जीवनशैली

गिगमा रमेका गर्लहरू

  • मेनस्ट्रिममा राम्रो पोटेन्सियल भए पनि केही प्रतिभाशाली फिमेल भोकलिस्टहरु गिगमै मस्त छन् । काममा उनीहरुको चित्त बुझेकै छ ।
- सजना बराल
“लगातार १३/१४ गीत गाउनुपर्छ । कहिलेकाहीँ त टाउकै दुख्छ । तर नगाई बस्न सक्दिनँ ।”

चैत्र ४, २०७३- काठमाडौंमा थुप्रै म्युजिकल रेस्टुरेन्टहरू खुलेका छन् । केही त वर्षौं पुराना पनि छन् । पहिले–पहिले तिनमा प्राय: पुरुष म्युजिसियनहरूले गाउने/बजाउने गर्थे । ब्यान्डहरूमा महिला सदस्य फाट्टफुट्ट मात्रै राखिन्थ्यो । अहिले माहोल फेरिएको छ ।

रेस्टुरेन्टहरूले महिला भोकलिस्ट भएका ब्यान्डलाई विशेष प्रायोरिटी दिन्छन् । घरपरिवारले पनि साथ दिन थालेपछि केटीहरू निर्धक्क यो लाइन रोज्न थालेका छन् । आम्दानी चित्तबुझ्दो हुन्छ । प्रशंसक उत्तिकै । गिगहरूमै रमेका केही पपुलर फिमेल भोकलिस्टबारे यहाँ चर्चा गरिएको छ : 

सर्वत्र सञ्जिमा 
आधा दशक भयो सञ्जिमा लामाले गायनलाई प्रोफेसन बनाएको । उनले सुरुमा ‘स्टिगमाटा’ ब्यान्डसँग आबद्ध भएर गाउन थालेकी थिइन् । पेप्सी भ्वाइस अफ नेपालमा पर्फम गरिन् । विमेन इन कन्सर्टकी विजेता हुन् । 
पहिलो ब्यान्ड टुटेपछि उनी ‘टोन ट्रिएंगल’ सँग जोडिइन् । ब्यान्डले उपत्याभित्रका फेसेज लन्ज, रेगी बार, त्रिसारालगायत भएभरका रेस्टुरेन्टहरूमा गायो । त्यो ब्यान्डबाट अलग्गिएपछि सञ्जिमाले आफैं ब्यान्ड खोलिन्– सञ्जिमा एन्ड । अहिले भने ‘द इलेक्ट्रिक्स नेपाल’ मा आबद्ध उनी हप्ताको न्यूनतम तीन दिन रेस्टुरेन्टहरूमा गाउँछिन् । 

‘नेपाल म्युजिक सेन्टरमा भोकल्स, गितार र किबोर्डको क्लास लिएकी थिएँ,’ सोसल वर्कमा स्नातक पहिलो वर्षमा अध्ययनरत उनले भनिन्, ‘शुभतारा स्कुलमा वेस्टर्न भोकल्सको टिचर पनि हुँ ।’ बुध, बिही र शुक्रबार स्कुलमा कक्षा लिन्छिन् । साँझ नियमित गाना/बजाना । 
‘लगातार १३/१४ वटा गीत गाउनुपर्छ,’ उनले भनिन्, ‘कहिले घाँटी सुक्छ, कहिले थाकिन्छ, कहिले क्राउडको प्रेसरले टाउको दुखाउँछ । तर पनि नगाई बस्न सक्दिनँ ।’ उनी कम्तीमा पढाइ नसकुञ्जेल गिग लाइनमै रहिरहन चाहन्छिन् । राम्रो डिमान्ड भएकी गायिका हुन्, आर्थिकोपार्जन चित्तबुझ्दो छ । 

दरबारमार्ग, ठमेल, झम्सिखेल, लाजिम्पाटलगायत जताततैका रेस्टुरेन्टहरूमा उनी गाइरहेकी हुन्छिन् । ‘गाइसकेपछि धेरै जनाले अप्रिसिएट गर्नुहुन्छ,’ सञ्जिमाले भनिन्, ‘त्यसले अझ गाइरहन हौसला दिन्छ ।’ कभर गाएरै ख्याति कमाएकी उनको एउटा मात्रै ओरिजिनल सङ युट्युबमा भेटिन्छ ।

सुजिना संसार
सानैदेखि मेटल गीत मनपराउँथिन् सुजिना श्रेष्ठ । एसएलसी दिएपछि म्युजिक क्षेत्रमै लाग्ने सोच थियो । त्यही अनुरूप आफूलाई प्रिपियर गर्दै लगिन् । मेटल गिग गइराख्ने उनलाई ‘डियाब्लो’ ब्यान्डका सदस्यले गाइहेर्न प्रस्ताव गरे । ‘ट्राई गर्नुपर्‍यो’ भन्दै ब्यान्डमा लागिन् । र, लागेको लाग्यै भइन् ।

दुई वर्षपछि उनले ब्यान्ड फेरिन् । ‘क्रमश: नेपाल’ मा आबद्ध भएपछि मेटल छोडेर कमर्सियल गीत गाउन थालिन् । ‘पाँच बजे घर आइपुग्नुपर्ने नियम हुँदाहुँदै पनि म राति ११/१२ बजे पुग्न थालें,’ उनले हेलो शुक्रबारसँग भनिन्, ‘धन्न, मेरो ममी सपोर्टिभ भएकाले अरूलाई जस्तो तनाव भएन ।’

गिगहरूमा नेपाली, अंग्रेजी, हिन्दी सबै प्रकारका गीत गाउनुपर्छ । उनको स्वरको तारिफ नगर्ने कमै हुन्थे । पढाइ खर्च जुटाउन कहिल्यै समस्या भएन । उनले बेला–बेला आफ्नै कम्पोजिसनका गीत पनि बाहिर ल्याइन् । पछिल्लो समय क्रमश: भन्दा ‘द एक्ट’ ब्यान्डमा बढी काम गरिरहेकी छन् । ‘यो एक्सपेरिमेन्टल ब्यान्ड हो,’ उनले भनिन्, ‘गिगभन्दा यसमा बढी लागिपरेको छु ।’

स्नातक तेस्रो वर्षमा अध्ययनरत सुजिना अब केही समय गिग नगर्ने सोचमा छिन् । म्युजिकलाई सधैं जागिर बनाउन हुन्न भन्ने लागेछ । ‘अब क्रिएसनतिर लाग्छु,’ पाँच वर्ष गिगहरू गरेकी उनले भनिन्, ‘एल्बम निकाल्ने योजना छ । ब्यान्डका सबै जना एल्बमकै काममा व्यस्त छौं । स्टेज शोहरूचाहिँ गरिरहन्छौं बेलाबेला ।’

दीक्षाको दम
बाबा नै संगीतकर्मी भएकाले दीक्षा जे थापालाई आफ्नो आइडल खोज्न टाढा जानुपरेन । उनले घरमै संगीतको प्रारम्भिक ज्ञान लिइन् । बाबाले सधैं छोरीलाई प्रेरणा दिइरहे । पेप्सी भ्वाइस अफ नेपालमा लगभग ८५ प्रतियोगीलाई उछिनेर दीक्षा पहिलो हुँदा उनका बाबा खुसीले उफ्रिए । 

‘त्यो कम्पिटिसन जितेपछि मैले अफिसियल्ली गाउन थालें,’ उनी सम्झिन्छिन्, ‘त्रिसारामा पहिलो पटक गाएकी थिएँ । त्यसपछि काठमाडौं ग्रिल, दरबार, भिक्ट्री, इबिज्जा सबैमा गाउन थालें ।’ हप्ताको चार दिन बेलुका ५ देखि राति १२/१ बजेसम्म गाउँथिन् । उनलाई सुरुमा फ्युजन मन्त्र र पछिल्लो पटक ‘कोरस’ ब्यान्डले साथ दिएका थिए । 

तीन वर्ष लगातार गिगहरू गरिरहिन् । उनलाई नियमित सुन्न आउनेहरू मनग्गे हुन्थे । केही डाई हार्ट फ्यानसमेत फेला पारिन् । विशुद्ध रमाइलो गर्न आउनेदेखि संगीत सुन्नकै लागि रेस्टुरेन्ट आउनेहरूलाई नियाल्न पाइन् । गिग गर्दाको माहोल उनलाई सधैं मनपर्‍यो ।

विभिन्न जान्राका नयाँ–पुराना गीत गाउँदा स्वरको अभ्यास भइरहेकोमा आनन्द मान्थिन् । 
‘ढिला घर आयो, अबेरसम्म सुत्यो, कलेज छुट्ने भएपछि अहिले गिगबाट ब्रेक लिएकी छु,’ बीबीए पहिलो वर्षमा अध्ययनरत उनले भनिन्, ‘स्पेसल अकेजनहरूमा चाहिँ गाइरहेकै हुन्छु ।’ दीक्षा युट्युबमा पनि हिट छिन् । उनका कभर सङ मनपराउनेको ठूलो हूल छ । उनी चाँडै नयाँ म्युजिक भिडियो लन्च गरेर मेनस्ट्रिममा आउँदैछिन् । 

आदर्शकी आरती
एसएलसी सकाएपछि आरती श्रेष्ठले म्युजिकको क्लास लिइन् । शास्त्रीय संगीतबारे तीन वर्ष पढिन्, साधना गरिन् । कोर्स सकिएपछि घरमा यत्तिकै बसिरहँदा उनलाई एक दिन फोन आयो । दरबारमार्गस्थित जुजुबा रेस्टुरेन्टले गायकगायिका खोजेको रहेछ । अडिसन दिन बोलायो ।
‘डराई–डराई गाएकी थिएँ,’ फेसन डिजाइनिङमा स्नातक गरेकी आरतीले सुनाइन्, ‘तैपनि सेलेक्ट भएँ । अनि गिग लाइफ सुरु भयो ।’ उनले जुजुबामा ‘जे’ ब्यान्डसँग दुई वर्ष बिताइन् । त्यहाँको माहोलमा भिज्न सुरुमा गाह्रो भएको थियो रे । ‘लाइभ गाउने बानी थिएन,’ उनी सम्झन्छिन्, ‘नर्भस हुन्थें । तर, बिस्तारै बानी पर्‍यो ।’

चार/पाँच महिनायता उनले ‘आदर्श’ ब्यान्डसँग सहकार्य थालेकी छन् । यसमा उनी एक मात्र भोकलिस्ट भएकाले साँझ ७ देखि ११ बजेसम्म लगातार एक्लैले गाउनुपर्छ । करिब ३०/३५ वटा गीत गाएर भ्याउँछिन् । ‘निर जैले रिसाउनी...’ जस्ता रमाइला शैलीका गीतको डिमान्ड धेरै आउने गरेको उनको अनुभव छ । 

कमलादीका काउजी लाउन्ज, हंग्री आवर, सोसाइटी लाउन्ज बार जस्ता रेस्टुरेन्टमा गाएबापत उनले मासिक ५०/६० हजार रुपैयाँ कमाउने गरेकी छन् । रेगुलर गिगसँगै प्राइभेट इभेन्टसमेत गर्दा आम्दानी मनग्गे हुन्छ । दामसँगै यो क्षेत्रले आफूलाई पहिचान दिलाएकोमा उनी सन्तुष्ट छिन् । ‘मैले नचिकाले मान्छेले समेत मलाई चिनिरहेका हुन्छन्,’ उनले भनिन्, ‘तारिफ गर्छन् । मेरा लागि गिगहरूको महत्त्व धेरै छ ।’

रङ देखाउँदै रिना
गिग लाइनमा भर्खरै लागेकी हुन् रिना गिरी । जुबिलियन्ट कलेजमा कक्षा १२ मा अध्ययनरत उनी साथीभाइको थ्रुबाट फेसेज लाउन्ज र लाहसा बारका ओनरसँगको सम्पर्कमा आएकी थिइन् । उनीहरूले रिनाको आवाज मनपराए । अनि ‘मेलोडी’ ब्यान्डमा उनलाई राखियो ।
गएको तिहारदेखि उनले हप्ताको पाँच दिन गाउन थालेकी हुन् । ठमेल, दरबारमार्गका रेस्टुरेन्टहरूमा उनको चर्चा हुन थालेको छ । प्राय: इंग्लिस रक गाउने उनी अब भने शास्त्रीय संगीत सिक्न थालेकी छन् । ‘गिग गर्नेले एउटा मात्रै प्यार्टनको गीत गाएर हुँदैन रहेछ,’ उनले भनिन्, ‘हिन्दी र नेपाली गीतको डिमान्ड धेरै हुन थालेपछि शास्त्रीय संगीत सिक्न थालेको हुँ ।’
पाँच सदस्यीय ब्यान्डमा आबद्ध हुन सुरुमा उनलाई अप्ठ्यारो पर्‍यो । अभिभावकले रात/बिरात गाउने काम नगर्समेत भने । तर, उनले सम्झाइन् । अहिले माहोल साम्य भइसक्यो । रिना बढो स्फूर्तिका साथ गाइरहेकी छन् । ‘मनपरेको काम गर्न पाएकी छु,’ उनले सुनाइन्, ‘साह्रै मज्जा लागिरहेको छ । अब गिगहरूबाट आएको पैसा जम्मा गरेर एल्बम निकाल्छु ।’

प्रकाशित: चैत्र ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार