मनोरञ्जन

विवादित चित्र

- मधु शाही, काठमाडौं
हामीकहाँ चलिरहेको परम्पराभन्दा फरक बाटो रोज्नेले निकै चुनौती खेप्नुपर्ने हुन्छ । कला मात्रै हैन, अरू क्षेत्रमा पनि यस्तै छ ।कपिलमणि दीक्षितचित्रकार----------------------सिर्जनामा कुनै अंकुश लगाउनु हुन्न । कलाकारले पनि नैतिक दायरा नाघ्नु हुन्न । सस्तो चर्चा पाउन जे पनि गरिरहेका हुन्छन्, योचाहिँ राम्रो हैन ।रमेश खनालकला समीक्षक

चैत्र ३, २०७३-पुतलीको भेषमा कुमारी उडिरहेकी छन् । उनकै शिरमाथि चित्रकार आदित्य अर्यालले राता अक्षरमा ‘रेप मी’ लेखिदिए । प्रदर्शनीमा उनले युवा पुस्ताबाट राम्रै प्रतिक्रिया पाइरहेका थिए । केही पाका दर्शकले चाहिँ उनलाई ‘रेप मी’ शब्द मेट्न आग्रह पनि गरे । आदित्यले मानेनन् । प्रदर्शनीको भोलिपल्ट ग्यालरी आउँदा चित्रमा ‘रेप मी’ मेटिएको थियो । आदित्य फेरि तिनै शब्द लेखेर घर फर्किए । भोलिपल्ट आउँदा शब्द मात्रै होइन, चित्र नै सेतो रंगले पोतिएको थियो ।

‘कसले गर्‍यो थाहै पाइनँ,’ तीन वर्षअघिको चित्र प्रदर्शनी सम्झिँदै आदित्य भन्छन्, ‘दर्शकले अलि फराकिलो ढंगले चित्र नबुझिदिँदा विवादमा परेको जस्तो लाग्छ ।’

आदित्यले आफ्नो चित्र कसैको आस्थाको आलोचना नभई ‘कुनै युवतीको यौनशोषण गर्दा जीवित देवी कुमारीलाई अपमान गरेसरहको पाप लाग्ने’ भावमा चित्र कोरेको बताए ।

कलाको समसामयिक शैली पछयाउन चाहने युवा पुस्ताले यस्ता थुप्रै विवाद खेप्दै आएका छन् । विवादमा परेका अर्का युवा कलाकार हुन्, बालकृष्ण वनमाला । भक्तपुरवासी उनी नेवार संस्कृतिमा हुर्किए । उनले आफ्नै संस्कृतिभित्र कतिपय राम्रासँगै नराम्रा संस्कार पनि पाएका छन् । उनी संस्कृतिको पक्षपाती नै हुन्, तर संस्कृतिमा सुधार गर्नुपर्ने केही पक्षलाई कला अभिव्यक्तिमार्फत उनले उठाए । ‘आजु’ थिममा उनले भगवान्का नाममा बालअधिकार हनन नगर्न आग्रह गरेका थिए ‘भक्तपुरको नवदुर्गा पूजामा देउताको रूपमा स–साना बालकलाई पनि राखिने संस्कृतिमा सुधार हुनुपर्छ भन्ने मेरो मान्यता थियो,’ उनले भने, ‘एक वर्षसम्म बालबच्चालाई भगवानै जस्तो जीवनशैली अपनाउन लाउँदा उनीहरूको इच्छा र चाहना के छ भन्नेतिर कसैको ध्यान पुगेको देखिएन । त्यही भएर चित्रमा उनीहरूको मनोविज्ञान उतारेको थिएँ ।’ 

चित्रहरूमा उनले भगवान्ले बाइक चढेको, झोला बोकेर स्कुल गएको, फुटबल खेलेको जस्ता आकृति उतारेका थिए । चित्रहरूको विवाद परे पनि बालकृष्णलाई चाहिँ फाइदा नै भयो । ‘प्रदर्शनी क्रममै सबै चित्र बिक्री भए,’ उनले भने । समाजको सकारात्मक रूपान्तरणका कलामार्फत यस्तो अभियान नै चलाउनुपर्ने उनको धारणा छ ।

यस्तै धारणा राख्छन् चित्रकार मनीष हरिजन पनि । केही वर्षअघि उनको ‘सुपरकाली’ शीर्षकको चित्र ठूलो विवादमा पर्‍यो । सुपर हिरो मात्रै ? सुपर त महिला पनि हुन सक्छन् भन्ने अर्थमा मनीषले चित्र बनाएका थिए । गोरो र चिटिक्क परेको मान्छेलाई मात्रै सुपर देख्ने सामाजिक मनोविज्ञानविरुद्ध उनले देवी आकृतिमा ‘सुपरकाली’ कोरेको बताए । प्रस्तुतिमा केही अश्लीलता झल्किएको आरोप यो चित्रमाथि लाग्यो । 

यता चित्रकार कपिलमणि दीक्षितहरूको एउटा समूह नै छ, न्युड आर्ट कोर्ने र प्रदर्शनी गर्ने । अमेरिकाबाट न्युड आर्ट नै पढेर आएका उनले थुप्रै ठाउँमा आफ्नो कलाबारे प्रस्टयाउनुसमेत परेको छ । ‘न्युड आर्ट र नाङ्गो आर्ट फरक कुरा हो,’ उनले भने । उनका अनुसार न्युड आर्ट भनेको नाङ्गो आर्ट हैन । पश्चिमा दुनियाँमा यस्तो विवाद धेरैअघि टुंगिएको हो । मोडललाई प्रत्यक्ष राखेर शरीरलाई न्युडमा उतार्ने उनले धेरैपटक प्रत्यक्ष वा अप्रत्यक्ष विवाद खेपेका छन् । यद्यपि न्यु आर्टबाटै उनले केही समयअघि मात्रै अस्ट्रेलियामा पिपुल च्वाइस अवार्डसमेत पाए ।

‘हामीकहाँ चलिरहेको परम्पराभन्दा फरक बाटो रोज्नेले निकै चुनौती खेप्नुपर्ने हुन्छ,’ कपिलले भने, ‘कला मात्रै हैन, अरू क्षेत्रमा पनि यस्तै छ ।’ 

तन्नेरी पुस्ता एकातिर चित्रकलालाई अभिव्यक्ति स्वतन्त्रताको आधारमा खुलेर क्यानभास रंगाउन चाहन्छन् भने अर्कोतर्फ परम्परागत सामाजिक दायराबाट बाहिरिँदा समस्या झेल्नुपरेको छ । कला समीक्षक एवं सिद्धार्थ आर्ट ग्यालरीकी अध्यक्ष संगीता थापाका अनुसार कलामा विवाद आउनु भनेको समाज अझै पनि चेतनशील हुन नसकेको संकेत हो ।

कला समीक्षक रमेश खनाल पनि सिर्जनामा कुनै अंकुश लगाउन नहुने सोच राख्छन् । ‘यसो भन्दैमा कलाकारले नैतिक दायराचाहिँ नाघ्नुहुन्न,’ उनी भन्छन्, ‘कतिपयले सस्तो चर्चा पाउन पनि जे पनि गरिरहेका हुन्छन्, योचाहिँ राम्रो हैन ।’ 

प्रकाशित: चैत्र ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार