स्वास्थ्य

कसरी जोगिने बर्डफ्लुबाट?

  • फेरि देखिँदै छ नयाँ प्रजातिको संक्रमण, थप चनाखो हुनु आवश्यक
- अतुल मिश्र

चैत्र ५, २०७३- पूर्वी नेपालमा पहिलो पटक बर्डफ्लु अर्थात् एभियन इन्फ्लुएन्जाको नयाँ प्रजाति एच५एन८ भेटिएपछि सम्भावित मानव संक्रमणको जोखिम कम गर्न विशेषज्ञहरूले तयारी थालेका छन् । 

एच५एन८ प्रजातिको भाइरसको धेरै छिटो उत्परिवर्तन (म्युटेसन) हुने भएकोले हाल विशेषज्ञहरूको सरोकार मानिसहरू प्रभावित नहोऊन् भन्ने हो ।

यो नयाँ प्रजातिको बर्डफ्लु सुनसरीको खनारमा भेटिएको हो । यसअघि फागुन दोस्रो सातादेखि दुईपटक पोखरामा बर्डफ्लु देखियो । यो पहिलेदेखि नै देखिँदै आइएको एच५एन१ प्रजातिको भाइरसबाट बर्डफ्लुको संक्रमणमा देखिएको थियो । 

हाम्रो मुलुकमा सबैभन्दा पहिले सन् २००९ मा झापामा बर्डफ्लुको संक्रमण भेटिएको हो । यसपछि नै बिस्तारै यो संक्रमण विभिन्न जिल्लामा देखिन थाल्यो । भारतमा यो संक्रमण सन् २००६ मा पहिलोपटक देखिएको थियो । 

हाल हाम्रो मुलुकमा पोल्ट्री फर्मका कामदार, कुखुराजन्य उत्पादन ओसारपसार गर्ने व्यक्ति, कुखुराको मासु बनाउने व्यक्ति, पक्षीको उपचारमा संलग्न प्राविधिकहरू बर्डफ्लु सर्ने उच्च जोखिममा छन् । 

वल्र्ड अर्गनाइजेसन फर एनिमल हेल्थका अनुसार, २०१४ जनवरीदेखि २०१६ नोभेम्बरसम्म ७७ मुलुकमा १३ प्रजातिका भाइरसद्वारा उत्पन्न बर्डफ्लु पाइएको छ । 

मान्छेजस्तै पक्षीहरूलाई पनि रुघाखोकी लाग्ने गर्छ । पक्षीमा रुघाखोकी उत्पन्न गर्ने भाइरसले कुखुरा वा अन्य पोल्ट्री, जंगली चराचुरुंगी, प्रवासी पक्षी, हाँसलगायत प्रभावित हुन्छन् । टाइप ए प्रजातिको रुघाखोकीको भाइरसले गर्दा यस्तो हुन्छ । 

सामान्यत: पक्षीको रुघाखोकीको भाइरसले अन्य पक्षीलाइ नै प्रभावित गर्ने गर्छ । पक्षीको रुघाखोकीको भाइरसले मानिसमा यो रोग सर्नु दुर्लभ नै भए पनि यस्तै भइरहेको छ र भइरहन पनि सक्छ । एच५एन८ प्रजातिको भाइरसको उत्पत्ति जंगली र प्रवासी पक्षीका कारण हुने गर्छ । 

‘एच५एन८ भाइरसको म्युटेसन धेरै तीव्र छ, यसले मानिसलाई प्रभावित नगरोस् भन्ने नै अहिलेको हाम्रो मुख्य चासो रहेको छ,’ पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मल भन्छन्, ‘सावधानी नअपनाए पहिलेदेखि नै भेटिएको एच५एन१ को संक्रमणको जोखिम छँदै छ ।’

वरिष्ठ छाती रोग विशेषज्ञ डा. कविरनाथ योगीसमेत संक्रमण देखिँदा बर्डफ्लु मानिसमा सर्न सक्ने जोखिम कम गर्नु नै हाल मानव स्वास्थ्यको लागि ठूलो चुनौती रहेको बताउँछन् । उनका अनुसार, जैविक सुरक्षा र स्वच्छताको सामान्य उपाय अपनाएर सजिलै बर्डफ्लुलाई पक्षीमा मात्र सीमित राख्दै मानिससम्म पुग्न नदिन सकिन्छ । 

‘कतिपय ठाउँमा एक्युट बर्डफ्लुसँगै क्रोनिक बर्डफ्लुको केससमेत देखिएको छ,’ हाम्रो मुलुकमै एक व्यक्तिमा क्रोनिक बर्डफ्लुको केस देखिएको औँल्याउँदै उनी भन्छन्, ‘यो अवस्था समुदायविशेषको मान्छेले बर्डफ्लु भाइरससँग लड्ने क्षमता विकसित गर्दा मात्रै आउन सक्छ ।’

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, एच५एन१ र एच७एन९ गरी दुई प्रकारका बर्डफ्लु भाइरसबाट एसिया, प्रशान्त, मध्यपूर्व, अफ्रिका र युरोपका केही भागमा सयौँ व्यक्ति प्रभावित भएका छन् । तर यसबाहेक पनि अर्कै किसिमको बर्डफ्लु भाइरसले मानिसलाई प्रभावित गरेको दुर्लभ घटनासमेत अमेरिकामा छन् । 

‘हामीले मानव स्वास्थ्यको निकायसँग मिलेर निगरानी जारी राखेका छौं,’ डा. विमल भन्छन्, ‘मानिसमा हालसम्म यो पाइएको छैन । हाम्रो मुलुकमा फेरि बर्डफ्लु देखिन थालेकोले नआत्तिई सुरक्षाका उपायहरू अपनाउनु बुद्घिमानी हो ।’ 

मानिसमा भएको एभियन इन्फ्लुएन्जाको पहिलो केस हङकङमा सन् १९९७ मा रिपोर्ट गरिएको थियो । यसलाई एभियन इन्फ्लुएन्जा (एच५एन१) भनिएको थियो । त्यसपछि एभियन इन्फ्लुएन्जा ‘ए’ एशिया, अफ्रिका, युरोप, इन्डोनेसिया, भियतनाम, प्रशान्त क्षेत्रका मानिसमा भेटियो । यो भाइरसका कारण सयौँ व्यक्ति बिरामी हुनुका साथै तीमध्ये करिब आधाजतिको मृत्यु भयो । 

लक्षण
मानिसमा देखिने बर्डफ्लुको लक्षण सामान्य रुघाखोकीभन्दा खासै फरक हुँदैन । उसो बर्डफ्लुको लक्षण यसको प्रजातिमा समेत निर्भर गर्छ । 

दुवै उस्ताउस्तै देखिए पनि रुघाखोकी हुँदा एक सातासम्म लक्षण देखिँदै निको हुन्छ । बर्डफ्लु भए बिहानदेखि सुरु भएको लक्षण एक–दुई दिनमै सबै देखिएर बिरामी थला पर्ने डा. योगी बताउँछन् । बर्ड फ्लु मानिसमा सर्दा धेरै छिटो लक्षणमा वृद्घि हुन्छ । स्पष्ट शब्दमा भन्ने हो भने, घण्टाको हिसाबले लक्षणमा वृद्घि हुने गरेको उनी उल्लेख गर्छन् । 

मानिसमा बर्ड फ्लुको संक्रमण भएपछि आँखामा संक्रमण, ज्वरो, घाँटीमा खसखस, मांसपेसीमा पीडा, रुघाखोकीजस्ता लक्षण वा सासको गम्भीर रोगमा जस्तो छातीमा संक्रमण, निमोनिया आदिजस्ता समस्या देखिन सक्छन् । यसमा पखालासमेत देखिन सक्छ । 

बर्डफ्लुको कडा भाइरसले संक्रमण गर्दा सास फेर्न नसक्ने, धेरै अंगले काम गर्न छोड्ने हुँदै बिरामीको मृत्युसम्म हुन सक्छ । 

कसरी सर्छ ?
बर्डफ्लुको संक्रमण मुख्य रूपले संक्रमित पक्षी र जिउँदो अथवा मरेका कुखुरा/हाँस– लगायत, तिनको सुलीसँग निकट सम्पर्कले हुन्छ । यो संक्रमण मानिसबाट मानिसमा दुर्लभ स्थितिमा सर्छ । 

संक्रमित पक्षीको र्‍याल, सिँगान, सुलीमा बर्डफ्लुको विषाणु रहने भएकोले यस्ता वस्तुलाई हत्तपत्ति छुन हुन्न र संक्रमणको सम्भावना भएका वस्तु छोए तुरुन्त साबुनपानीले हात धुनुपर्छ ।

मानिसमा बर्डफ्लुको भाइरस मुख, नाक, आँखाको माध्यमले फैलिन्छ । उसो त, राम्ररी पकाएको कुखुराको मासुले यो भाइरस फैलिएको कुरा हालसम्म रिपोर्ट नगरिएको डा. योगी बताउँछन् । 

कसरी जोगिने ? 

  • बिरामी वा मरेको पक्षीलाई नछुने 
  • बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने 
  • पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने
  • सुली नछुने 
  • घरमा पालेको पक्षीको पिँजडा र भाँडाकुँडा दिनहुँ सफा गर्ने
  • चिकेन उत्पादसम्बन्धी काम गर्ने बेला मास्क र पन्जा लगाउने
  • मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने
  • काँचो वा आधा पाकेको चिकेन वा अन्डा नखाने
  • सरसफाइमा विशेष ध्यान दिने 

प्रभावित क्षेत्रमा सचेतता आवश्यक

बर्डफ्लुको मानव संक्रमणको स्थितिलाई दृष्टिगत गरी यो संक्रमण देखिएको क्षेत्रमा वा संक्रमित कुखुराजन्य पदार्थको प्रत्यक्ष सम्पर्कमा रहनेहरूमा रुघाखोकी देखिए अलि बढी सचेत रहनुपर्छ । 

यस्ता क्षेत्रमा बस्ने वा संक्रमित कुखुराहरूको प्रत्यक्ष सम्पर्कमा रहनेहरूमा रुघाखोकीको कडा लक्षण देखिए नजिकको स्वास्थ्य निकायमा गइहाल्नुपर्छ । 

सामान्य रूपले साबुनपानीले नियमित रूपमा हात धुने बानीले बर्डफ्लुलगायतका थुप्रै संक्रामक रोगबाट जोगिन सकिन्छ । रुघाखोकी लागेकाहरू खोक्दा, हाच्छिउँ गर्दा मुखमा रुमाल राख्नेलगायतका सावधानीका उपाय अपनाउनु आवश्यक हुन्छ । 

रुघाखोकीलगायतका संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हात धुनु रहेको अनुसन्धानले समेत देखाएको छ । रुघाखोकीको कीटाणु सासका माध्यमले त्यति फैलिँदैन जति हातका माध्यमले फैलिन्छ । यसले हातको माध्यमले अनुहारमा, आँखा, नाक, कान र मुखको माध्यमले हाम्रो शरीरमा हमला गर्छ । 
यस्तै, खानुअघि पोल्टी उत्पादन र अण्डा राम्ररी पकाउनुपर्छ । कुखुरालगायतका पक्षीजन्य मासु कम्तीमा ७४ डिग्री तापक्रममा पकाइएको हुनै पर्छ । 

कुखुराजन्य पदार्थ र अण्डालाई छुनु अघि र पछि न्युनतम २० सेकेन्डसम्म साबुनपानीले हात धुनुपर्छ । कुखुराजन्य उत्पादनबाट अन्य खाद्य पदार्थलाई जोगाउन कटिङ बोर्ड र अन्य भाँडालाई साबुन र तातो पानीले धुनुपर्छ । अण्डालाई भने त्यतिखेरसम्म पकाउनुपर्छ जबसम्म पहेलो भाग ठोस हुँदैन ।

रोगको प्रबन्धन
बर्डफ्लुको शंका लागे तत्काल चिकित्सककहाँ गएर आफ्नो समस्याबारे भन्नुपर्छ । शंकास्पद रोगीले मास्क लगाउनुपर्छ । त्यसो गर्नु भनेको आफूनजिक आएका अन्य सामान्य व्यक्तिमा हुन सक्ने संक्रमणको जोखिम कम गर्नु पनि हो । 

बर्डफ्लु संक्रमित बिरामीहरूले पर्याप्त आराम गर्नुका साथै तरल पदार्थ निकै सेवन गर्नुपर्छ । यसमा अन्य सहयोगी उपचारसमेत दिइन्छ । उपचारमा केही एन्टिभाइरल औषधिसमेत प्रभावकारी मानिएको डा. योगी बताउँछन् । 

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार