाको मनोविज्ञानमा प्रभाव पारिरहेको हुन्छ । 

‘बच्चाहरूका लागि अभिभावक पछि सबैभन्दा नजिकको व्यक्ति विद्यालयका शिक्षकहरू हुन्छन् । त्यसैले बाबुआमाले गर्ने जस्तै माया विद्यालयमा पनि पाउन खोज्छन्,’ ज्ञानोदय विद्यालयका पूर्वप्रधानाध्यापक धनञ्जय शर्माको अनुभव छ, ‘यदि विद्यालयले त्यो कुरा ख्याल गरिएन भने विद्यार्थीका लागि विद्यालय बोझ हुन थाल्छ ।’ त्यसैले विद्यालय छनोट गर्न जाँदा अभिभावकहरूले विद्यालयका शिक्षक–कर्मचारीको शैलीबारे पनि पूर्वजानकारी लिने कोसिस गर्नुपर्छ । 

विद्यालय गएपछि बालबालिकाहरू रमाउन सक्ने वातावरण निर्माण गरिदिनुपर्ने शर्माको सुझाव छ । विद्यालय जानका लागि बालबालिका आफैं उत्प्रेरित हुने अवस्था आयो भने अभिभावक पनि सन्तुष्ट हुन्छन् । विद्यालयहरूले पनि अभिभावकहरूले ख्याल गर्ने र आवश्यक ठानेका सबै पूर्वाधारहरू बनाउन सके विद्यार्थीलाई आकर्षित गर्न सक्छन् । 

व्यवस्थापन र दक्षता कति छ ? 
विद्यालयहरूको व्यवस्थापन कस्तो छ ? शिक्षकहरू दक्ष छन् कि छैनन् ? यो अहिले सबै भन्दा पेचिलो प्रश्न बनेको छ । सरकारी विद्यालयमा सकारले बर्सेनि करोडौं रुपैयाँ लगानी गर्ने गरेको छ । त्यस्ता विद्यालयमा अध्यापन गर्न शिक्षकहरूको तलब भत्ता र तालिमका लागि पनि धेरै रकम खर्च हुन्छ । तर तुलनात्मक रूपमा सरकारी विद्यालयहरूको रिजल्ट निजीको भन्दा कमजोर छ । 

निजीमा तुलनात्मक रूपमा राम्रो भए पनि सबै विद्यालयहरूमा दक्ष शिक्षकहरूको अभाव नै छ । ज्ञानोदयका पूर्वप्रधानाध्यापक शर्माका अनुसार किताबबाट मात्र सिकाइ हुन्छ भन्ने भ्रम पाल्ने शिक्षकहरू अधिकांश विद्यालयमा छन् । ‘दक्ष र योग्य शिक्षकहरू सबै ठाउँमा छैनन्, अधिकांश शिक्षकहरू पाठयक्रमअनुसारका किताब मात्र पढाउँछन्, बाहिर ज्ञान दिने क्षमता राख्दैनन् र दिँदैनन्,’ शर्माले भने, ‘विद्यार्थीहरूलाई आफंै रिसर्च गर्न दिने, प्रोजेक्ट वर्क गर्न दिन सकिन्छ तर अधिकांश घोकाउने विधि सिकाउँछन् ।’ प्रयोगात्मक ढंगले खुल्ला रूपमा विद्यार्थीलाई पढ्ने विधि निर्माण गर्न सक्नुपर्ने उनको सुझाव छ । त्यसका लागि विद्यालय व्यवस्थापनले वातावरण तयार गरिदिनुपर्ने हुन्छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता लम्सालको अनुभव पनि शिक्षाविद् शर्मासँग मिल्छ । ‘विद्यार्थीलाई कुनै पनि विषयको अवधारणा पहिले बुझाएर त्यसअनुसार व्यावहारिक अभ्यास गर्न लगायो भने पछिसम्म सम्झन सक्छन्,’ लम्साल भन्छन्, ‘अहिले पनि घोकन्ते शैलीलाई नै धेरैले अपनाउने गरेका छन्, यसलाई विद्यालयहरूले परिवर्तन गर्न सक्नुपर्छ ।’ आर्थिक रूपमा राम्रो लगानी भएका विद्यालयहरूमा पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरकै पढाइ पनि हुन थालेको छ । 

मल्टिमिडियाको प्रयोग गरेर अध्यापन गराउने, अब्जरभेसन पद्धतिलाई प्राथामिकता दिने पनि छन् । तर अधिकांशमा मध्यमस्तरका अभिभावकहरूले त्यस्ता विद्यालयहरूमा आफ्नो बच्चा पढाउन सक्दैनन् । त्यसैले मध्यम स्तरका अभिभावकका बच्चाहरू पढाउने विद्यालयहरूले पनि पढाउने पद्धति फेर्न सके त्यस्ता विद्यालयहरू धेरैको गन्तव्यस्थल बन्न सक्छ । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार