समाचार

यसरी भव्य बन्दै छ बुटवल

- अमृता अनमोल, बुटवल

चैत्र ७, २०७३-भौतिक पूर्वाधार र विकासमा बुटवल द्रुत गतिमा अघि बढिरहेको छ । योसँगै जनसंख्या वृद्धिदर पनि उच्च रहेको नगरका रूपमा यो दरिएको छ । यसलाई ‘बटौली’ नामबाट पनि चिनिन्छ । यहाँ पहिले भारतका व्यापारी नुन तथा कपडा बेच्न आउँथे । पहाडका घिउ, मह, सुठो र जडीबुटी बेचेर नुन र कपडा किनेर लैजान्थे । २००१ मा मुस्ताङबाट यहाँ झरेका ८० वर्षीय चित्रमान गौचन सम्झिन्छन् ‘तिनाउ पारि बटौली चहलपहलयुक्त बजार थियो । यहाँ सामान किन्नेको भीडभाड हुन्थ्यो । दिउँसो मात्रै होइन राति बजार लाग्थ्यो, वारिको अहिलेको बुटवल खस्यौली भने बगर मात्रै थियो । असरल्ल ठुल्ठूला ढुंगा र बालुवाको बगर थियो ।’ 

८५ वर्षीय श्याममान श्रेष्ठ २०१२ मा काठमाडौंबाट कपडाको व्यापार गर्न आउँदासम्म हालको बुटवलमा एक/दुई घर मात्रै थिए । बटौली भने चहलपहलयुक्त व्यापारिक केन्द्र थियो । भारत र बर्मा काम गर्न आउजाउ गर्ने लाहुरे यही बास बस्थे । रातिमा दोहोरी घन्कन्थे । भारतीय सीमा बेलहियादेखि बुटवलसम्म १९९० देखि नै गाडी चल्थ्यो । त्यतिबेला दैनिक ४/५ वटा गाडी आउँथे । बयलगाडा लिएर भारतीयहरू तमाखु बेच्न आउँथे । पछि हालको अस्पताल लाइनबाट पुलचोकसम्म एक लाइन बारेका झुप्रे घर बनाइए । जुन लाहुरेले खाजा र मदिरा खाने भट्टी थिए । पहाडबाट घिउ बेच्न आएका साहुजीहरूको घिउ किन्ने मुख्य व्यापारी थिए माडबारी । त्यसबेला दिनमा २/३ ट्रक घिउ वनारस निर्यात हुन्थ्यो ।

बजार विस्तार

इतिहासका अध्येता तथा पूर्व उपप्रमुख विमलबहादुर शाक्यका अनुसार डेढ सय वर्षअघि सम्म खस्यौलीमा तिनाउ बग्थ्यो । नदी बग्न छोडेपछि बगर बन्यो । ०२० मा बुटवल–पाल्पा सडकको ट्रयाक खुल्यो । ०२२ मा बुटवल–नारायणगढ र बुटवल–कोहलपुर सडकको निर्माण भयो । लगत्तै सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्ग निर्माणको काम थालनी भयो । सडक आसपासमा घर ठडिन थाले । जग्गा किनेबच हुन थाल्यो । बटौली साँघुरो थियो । सट्टामा व्यापारीले फराकिलो ठाउँ खस्यौली रोज्न थाले । ०२८ सालमा तत्कालीन बुटवल खस्यौली नगर पञ्चायतलाई बटौलीबाट खस्यौली सारियो । सडक र स्थानीय निकायको सामीप्यले बटौली सुक्न र खस्यौली फस्टाउन थाल्यो । खस्यौलीलाई बुटवल भनिन थालियो । त्यसपछि मुलुककै नमुना व्यापारिक केन्द्र बुटवल बन्न पुग्यो । नगरपालिकाले ०३९ मा भौतिक योजनालाई अगाडि बढाउन एमएसटीपी परियोजनाअन्तर्गत योजना बनाएको थियो । यसले विकासको खाका बनायो । यसपछि मेट्रो सिटी र स्वच्छ, सफा, सुन्दर, साक्षर र सीपमूलक नारा अगाडि सारियो । 

असन्तुलित जनसंख्या

माओवादी द्वन्द्व सुरु भएयता वडागत रूपमा जनसंख्याको अनुपात निकै असन्तुलित छ । १ नम्बर वडाको जनसंख्या जम्मा हजार हुँदा १३ को जनसंख्या ४५ हजार पुगेको छ । घरधुरी ११ हजार छन् । सडक मात्रै ९ सय ६१ वटा छन् । स्थानीय निकायको पुन:संरचना त्यसलाई केही मिलाउने प्रयास गरेको छ । उपमहानगरपालिकाको सर्वेक्षणमा वडा नम्बर १ मा ११ सय, २ मा १२ सय र ३ मा १५ सय मात्रै छ । यी ३ वटै वडा मिलाएर वडा नम्बर १ बनाइएको छ । यसले २२ वडा रहेको बुटवल अब १९ वडामा झरेको छ ।

यहाँको वार्षिक जनसंख्या वृद्धिदर ६ दशमलव ४६ प्रतिशत छ । जनगणना ०६८ अनुसार यहाँको जनसंख्या १ लाख ३८ हजार ७ सय ४२ छ । उपमहानगरपालिकाले गत वर्ष गरेको सर्वेक्षणमा भने उक्त जनसंख्या बढेर अस्थायीसहित २ लाख ५० हजार पुगेको वरिष्ठ अधिकृत दामोदर ज्ञवाली बताउँछन् ।

नगरपालिकाबाट उपमहानगरपालिका

०१६ मा यो बुटवल नगर पञ्चायत थियो । त्यतिबेला ९ वडा थिए । ०४८ मा यसलाई विस्तार गरी १५ वडा पुर्‍याइयो । ०७१ मंसिर १६ गते साबिक मोतीपुर र सेमलार गाभिएर बुटवल उपमहानगरपालिका बन्यो । वडा २२ भए । पछिल्लो पुन:संरचनाले यसको क्षेत्र परिवर्तन गरेन बरु वडा मात्रै घटाएर १९ मा झारेको छ ।

धार्मिक सहिष्णु

बटौलीको व्यापारमा सुरुमा मारवाडी जमेका थिए । बिस्तारै पाल्पा, स्याङ्जा, काठमाडौंबाट व्यापार गर्न आएका नेवार समुदाय यतै बस्न थाले । मुस्ताङबाट झरेका केही थकाली पनि फर्किएनन् । सिद्धार्थ राजमार्ग निर्माण सुरु भएपछि गुल्मी, अर्घाखाँची र स्याङ्जाका ब्राहमण समुदाय पनि बुटवल झर्न थाले । पाल्पाबाट गहना बनाउने पनि झरे । अहिले बुटवलमा मिश्रित जाति र समुदाय छ । धार्मिक सहिष्णुता रहेको नगरमा हिन्दु, बौद्ध, क्रिस्चियन, इस्लाम र शिख धर्मावलम्बी छन् । उपमहानगरभित्र शिवनगर सामुदायिक र सिद्धबाबा धार्मिक वन छन् ।

४३४ रोपनीको औद्योगिक क्षेत्र

यहाँ ४३४ रोपनीमा फैलिएको औद्योगिक क्षेत्र ०३२ मा स्थापित भएको हो । प्लास्टिकका उद्योग, ग्रिल, केबुल, जुत्ता चप्पल, कुलर, साबुन, दुग्ध पदार्थ डोरी चकलेटलगायतका ७४ उद्योग सञ्चालनमा छन् । रूपन्देही प्रशासन, नापी, मालपोतलगायत कार्यालयले स्वीकृत गरेपछि जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा सारिएको छ ।

नमुना ठूला आयोजना

लुम्बिनीमा पर्यटन प्रवद्र्धन गरी ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै गत वर्षदेखि चन्द्रसूर्य आकारमा सम्मेलन केन्द्र निर्माण थालिएको छ । बुटवल मण्डपको १० बिघामा ५ वर्षभित्र सम्मेलन केन्द्र बन्नेछ । त्यसमा ११ सय १४ जना अट्ने मुख्य हल हुनेछ । सहरी विभागले १ अर्ब ७७ करोडमा गुरुयोजना तयार गरी काम अगाडि बढाएको छ । बुटवलबाट सिधै बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने र पश्चिमी क्षेत्रबाट लुम्बिनी आउने पर्यटकका लागि बेलवास–बेथरी पर्यटन मार्ग निर्माण सुरु भएको छ ।

यो ४ लेन सडकका लागि २ अर्ब छुट्टिएको हो । बुटवल उपमहानगरपालिकाको अगुवाइमा एसियाली विकास बैंक (एडीबी) को अनुदानमा ८७ करोडबराबरका ३ ठूला आयोजना सुरु भएका छन् । ३७ करोडको फोहोर प्रशोधन केन्द्र, २७ करोड अटोभिलेज पूर्वाधार र २२ करोडको भूमिगत खानेपानी आयोजना हुन् । पश्चिमाञ्चलकै नमुना भनिएको लुम्बिनी बस टर्मिनल तथा सपिङ कम्प्लेस निर्माण सकिन लागेको छ । सरकारी उच्च प्राथमिकताको सूचीमा रहेको सिद्धार्थ राजमार्गको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तारको काम भइरहेको छ । राजमार्ग चौराहसम्म भएको ६ लेन सडक यो वर्ष चिडिया खोलासम्म पुर्‍याउन सर्भे भइसकेको छ । यस्तै योगीकुटी, कालिकानगरको कालिका उमाविअघि, राजमार्ग चौराह, मिलन चोक, अस्पताल लाइन, ट्राफिक चोक र गोलपार्कमा आकाशे पुल बन्दै छन् । यहाँका भित्री सडक पनि फुटपाथसहितको २ लेनका बनाउन थालिएको उपमहानगरका योजना प्रमुख सुमन श्रेष्ठले बताए ।

खानेपानीको अवस्था

तिनाउ र दानव नदी बुटवलका सम्पत्ति हुन् । तीव्र सहरीकरणले खानेपानी अभाव भने बढदै गएको छ । खानेपानी अभावले जनजीवन कष्टकर बन्दै गएको छ । अहिले बुटवलमा दैनिक ३ करोड लिटर खानेपानीको माग छ । खानेपानी संस्थानले तिनाउ नदी र बोरिङहरूमार्फत दैनिक १ करोड ९० लाख लिटर पानी उपलब्ध गराउँदै आएको छ । गर्मी बढदै जाँदा पानीको माग पनि बढदै जान्छ । खानेपानी अभाव मेटाउन आव ०५२/५३ देखि थालिएको आयोजना पूरा भएको छैन । स्थानीयको विवाद र समन्वय अभावमा ५ वर्षमा सक्ने भनिएको आयोजना साढे ३ करोड रकम खर्च भएपछि अलपत्र पर्‍यो ।

अस्पतालको सहर

बुटवल मेडिकल हब बन्दै गएको छ । मुख्य भाग पुष्पलाल पार्क आसपासका घरैपिच्छे अस्पतालका बोर्ड झुन्डिएका छन् । यहाँ १४ जिल्लाबाट ठूलो संख्यामा बिरामी उपचारका लागि आउँछन् । बुटवलमा उपक्षेत्रीय बनेको लुम्बिनी अञ्चल अस्पताल छ । लुम्बिनी आयुर्वेद औषधालय अञ्चलस्तरीय छ । विशेषज्ञ सेवाका लागि सामुदायिक मुटु अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा, लायन्स आँखा अस्पताल र डेन्टल अस्पताल छन् । योबाहेक एउटा नर्सिङ होम र १४ निजी अस्पतालसमेत यहाँ छन् । सरकारी स्तरबाटै सञ्चालित प्राथमिक स्वास्थ्य चौकी सरहका ४ सहरी स्वास्थ्य केन्द्र र २ प्राथमिक स्वास्थ्य चौकी पनि सञ्चालनमा छन् । उपमहानगरपालिकाको तथ्यांकमा शून्य दशमलव ५८ प्रतिशन नागरिक मात्रै स्वास्थ्यको पहुँचबाहिर छन् । 

शिक्षा पनि अब्बल

बुटवल बहुमुखी क्याम्पस र लुम्बिनी वाणिज्य क्याम्पस साधारण विषय पढाइ हुने २ सरकारी क्याम्पस पनि छन् । यसमा अधिकांश विद्यार्थी जिल्लाबाहिरका छन् । त्रिवि, पोखरा विश्व विद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका अन्य २५ क्याम्पस यहाँ छन् । तिनमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा आकर्षक विषयअन्तर्गत सामाजिक मनोविज्ञान, कानुन, होटल म्यानेजमेन्ट, ग्रामीण विकासलगायत पढाइ हुन्छ । प्राविधिक पढाइका लागि कोरिया नेपाल प्राविधिक शिक्षालय र बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) छन् ।

सरकारी स्तरका यी शिक्षालयबाट मेकानिकल, अटो, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थी उत्पादन हुने गरेका छन् । शिक्षालयका प्राचार्य अरविन्द चौधरीले यसबाहेक छोटो समयका ए, बी लेभलका तालिम सञ्चालन गरी बर्सेनि हजार बढी प्राविधिक उत्पादन गरेको बताए । निजी स्तरबाट खुलेको लुम्बिनी क्रिमसन कलेज पनि छ । यहाँ फार्मेसी, अनमी, नर्सिङ, ल्याब असिस्टेन्ट र हेल्थ असिस्टेन्टलगायत प्राविधिक स्वास्थ्य पढाइ हुने १५ कलेज छन् । तीनमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिकमा कालिका, कान्ति र नवीन औद्योगिक अगाडि छन् । निजीमा होराइजन, एभरेस्ट र अक्सफोर्ड छन् ।

विद्युत्मा पनि उस्तै

जताततै विद्युतीकरण छ । बजार क्षेत्रमा ०६८ देखि सौर्य ऊर्जाले झिलिमिली बनाउने काम सुरु भएको हो । त्यसयता राजमार्ग र आवासीय क्षेत्रका सडकमा पनि सौर्य ऊर्जा विस्तार भएको उपमहानगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठले बताए ।

बैंकको आकर्षण

मुख्य कार्यालयसहित ७२ बैंकका कार्यालय छन् । सहकारी मात्रै ११० वटा छन् । रेमिटयान्स बढी भित्रने, विकास निर्माण र आर्थिक कारोबार बढी हुने भएकाले बैंक तथा वित्तीय संस्थाको मुख्य आकर्षण छ ।

 

६५ जिल्लाका कृषि उत्पादन

बुटवलमा दैनिक १ करोडको थोक कारोबार हुने कृषि तथा थोक बजार केन्द्र छ । ६५ जिल्लाका कृषि उत्पादन यहाँ आउँछन् । यसमा झन्डै ८० प्रतिशत स्वदेशी उत्पादन बिक्री हुन्छ । मोतिपुरमा अत्याधुनिक बीउ प्रशोधन तथा भण्डारण गृह सञ्चालन भएको छ । ग्रेडिङ मेसिनले प्रतिघण्टा २ टन बीउ ग्रेडिङ गर्ने अध्यक्ष ज्ञानेश्वर आचार्यले बताए ।

लगातार उत्कृष्ट 

‘सबल आर्थिक केन्द्र, समुन्नत बुटवल’ भन्ने नारा लिएको उपमहानगरपालिका लगातार ४ वर्षदेखि देशकै उत्कृष्ट बनेको छ । संघीय तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत वित्तीय आयोगले बुटवललाई उत्कृष्ट ठहर्‍याएको हो । टिमवर्कमा चुस्त दुरुस्त काम गर्ने यहाँको शैलीले पुन: उत्कृष्ट बन्न सक्ने कार्यकारी अधिकृत रामलाल श्रेष्ठको दाबी छ ।

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार