खेलकुद

बुटवल–११ विजयी

- कान्तिपुर संवाददाता , भैरहवा

चैत्र ७, २०७३-टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार समूह ‘ए’ को खेलमा बुटवल–११ क्रिकेट क्लब बुटवल र समूह ‘बी’ मा साई ग्लोबल क्रिकेट क्लब भैरहवा विजयी भएका छन् । बुटवल–११ ले बुद्ध क्रिकेट क्लब भैरहवालाई ४६ रनले र साई ग्लोबलले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १९ रनले पराजित गरे ।

टस हारेको बुटवल–११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २५ रन बनायो । टोलीका प्रथम पराजुलीले ३१, अमित श्रेष्ठले २३ र तौसिफ आलमले नटआउट १८ रन बनाए । बुद्धका प्रवेज आलमले २, सन्दीप साहनी, जमाल अहम्मद र रोशन गौतमले समान १/१ विकेट लिए ।

बुद्धले ९ विकेट गुमाई ७९ रनमात्र बनाउन सक्यो । सन्दीप साहनीले १६ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन सकेनन् । बुटवलका तौसिफ आलमले ३, सुधन श्रेष्ठ र सुमन श्रेष्ठले २/२ विकेट लिए । 

अर्को खेलमा साई ग्लोबल १९.४ ओभरमा १ सय ४५ रनमा अलआउट भयो । रूपेश बाँस्तोलाले ३० तथा सन्देश शाक्यले २१ रनको योगदान दिए । ज्ञानोदयका पदम खवासले ३ र निशान्त शर्माले २ विकेट लिए । ज्ञानोदयले ५ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो । निशान्त शर्माले ३९ र जितेन्द्र साहनीले १४ रन बनाए । साई ग्लोबलका रूपेश बाँस्तोला र राहुल थापाले २/२ विकेट लिए ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले १० हजार, बेस्ट ब्याट्सम्यान तथा बेस्ट बलरले ५/५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ हासिल गर्नेछन् । प्रतियोगिता चैत १२ सम्म सञ्चालन हुनेछ । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार