फिचर

सशक्तीकरण सिलसिला

- सजना बराल

फाल्गुन २१, २०७३- २०१० सालतिर रंगकर्ममा लागेकी थिइन् भुवन चन्द । नेपालकी पहिलो अभिनेत्री मानिन्छ उनलाई । त्यस बेला महिलालाई घरबाहिर निस्कन सहज थिएन । ‘नाच्ने–गाउने’ नारीलाई समाजले राम्रो मान्दैन थियो । बुबा कलाकर्मी भएकाले भुवनलाई भने अघि बढ्ने आधार जुटेको थियो । ‘पुरुष नै महिला बनेर अभिनय गर्थे,’ उनी सम्झन्छिन्, ‘हामी त चुलोचौकामै सीमित हुनुपथ्र्यो ।’ 

भुवनजस्ता केही महिला समाजसँग जुधे । बिस्तारै राज्यप्रणाली परिवर्तन भयो । विभिन्न सांस्कृतिक संघसंस्था खुले । जनजाति प्रतिष्ठान, कला केन्द्र, ना:स खलजस्ता निकायले कलाकार जन्माउन थाले । महिला रंगकर्मीको उपस्थिति बढ्यो । समाजको चेतनास्तर वृद्धि हुँदै जाँदा कलाकारिता रोज्ने महिलाको संख्या अझ उक्सिँदै गयो । ‘शिक्षाले जागरुकता ल्याएको हो,’ भुवनले भनिन्, ‘शिक्षाकै आडमा महिलाले आफूलाई दह्रो बनाउँदै लगे ।’

अहिले त समय निकै बदलिएको छ । महिला सशक्तीकरणको वर्तमानलाई टेकेर विगत हेर्दा पुराना महिलाहरूका भोगाइ कथाजस्ता लाग्छन् । तैपनि जहाँ पुगिनुपर्ने हो, अझै पुगिएको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहालले मंलगबार देशबासीका नाममा गरेको सम्बोधनमा निर्वाचनसँग जोडेर महिला सशक्तीकरणको प्रसंग पनि उठाए । ‘हजारौं महिला प्रतिनिधि र नेतृत्व पैदा हुने यो निर्वाचन महिला उत्थान, जागरण र सशक्तीकरणका लागि ऐतिहासिक कोसेढुंगा हुनेछ,’ उनले भने । 
राजनीति, परिस्थिति र व्यवस्था बदलिएर यस्तो स्थिति आएको अब महिलालाई छुटाएर कहींकतै केही गर्न सम्भव छैन । राज्यले महिला तथा अन्य पिछडिएको वर्गलाई स्पष्ट सम्बोधन गर्नु आफैंमा सराहनीय मानिएको छ । यस्तो चलन सुरु भएको धेरै भएको छैन । विसं २००७ को प्रजातन्त्रअघि वा यसअघिका संविधानमा समेत महिलाका विषयले उचित ठाउँ पाएका थिएनन् । 

राज्यको नीति र अनुकूल वातावरणले महिलाको समग्र विकासमा सहयोग पुग्ने पोखराकी क्षेत्रीय प्रशासक कामु सचिव यमकुमारी खतिवडाले बताइन् । ‘अहिलेको समावेशी नीतिले महिलाको उत्थानमा मद्दत गरिरहेकै छ,’ उनले भनिन्, ‘महिलाहरू आफैं सचेत भइदिनाले पनि छोटो समयमा द्रुत विकास सम्भव भयो ।’ 

नेपाली महिलाको प्रगतिको ‘ग्राफ’ उँभो लाग्ने क्रममा रहेको उनले सुनाइन् । आर्थिक, राजनीतिक र सामाजिक रूपमा लैंगिक समानताका विषयले प्रवेश पाएदेखि नै महिलाहरूमा जागरुकता आएको उनी औंल्याउँछिन् । ‘गरी खानुपर्ने वातावरण आइलागेपछि महिला बलिया हुन थाले,’ उनले भनिन्, ‘आर्थिक परनिर्भरता कम हुनासाथ महिलाको विकास स्वत: सुरु भयो ।’ राज्य व्यवस्थामा समावेशिताको नीति अवलम्बन गरिएपछि महिला सशक्तीकरणले आकार पाएको उनको बुझाइ छ । ओखलढुंगाको विकट गाउँ, हर्कपुरमा जन्मिएकी खतिवडाले शिक्षा र लगावले आफूलाई नेतृत्वदायी ओहदामा पुर्‍याएको बताइन् । छोरीलाई पढाउनुपर्छ भन्ने चेतना फैलिनु नेपाली महिलाको विकासका लागि ठूलो देन मान्छिन् उनी । 

मेगा बैंककी डेपुटी चिफ एक्जुक्युटिभ अफिसर रभिना देसराज श्रेष्ठले चाहिँ महिला जागरणका लागि शिक्षा मात्रै पर्याप्त नहुने तर्क गरिन् । उनका अनुसार महिलालाई ‘एक्स्पोजर’ आवश्यक छ । ‘महिला आफैं पनि बहादुर र जुझारु भएर बाहिर आउन सक्नुपर्छ । आज जुन अवस्थामा हामी आइपुगेका छौं, त्यो आफ्नै बलबुताले हो,’ उनले भनिन्, ‘हामीले लड्दैभीडै, परिवार र कामको ब्यालेन्स मिलाउँदै प्रगति गरेका हौं ।’

बैंकिङ क्षेत्रमा पहिलेदेखि नै महिलाको आबद्धता राम्रो रहेको रभिनाले खुलाइन् । यद्यपि, निर्णय लिने स्तरमा कमै महिला पुगेका छन् । त्यहाँसम्म पुग्न महिला स्वयंको कार्यक्षमताले भूमिका खेल्ने उनले बताइन् । निजामती वा प्रशासनिक निकायमा पनि महिलाको पहुँच माथिल्लो स्तरमा धेरै पुगेको छैन । तैपनि महिला उत्थानको माहोल निराशाजनक छैन । 

नेपाली महिलाले जुन गतिमा आफूलाई अघि बढाएका छन्, त्यो आफैंमा उदाहारणीय भएको खतिवडा र देशराजको निचोड छ । रुढिवादी र पितृसत्तात्मक सोचलाई चिर्दै अगाडि बढ्नु सहज थिएन । यस्तो वातावरणमा महिलाले विभिन्न क्षेत्रमा आफूलाई प्रस्तुत गर्दै आए । विभिन्न निकायमा महिलाको पहुँच बढ्दै गयो । लोकतन्त्रातिक व्यवस्था लागू भएयता महिलाको आवाज बुलन्द हुन थाल्यो । बोल्न सक्नु नै सशक्तीकरणको दरिलो प्रमाण हो । 

त्यसका लागि खेलकुदलाई हेरे हुन्छ । यस क्षेत्रमा पनि महिला ‘भाइब्रेन्ट’ भएर निस्किएका छन् । विभिन्न साहसिक खेलमा महिलाले आफूलाई प्रमाणित गर्दै छन् । मीरा राई ताजा उदाहरण हुन् । उनले अल्ट्रा(रनमार्फत अन्तर्राष्ट्रिय उपाधिहरू जितेकी छन् । उनलाई लाग्छ, यसमा ‘अवसर’ भन्ने चिजले ठूलो भूमिका खेलेको छ । ‘पढेर जान्ने हुनु भनेको त आधारभूत कुरा हो,’ उनले भनिन्, ‘अब त हामीलाई अवसर चाहिएको छ ।’

आफ्नो क्षेत्रमा जतिसुकै अब्बल भए पनि अवसर पाइएन भने पछाडि परिने मीराको बुझाइ छ । आफूजस्ता खेलाडी गाउँगाउँमा रहे पनि ती अवसर नपाएर जहाँको त्यहीँ रहेका उनले बताइन् । ‘हामीले अवसरहरू बाँड्न पनि थाल्नुपर्छ,’ उनले भनिन्, ‘सधैं ममात्रै कुदेर हुँदैन । मेरा बहिनीहरूले पनि बाटो पहिल्याउन पाउनुपर्छ ।’ 

उनले सरकारी सहयोगको पनि अपेक्षा गरेकी छन् । आफूअघि र आफूसँगका खेलाडीले भोकप्यासै संघर्ष गरेकाले आज यत्तिको अवस्थामा आइपुगेको मीराले बताइन् । 

पिछडिएको वर्ग वा समुदाय सशक्त हुँदै जानुलाई देश विकासको एउटा सूचक मानिन्छ । दिगो विकासका लागि समाजका सबै तह र तप्काका मानिसको समान सहभागिता आवश्यक हुन्छ । महिलाहरूलाई विकास निर्माणका काममा हातेमालो गराउने बेला आइसकेको छ । त्यसका लागि राज्यले बाटो खुला गरिदिएको छ । महिलाहरू स्वयं पनि त्यो अधिकार माग्न थालेकाले सशक्तीकरणको वास्तविक सौन्दर्य आगामी निर्वाचनपछि प्रस्ट देखिने धेरैले भन्छन् । 

पहिलो महिला
मन्त्री    द्वारिकादेवी ठकुरानी
प्रधानाध्यापक    अंगुरबाबा जोशी
पाइलट    रक्षा राणा
इन्जिनियर    कान्ति मल्ल
राजदूत    बिन्देश्वरी शाह

प्रकाशित: फाल्गुन २१, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार