देश

भगवान् भरोसामा सर्वसाधारणको दैनिकी

  • हरेक पटक साँघु तर्दा ‘भगवान् मलाई बचाऊ’ भन्नुको विकल्प छैन
- हरि गौतम, रुकुम

चैत्र ७, २०७३-सिस्ने गाउँपालिका ३, की ३५ वर्षीया देउसरा खड्काका हरेक वर्षको ७ महिना भगवान् भरोसामा कट्छन् । घाँस–दाउराका लागि दैनिक सानीभेरी वारपार गर्नुपर्ने उनी नदीमाथि बनाइएको साँघु (काठेपुल) तर्दा भगवान् पुकार्ने गर्छिन् । सोही ठाउँकी ४५ वर्षीया कमला खड्काले पनि कम्तीमा दिनको दुई पटक उक्त साँघु तर्नैपर्छ । 

हरेक पटक साँघु तर्दा ‘भगवान् मलाई बचाऊ’ भन्नुको विकल्प नरहेको उनले बताइन् । सानो काठमाथि डोरीले कसेर बनाइएको साँघुको केही भर छैन, कति बेला को नदीमा खस्ने हो या कति बेला साँघु नै भाँच्चिने हो । ‘जति पटक साँघु तर्छौं उति पटक भगवान् बचाइदेऊ भन्नुपर्छ,’ देउसराले भनिन्, ‘यही भनेकै भरमा कति दिनसम्म साँघु तर्दा भगवान्ले हाम्रो पुकारा सुनिदिने हुन् ।’

कमला र देउसरा मात्रै होइन, सोही गाउँपालिका पोखरासहित पाङ्गा, ढाँका, दादिङ, नाथीगार, रुकुमकोटलगायत क्षेत्रका सर्वसाधारण तथा जनता मावि पढ्ने विद्यार्थीले हरेक मंसिर–जेठ महिनासम्म ठूलो जोखिमका सिस्ने गाउँपालिका ४ बाट वडा ७ पुग्न सानीभेरी वारपार गर्न बाध्य छन् ।

त्यस क्षेत्रका सर्वसाधारणले यो समस्या भोग्न थालेको अहिले मात्रै होइन । स्थानीय ६२ वर्षीय हर्कवीर खड्काले आफूले थाहा पाउनु पहिल्यैदेखि साँघुको जोखिम मोलेर सानीभेरी वारपार गर्दै आएको बताए । उनका अनुसार वर्षौंदेखि त्यस ठाउँमा पुल बन्न सकेको छैन । ‘हाम्रा बाजे बराजुदेखि नै साँघुको सहायतामा नदी वारपार गर्दै आएका छन्,’ खड्काले भने, ‘यो ठाउँमा अहिलेसम्म साँघुको विकल्प केही आउन सकेको छैन ।’ हर्कवीरले पनि ५ वर्षको उमेरदेखि नै उक्त साँघुबाट वारपार गर्दै आएका छन् । 

आफ्ना बाजेले पहिल्यैदेखि साँघुकै सहायतामा नदी तर्ने गरेको बताएको पनि उनले सुनाए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ल्याएको तुइन विस्थापित गर्ने योजनामा पनि आफ्नो ठाउँ नसमेटिँदा दु:ख लागेको हर्कवीरको भनाइ छ । ‘तुइन विस्थापित गर्ने योजनाले तुइनभन्दा अप्ठ्यारो साँघुलाई सदाका लागि बिदा गर्दिन्छ कि भन्ने आस थियो भएन,’ खडकाले गुनासो पोखे ।

जनता माविका प्रधानाध्यापक कलु खड्का उक्त ठाउँ आसपासमा पुल नहुँदा सर्वसाधारणले ठूलो जोखिम मोलेर दैनिकी चलाउन बाध्य भएको बताउँछन् । उनका अनुसार दैनिक ३ सयभन्दा बढी सर्वसाधारण र ५० भन्दा बढी विद्यार्थीले उक्त साँघु प्रयोग गर्दै आएका छन् । पक्की पुल नहुँदा नाथीगाड, घरेलीलगायत ठाउँका अरू धेरै विद्यार्थी टाढाका स्कुल पढ्न जान बाध्य छन् । उनका अनुसार पोखरामा रहेको तातोपानी नुहाउन आउने–जाने पनि यही साँघु तर्ने गर्छन् ।

अन्य ठाउँमा पुल परेको र बनेको खबर सुन्न पाउँदा खुसी लागे पनि आफूहरू भने पुल तर्ने सपना मात्रै साँचेर बस्नुपर्दा खिन्न लागेका सर्वसाधारण बताउँछन् । हरेक मंसिरमा पोखरावासीले बनाउने उक्त साँघु हरेक असारमा सानीभेरीमा आउने बाढीले बगाउँछ र ५ महिना वार–पार गर्न नपाउने बाध्यता पनि कायमै छ ।

अनुमानित ५ हजार रुपैयाँ लागतमा साँघु बन्छ । र, त्यसको आयु पनि मंसिरदेखि जेठसम्म जम्माजम्मी ७ महिना मात्रै हुन्छ । असारमा आउने सानीभेरीको बाढीले साँघु बगाएर लैजान्छ । पुल नबनेकै कारण उक्त साँघुबाट बर्सेनि नदीमा खसेर सर्वसाधारणको ज्यान जाने गरेको छ । स्थानीय डिलबहादुर केसीले अहिलेसम्म धेरैले साँघुबाट खसेर अकालमै ज्यान गएको बताए । २०६० सालमा नेपाली सेनाका केही जवान सोही साँघुबाट खस्दा हराएको हतियार खोज्न एक दिनभर लागेको थियो भने उनीहरू बल्ल–बल्ल नदीबाट निस्कन सकेका थिए । सानीभेरी तर्न बर्खामा कि अमलाचौर कि बोजेरी पुग्नुपर्ने बाध्यता स्थानीयमा छ । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार