अर्थ / वाणिज्य

सिँचाइ चाहिने एकातिर, सर्भे अर्कैतिर

- जनक नेपाल, कृष्णप्रसाद गौतम, नेपालगन्ज
- हालै डिप बोरिङ जडान गरिएको सीतापुरको ए गाउँबाट नहरको सर्भे- बोरिङको सुविधा नभएको बेलभार गाउँ सिँचाइबाट वञ्चित हुने

चैत्र ७, २०७३-बाँके सीतापुरको राधापुर र ए गाउँका खेत–खेतमा बोरिङमार्फत सिँचाइ सुविधा पुगेको छ । भूमिगत जलस्रोत डिभिजन कार्यालयले ८० लाख रुपैयाँको लगानीमा हालै डिप बोरिङ जडान गरेको हो । हिजोआज लाइन विस्तारको काम हुँदै छ । उक्त स्थानबाटै सिँचाइ आयोजनाको नहर लैजाने गरी सिक्टा सिँचाइ आयोजनाले दुई साताअघि सर्भे गरेको छ । 

सिक्टाको नहर राधापुर हुँदै जलपोखरीसम्म बनाउने गरी सर्भे गरिएको हो । नहर बनाउँदा भर्खरै निर्माण गरिएको डिप बोरिङको संरचना नष्ट हुने किसानहरू बताउँछन् । ओरालो भएकाले उक्त स्थानमा नहर निर्माण गरे साबिकको सीतापुर २ का खेतमा सिँचाइ गर्न नमिल्ने उनीहरूको दाबी छ । एकातिर पुरानो आयोजनाको लगानी खेर जाने र अर्कोतिर माथिल्लो भेगमा सिँचाइ सुविधा नहुने देखिएको छ । 

छिमेकी बेलभार गाउँका खेतमा सिँचाइ सुविधा छैन । स्थानीयले बेलभार ४ को भैयापुर हुँदै वनकटवा गाउँसम्म नहर निर्माण गरे सीतापुर र बेलभार दुवै गाविसमा सुविधा पुग्ने बताएका छन् । ‘हामीले वर्षातको बेला जम्ने पानीको आँकलन गर्दा उक्त स्थान खाल्डो परेको पाएका थियौं,’ डिप बोरिङ सिँचाइ उपभोक्ता समितिका अध्यक्ष प्रदीप सुनारले भने, ‘भूमिगत सिँचाइमार्फत भएको सरकारी लगानी पूरै खेर जाने देखियो ।’ 

सीतापुर २ मा १६ वटा व्यक्तिगत बोरिङहरू सञ्चालनमा छन् । ती बोरिङहरू अधिकांश सरकारी अनुदानमै निर्माण गरिएका हुन् । सर्भे गरेको स्थानमा नहर बनाउँदा पूर्वी भेगमा सिँचाइ गर्न नमिल्ने स्थानीय बताउँछन् । सर्भे गरेको स्थान गाउँभन्दा ६ फिट ओरालो भएको भूमिगत सिँचाइका प्राविधिकले बताए । 

उपभोक्ता समितिका सचिव वीरेन्द्र मुराउले विपरीत दिशाबाट नहरको सर्भे गरिएको बताए । ‘बेलभारका अधिकांश वडामा सिँचाइ सुविधा छैन,’ उनले भने, ‘त्यहाँ बेवास्ता गर्ने, यता भएको बिगारेर सिँचाइ नहुने नहर खनेर फाइदा छैन ।’ सिक्टाको नहर ल्याउँदा किसानको खेतीयोग्य जमिन पनि खेर जाने उनको भनाइ छ । उनले सीतापुर र बेलभारको सिमानाबाट नहर लैजाँदा आसपासका अन्य गाउँहरूमा पनि सिँचाइ पुग्ने बताए । उक्त भेगमा बोरिङ सुविधा छैन । 

नहर र बाटो निर्माण गर्दा करिब १५ मिटर जमिन आवश्यक हुन्छ । अर्का किसान लोकराज शर्मा नहरले खेतीयोग्य जमिनमा पनि ठूलो क्षति गर्ने भएकाले स्थानीयले विरोध गरेको बताउँछन् । ‘एकातिर खेतीयोग्य जमिनमा क्षति हुन्छ,’ शर्माले भने, ‘अर्को सिँचाइ सुविधा पाइन्न । यस्तोमा सर्भे सच्याउनुको विकल्प छैन ।’ 

सिक्टा सिँचाइ आयोजना प्रमुख रमेश बस्नेतले हाल गरिएको सर्भे प्रारम्भिक मात्र भएकाले वैकल्पिक सिँचाइ प्रभावित हुने भए नहर रेखांकन हेरफेर गर्न सकिने बताए । ‘यो प्रारम्भिक सर्भे हो । उपभोक्तासँग अन्तरक्रिया गरेर मात्र फाइनल हुन्छ,’ उनले कान्तिपुरसित भने, ‘कुनै खेत नछुट्ने गरी सर्भे फाइनल गर्छौं ।’ उक्त क्षेत्रको ५ हजार हेक्टर खेतमा सुविधा पुर्‍याउने गरी सर्भे भइरहेको र उपभोक्ता समूहको प्रत्यक्ष संलग्नतामै अन्तिम निर्णय गरिने आयोजना प्रमुख बस्नेतले बताए ।

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार