फिचर

नुवाकोटकी देवकुमारीको ‘फुर्ती’

- सुवास कार्की

चैत्र ५, २०७३- ‘रोक्का गरौं विदेशको बाटोलाई
फलाई फुलाई यही देशको माटोलाई
सबै एकजुट भई, सिंगो नेपाललाई विकास गरौं है’

आफैंले रचेको यो गीत गाउँदा नुवाकोटकी देवकुमारी बिक आफैंले बनाउँदै गरेको कुखुराको फार्ममा थिइन् । विदुर नगरपालिकामा पर्ने केउरिनी गाउँमा फलामको ट्रस गाडेको कुखुराको फार्म तयार हुनै लागेको थियो ।

घर व्यवहार सम्हालेर एक्लै व्यावसायिक काममा लाग्न गाउँमा सजिलो पक्कै छैन । आटिली देवकुमारीलाई पनि कहिलेकाहीं यस्ता कुराले अल्झाउँछ । त्यस्तो सकसलाई उनी गीत बनाएर गुनगुनाउने रहिछन् । हुन त, उनको गीतमा पीडा मात्र थिएन । हिम्मत छ, आग्रह छ, देशमै केही गर्न सकिन्छ है भन्ने हौसलाका लय छन् । 

हजारभन्दा बढी कुखुरा अटाउने फार्म आफ्नै बलबुताले ठडयाएकी देवकुमारीको जीवन सजिलो रेखामा दौडिएको त कहाँ होला र ? उतारचढावको जिन्दगीमा आफैं गीत रच्ने र सुरिलो स्वरमा भाका हाल्दै गाउनु नै दु:ख भुलाउने गतिलो मेसो रहेछ उनका लागि । उनी जीवनका उल्झनहरूलाई संगीतको डोरीमा उन्ने रहिछन् । 

आआफ्नै व्यस्तता र बाध्यताका कारण देवकुमारीलाई यस्ता काममा नजिकका मान्छेबाट सहयोग कम थियो ।

रोजगारीका लागि विदेश हानिएका उनका श्रीमान् उतै छन् । घरमा भएका ससुरा पनि तामा र फलामका भाँडाकुँडा बनाउँदै सधैं व्यस्त हुन्छन् ।

भुइँचालोपछि गाउँभरि मान्छे बस्ने टहरा थपिएका बेला उनले भने १५ सय कुखुरा अटाउने फराकिलो खोर ठडयाइसकेकी थिइन् । ‘पहिले सय, २ सय हुँदै ४ सयसम्म पालें, जति पाले पनि उति नै समय लाग्ने हो ।’ हाम्रो परिचय भएको केही बेरमा उनले भनिन्, ‘अब त ठूलै आँट्छु भनेर १५ सय कुखुरा अट्ने फार्म बनाएँ । जोखिम नमोले त फाइदा पनि कसरी होला र हैन ?’

जोखिम मोल्ने उनको आत्मविश्वास परिवारका सदस्यलाई नै अनौठो अनुभूत गराउने खालको थियो । फार्म भन्दा २०–२५ हात वरको आरनमा गाग्रीको मुख जोड्न सानो घनले टाङटुङ हानिरहेका उनका ससुरा अड्कलेर भन्दै थिए, ‘गर्न त गर्छिन्, खै... ।’ उनको अनुहारको भावले बुहारीको काम कतै सफल नहुने पो हो कि त भन्ने भय बुझ्न गाह्रो थिएन ।

मुन्तिरको अर्को पुरानो टहरोको छानो लच्किरहेको थियो । पानी पनि चुहिन थालेपछि भुइँचालोपछि उनले त्यसमा कुखुरा हाल्न छोडिदिइन् । 

कुखुरा त उनी थप्नेवाला नै थिइन् । त्यति मात्र कहाँ हो र ? बारीको तल्लो पाटामा बंगुर र बाख्राको छुट्टाछुट्टै खोर थियो । दर्जनभन्दा बढी बाख्रा र आधा दर्जनजति बंगुरले उनकै हातबाट दानापानी खान्छन् । नजिकै बाख्रा पाल्न अलि ठूलो खोर पनि उनी बनाउँदै थिइन् ।
तल्लो–माथ्लो पाटामा बनाइएका खोरहरू देखाउँदै उनी जस्ताले नै बनाएको आफू बस्ने टहरोतिर अघि बढिन् । अस्थायी घरको दैलो नजिक म पुग्दा उनी भित्र पुगेर केटाकेटीले छरिवरि पारेका सरसामान मिलाउने हतारो गर्न थालिन् । ‘दुइटी छोरी एउटा छोरा छन् । स्कुल पठाएसि घर मिलाउनै भ्या छैन’ उनले प्रश्न नगर्दै उत्तर दिइन् । बाहिरै बसेर कुरा गरौं भन्ने आग्रहलगत्तै उनी दाहिने हातले ढोका तान्दै दैलो बाहिर आइन् । 

उमेरले तीस पनि नकटेकी देवकुमारीका घरधन्दा र व्यवसायका कामछँदैछन्, उनको व्यस्तता बढाउने अर्को काम पनि रहेछ । गाउँकै कंकेश्वर सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष, वडा नागरिक सचेतना केन्द्रको संयोजकसँगै स्थानीय लघुवित्त समूहको अध्यक्ष पदमा उनको सक्रियता छ । विशेषगरी स्थानीय दलित र महिलाहरूको सामूहिक गतिविधि र सीप विकासका काममा देवकुमारी क्रियाशील छन् । 

राज्यले प्रदान गरेका सेवा र अनिवार्य गरिएका कागजात बनाउनुपर्ने चेतना फैलाउने कामका लागि उनी गाउँलेलाई झन्झट नमानी बुझाउँदै हिँड्छिन् । जन्मदर्ता, नागरिकता, विवाह दर्ता, अपांगता परिचयपत्रजस्ता कागजात बनाउनुपरे गाउँलेहरू आठ कक्षा मात्र पढेकी उनको सम्पर्कमा आइपुग्छन् ।

यता उनलाई अलि माथिल्लो कक्षासम्म पढ्न पाएको भए यस्ता काम झनै सजिलो गरी गर्न सकिन्थ्यो कि भन्ने लाग्दो रहेछ । ‘धेरै पढ्न नपाएको सम्झँदा त नरमाइलो लाग्छ नि,’ आफैंलाई चित्त बुझाउन उनले विलम्ब भने गरिनन्, ‘हुन त पढ्नेहरू पनि यता काम पाइएन भन्दै विदेशै गएका छन् । मेरो बूढा पनि त उतै छन् ।’

बरु श्रीमान् विदेशबाट फर्किएपछि भने फेरि नपठाउने उनको योजना थियो । कुखुरा, बंगुर र बाख्रा थपेर श्रीमान्लाई यतै काममा लगाउने उनी सुनाउँदै थिइन् ।

विदेशमा जति खटिने हो भने पैसा यहीँ कमाइन्छ भन्दै उनी छरछिमेकका दिदीबहिनीहरूसँग गफिन्छिन् । छोराछोरीको पढाइ र घर खर्च बेहोर्न सजिलो नभएकै बेला नयाँ घर बनाउने खर्च पनि जगेडा गर्नुपर्नेछ । यस्ता बेला देवकुमारीको सिको थोरै भए पनि छरछिमेकका महिलाले गरेका छन् ।

यस्ता कुरामा अरू महिलालाई घच्घच्याएने देवकुमारीले नजिकैको अर्काे जस्ताको घरकी लक्ष्मी विकलाई देखाइन् ।

समूहमा आवद्ध भएर ल्याएका २०–२५ वटा चल्ला लक्ष्मीले बेच्न ठिक्क बनाएर राखेकी रहिछन् । डिलमा उभिएर तिनै कुखुरा छेक्दै गरेकी लक्ष्मी नजिकै हामी पुग्यौं । ओढेको मजेत्रोको फेरो चिउँडोतिर घिसार्दै उनी भन्दै थिइन्, ‘यो खेप बेचेको सप्पै पैसाले जति आउँछ चल्ला किन्छु ।’ अहिले नै ठूलो रकम हातमा नपरेपछि केटाकेटीका लागि केही खर्च हुने लक्ष्मीले बताइन् ।

लक्ष्मी मात्र होइन अचेल उनीहरूका अरू छिमेकीको पोल्टोमा घरमै बसेर आफैंले कमाएको दुई–चार पैसा पर्न थालेको रहेछ ।

त्यति मात्र होइन, देवकुमारीले गाउँका थुप्रै महिलालाई परेका बेला ठूलो समूहमा आफ्ना कुरा निर्धक्क राख्न सक्ने हिम्मत पनि भरिदिएकी छन् ।

टोलको पूर्वतिर खोल्चोमा अहिले देवकुमारी संयोजक रहेको नागरिक सचेतना केन्द्र मार्फत २ कोठे भवन बनेको छ । वर–पीपलको चौतारी नजिकैको त्यो भवनसम्म जाने क्रममा भेटिइन् त्यही टोलकी लालमाया विक । देवकुमारीले नेतृत्व गरेको स्थानीय महिला समूहकी सदस्य रहेकी लालमायाले देवकुमारीको निकै प्रशंसा गरिन् ।

जहाँका महिला भेला हुन्छन् । समस्याबारे छलफल गर्छन् । समाधान खोज्छन् । गाउँघरका समस्यालाई माथिल्लो निकायसम्म पुर्‍याउने र त्यहाँबाट पाइने सेवा–सुविधा गाउँसम्म ल्याइपुर्‍याउने काम भने देवकुमारीले गर्छिन् ।

प्रशासनले समयमा रकम निकासा नगर्दा गाउँकै दिदीवहिनीसमेतको गहना बन्धकी राखेर ऋण काढेको पैसाले देवकुमारीले गाउँघरका समस्या सल्टाएको कुरा उनै लालमायाले सुनाइन् । ‘त्यति बेला आँट कहाँबाट आयो थाहा छैन, अहिले सम्झँदा पनि डर लाग्छ,’ जिब्रो टोकेर लामो सास तानेसँगै देवकुमारीको जोसिलो बोली सुनिन्थ्यो, ‘भित्रदेखि यो काम जसरी भए नि गर्छु, जो–सुकैले जे–सुकै भनोस् भनेर लाग्नुपर्ने रै’छ, सफल भइन्छ ।’ 

लालमायालाई देबकुमारीबारे धेरै कुरा भन्ने हतारो देखिन्थ्यो । ‘हामी त लाटा थियौं, यिनैले हो अलि टाठो बनाकी,’ यस्ता शब्द सुन्दा देवकुमारीको अनुहारमा सन्तोषको मुस्कान झल्किएथ्यो ।

नयाँ भवनको माथि गाउँभरिलाई पुग्ने पानी अट्ने ठूलो ट्यांकी देखिन्थ्यो । यो ट्यांकी पनि देवकुमारीकै पहलमा बनेको रहेछ ।  सुरु–सुरुमा देवकुमारीलाई यस्ता काम गर्दा अत्यास लाग्थ्यो रे । काम गर्ने तरिका नजान्दाको अत्याससँगै अरूले के भन्लान्, खिस्क्याउलान्, कुरा काट्लान् कि जस्ता कुरा मनमा खेल्थे रे । कतिले त मुखै फोरेर भन्नसम्म पछि परेनछन् । यस्ता कुराले देबकुमारीलाई डर र आट एकैचोटि बढाउन सघाएछ ।

‘अलि–अलि सक्रिय हुँदा एउटी आइमाईको यत्रो फुर्ती भनेर धेरैले खिज्याउँथे, नानाभाँती कुरा काट्थे,’ उनी भन्छिन्, ‘अहिले धन्न पछि हटिएन भन्ने लाग्छ । आज तिनै मान्छेले खुब राम्रो गर्‍यौ भन्छन् ।’ उनको निष्कर्ष छ, अरूले भन्यो भन्दैमा पछि हट्नु नहुने रहेछ ।

हुन त सबैको स्याबासी अहिले पनि उनले पाएकी नै भने छैनन् । भुइँचालो गएपछि सबैजसोका घर भत्किए । आरन चलाएर जीविकोपार्जन गर्ने समुदायको बाहुल्य रहेको गाउँमा बनेको सामुदायिक भवनको एउटा कोठा पुरुषहरूका लागि आरनलाई थियो । तर, कोही आएनछन् । अझै पनि नआए खाली कोठाको सदुपयोग गर्ने तरिका उनले सोचिसकेकी छन् । मकै पिस्नै एक घण्टा टाढा पुग्नुपर्ने महिलाहरूको सकसलाई कम गर्न त्यही ठाउँमा मिल राख्ने योजना बनाएकी रहिछन् । 

‘कहिले हुन्छ नि यो काम ? 
‘हामी दिदीबहिनी मिल्यौं भने ठूलो कुरा होइन,’ माथिको ट्यांकी देखाएर बोल्दै गर्दा उनको आत्मविश्वास झन्–झन् माथि चढिरहेको अन्दाज गर्न सकिन्थ्यो, ‘त्यत्रो दस लाखको ट्यांकी त बन्यो ।’

जसरी उनी यो कुरा सजिलो गरी भन्दै थिइन्, उत्तिकै सजिलो गरी केउरिनीलाई नमुना गाउँ बनाउने योजना रहेको बताउँदै थिइन् । राईसिंह हुँदै केउरिनी जोड्ने पक्की मोटरबाटो चाँडै बनोस् भन्ने उनलाई लागेको छ । सुनखेती–देउराली जाने बाटो पिच गरेर केउरिनी खोलोमा छिट्टै पक्की पुलको योजना पार्ने उनको चाहना छ ।

देवकुमारीलाई आफ्नै रचनाको गीत सुनाउन कुनै बेर लाग्दैनथ्यो । अन्त्यमा एउटा गीत सुनेर बिदा हुनु नै थियो ।

हे... संविधान बन्न भूकम्प आयो, विकास गर्ने गोरेटो देखायो 

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार