हाम्रो नेपालमा

गोही संकटमा

- शिव पुरी, भरतपुर

चैत्र २, २०७३-चितवन निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रले विभिन्न नदीमा १ हजार २ सय २६ वटा गोही छाडेको छ । गत वर्षसम्म १ हजार ५६ गोही छाडेकामा नदीमा १ सय ९८ वटा मात्र फेला परेका थिए । बाँकी सबै भारतीय नदी क्षेत्रमा पुगेको निकुञ्जले जनायो । यस वर्ष गोही गणना गरिएको छैन । हरेक वर्ष विश्व सिमसार दिवस, वन्यजन्तु सप्ताहलगायत कार्यक्रम पारेर नदीमा गोही छाडिने गरिन्छ ।

विभिन्न नदीमा छाडिएका लोपान्मुख घडियाल गोही हराउने गरेका छन् । नदीमा पानीको बहाबसँगै बगेका गोही भारततिर पुग्ने गरेको अनुमान छ । त्यहाँका अधिकारीहरूले इन्टरनेट मार्फत खिचेर पठाएको तस्बिरबाट गोही भारत पुगेको पुष्टि हुने गरेको हो । नदीमा छाड्नुअघि स्पष्ट देखिने गरी गोहीलाई नम्बर लगाइएको हुन्छ । त्यही नम्बरका आधारमा गोही कहाँका हुन् भन्ने छुट्याउने गरिएको छ । नदीमा बाँध निर्माणले उता गएका गोही फर्कंन सक्दैनन् । लामो समयसम्म निकुञ्जले हुर्काएर राखेका गोही यसरी भारत पुग्ने गरेका हुन् ।

‘पहिलापहिला यताबाट गएका गोही सहजै फर्कन सक्थे,’ निकुञ्जस्थित घडियाल संरक्षण प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खडकाले भने, ‘अहिले ठाउँठाउँमा बाँध निर्माण, पानीको बहाब उच्च भएकाले फर्कन सक्दैनन् ।’ गोहीको मुख्य आहार माछा र बासस्थान मासिँदै गएकाले संकटमा पर्न थालेको उनले बताए । जथाभावी नदीजन्य पदार्थ निकालिँदा उनीहरूको बासस्थानमा असर परेको छ । नारायणी, राप्ती नदी र चितवन निकुञ्जभित्रका तालतलैयामा रहेका गोहीको सर्भे गरिने छ । मगर गोहीको संख्या २ सय ४५ अनुमान गरिएको छ । त्यस्तै घडियाल गोहीको संख्या २०१५ सम्म १ हजार ५६ अनुमान गरिए पनि २०१६ मा थप ५५ वटा गोही नदीमा छाडिएको छ । यो नदीमा छाडिएको संख्याअनुसारको तथ्यांक हो । २०१३ मा बर्दिया निकुञ्जको कर्णाली, चितवन र कोसी टप्पुमा १ सय २४ वटा गोहीको गणना गरिएको थियो ।

जसअनुसार सबैभन्दा धेरै चितवन निकुञ्जमा १ सय ८, बर्दियामा १६ गोही फेला परे । ‘नदीमा छाडिएका ७० प्रतिशत गोही बगेर भारत पुग्छन्,’ खडकाले भने । यहाँ भाले गोहीको संख्या कम छ । त्यस्तै नदीजन्य पदार्थको उत्खनन र बासस्थान मासिन थालेपछि घडियाल गोहीको अवस्था संकटमा परेको छ । नदीमा गोही घटदै गएपछि यसको संरक्षणका लागि निकुञ्जले बर्सेनि प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरेको छ । विभिन्न नदी छेउमा संकलन गरिएको गोहीको अन्डा प्रजनन केन्द्रमा ल्याई बच्चा कोरलेर हुर्काई नदीमा छाडिने गरिएको छ ।

सन् १९७८ मा स्थापना गरिएको प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । प्रमुख खडकाका अनुसार हालसम्म राप्तीमा ५ सय ४६, नारायणीमा ३ सय ९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा १ सय १० वटा गोही छोडिएको छ । अन्य नदीमा गोहीको संरक्षण कम हुन थालेपछि पछिल्लो समय राप्तीमा मात्र गोही छोड्न थालिएको हो । गत र यस वर्षको माघमा राप्तीमा १ सय ७० वटा गोही छाडिएको छ । यस वर्ष चार भालेसहित ७० वटा गोही छाडिएको खडकाले बताए । राप्ती र नारायणीबाहेक अन्य नदीमा भने गोहीको संख्या न्यून छ । यी दुई नदीमा १ सय ५० को हाराहारीमा गोही भएको अनुमान छ ।

प्रजनन केन्द्रमा हाल १३ माउसहित ६ सय गोही रहेको निकुञ्जले जनायो । निकुञ्ज क्षेत्रका नदी गोहीको बासस्थानका लागि सुरक्षित मानिन्छ । एउटा गोहीको अन्डाबाट बच्चा कोरलेपछि एक हप्तामा आमालाई छाड्ने गरिन्छ । त्यसका लागि खेल्न करिब २ सय किलोमिटर नदीको लामो भू–भाग चाहिने भए पनि नेपालका नदीमा पर्याप्त ठाउँ नहुँदा भारत जाने गरेको अनुमान छ । जालमा पार्ने, घाइते बनाउने र मार्ने समस्या पनि देखिएको छ । सन् २००७ मा गोहीलाई संकटापन्न जलचरका रूपमा घोषणा गरिएको छ । प्रमुख खडकाका अनुसार हालसम्म ६ वटा नदीमा गोही छाडिँदै आएको छ ।

 

प्रकाशित: चैत्र २, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार