अर्थ / वाणिज्य

चौरीपालनमा युवा आकर्षित

- हरिहरसिंह राठौर, धादिङ

चैत्र ७, २०७३-जिल्लाको उत्तरी भेकमा परम्परागत चौरीपालनमा युवाहरूको आकर्षण बढेको छ । प्रशस्तै चरनको सुविधा र दुग्धजन्य उत्पादनबाट राम्रो कमाइ हुने भएपछि युवाहरू यो व्यवसायमा लागेका हुन् । 

‘एउटा चौरीको दूधले बर्सेनि ४० देखि ६० हजार रुपैयाँसम्म कमाइ हुन्छ,’ तिप्लिङ ५ का युवा जस थापाले भने, ‘दूधबाट बन्ने छुर्पी र चिजले पनि राजधानीको बजार पाएको छ ।’ उनको गोठमा हाल ४० वटा चौरी छन् ।

चौरीपालन उनको पुस्तौनी व्यावसाय हो । उनका बाबुको पालामा १८ वटा चौरी पालिएका थिए । त्यसबेला २ दिन टाढाका खर्कमा लिन जानु र हिँउदमा चौरीलाई बस्तीमा ल्याउने जस्ता काम उनी गर्थे । हाल उनी चिज र छुर्पी बेचेर वार्षिक ४ लाख रुपैयाँ कमाउने गरेको बताउँछन् । चौरी गाई नै पनि कम्तीमा ६० हजार रुपैयाँमा बिक्री हुन्छ । 

त्यसैगरी परम्परागत चौरीपालनबाट आय आर्जन गर्नेमा अर्का युवा दिनेश घलेले पनि पर्छन् । उनले ३ वर्ष पहिले हिमाली छुर्पी उद्योग दर्ता गरी सञ्चालन गरेका छन् । घलेले वार्षिक १५ देखि २० क्विन्टलसम्म छुर्पी उत्पादन गर्ने बताए । यसबाट अन्य चौरीपालकलाई पनि दूध बिक्री गर्न सहज भएको छ । सबैले उनको उद्योगमा दूध बेच्छन् । उनले उत्पादन गरेको छुर्पी लगेर काठमाडौंमा प्रतिकेजी ४ देखि ५ सयसम्ममा बेच्ने गरेका बताए । विगत २ वर्षअघिसम्म ७ वटा चौरीपालेका घलेले हाल १८ वटा पुर्‍याएका छन् । उनकामा १० वटा चौरी त बाहै्र महिना लैना हुन्छन् । 

उत्तरी सिमाना तिब्बत र पूर्वी सिमाना रसुवा जिल्ला रहेको तिप्लिङ सबैभन्दा बढी चौरी पाल्ने गाविस हो । चौरीपालनमा आकर्षण बढेको छ । विगत एक दशकअघिसम्म २ सय मात्रै चौरी रहेको तिप्लिङमा हाल ३५ वटा गोठमा ४ सयभन्दा बढी चौरीहरू छन् । चौरीपालनमा अहिले २० जना युवा र १५ जना वृद्धहरू संलग्न छन् ।

चौरीपालनका लागि सबैभन्दा उत्तममा नरचेत खर्कलाई मानिन्छ । करिब ४५ सय मिटर उचाइमा रहेको यो खर्कसम्म चौरीहरू पुर्‍याउन स्थानीयवासीलाई २ दिन लाग्छ । जिल्लास्थित पशु सेवा कार्यालयबाट हरेक वर्ष चौरी उत्पादन र खर्क व्यवस्थापनमा बजेट विनियोजन हुने गर्छ ।

‘हामीले भाले याक खरिद र चौरीखर्क तथा गोठालालाई गोठ व्यवस्थापनका तालिमलगायतका अन्य अनुदान दिने योजनामा छौं,’ जिल्ला पशु सेवा कार्यालयका प्रमुख देवेन्द्र भगतले भने, ‘चालु वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।’ 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार