मनोरञ्जन

सकियो फिल्म फेस्टिभल

- सुनीता साखकर्मी, काठमाडौं

चैत्र ७, २०७३- डकुमेन्ट्री र फिक्सन विधाका ६ फिल्मलाई पुरस्कृत गर्दै आइतबार राजधानीमा नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म फेस्टिभल सकिएको छ ।

यस पटक फेस्टिभलमा ‘इन्टरनेसनल डकुमेन्ट्री पानारोमा’ अन्तर्गत चिलीका प्याट्रिसियो सान्त्यान्दरको डकुमेन्ट्री फिल्म ‘द सोभल म्यान’ उत्कृष्ट ठहरियो भने इन्टरनेसनल फिक्सन अवार्ड जर्मनीका सार्लट ए. रल्फसको फिल्म ‘समिरा’ ले पायो । त्यस्तै नेपाल पानारोमा अन्तर्गत डकुमेन्ट्रीतर्फ शेलनाङ ग्याम्जो तामाङको ‘झालो’ उत्कृष्ट ठहरियो भने देवकी विष्टको ‘इन सर्च अफ देवकी’ फिक्सनतिर पुरस्कृत भयो ।

‘द सोभल म्यान’ चिलीको पिसागुवा गाउँनजिकै उत्खनन गरिएको चिहानको कथा समेटिएको छ । ‘समिरा’ ले आत्महत्याको धम्की दिने एउटी युवतीको कथा प्रस्तुत गरेको छ । 

नेपाली पानारोमा अन्तर्गत पुरस्कृत ‘झालो’ मा शिक्षक र विद्यार्थी दुई भिक्षुको कथा कहिएको छ । ‘इन सर्च अफ देवकी’ मा पश्चिम नेपालमा प्रचलित देउकी प्रथाको विषयवस्तु प्रस्तुत गरिएको छ ।

यी सबै फिल्मले अवार्डसँगै जनही ४० हजार रुपैयाँ पाए ।

त्यस्तै, जुरी अवार्डअन्तर्गत भने स्पेनका मार्काे हुएर्टेसको ‘फिफ्टी सिक्स’ र इटालीका स्टेफन मोकार्जेल र मर्याम जुवेयरको ‘टु वल्ड्र्स’ फिल्म उत्कृष्ट ठहरिए । ‘फिफ्टी सिक्स’ मा मादागास्करका तीन बालबालिकाले स्कुलको शुल्कबापत पाइने ५६ किलो चामल पाउन गरेको संघर्षको नालीबेली समेटिएको छ । ‘टु वल्ड्र्स’ मा मोन्ट्रियलमा काकाको रेस्टुरेन्टमा काम गर्ने सिरियाली शरणार्थी युवक ‘सामी’ ले छुट्टिएका आमाबाबुसँग भेट्न गरेको संघर्ष देखाइएको छ । 

फेस्टिभलको जुरीमा नेपालबाट वरिष्ठ फिल्मकर्मी तुलसी घिमिरे, भारतका वरिष्ठ निर्देशक गिरीश कसरावली, बंगलादेशका फिल्म समीक्षक अहमद मुस्तफा जमाल र नेदरल्यान्डका फिल्म निर्देशक क्लेमेन्टाइन एडरभन थिए । फेस्टिभलमा देखाइएका १ सय १ फिल्ममध्ये उत्कृष्ट छान्न गाह्रो भएको कसरावलीले सुनाए । ‘प्राय: फिल्महरू शरणार्थी, बसाइँसराइ, लैंगिक असमानता, अपांग व्यक्तिहरू, सीमान्तीकृतहरूका बारेमा थिए,’ उनले भने, ‘मानव अधिकारका पक्षमा विश्वका राम्रा फिल्महरू छानेर देखाइएकोले जुरीलाई अलिक गाह्रो भएको हो ।’

महोत्सवमा फिक्सन, डकुमेन्ट्री, सर्टफिल्म र एनिमेटेड फिल्महरू समावेश गरिएको मानव अधिकार फिल्म सेन्टरका अध्यक्ष चिरञ्जीवी कर्णविहारीले सुनाए । फेस्टिभलको समापन ज्योतिकेशर सिंह ठकुरीको ‘भुसको लोग्ने’ फिल्मबाट भएको थियो । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार