विचार/विश्‍लेषण

मान्छे, अधिकार र फिल्म

- अभि सुवेदी
यथार्थ र फिक्सनलाई मिलाउने फिल्म बनाउँदा मान्छेको अधिकार हनन कहाँ भयो भन्ने थाहा हुन्छ, शाश्वत मानिस भेटिन्छ ।

चैत्र ७, २०७३-नेपाल टुरिजम बोर्डमा चैत ३ देखि चारदिने पाँचौं अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म महोत्सव चल्दै छ । दोस्रो दिन, एउटा खचाखच हलमा ‘फेसा बनाम फेसिया’ शीर्षकको एउटा पाकिस्तानी डकुमेन्टरी पर्दामा लागेको छ । फैजल सायनी नामका युवक लेखक र निर्माताले बनाएको यो डकुमेन्टरीको विषय कार्टुन कलाकार फेसाको आत्मसंवाद छ । तिनलाई रिसाहा, वामपन्थी झुकाव भएका, राज्य र राजनीतिक दलले पनि मन नपराएका मानिसको रूपमा चित्रित गर्छन्, सायनी । तिनका दुई अवतार बीचमा कडा सम्वाद छ, फिल्ममा । फेसाका कार्टुनहरू देखिँंदै जान्छन् । जब समाजमा कलाकार वा रङ्गकर्मीले बाहिर सहज प्रस्तुति गर्न सक्दैन वा त्यहाँ उसलाई अनुकूल वातावरण हुँदैन, ऊ निजी मञ्चको रचना गर्छ । यसमा ऊ आफैं पात्र भएर आफ्नै मञ्च बनाउँछ । निर्माताका कुराबाट पनि बुझ्यौं । नाटकमा सेमुअल बेकेट त्यस्ता पात्रको रचना गर्छन्, जो समाजमा आफूअनुकूल वातावरण नपाएर आत्मकेन्द्रित अभिनय र मञ्च बनाउँछन् । बाहिर फिल्म समीक्षक र लेखक यज्ञश मानवअधिकार र फिल्म विषयको प्यानल सम्वाद चलाउँछन् । फिल्म निर्माण विषयका दुई सक्रिय ज्ञाताहरू रम्यता लिम्बु र अनुप सुवेदी छन् । तिनीहरूसँग मलाई पनि राखेका छन् । पाण्डव खत्रीको फोनको निम्तोमा पुगेको छु । यज्ञश मानवअधिकार फिल्ममा कसरी हेर्ने, नेपाली फिल्ममा मानवअधिकार कहाँबाट हेर्ने जस्ता विषयभित्र पसेर प्रश्नहरू निकाल्छन् । म मानवअधिकार र फिल्मका सम्बन्ध अनि यसको छोटो इतिहासबाट कुरा उठाउँछु । सन् १९८८ मा अधिकार वाचहरूले मानवअधिकार फिल्मको अन्तर्राष्ट्रिय कार्यक्रम न्युयोर्कबाट सुरु गरेको अनि बुएनस आयरसमा १९९७ मा फेरि धुमधामसँग यस्तो फेस्टिभल गरेको कुरा राख्छु । म जोडदार फिल्म हेर्ने मानिस होइन, तर भामको ‘कालो पोथी’, हिजोको ‘नुमाफुङ’, रङ्गकर्मी खगेन्द्र लामिछानेको ‘टलकजङ भर्सेस टुल्के’, ‘रुवान्डा १९९४’, ‘ह्विसल ब्लोअर’ जस्ता अनेक फिल्मका आधार राख्छु । 

मानवअधिकारको विषयलाई लिएर फिल्म बनाउनेमाथि हिजो नदेखिएका चुनौती आएका छन् । विशाल मात्रामा मानिसको अधिकार हनन हुँदै गएकाले त्यस्तो भएको हो । लाखौं मानिस, त्यसमा पनि बालबालिकाको बिजोग भएका दारुण अवस्थालाई फिल्ममा उतार गर्ने आधार मिडियाका मानिसका क्यामेरा हुन्, तर तिनका शृङ्खला जोड्न समय चाहिन्छ । संसारका शक्तिशाली देशहरूमा घृणा र विभेद भएको सोझै भन्न मिल्ने संस्कृति बन्दैछ । मलाई सबैभन्दा मनपर्ने मानवअधिकार विषयका लेखक माइकल इग्नातिएभले ह्युमन राइट्स (२००१) मा भनेका कुराको सार छ, हामी मानिसको कुरा गर्दा उसको स्वभाव वा प्राकृतिक चरित्रको कुरा गर्दैनौं, बरु उसको इतिहासमा के—के भइबस्छ भन्ने कुरा गर्छौं । जब मानिसको अधिकारको सुरक्षा हुँदैन, त्यसपछि उसलाई के—के हुन्छ भन्ने कुरा गर्छौं । हामी आशाका अथवा भोलि त राम्रो होला नि भन्ने कुरा गर्नुभन्दा डरको चित्र अघि सारेर प्रमाण जुटाउँछौं । हिटलरले गरेको होलोकस्टको नरसंहारदेखि यता त मानवअधिकारको चेतना नै त्यही डरले बनिएको हो कि त जस्तो लाग्छ । इग्नातिएभले भनेको मान्छेको प्राकृतिक कुरा के हो अनि इतिहासले बनिएको कुरा के हो, त्यतातिरको विषय थोरै भए पनि राख्ने कोसिस गर्छु । 

कुरा यसरी राखौं । मान्छेको अधिकार दिनेभन्दा लिने कर्म गर्नेहरू यो जगतमा जुग—जुगदेखि सक्रिय छन् । मान्छेको अधिकार लिने शासकहरूसँग हतियार र सिपाही हुन्छन् । बलियाले निर्धाको अधिकार खोस्छन् । अधिकार भनेको म पनि मानिस हुँ, म पनि तिमीजस्तै यो जगतको रचना हुँ, मेरो पनि जिउने चाहना छ, मेरो पनि इज्जत छ, म पनि माया गर्न सक्छु, अनि परिवार बनाएर त्यहाँ आफ्नै मर्यादाले बस्न सक्छु भन्ने कुराको माग हो । मेरो पनि यो पृथ्वीमा खनिखोस्री गरेर अन्न उमारेर जिउने अधिकार छ । म र तिमीमा फरक केही छैन । म पनि तिमीजस्तै सृष्टिको चक्रमा समयसँगै जन्मिएर आएपछि उमेर लिन्छु । बालक, युवा र बूढो हुन्छु र आफ्नो जीवनचक्र पुरा गर्छु । त्यसो गर्दा म कसैको त्यसरी जिउने हकमा बाधा नगरी एकअर्कामा सहयोग गरेर जिउँछु । मसँग आफ्नो जैविक पक्षमात्रै छैन । मसँग ज्ञान पनि छ । मेरो मन कुरा सिकेर राख्न बनिएको वस्तु हो । म जैविक वा प्राकृतिक कुराभन्दा अलग कुरा सिकेर पनि आफ्नो मनलाई बनाउन सक्छु । शिक्षा भनेको त्यही हो । त्यसरी बनाएको मन संस्कार हो । अनि मैले बाँच्ने मात्रै काम नगरी विचार र रचना गर्दा मेरो शास्त्र र साहित्य लेखिन्छ । म यो जगतमा केही रचना गर्न चाहन्छु । धार्मिक अधिकारी र महन्थहरू भन्छन्, ईश्वर छ, तर अदृश्य छ । त्यो सृष्टि गर्छ, तर मभित्र पनि उसले जस्तै केही बनाउने चाहना बलियो छ । म बनाउँछु, ईश्वरले जस्तै । मेरा पनि आफ्नै ससाना आकाश छन् । त्यसमा मेरा पनि घाम, जून र तारक दलहरू झुल्किन्छन्, अनि अस्ताउँछन् । म पनि हावापानी र मौसमसँग बस्छु । यसरी बस्दा यी सबै साइकलहरूलाई लिएर कथा बनाउँछु । अनि तिनै मिथक हुन्छन् । संसारका भिन्नाभिन्नै ठाउँमा ‘प्रोफेट’हरू आए । शास्त्र बने । कुनै धर्ममा मान्छेलाई यसले मेरो सेवा गरोस् भन्ने मिलाएर ईश्वरले सृष्टि गरे । कुनै धर्ममा मानिस मेरै आकारको होस् भनेर तिनले सृष्टि गरे । कुनैमा चराचरमा आकार र स्वरूप जति देखिन्छन्, ती सबैमा मानिसले मलाई देखुन् भनेर ईश्वरले कोटी—कोटीका सिर्जना गरे । यसो भन्छन्, मूलधर्महरू । 

तर यसरी बनेको मानिसलाई उसले आफनो किसिमले माथि भनेजस्तो जीवन चलाउन पाउनु हुँदैन, म र उसमा फरक हुनुपर्छ भन्ने मानिस भित्रैबाट निस्के । तिनले भने, माथि भनेका कुरा अधिकार त हुन्, तर ती मैले बढी उपभोग गर्नुपर्छ । त्यसो भन्ने शक्तिशाली भए । मानिसमा निर्धा र बलियाको रचना भयो । सबैतिर निरीह र हैकम चलाउनेको रचना भयो । रोममा एउटा मानिसको कित्ता बनाइयो, जसलाई इटालीका आधुनिक युगका दार्शनिक गियोर्गियो आगाम्बेनले ‘होमो सासर’ भने । त्यो देउतालाई दिइसकेको मानिस जसलाई मार्न पाइन्छ, तर ऊ देउतालाई बलि चढ्दैन । ऊ देउताको हो, तर असुरक्षित छ, जिउँछ, तर त्यो निराधार छ । आज युद्धमा दिनदिनै मरिरहेका नरनारी र बालक होमो सासरको अवस्थामा छन् । ती देउताका मानिस मानिन्छन्, तर निराधार छन् । तिनलाई देउताका मानिस भए पनि मारेमा खत लागेको देखिएन । अस्पताल र स्कुलमा ती बालक र शिक्षक—शिक्षिका मारिए, तर त्यो युद्ध अपराध मानिएन । त्यसलाई यो क्रूरताको चाहना मानिसले मानिसमाथि नै गर्‍यो । आगाम्बेनले गत शताब्दीमा लेखेका कुरा अहिले झन् प्रकट भए । महात्मा गान्धीले त्यही मानिसका कुरा गरे । विश्वेश्वरप्रसाद कोइरालाले पुस १ गतेको घटनाको अदालतमा आलोचना गर्दा त्यहींदेखि नेपालमा साधारण मानिसको अधिकार हनन भएको कुरा भने । 

शोषण आर्थिक चाँजोपाँजो मिलाएर गरियो । त्यसमा पनि धन धेरै लिने र अरूलाई ठग्ने मानिस निस्के । यो विषयमा धेरै लेखिएका छन् । कार्लमाक्र्सले ‘पुँजी’ भन्ने किताबको पहिलो खण्डमा श्रमिकलाई त्यसरी नै आर्थिक शोषणको हिसाबले होमो सासरजस्तै बनाएको देखे कि त । उनले श्रमिकलाई तेजिलो र विद्रोह गर्नसक्ने स्वभावको शोषकभन्दा श्रेष्ठ मानिस देखे । तर पुँजीपतिले श्रमिकलाई शोषण गर्छ, जुन कुरा जड वस्तु वा पुँजीले मानिसमाथि, मरेको श्रमले जीवित श्रमलाई गरेको शोषण हो, माक्र्सले भने । माक्र्सलाई मानेर राज्य र व्यवस्था चलाउनेहरूले बीसौं शताब्दीमा यो कुरा कति बुझेर काम गरे, इतिहासले भनेकै छ, अरू भन्दैजाला, तर माक्र्सले मानवअधिकार हननको अत्यन्त बलियो उदाहरण दिए । आजको युगमा मानवअधिकार हनन यस्ता अनेक शोषणबाट गरिन्छ । खाडी मुलुकमा काम गर्ने नेपाली र बङ्गलादेशी श्रमिकको आर्थिक र दैहिक शोषण मानवअधिकारको हनन हो, जडताको मानिसमाथि शोषण हो, मृत श्रमको जीवित श्रममाथि शोषण हो । लेख्ने ठाउँ छैन, यत्ति भनौं । मानवअधिकारको कुरा गर्दा पछिल्लो समयमा मानिसले मानिसका अधिकारको हननमात्रै होइन, तिनलाई दु:ख र यातना पनि दिएका छन् ।

फिल्ममा त्यसलाई राख्ने कुरा जटिल छ, छलफलमा भन्दै जान्छु । फिक्सन फिल्ममा मानिसको कहाँ—कहाँ अधिकार हनन भएको छ, समीक्षा गरेर वा दर्शकले सोझै देखेर गरिन्छ । हिजोआज सेन्सरसिप विचारमा पनि हुन्छ । अधिकार हननका कुरा फिल्ममा देखाउन हिजोआज चुनौतीपूर्ण छ । उत्पात हुनसक्छ, थोरै कुराले । अर्कोतिर डकुमेन्टरी फिल्महरूमा गर्ने हो । तर विषय यति भयावह भयो कि क्यामेराले त्यो विशाल विभत्स कुरा देखाउनु मात्र यथार्थ भएको छ । तर यथार्थ र फिक्सनलाई मिलाउने फिल्म हामीले बनाउँदा मान्छेको अधिकार हनन कहाँ भयो भनेर थाहा हुन्छ, शाश्वत मानिस भेटिन्छ । 

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार