विचार/विश्‍लेषण

अस्पतालको हेलचेक्रयाइँ

- अखण्ड भण्डारी
सावधानी अपनाइदिनुहोस्, जसका कारण रोगीले निरोगी र निरोगीले रोगी साबित भई पीडा भोग्नु नपरोस् ।

चैत्र ७, २०७३- काभ्रेकी उमा निरौला स्वास्थ्य जाँच्न फागुन १९ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज गइन् । धेरैखाले परीक्षण गराइन् । रगतको रिपोर्टमा क्रिटिनाइन ६.२४ देखियो । महिलामा यो ०.४ देखि १.१० भित्र हुनुपर्छ । १.६ देखि ७ को बीचमा हुनुपर्ने युरिया ९.६ पाइयो ।

यो रिपोर्ट देख्नासाथ त्यहाँका एकजना डाक्टरले तुरुन्त मृगौला रोग विशेषज्ञलाई देखाउन सल्लाह दिए । क्रिटिनाइन त्यति धेरै हुनुको अर्थ मृगौला कामै नलाग्ने अवस्थामा पुग्नु हो भनेर उनले अथ्र्याए । काठमाडौंमै भएका आफन्तले उनलाई जँचाउन लगेका थिए । उनले तुरुन्त घरमा खबर गरिदिए । घरबाट तत्कालै आएर छोरा–छोरीले विशेषज्ञहरूको परामर्श लिए । उनीहरूकै सल्लाहमा एक निजी अस्पतालका मृगौला रोग विशेषज्ञकहाँ लगे । 

‘टिचिङ हस्पिटलको रिपोर्टमा शंका गर्न मिल्दैन’, ती डाक्टरले बिरामीलाई सोझै भनेछन्, ‘तपाईंका दुवै मृगौला कामै नलाग्ने अवस्थामा पुगेछन् । अब डाइलोसिस सुरु गर्नुपर्छ । चाँडै प्रत्यारोपणका लागि मृगौलाको खोजीमा लाग्नुहोला ।’ उनले मृगौला मात्र होइन, मुटु र अन्य अंग पनि खराब भएको निचोड सुनाए । ६४ वर्षीया बिरामीले डाक्टरको आधा भाषा बुझिन्, आधा बुझिनन् । तर, यति चाहिँ बुझिन्– आफ्ना महत्वपूर्ण अंग फेल भएछन् । उनी तनावले असिनपसिन भइन् । परिवारका सदस्य र आफन्तको अवस्था उस्तै थियो । कुन अंग कुन अवस्थामा पुगेका रहेछन् भन्न यकिन गर्न डाक्टरले भिडियो एक्सरे लिन चाहे । त्यसमा दुवै मृगौला एकदम राम्रा देखिए । तैपनि डाक्टर टिचिङकै रिपोर्टको पछि लागिरहे ।

आफन्त भने नाम चलेको ल्याबमा रगत लिएर पुगे । क्रिटिनाइन ०.७ देखियो, जुन अत्यन्त ‘नर्मल’ थियो । युरिया पनि ‘नर्मल’ नै पाइयो । त्यो रिपोर्ट हेरेर पनि डाक्टर निरोगी भएको निष्कर्षमा पुगेनन् । किनकि, टिचिङकै रिपोर्टलाई उनले बढ्ता जोड दिए । एक सातामा तेस्रो ठाउँमा देखाउन उनले सल्लाह दिए । चैत १ गते अर्को भरपर्दो ल्याबमा जँचाउँदा क्रिटिनाइन ०.८ पाइयो । अनि मात्र डाक्टरले भनेछन्, ‘टिचिङको रिपोर्ट गलत नै रहेछ ।’

अस्पतालको हेलचेक्य्राइँका कारण आएको गलत रिपोर्टका कारण निरौला परिवार करिब दुई साता तनावमा गुज्रियो । विभिन्न अस्पताल, क्लिनिक र ल्याब धाउँदाको हजारौं खर्च त छँदै छ । छोराहरू, छोरी र परिवारका अन्य सदस्यले गुगलबाट उपचारका अनेकन उपाय खोजे । ‘कुन देशमा लग्यो भने प्रभावकारी उपचार सम्भव छ भनेर हामीले सर्च गर्‍यौं’, छोरा प्रवीणले भने, ‘केही रात निदाउनै सकिएन ।’ 

धन्न मृगौला यस्तो रोग थियो, जसमा तत्काल औषधी चलाइएन । नत्र उनले बेकारमा कडा औषधीसमेत सेवन गर्नुपर्ने हुन सक्थ्यो । उक्त रिपोर्टबारे डाक्टरहरूको ठम्याइ छ– कि परीक्षण गर्ने उपकरण बिग्रियो, कि रगत साटियो । उपकरण बिग्रिएको भए त्यहाँ धेरैको गलत उपचार भइरहेको छ । साटिएको भए कम्तीमा दुई जनाले यो अवस्था भोगे । निरौलाको रगत जसको नाममा पर्‍यो उनी निरोगी भएर घर फर्किए ।

जसको रगत निरौलाको नाममा आयो, त्यही कारण उनी बिरामी बन्नु पर्‍यो । बिरामीले बेलामा उपचार पाएनन्, स्वस्थ व्यक्तिले दु:ख पाउनु पर्‍यो (शिक्षण अस्पतालले यसबारे आफैं अनुसन्धान गर्न चाहे रसिदमा ३३६५३२/२७५२ वा सी–१५६ नम्बर लेखिएको छ, खोज्न सक्नेछ) । अस्पतालले निरोगी व्यक्तिलाई त्यस्तो रिपोर्ट दिने भूल त गरेकै छ, विशेषज्ञ चिकित्सकले बिरामीलाई रोगबारे जानकारी दिने शैली पनि ठीक छैन । स्वयं बिरामीलाई सोझै भनिन्छ, जुन झिरले हानेभन्दा कडा हुन्छ ।

सेवामूलक निकायमा व्यावसायिकताको अभावका कारण यस्ता घटना देख्न–सुन्न पाइरहन्छन् । आफ्नो रिपोर्ट सुनेर बिरामी बेहोस भएका र पछि अर्को ठाउँमा अर्कै रिपोर्ट आएका उदाहरण पनि प्रशस्तै छन् । अधिकांश ल्याबको भर छैन, डाक्टरले पनि तिनलाई मान्यता दिंदैनन् । तर, जुन ल्याबलाई सबैले पत्याउँछन्, विश्वास एवं ग्रहण गर्छन्, त्यहींको त्रुटिपूर्ण हुनु दु:खद हो ।

कमाएको विश्वसनीयता बचाइरहन अस्पताल प्रशासन विशेष चनाखो हुनुपर्छ । अलि गहन प्रकृतिका रोग प्रमाणित भएमा दोहोर्‍याएर परीक्षण गरी परिणाम सुनाउने प्रणाली निर्माण गर्न सकिन्छ कि ? वा, बिरामीको रगत साटिनै नसक्ने गरी प्रणाली बनाउन त पक्कै सकिन्छ ।
आफ्नो शरीरको भित्री अवस्था पहिचान गर्ने निकाय अस्पताल नै हुन् । त्यसको उपचार गर्ने चिकित्सक हुन् ।

मानव जीवनसँग जोडिने हुनाले अस्पताल र चिकित्सकले झुक्किएर पनि हेलचेक्य्राइँ गर्नु हुँदैन । स्वास्थ्यकर्मीको सानो गल्ती कसैको जीवनका लागि ठूलो अभिशाप बन्न सक्छ । उमाजस्ता कति उमा होलान्, जसले गलत रिपोर्टका भरमा गलत उपचार भोगिरहेका छन् । परिवारका सदस्य शिक्षित र सक्षम भएकाले उमाका हकमा बेलैमा तथ्य पहिचान सम्भव भयो । यस्ता कति सर्वसाधारण अस्पताल पुग्छन्, जसले अन्य डाक्टरलाई ‘हो कि होइन’ सोधेर जति ठाउँ भन्यो, त्यति–त्यति ठाउँ पुगेर भनेजति जँचाउन सकुन् ? त्यसैले कृपया, सावधानी अपनाइदिनुहोस्, जसका कारण रोगीले निरोगी र निरोगीले रोगी साबित भई पीडा भोग्नु नपरोस् । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार