समाचार

रित्तिँदै भाबरका जलभण्डार

- डीआर पन्त, बासपानी (कैलाली)

मानवीय अतिक्रमण र चुरे विनाशका कारण भाबर क्षेत्रमा निम्तिएको खानेपानी संकट झन् गहिरिँदो छ, स्थानीय बासिन्दा पानीकै लागि विस्थापित हुँदै छन्

फाल्गुन २०, २०७३-सुदूरपश्चिमका चार जिल्लामा फैलिएको भाबर क्षेत्रमा खानेपानी समस्या झन् चर्कंदो छ । कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरामा पर्ने भाबरको माथिल्लो भूभाग अर्थात् चुरेमा वन विनाश र अन्य मानवीय हस्तक्षेपले पानी संकट गहिरिएको हो । 

भाबर प्रदेशले यी चार जिल्लाको २७ प्रतिशत भूभाग ओगटेको छ जहाँ ६ लाख मानिस बसोबास गर्छन् । यो भूखण्डमा पानीका अधिकांश मूल र मुहान सुक्दै गएका छन् । डोटी र डडेलधुराभन्दा तराईका कैलाली, कञ्चनपुरको भाबर क्षेत्रमा संकट बढी छ । यसको असर जिल्लाको दक्षिणी भूभागमा समेत सुरु हुन थालेको विज्ञले बताएका छन् । 

भूगोलविद् डा. अनिलबहादुर कुँवरका अनुसार भाबर प्रदेश चुरेमा हुने प्राकृतिक भूक्षयले ल्याएको ढुंगा र बलौटे माटोबाट बनेको हो । यसले माथिबाट झर्ने पहिरो र बाढी रोकेर तराईको उर्वरता जोगाउन मद्दत गर्छ । यो एक प्रकारले पानी भण्डारण गर्ने प्राकृतिक संरचना पनि हो तर मानव बस्ती बस्न लायक भूभागचाहिँ हुँदै होइन । ‘भाबरले चुरे र तराईबीच वातावरणीय सन्तुलन कायम गर्ने काम गर्छ साथै तराईको भूभागलाई उब्जनीयोग्य बनाउन आवश्यक पानीको आपूर्ति पनि यसले नै गर्छ,’ कुँवर भन्छन् । ०३० को दशकदेखि यो क्षेत्रमा बस्ती बस्न थालेको पाइन्छ । त्यसअघि भाबर क्षेत्र पूरै जंगल थियो । प्रकृतिलाई चुनौती दिने गरी भाबर क्षेत्रमा बस्ती बसेकैले चार दशकमै समस्या गम्भीर हुन पुगेको कुँवरको बुझाइ छ ।

दशक अघिसम्म भाबर क्षेत्रका बासिन्दाले खानेपानी आयोजना माग गरेको सरकारी रेकर्डमा खासै देखिँदैन । मानव बस्तीको चाप बढदै जाँदा पछिल्ला दिन संकट गहिरिएको हो । तीन दशकदेखि सुदूरपश्चिमको खानेपानी क्षेत्रमा कार्यरत इन्जिनियर परीक्षित श्रेष्ठ भन्छन्, ‘तराईको पानी भण्डारण हुने ठाउँमा मानव बस्ती बस्नु र चुरे क्षेत्रमा वन विनाश हुनुले अभाव बढेको हो ।’ उनका अनुसार चुरेको डिलदेखि बगेर आउने पानी भाबरमा आएर भूमिगत हुन्छ । यस क्षेत्रमा बस्ती सुरु भएपछि बिस्तारै पानी भण्डारण क्षमतामा ह्रास आउन थाल्यो । 

अहिले वर्षा, हिउँद जुनसुकै मौसममा कैलाली र कञ्चनपुरका भाबर बस्तीमा पानीको अभाव हुन्छ । यदाकदा उपलब्ध हुने थोरै पानीसमेत चुनायुक्त हुने गरेको छ । माटो पनि सजिलै पानी सञ्चित हुन नसक्ने खालको बलौटे बनेको छ । यसैकारण भाबरको जनजीवन सधैंका लागि चुनौतीपूर्ण देखिएको विज्ञले बताएका छन् । 

बाख्रापालन, जंगलबाट हुने सजिलो आय र तराई नजिकको भूभाग भएकाले यो ठाउँ लोभलाग्दो देखिए पनि पानी संकटकै कारण यहाँका बस्ती विस्थापित हुन धेरै समय लाग्दैन । इन्जिनियर श्रेष्ठको अनुभवमा भाबर क्षेत्रमा कतै पनि स्थायी बस्ती पाउन कठिन छ । पानीको स्रोत सुकेपछि अर्को ठाउँ सर्ने क्रम निरन्तर चलिरहेको छ । भाबरको पानीमा प्रशस्त चुना हुने भएकाले ठूलो लगानी गरी बनाइएका योजना पनि १/२ वर्षमै बन्द हुने गरेका छन् । 

कैलालीका पूर्वप्रमुख वन अधिकृत रमेशचन्द ठकुरी पनि भाबरलाई तराईको पानीको मुहान ठान्छन् । उनी भन्छन्, ‘ग्रेगर क्षेत्रमा मानव बस्ती र वन स्रोतको अत्यधिक दोहन हुन थालेपछि यो क्षेत्र बिस्तारै पानीविहीन बन्न थालेको हो ।’ 

खानेपानी डिभिजन कैलालीका वरिष्ठ इन्जिनियर गणेश उपाध्यायका अनुसार १० वर्षअघि प्रतिसेकेन्ड १ लिटरका दरले पानी बग्ने भाबर क्षेत्रका मूलमा अहिले दिनभरिमा पनि १ लिटर पानी बग्न छोडेको छ । ‘यो मानव सिर्जित दीर्घकालीन समस्या हो,’ उनले भने, ‘तराईमा केही वर्षअघिसम्म ४० फिटमा आउने पानी ८० फिट नाघिसकेको छ ।’

तीन दर्जन गाउँका नाउँमा ‘पानी’’

सुदूरका चार जिल्लामा फैलिएको भाबर क्षेत्रका ८० प्रतिशत गाउँका नामसँग ‘पानी’ जोडिएको पाइन्छ । कञ्चनपुरको कुवापानी (कवानी) बाट सुरु भएर डडेलधुरा, डोटी हुँदै कैलालीको चिसापानीसम्म भाबर क्षेत्रका प्राय: सबै ठूलासाना गाउँको नामसँग ‘पानी’ गाासिएको पाइन्छ । तर १० वर्षयता तिनै क्षेत्रका बासिन्दाले पानीकै निम्ति तड्पनुपरेको छ । 

कञ्चनपुरका कुवापानी, ज्यामिरपानी, सुखीताल, हर्रे पानी, झालेपानी, सेजपानी, वगुनपानी, धारापानी, मालुपानी, झिंगेपानी, खल्लापानी भाबर क्षेत्रका गाउँ हुन् । कैलालीमा पर्ने भाबर क्षेत्रमा त पानी जोडिएका अझ धेरै गाउँ छन् । कैलाली र कञ्चनपुरको सिमानामा रहेको गोजियापानीदेखि धौलेपानी, कुमपानी, बडेपानी, केलापानी, सिस्नेपानी, गुनेपानी, ठण्डपानी, पित्तेपानी, बाँसपानी, भ्यागुतेपानी, कालापानी, आमपानी, वामनपानी, बुढेपानी, वान्द्रेपानी, दोगाडपानी, टकरेपानी, धनीपानी, जुगेपानी, सिम्तीपानी, गंगटेपानी, ज्यामिरपानी र चिसापानीमा अहिले पानी पाइन छाडेको छ ।

जता पानी छ, उतै बस्ती सार्ने क्रममा यसरी गाउँका नाम पानीसँग जोडेर राखिएका हुन् । डडेलधुरा र डोटीका भाबर क्षेत्रमा पनि यसरी पानी जोडिएका दर्जनभन्दा बढी गाउँ छन् । 

साताभरिका लागि पानीको जोहो 

साता दिनको पानीको जोहो गर्न बाँसपानीकी १९ वर्षीया राधालाई भ्याइनभ्याइ छ । घरमा एक्ला बुबा छन् । आफू पर सर्ने दिन आइसकेको छ । बुबालाई साताजति पुग्ने पानी जम्मा गरेपछि राधा महिना दिनका लागि ढुक्क हुन्छिन् । गाउँदेखि झन्डै ४५ मिनेट टाढा रहेको धौलेपानीबाट पानी ओसार्नुपर्छ उनले । ‘आमा बितेको ७ वर्ष भयो, सानो भाइ धनगढीमा डेरा गरेर पढ्छ,’ राधाले भनिन्, ‘बुबा वृद्ध छन्, म पर सरेपछि पानी ल्याइदिने कोही हुँदैन ।’ 

पानी जोहो गर्नकै लागि भएजति समय खर्चनु अहिले भाबर क्षेत्रका अधिकांशको बाध्यता हो । राधाका बुबा ६७ वर्षीय धर्मसिंह भन्छन्, ‘कुन बेला मूल हराउँछ र अर्को बस्तीका लागि अर्को ठाउँ खोज्नुपर्ने हो, ठेगान छैन ।’ 

 बाँसपानीमा १७ परिवार छरिएर बसेका छन् । गाउँमा बढी झैझगडा पानीकै विषयमा हुने गर्छ । पानी चोरीका घटना पनि निकै हुन्छन् । धर्मसिंह भन्छन्, ‘पानीकै समस्याले बसाइँ सरेको यो तेस्रो बस्ती हो । १९ वर्षअघि बझाङबाट भाबर क्षेत्रमा आएका हौं, कञ्चनपुरको ज्यामिरपानीपछि कैलालीको चुनेपानी अनि बाँसपानी आयौं ।’ अब यो बस्ती पनि पानीकै कारण छाड्नुपर्ने बाध्यता निम्तिन लागेको उनले बताए ।

प्रकाशित: फाल्गुन २०, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार