मनोरञ्जन

“हरेक फिल्म पोलिटिकल स्टेटमेन्ट”

- सुनीता साखकर्मी, काठमाडौं
अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म महोत्सव

चैत्र ५, २०७३-भारतीय समानान्तर फिल्मका लागि गिरीश कसरावली चर्चित छन् । कन्नड भाषामा फिल्म बनाउँदै आएका उनले १४ पटक राष्ट्रिय अवार्ड पाइसकेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल मानवअधिकार फिल्म फेस्टिभलको दोस्रो दिन शुक्रबार नेपाली फिल्मकर्मी र फिल्मप्रेमीबीच कसरावलीले मास्टर क्लास दिए । 

नेपाली निर्देशक छिरिङ रितार शेर्पाले संयोजन गरेको मास्टर क्लासमा कसरावलीले ‘पटकथाकारले लेखेको स्क्रिप्टलाई निर्देशकले पुनव्र्याख्या गर्नुपर्ने’ बताए । सन् १९७७ मा बनेको आफ्नो पहिलो फिल्म ‘घटश्रद्धा’ को उदाहरण दिँदै उनले फिल्म बनाइसकेर देखाउँदा पटकथाकारले ‘तिमीले त मेरो फिल्मको टाइटल मात्रै राखेछौ’ भनेको सम्झिए । ‘निर्देशकले पुनव्र्याख्या गर्दा मात्रै पटकथा अर्थपूर्ण बन्छ,’ उनले भने, ‘धेरैपटक सम्पादन गर्दा फिल्ममा राम्रो रिजल्ट निस्कन्छ ।’ 

उनका फिल्महरूमा प्राय: ओपन इन्डिङ हुन्छ । यसबारे पनि उनले प्रस्टयाए । फिल्ममा कुनै समाधान नभई ओपन इन्डिङमा छोडिदिनुपर्ने उनको तर्क थियो । ‘किनभने समाज र जीवन त कहिले पनि टुंगिँदैन, यो त निरन्तरको प्रोसेस हो,’ उनले भने, ‘त्यही भएर फिल्मलाई पनि समाज र जीवनजस्तै ओपन छोडिदिनुपर्छ ।’ प्राय: अल्पसंख्यक, सिमान्तकृत र पीडितका जनजीवनमा आधारित फिल्महरू बनाउने उनले भने, ‘मैले फिल्मको कथा यसरी समाप्त भयो भन्नु त झूटो बोलेको हुन्छ । जीवन निरन्तर चलिरहन्छ । त्यसैले जीवनसँग आधारित फिल्महरूको कथाको पनि अन्त्य हुन्न ।’ 

हरेक फिल्मलाई निर्देशकको पोलिटिकल स्टेटमेन्टको रूपमा उनले व्याख्या गरे । ‘मानिसहरू फिल्ममा, कलामा राजनीति गर्नु हुँदैन, चुप बस्नुपर्छ भन्छन्,’ उनले भने, ‘यसो भन्नु पनि राजनीति हो । चुप बस्नु भनेको त समर्थनको राजनीति गर्नु हो नि ।’ उनले फिल्मको कथा या विषयवस्तु मात्रैले नभएर क्यामेराको एंगल, पोजिसन र सर्ट साइजले समेत प्रतीकात्मक रूपमा पोलिटिकल स्टेटमेन्टको रूपमा काम गर्ने दाबी गरे । ‘त्यही भएर म भन्छु, हरेक फिल्म राजनीति हो,’ उनले भने । कुराकानी क्रममा उनले ‘घटश्रद्धा’ को छोटो दृश्यसमेत देखाए, जसमा ‘सर्प देवता’ को डर देखाएर आफ्नो स्वार्थसिद्ध गर्ने संस्कृतिमाथि व्यंग्य गरिएको थियो । 

शुक्रबारै ‘मानवअधिकार र नेपाली फिल्म’ विषयमा प्रा. अभि सुवेदी, रम्यता लिम्बू र अनुप सुवेदीबीच प्यानल छलफल पनि गरियो । छलफलको सहजीकरण पत्रकार यज्ञशले गरेका थिए । प्रा. सुवेदीले मानवअधिकार फिल्म महोत्सवको इतिहासबारे प्रष्ट पारे । सन् १९८८ मा न्युयोर्कबाट महोत्सव सुरु भएको थियो । तर हलिउड फिल्मको हेजिमोनी कम गर्न युरोपमा त्यसभन्दा पहिले नै मानवअधिकारबारे फिल्महरूको अवधारणा आएको उनले सुनाए । उनले भने, ‘नेपालमा लामो समय चलेको गृहयुद्धको प्रभावबारे फिल्महरू बनेका भए ति फिल्महरू मानवअधिकारका पक्षमा हुन्थे । अहिले पनि बनाउन सक्ने धेरै इस्यु छन् ।’

नेपालमा मानवअधिकार र अन्य फिल्मबीच भिन्नता मापन गर्ने रेखा नै मसिनो रहेको रम्यताले बताइन् । अनुप भने विचारको सेन्सरसिप हुन नहुने पक्षमा उभिए । ‘मानवअधिकारका विषयमा फिल्म बनाउनुपर्छ भन्ने नभएर फिल्महरू नबनेका हुन्,’ उनले भने, ‘पछिल्लो समय भने मानवअधिकारका विषयमा फिल्महरू बन्न थालेका छन् ।’ 

दोस्रो दिन जर्मनीका इभी गोल्डब्रुनरको ‘एट आई लेभल’ मा ११ वर्षे अनाथ बालकको कथा देखाइएको थियो । अमेरिकाका ज्याक स्याम्पलको ‘बोम्बी’ मा पनि त्यस्तै कहानी छ । इटलीका एच टट ए खायको ‘बिजी बिजी कोबाने’, इरानका अलि जारे घनाटनोवीको ‘डयाड्स फ्रागिल डल’, जर्मनीकै ओल्गा गुजको ‘रिफयुजिज’, नेपालबाट इलम दीक्षितको ‘म हैन म’, पूजा गुरुङ र विभूषण बस्नेतको ‘ददया’, भारतका कपिल जोशी र श्रीराम उपाध्यायको ‘आर यु न्यु ?’ लगायत ३१ फिल्म देखाइए ।

प्रकाशित: चैत्र ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार