विचार/विश्‍लेषण

स्थानीय निर्वाचनमा नागरिकका सर्त

  • अब हामीलाई पर्खिने र हेर्ने समय छैन । यो निर्वाचनमा जस्ता उम्मेदवार जिताउँछौं, उस्तै हुने हो हाम्रो समाजको भविष्य ।
- कृष्णप्रसाद पौडेल

फाल्गुन १९, २०७३-सरकारले स्थानीय निर्वाचनको घोषणा गरेसँगै राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरू सल्बलाउन थालेका छन् । दुई दशकपछि हुन लागेको निर्वाचनमा यस्तो चासो बढ्नु स्वाभाविक छ । यो राजनीतिको मर्मबाट विमुख हुँदै गएका तर आफ्नो स्वार्थअनुकूल सिन्डिकेट शैलीबाट सत्ता चलाएका मुख्य राजनीतिक पार्टीलाई अलोकतान्त्रिक भएको छवि सपार्ने, यस्तै सिन्डिकेटमार्फत स्थानीय स्तरमा विकास बाँडचुँड गरी गुजारा चलाएका आफ्ना कार्यकर्तालाई जनप्रतिनिधि बनाई वैधानिकता दिने अवसर पनि हो । अहिले, आफूलाई ठूलो र बलियो ठान्ने पार्टीहरू आफू मात्र लोकतान्त्रिक र विधिको शासन दिने अरू सबै भ्रष्ट, अलोकतान्त्रिक र समृद्धिविरोधी प्रमाणित गर्ने होडबाजीमा लागेका छन् । त्यसैले त अरू धेरै कुरा थाँति राखेरै भए पनि, अहिले यिनै ठूला भनिने पार्टीहरूबीच स्थानीय निर्वाचनको ‘माग गर्ने र पूरा गर्ने’ काम तदारुकतासाथ हुँदैछ ।

 

संविधान कार्यान्वयनका महत्त्वपूर्ण कुराहरू नसल्टाई स्थानीय निर्वाचनमा जान हतारो गर्नुले पुराना पार्टीहरू नयाँ नेपाली समाजको नेतृत्व गर्न लायक छैनन् भन्ने पुष्टि गर्छ भने नयाँ भनिने पार्टीहरू अझै पत्याउन सकिने खालका बनिसकेका छैनन् । यस्तो परिस्थितिमा राजनीतिप्रति सचेत तर राजनितिका नाममा कुनै गुटको रैती नबनिसकेका आम मतदातामा यो निर्वाचनमा कसलाई र किन मतदान गर्ने द्विविधा बढेको छ । निर्वाचन होला/नहोला भनेर ढिलाइ गर्नुभन्दा आफ्ना द्विविधा हटाउँदै उपयुक्त पार्टी र योग्य उम्मेदवार छनोटमा लागौं । अब हामीलाई पर्खिने र हेर्ने धेरै समय छैन । यो निर्वाचनमा जस्ता उम्मेदवार जिताउँछौं, उस्तै हुने हो हाम्रो समाजको भविष्य । आफैं र समाजप्रति इमान्दार भएर आफ्नै र भावी सन्ततीको भविष्य निर्माण गर्ने यो अवसर गुमाएर पछुताउने काम नगरौं । 

योग्य स्थानीय जनप्रतिनिधिको छनोटले लोकतन्त्रको जग बलियो बनाउँछ । चुनिएका प्रतिनिधिले नै पार्टी राजनीतिमा देखिएका विसंगतिमा आधिकारिकताका साथ प्रश्न उठाउन सक्छन् । कुनै पनि टीके नेता तथा कार्यकर्ता यो हैसियत राख्दैनन् । यस्तो प्रश्न उठाउनुपर्ने वास्तविक नागरिक समाज नेपालमा छँदैछैन । यदाकदा निवृत्त कर्मचारी र गैससकर्मीले भकारो ओगटेको त देखिन्छ, यो पनि अहिले ‘कोमा’ मा छ । त्यसैले त राजनीतिका विकृतिविरुद्धका आवाज कमजोर देखिएका छन् । सँगै, अब यस्ता टीके नेता तथा कार्यकर्तालाई शासनसत्ता र शक्तिको दुरुपयोग गरी लोकतन्त्रको आदर्श छाँट्दै लुटतन्त्र चलाउने छुट पनि दिनु हुँदैन । यस अर्थमा यो निर्वाचनलाई राजनीतिक पार्टी सरसफाइ अभियानका रूपमा समेत लिन सकिन्छ । त्यसो हो भने अहिलेको अवस्थामा मतदान गर्नुअघि मतदाताले ध्यान दिने महत्त्वपूर्ण सबालहरू के–के होलान् ? यस लेखमा यिनै विषयमा केही प्रस्ताव गरिएको छ । 

सबैभन्दा पहिले सबै पार्टी तथा उम्मेदवारका स्थानीय तहको उन्नति प्रवद्र्धन गर्ने र समग्र नेपालको समृद्धिका दृष्टिकोण बनाउन बहसको सिर्जना गरौं । उनीहरूले जनचाहना र समसामयिक सबालको सम्बोधनका लागि के–कस्ता प्रस्ताव ल्याउँछन्, यिनका घोषणापत्र पढौं । यी घोषणामा हाम्रो अहिलेको अवस्था सपार्न के योजना छन्, एक–आपसमा बहस गरौं । यी घोषणा पूरा गर्न पार्टीहरू कस्ता कार्यकर्तालाई उम्मेदवार बनाउँदैछन्, ख्याल गरौं । सकेसम्म गलत उम्मेदवार छनोट नगर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई सचेत बनाऔं । मतदान गर्नुअघि पार्टीका घोषणा र उम्मेदवारका योग्यताका आधारहरू विचार गरौं ।

पार्टीका घोषणामा मुख्यत: संस्थागत भ्रष्टाचार र अनियमितताविरुद्ध काम गर्ने, स्थानीय सरकारलाई बलियो बनाउँदै जाने, खाद्य, भूमि, कृषि, शिक्षा, जनस्वास्थ्य, खानेपानी, वातावरण, स्थानीय पूर्वाधार लगायत अन्य विषयगत क्षेत्रको स्थानीय योजनाको खाका के–कस्तो छ, विचार गरौं । साथै, स्थानीय तहका सरकारी कर्मचारीहरूको मूल्यांकन गरी पुरस्कार र दण्ड गर्ने अधिकार स्थानीय सरकारसँगै रहने कार्ययोजना छ कि छैन, राम्ररी हेरौं । जानिराखौं, कम्तीमा यी दुई कुरामा स्पष्ट र प्रतिबद्ध नभएका पार्टी र उम्मेदवारले हाम्रो समृद्धिको ढोका खोल्न सक्दैनन् । 

हरेक पार्टीका गुट–उपगुटलाई हाम्रा होइन राम्रा कार्यकर्तालाई उम्मेदवार बनाउन दबाब दिउँ । यस्तो नगर्ने पार्टीका उम्मेदवारलाई मतदान नगरौं र यसपटक योग्य उम्मेदवारलाई मात्र मतदान गरौं । यो अझै पनि पार्टीहरूलाई सच्चिनका लागि दिएको मौका हो भन्ने सन्देश दिने अवसरको रूपमा लिउँ । सँगै, प्रस्तावित उम्मेदवार भ्रष्टाचार र गुन्डागर्दीमा लागेको छ कि ? छ भने त्यस्तो गल्ती सच्याउने सार्वजनिक प्रतिबद्धता गरेको छ कि छैन, ख्याल गरौं । यस्तो आधारभूत नैतिक प्रश्नमा कुनै हालतमा सम्झौता नगरांै । यस्ता पार्टी तथा व्यक्तिलाई कदापीे अमूल्य मतको दान नगरौं, साथै आफ्ना छिमेकी र साथीभाइलाई यो कुरा बुझाउँ कि यो हाम्रो भविष्य सपार्ने एउटा दुर्लभ अवसर हो । यसमा चुक्यौं भने इतिहासले हाम्रो यो पुस्तालाई क्षमा गर्दैन । 

मतदान गर्नुअघि यी उम्मेदवारको लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र समानताप्रतिको सचेतता र यस्तो अभ्यासमा विश्वास गर्ने प्रतिबद्धताको जाँच गरौं । यो नै अहिलेका लागि हामीले परिकल्पना गरेको समृद्ध नेपालको आधारभूत मापदण्ड हो । यो मापदण्ड नपुगेका पार्टी र उम्मेदवारलाई मतदान गरेर समृद्ध नेपाल बनाउने सपनामा चोट पुग्ने काम नगरौं । अबको हाम्रो रोजाइ नेपाली समाजको विविधतालाई सम्मान र प्रोत्साहन गर्ने सबैखाले विभेद हटाउन सार्थक पहल गर्ने प्रतिनिधि हुनुपर्छ । व्यक्ति, परिवार, समाज र देशको समृद्धिका लागि तत्परता र प्रयासरत भएको लक्षण नदेखिएका उम्मेदवारलाई मतदान नगरौं । यसले हामी कसैको पनि भलो गर्दैन । 

खाद्य, भूमि, कृषि र वातावरण हाम्रा संवेदनशील स्थानीय सरोकारका क्षेत्र हुन् । तर, यी क्षेत्र निरन्तर संकटग्रस्त बन्दै गएका छन् । कहालीलाग्दो खाद्यान्नको आयात, विषाक्त खानेकुरा, यसले स्वास्थ्यमा देखिएका जटिलता, प्रदूषित स्रोत, प्रकृतिको अति दोहन, भूमिको खण्डीकरण र भू–उपयोगको बेथिति अहिलेका जल्दाबल्दा स्थानीय समस्या हुन् । साथै यी स्थानीय तहमै कृषि, भूमि र वातावरण सुधारका योजना र कार्यान्वयनका प्रयास नगरिँदाका दुष्परिणाम पनि हुन् । यी क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपाय खोज्ने उपयुक्त थलो स्थानीय सरकार मात्र हो । यो कुराको मर्म बुझ्ने जनप्रतिनिधिले मात्र यसतर्फ सचेततापूर्वक योजना बनाउने र लागू गर्ने प्रयास गर्छ । तसर्थ नेपालको कृषि बिग्रेकोमा चिन्तित र सपार्नका लागि प्रयत्न गर्न तत्पर भएको उम्मेदवार बनाउने र जिताउने अभियानमा लागौं । 

स्वच्छ खेती प्रणालीबाट स्वस्थ खानेकुरा आत्मसात गरेको जनप्रतिनिधिले मात्र कृषि र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनसहितको सुधार ल्याउन पहल गर्छ । त्यसैले रसायन, विषादी र प्लास्टिकमुक्त स्थानीय क्षेत्र बनाउने दूरदृष्टि भएको पार्टी र व्यक्तिलाई मात्र मतदान गरौं । त्यसैगरी, सात दशक लामो भूमिसुधारको नारा अहिलेसम्म मत माग्नका लागि दुरुपयोग मात्र भयो । भूमिसुधारको प्रश्नसँगै अहिले भू–उपयोगको सबाल झनै पेचिलो भएको छ । तसर्थ भूमिसुधार र भूउपयोगलाई स्थानीय तहको मुख्य कार्यभार नबनाई यी सबाल सल्टाउन सकिँदैन भन्ने बुझेको व्यक्तिलाई उम्मेदवार बनाउन र निर्वाचित गराउन पहल गरौं ।

भूमि उपयोगका क्षेत्र निर्धारण, खेतीयोग्य कृषि जमिनको सीमांकन र पुन: उपयोगको योजना बलियो स्थानीय निकाय र प्रतिबद्ध जनप्रतिनिधिको अठोटले मात्र सम्भव हुन्छ । त्यसैले धेरैभन्दा धेरै किसानलाई स्थानीय सरकारमा पठाआंै । उनीहरूले जति दिगो कृषिको मर्म अरू कसैले बुझ्दैन, त्यसमा पनि महिलाहरू कृषि कर्मका बलिया खम्बा हुन्, उनीहरूको प्रभावशाली उपस्थिति नै स्थानीय विकासको सूचक हो । तर, किसानका नाममा झोले किसान पठाएर स्थानीय सरकार कमजोर बनाउन दिनु हुँदैन । 

समावेशी जनप्रतिनिधित्व स्थानीय विकासमा सबैको पहुँच बढाउने बलियो आधार हो । यसो नगरी स्थानीय तह सुदृढ हुँदैन, यसमा दुई मत हुनु हुँदैन । साथै नेतृत्व, विषय विज्ञताको अनुभव र नैतिक परीक्षाको कसीमा खारिएका जनप्रतिनिधि छनोट गर्न चुक्यौं भने हाम्रो पछौटेपन हाम्रो छाँया बनेर हामी सँगसँगै आउनेछ भन्ने कुरासमेत भुल्नु हुँदैन । यस कुराको समेत उचित ख्याल गरौं ।

अन्त्यमा, स्थानीय तहमा कार्यरत पार्टी कार्यकर्तालाई हाम्रालाई मात्र प्रतिनिधि बनाउने पार्टीका आदेश उल्टयाएर राम्रा छनोट गर्ने संस्कृति निर्माण गर्न प्रतिबद्ध बन्न सघाउँ । यो नै उन्नत समाज निर्माण गर्ने तपार्इंहरूको सपना साकार पार्ने सबैभन्दा बलियो हतियार हो भन्ने कुरा बुझाउँ । साथै, लोकतन्त्रमा मतदाताले नै कार्यकर्तालाई नेता बनाउने हो, तसर्थ अहिलेका ठूला नेतामा भन्दा मतदाता र आम नागरिकमा भरोसा गर्न आश्वस्त पारौं । यसो गर्न सकिए मात्र लोकतन्त्रको सास र भविष्यप्रतिको आश जोगाउन सकिन्छ । साथै यो नै राजनीतिबाट समाजलाई योगदान दिने तपाईंको प्रतिबद्धता जाँच्ने कसी पनि हो । बाँकी निर्णय मतदाताकै हातमा । 

प्रकाशित: फाल्गुन १९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार