ब्लग

यसरी मनायौं, न्यूयोर्कमा ल्होसार

- आङछिरिङ शेर्पा, न्यूयोर्क

फाल्गुन २०, २०७३-बौद्ध धर्मवलाम्बी शेर्पा समुदायको महान चाड ल्होसारको पहिलो दिन न्युयोर्कस्थित शेर्पा किदुगको गुम्बामा भीडभाड बाक्लो थियो । साप्तहिक विदाको दिन बाहेक अरु दिन विरलै यति बाक्लोसंग मानिसहरुको उपस्थिती त्यस क्षेत्रमा हुन्छ । सोमबारको दिनमा पनि यतिका मानिस भेला हुनु भनेको न्यूयोर्क जस्तो व्यस्त सहरमा असम्भव जस्तै हो । गुम्बामा कुनै ठुलो रिम्पोचेले अभिषेक दिने बेलामा यतिका मानिसहरु जम्मा हुन्छन् । 

सडकको दुबैतिर लागेको भिड गुम्बाभित्र जानलाई आतुर थिए । आफनै मौलिक शेर्पा पोशाकमा ठाँटिएका आफन्तहरु, इष्टमित्रहरु हातमा खादा र खामभित्र डलर बोकेर गुम्बाभित्रको भगवान र लामागुरुलाई ढोग्न लाइन लागेका थिए । मनभरिको खुसी र उमंगका साथमा लाइनमा बस्नेहरु एकले अर्काेलाई नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिरहेका थिए । त्यहि लाइनमा बस्नेहरुलाई ल्हाप्सुको आयोजक समितिका सदस्यहरु चिया र खाप्साले स्वागत गरिरहेका थिए । 

ल्होसारको पहिलो दिन छेवा चिको दिन हरेकले विहानै उठेर आ–आफनै घरमा चिया खाप्सा, छिमार र डेसिल खाएर ल्होसार मनाएर गुम्बामा आउने गर्छन् । गुम्बाको चारैतिरको भीडबाट लाइनै जब भित्र प्रबेश गरे भित्र पनि उतिकै लामो लाइन थियो । ढोकामा बसेको स्वयम् सेवकहरु बच्चा बोकेको आमाहरुलाई पहिलो प्रथामिकताका साथ अगाडी पठाउथे । 

भित्र लामागुरुहरु धार्मिक पुजापाठमा व्यस्त थिए । गुम्बाभित्र लामागुरु र भगवानलाई ढोग्नेहरुको लाइन वीच थियो भने भुईमा दायाबाया पलेटी कसेर पुजापाठको मन्त्रमा सुनेर हात जोडेर ध्यान गर्नेहरु पनि थिए ।  पुरै धार्मिक वातवारणमा रहेको गुम्बाभित्र बनाएको पुजाथान, पुजाको लागि चढाएको प्रसादहरु, खाप्सा र धुपबत्तिले मनलाई निकै आनन्दित तुल्याइरहेको थियो । अवतारी लामा टुल्कुको नेतृत्वमा एक दर्जन लामा गुरुहरुले विश्व शान्ति र सम्पुर्ण प्राणी जगतको कल्याणको लागी पुजा गरिरहेका थिए ।

त्यही पुजाले ‘२१४४ आंै मे मो च्या ल्हो’ ग्याल्पो ल्होसार नया वर्ष आगमानको स्वागतका लागी गरेका थिए । विहानी पुजा सकेपछि त्यसदिन गुम्बाको सामुन्नेमा ध्वजापतका गाडेका थिए । भित्रको लामा गुुरुहरु बाहिर आइसकेपछि लामागुरुहरुसंगै सवैले हातमा बोकेको पिठो आकाशतिर छर्केर भगवानको जयजयकार ‘केके स्हो स्हो ल्हागेलो’ भनी सामुहिक श्वर निकालेका थिए । त्यतिखेर सडक पुरै अवरुद्ध भएका थिए । त्यतिखेर मनमा ल्होसारको यो दिन किदुगले ध्वजा लगाउनेतिरको बाटो पुरै बन्द गरि दिएको भए कति राम्रो हुन्थ्यो भनेर सोचे । विहानी पुजापाठ र ध्वजा ठडाएपछि पुजा निरन्तर चलेको थियो । गुम्बामा पुजा चलीरहदा किदुगले अभिभावकहरुसग आएको १४ वर्ष मुनिको सवै बालबालिकाहरुलाई ल्होसारको बारेमा ज्ञान दिनुको साथै उनीहरुलाई खाममा पैसा दिएर धेरै खुसी बनाएका थिए । 

विगतदेखि नै बालबालिकालाई ल्होसारप्रति आर्कषित गराउनका लागी किदुगले गरेको कार्यक्रममा सय भन्दा बढि बालबालिकाको उपस्थिति थियो । ल्होसारको अवसरमा किदुगले मार्च ४ तारिख क्विन्सको चर्चित हलमा ल्होसार कार्यक्रम आयोजना गर्दैछ भने मे को ७ तारिख ल्होसार ल्हाप्सु गर्दैछ । हामी नेपाली जहाँ गएपनि आफनो मौलिक भाषा, धर्म र सस्कृति विर्सन हुदैन भन्ने सोचका साथ शेर्पा किदुग जस्तो सँस्थाहरुले उदाहरणीय कार्य गरेको छ । अन्तमा शेर्पा समुदायको यो महान चाडको अवसरमा सवैमा ल्होसारको हार्दिक शुभकामना । 

प्रकाशित: फाल्गुन २०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार