फिचर

बहसमा प्राविधिक शिक्षा

- नगेन्द्र अधिकारी

फाल्गुन २७, २०७३-काभ्रे– शिक्षा ऐनअनुसार कक्षा १ देखि १२ सम्म विद्यालय तह हो । कक्षा १–८ लाई आधारभूत र ९–१२ माध्यमिक तह कायम गरिएको छ । माध्यमिक तहलाई साधारण र प्राविधिक गरी दुई धारमा बाँडिएको छ । प्राविधिक शिक्षालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा यतिखेर काभ्रेको धुलिखेलमा राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपबारे कार्यशाला भइरहेको छ । कार्यशालामा एसिया प्यासिफिक क्षेत्रका १६ मुलुकका उच्च अधिकारी र विशेषज्ञहरू सहभागी छन् । तिनीहरूका अनुभव र सुझावका आधारमा नेपालको राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण संरचना (एनभीक्युएफ) विकास गरिनेछ । विज्ञले कार्यपत्रमार्फत आफ्नो मुलुकमा प्राविधिक तथा व्यावसायिक शिक्षामा भए/गरेका अनुभव आदानप्रदान गरिरहेका छन् । प्रस्तुत छ, बहसको उपादेयताबारे सहभागी केही विज्ञसित गरिएको कुराकानीको सम्पादित अंश : 

विदेशी सुझाव मनन गर्छौं 

 डा. रामहरि लामिछाने

महानिर्देशक, कोलम्बो प्लान स्टाफ कलेज, फिलिपिन्स

राष्ट्रिय योग्यता प्रारुप कस्तो बनाउने भन्नेबारे अहिले हामी छलफल गरिरहेका छौँ । २० देशमा कस्तो खालको प्रणाली छ भन्ने कुरामा नै छलफल केन्द्रित छ । अधिकांश देशमा १ देखि ८ तहको संरचना रहेको पायौँ । स्कटल्यान्डमा भने १२ तहसम्मको प्राविधिक शिक्षा रहेछ । संरचना करिब करिब मिल्दो छ । हुबहु कसैको संरचना अनुसरण गर्ने नभई त्यहाँको अनुभवको आधारमा हाम्रो सन्दर्भ, परिवेश सुहाउँदो प्रणालीलाई हाम्रो ढाँचामा ढाल्ने हो । हामीले अहिले गरेको मस्यौदामा पनि ८ तह हुने उल्लेख छ । तहका सन्दर्भमा हाम्रो पनि अरू देशसँग समानता छ । तहअनुसारको दक्षता हासिल गर्न ज्ञान, सीप र क्षमताबारे जानकारी लिएर नेपालको ढाँचालाई परिमार्जन गर्छौँ । यो कार्यशाला निकै उपलब्धिमूलक भएको छ । हामीले तयार गरेको मस्यौदामा साधारण शिक्षाबाट प्राविधिक शिक्षामा जान पाउने र प्राविधिक शिक्षाबाट साधारण शिक्षामा जान पाउने प्रस्ताव गरेका छौँ । समकक्षता निर्धारण गर्ने व्यवस्था गरेका छौँ, जसले जुन विषय पढे पनि योग्यता निर्धारण संरचनाले एकै खालको प्रमाणपत्र दिन सक्नेछ ।

अन्तर्राष्ट्रिय श्रमको सम्भावना खोल्छ 

 रिनातो एम सोरोलिया

कार्लोस हिलादो मेमोरियल स्टेट कलेज, फिलिपिन्स

नेपालको राष्ट्रिय योग्यता प्रारुपबारे छलफल गर्न यहाँ आउन पाउँदा खुसी लागेको छ । फिलिपिन्स र नेपालले एकै प्रकारको तहको अभ्यास गरिरहेका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा भने हामी अघि बढिसकेका छौँ । नेपालले पनि स्विस सरकारको सहयोगमा यो क्षेत्रमा काम गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । यसले नेपालको व्यावसायिक तथा प्राविधिक शिक्षालाई अघि बढाउन मद्दत गर्छ । भविष्यमा निकै अवसरहरू जुटाउनका लागि यो एकदमै सान्दर्भिक कार्यक्रम हो । स्थानीय उद्योगहरूको विकास, कामदारको व्यवस्था र अन्तर्राष्ट्रिय श्रमको सम्भावना पनि यसले खोल्छ । कोलम्बो प्लानले नेपालमा आयोजना गरेको यो कार्यक्रमले नेपालबारे जान्ने अवसर मिलेको छ । हाम्रो देशमा ८ तहको संरचना छ । हामीले दक्षिणपूर्वी एसियाली मुलुकसँग मिल्ने खालको प्रारुप निर्धारण गरेका छौँ । जसको कारण हाम्रा जनशक्तिले जुनसुकै मुलुकमा सजिलै काम पाउन सकून् भन्ने हो । 

फड्को मार्ने अवसर

 खेम लकाई

प्रमुख, ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी

यो कार्यशाला नेपालको व्यावसायिक तथा प्राविधिक शिक्षा क्षेत्रलाई अघि बढाउने सुनौलो अवसर हो । विशेषज्ञले अन्तर्राष्ट्रिय अभ्यासबारे पर्याप्त सुझावहरू दिएका छन् । विकसित देशमा प्राविधिक शिक्षा अनिवार्यजस्तै छ । नेपालको सन्दर्भमा युवाका भविष्य निर्धारण गर्ने प्राविधिक शिक्षाले नै हो । विज्ञकै भनाइमा आर्थिक विकासको क्षेत्रमा चमत्कार देखाउन सकिनेछ । सरकारले प्राविधिक शिक्षालाई बढी प्राथमिकता दिनु आजको आवश्यकता हो । यसो हुन सके अबको दस वर्षमा प्राविधिक शिक्षाले फड्को मार्नेछ । 

लागू गर्न तयार छौं

 रमेशकुमार बखती

कार्यवाहक सदस्यसचिव, सीटीईभीटी

राष्ट्रिय सीप परीक्षण समितिमार्फत हामीले सीप परीक्षण गर्दै आएका थियौँ । तर त्यसबाट वितरण गरेका प्रमाणपत्रले नेपालमै मान्यता पाउन समस्या छ । लोक सेवा आयोग, उद्योग आदिमा पनि एक खालका अन्योल छ । त्यसकै लागि एउटा राष्ट्रिय योग्यता प्रारुप तयार गर्न लागेका हौँ । एसिया प्यासिफिक क्षेत्रमा भएको अभ्यासबारे जानकारी लियौं । सीपका साथसाथै प्रमाणपत्रको मान्यताका लागि पनि आवश्यक छ भन्ने बुझाइका आधारमा पनि यो कार्यक्रम गरिएको हो । यसो हुँदा साधारण शिक्षा र प्राविधिक शिक्षाबाट एक अर्कोमा जान सकिने आधार तय हुन्छ । साधारण शिक्षाले रोजगारी पाइएन, अब प्राविधिक शिक्षा लिएर व्यावसायिक बन्ने आवश्यकता महसुस भएको सन्दर्भमा एउटा प्रारुप तयार पारेर हामी त्यसलाई लागू गर्न तयार छौँ । हामीले ८ तहको प्रस्ताव गरेका छौँ । यसलाई सरोकार निकायहरूसँग छलफल गरेर अन्तिम रूप दिनेछौँ । सन् २०१९ मा प्रारुप तयार भएर २०२५ मा ऐन ल्याएर प्राधिकरणको रूपमा विकास गरिनेछ । 

अधिकार सम्पन्न प्राधिकरण

 जगत् एस

सीप विकास तथा व्यावसायिक तालिम मन्त्रालय, श्रीलंका 

श्रीलंकाको सन्दर्भमा यसको लामो इतिहास छैन । यो प्रणाली सुरु गर्न लामो समय लाग्यो । मेरो देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा आयोगले यो सञ्चालन गर्छ । आयोगमार्फत संस्था दर्ता, योजना निर्माण, नीति निर्माणलगायतका काम हुन्छ । निश्चित मापदण्डका आधारमा मात्रै प्रमाणपत्र दिइन्छ । त्यसपछि मात्रै त्यस्ता तालिम सञ्चालन गर्न पाइन्छ । नेपाल पनि प्रारुप विकास गर्ने चरणमा छ । मेरो सुझाव के हो भनेर नेपालले यसका लागि धेरै निकाय नबनाईकन एउटा अधिकार सम्पन्न प्राधिकरण बनाउनुपर्छ । दर्ता, नीति निर्माण, अनुगमनलगायतका काम एउटै निकायबाट हुनुपर्छ । अन्यथा समस्या आउन सक्छ । श्रीलंका पनि ८ तहको संरचना छ । संरचना प्रमुख कुरा हैन, प्राधिकरणलाई सरकारले निर्देशन गर्नुपर्छ । 

देशअनुसारको प्रारुप 

 डा. ज्यानेट ब्राउन

स्कटल्यान्ड

विगत १५ वर्षदेखि हाम्रोमा राष्ट्रिय योग्यता प्रारुप छ । व्यवसायी, सरकार, विद्यार्थीलाई समेत कसरी ज्ञान, सीप हासिल गर्ने, रोजगारलगायतका विषयमा जानकारी पाउन यो निकै उपयोगी छ । यसको स्कटल्यान्डमा पाएको ज्ञान र सीपलाई अरू देशसँग तुलना गर्छ । नेपालको यो चाहना हुन सक्छ कि आफूले प्राप्त गरेको ज्ञान र सीप विभिन्न उद्योग र अरू राष्ट्रमा समेत उपयोगी हुनुपर्छ । स्कटल्यान्डमा हामी १२ तहको संरचनाको अभ्यास गरिरहेका छौँ । नेपालको सन्दर्भमा त्यो फरक हुन सक्छ । नेपालले प्रस्ताव गरेको ८ तह उपयुक्त हुन सक्छ । त्यो देशको आवश्कताअनुसार निर्धारण हुने कुरा हो । 

कार्यान्वयनमा जानुपर्छ

 वाल्टर हन

प्राविधिक तथा व्यावसायिक तालिम विशेषज्ञ, स्विटजरल्यान्ड

सम्बोधन हुनुपर्ने धेरै खालका विषयवस्तु छन् । पहिलो कुरा निजी क्षेत्रलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रको समग्र विकासका लागि बढी संलग्न गराइनुपर्छ । तालिमका विषयवस्तु निर्धारण गर्न निजी क्षेत्रको भूमिका हुनुपर्छ । गुणस्तर निर्धारण लगायतका कुराहरू सरकारी निकायबाट हुनुपर्छ । नेपालले ८ तहको संरचनाको खाका तयार पारेकाले अब त्यसको कार्यान्वयनमा जानुपर्छ । नेपाल सुहाउँदो प्रारुपको अनुसरण अरुबाट गर्नुपर्छ । 

 

प्रकाशित: फाल्गुन २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार