हाम्रो नेपालमा

१९० विद्यार्थी वञ्चित

- भरतपुर ब्युरो, भरतपुर

चैत्र ५, २०७३-पहिलोपटक सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) बाट चितवनका १९० विद्यार्थी वञ्चित भएका छन् ।

हाजिर नपुगेको र फाराम भरेर अनुपस्थित रहेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको जिशिकाले जनाएको छ । ‘शिक्षा नियमावलीअनुसार वर्षभरि ७५ प्रतिशत हाजिर हुनुपर्नेमा नभएको र फाराम नभरेकाले उनीहरूलाई परीक्षामा सहभागी गराउन नसकिएको जिशिअ गोविन्दप्रसाद अर्यालले बताए । जिल्लाभर सबै स्थानमा मर्यादित र शान्त वातावारणमा परीक्षा भइरहेको उनले जनाए । जिल्लामा यस वर्ष १२ हजार २ सय ३३ परीक्षार्थीले फाराम भरेका थिए । त्यसमध्ये १९० विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् ।

हेटौंडामा प्रहरी हिरासत र जेलजीवन बिताइरहेका १२ कैदीबन्दीले एसईई परीक्षा दिइरहेका छन् । यसैगरी हेटौंडा ५ को बालज्योति माविमा अध्ययन गरेका दृष्टिविहीन भीमबहादुर तामाङले लेखन सहयोगी लिएर जीएस निकेतन केन्द्रबाट परीक्षा दिइरहेका छन् ।

यसैबीच वनकरिया समुदायकी सन्तोषी वनकरियाले निर्मल उमावि बस्तीपुरबाट एसईई परीक्षामा सहभागी भएकी छन् । यो समुदायबाट एसईई परीक्षा दिने उनी दोस्रो हुन् । जिल्लामा २४ केन्द्रबाट ६ हजार ७ सय ७४ परीक्षार्थी सहभागी रहेको जिशिअ वीरेन्द्रजंग थापाले जानकारी दिए ।

सर्लाहीको गम्हरीया केन्द्रमा चिट चोराइरहेका भेल्हीका शिक्षकलाई पक्राउ गरिएको एसपी उत्तमराज सुवेदीले बताए । जिल्लाका ३३ केन्द्रमा सञ्चालित परीक्षा मर्यादित भएको जिशिकाले जनाएको छ । नियमित र एक्जाम्टेड गरी ९ हजार ९ सय ५५ परीक्षार्थीमध्ये ३७९ जना अनुपस्थित रहे ।

पर्सामा सुरु एसईई परीक्षामा वीरगन्ज कारागारका १९ कैदीबन्दी सहभागी छन् । यति धेरै संख्यामा कैदीले एकसाथ परीक्षा दिएको यो पहिलोपटक हो । स्थानीय त्रिजुद्ध मावि केन्द्रबाट उनीहरूले परीक्षामा सहभागी भएको कारागारका शिक्षक दीपक ठाकुरले बताए । यस वर्षको एसईई परीक्षामा जिल्लाबाट ८ हजार ९ सय १ परीक्षार्थी सहभागी रहेको जिशिकाले जनाएको छ । जिशिअ केदार तिवारीका अनुसार, नियमिततर्फ ६ हजार ८ सय ११, जीपीए एक्जाम्टेडतर्फ ६ सय ७५ र ननजीपीए एक्जाम्टेड ४ सय १५ गरी १ हजार ९० आंशिक परीक्षार्थी छन् ।

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार