ब्लग

राजदूत रायको कार्यकाल : कहिले खुशी, कहिले तनाव

- चन्द्रशेखर अधिकारी, काठमाडौं

फाल्गुन १८, २०७३-

मंगलबारदेखि आफ्नो कार्यकाल पुरा गरेका भारतीय राजदूत रणजीत राय बुधबार स्वदेश फिरेका छन् । उनीपछि नेपालमा आउने राजदूत तय गर्न भारतीय सरकारलाई हम्मे परेको थियो । करिअर, राजनीतिक र सुरक्षा निकाय कुन क्षेत्रको पठाउने भन्नेमा सरकारभित्रै बहस भए । अन्तत करिअरका मन्जिभ सिंह पुरीको नाम सिफारिस भएको छ । 

युरोपेली युनियन, बेल्जियम र लग्जेम्वरका लागि राजदुत रहिसकेका १९८२ मा विदेश सेवामा प्रवेश गरेका अनुभवि करिअर कूटनीतिज्ञ हुन्, उनी । प्रान्तीय निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान बढि केन्द्रित हुँदा पनि लैनचौर स्थित ‘इन्डिया हाउस’नजरमा नपरेको हुन सक्छ । केही ढिला भएपनि फर्केकै दिन भारतले नयाँ राजदूतको नाम नेपाल सरकारलाई पठाइएको छ ।   

२०७० को भदौं १३ मा राजदूतको रुपमा काठमाडौं आएका राय स्वदेश फर्किसकेका छन् । भारतको दिल्लीमा २०६२ मंसिरमा तत्कालिन माओवादी र सात दलबीचभएको १२ बुँदे राजनीतिक सहमतिमा समेत साक्षी रहेका रायको साढे तीन बर्ष अघिको नेपाल यात्रालाई त्यतिबेलै निकै महत्वका साथ हेरिएको थियो । उनी फिर्नु अघिसम्म पनि विदेश सचिवको गतिलो दावेदार मानिएका थिए । मोदीको नजरमा एस जयशंकर नै अब्बल दरिएपछि अन्तत् उनी सेवा निवबृत्त भएका छन् । तीन बर्षे कार्यकालपछि पनि छ महिना बढि उनले नेपाल भारत सम्वन्धमा काम गर्ने अवसर पाए ।

नेपाल बसाई र यहाँको आत्मियताको निकै प्रशंसा गरेका उनको कार्यकाल पनि अन्य राजदूतको झै नै उतारचढावमा नै वित्यो । पछिल्ला केही दिनमा उनलाई विदाई गर्ने र उनले आफ्ना तह अनुसारका नेतृत्वलाई विदाईको लागि भेट्ने श्रृखला नै चल्यो । यो आत्मियता हेर्दा नेपाल आउन खोज्नेहरु भारतमा धेरै रहन्छन् तर यहाँको राजनीतिक टसलमा बढि तानिने हुँदा आउनेहरु शसंकित पनि उत्तिकै हुन्छन् । नेपालको पोष्टिङलाई निकै ‘क्रुसियल र हार्ड’ अर्थात विभिन्न तहबाट जकडिएको पोष्टिङको रुपमा भारतीय कूटनीतिज्ञले हेर्ने गरेका छन् । शक्ति शाली मुलुकका लागि भन्दा पनि चुनौतिपूर्ण पोष्टिङको रुपमा नेपाल पर्ने उनीहरुकै धारण छ । 

चुनौतिपूर्ण भने झै नै रायको कार्यकाल अन्यको भन्दा पनि बढि उतारचढावमा वित्यो । नेपालमा ऐतिहासिक परिवर्तनपछि आएका पछिल्ला राजदूत भन्दा उनको कार्यकालको ग्राफमा बढि नै हार्दिकता र अतिनै तिक्तता हेर्न सकिन्छ । भारतसंगको सम्वन्धमा तिक्तता पुरानो पुस्तामा थियो नै त्यो नयाँलाई स्मरण गराउने गरि ग्राफ उकालो लाग्यो । यो ग्राफ तल झार्न त्यती सहज छैन । भारतप्रतिको शंका नयाँ पुस्तामा उत्तिकै रहिरहनेछ । उनले नेपाल र भारत बीचको त्यो निकटतम हार्दिकता र चरम तिक्तताको अवस्थालाई नजिकबाट नियाल्दै त्यसको सामन्जस्यता गर्दै केही हदसम्म त्यसलाई विर्साउन पहल गरे । तर, पनि हार्दिकताको ग्राफ तल नै छ ।  

१२ बुँदे सहमतिको सुत्राधारको साक्षी रहेका उनकै कार्यकालमा नेपालमा संविधानसभाबाट संविधान जारी भयो । संविधान जारी हुने अवस्थमा भारतीय विदेश सचिव एस जयशंकरको नेपाल यात्राले राजनीतिक तहमा नेपाल भारत सम्वन्धलाई दुई ध्रुवमा लग्यो । संविधान जारी हुनेसमयमा राजदूत दिल्ली पुगेर जयशंकरलाई विशेष दूतको रुपमा काठमाडौं ल्याएका थिए । त्यसबाट झन परिस्थिति बिग्रियो । भारतले नेपालमा अघोषित नाका बन्दी नै लगायो ।

त्यसअघि मोदीले नेपाल भ्रमण गर्दा दुई पक्षबीच बढेको सुमधुर सम्वन्ध सबै हावा बने । १७ बर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण २०७१ साल श्रमवणमा गरेका थिए । उनको भ्रमणमा उनलाई दिइएको सम्मान र उनले नेपालप्रति देखाएको सद्भावले नेपाल भारत सम्वन्ध निकै उचाईमा पुगेको अनुभव गरिएको थियो ।

त्यस समय राजदूत रायको पनि निकै प्रशंसा भएको थियो । त्यतिबेलाको भेटमा उनी दंगपर्दै भन्थे, ‘राजनीतिक तहको बुझाई राम्रो हुँदाको यो हार्दिकता आफैमा आनन्ददायी छ । मेरो कूटनीतिक करिअरको सबैभन्दा शुखद क्षण हो ।’ तर, त्यो लामो समय टिकेन । 

त्यसको लगत्तै मंसिरमा सम्पन्न सार्कको १८ औं शिखर सम्मेलनमा मोदी पुन: नेपाल आए । त्यतिबेला उनको निर्धारित कार्यक्रमहरु विफल भए । नेपाल र भारतको बीचमा राजनीतिक हार्दिकता नचाहने समुहले खेलिदिएको पत्तो राजदुतले पाएनन् वा चिर्न सकेनन् । मोदीको जनकपुर, लुम्विनी र मुक्तिनाथ भ्रमण स्थगित भए । उनी सम्मेलनमा नै आउने/नआउने आशंका हुँदै गर्दा उनी आए । तर, उनले जुन प्रकारको ब्यवहार भदौमा देखाएका थिए त्यो भन्दा फरक ब्यवहार मंसिरमा देखाए ।

उनले ट्रमा सेन्टरमा दिएको राजनीतिक भाषणबाट उनको त्यो बुझाई झल्कन्थ्यो । यद्यपी सार्कको समयमा उनले तिक्तता पोखेपनि पाकिस्तान तथा अन्य सदस्य मुलुक र सार्कको भविष्यसंग देखाएको हार्दिकता उदाहरणीय नै थियो । सार्कको समयमा काठमाडौंको राजनीतिक चार्म नै अर्कै भएको थियो । सार्कको राजधानी कै हैसियत देखिएको थियो । 

मोदीको पहिलो भ्रमण अघि नेपाल भारत संयुक्त आयोग (विदेश मन्त्री स्तरीय) बैठक हुँदा नै राय खुशी देखिन्थे र भन्थे, ‘अव नेपाल र भारतका दुई पक्षीय धेरै काम अघि बढ्ने छन् ।’ हु्नपनि केही कामहरु त्यही आधारमा अहिले अघि बढेका छन् । दुई पक्षीय बैठक लगत्तै मोदीको नेपाल भ्रमण भएको थियो ।

त्यसपछि सार्क सम्मेलन र सार्कको पाँच महिना पछि नेपालमा गएको विनाशकारी महाभुकम्पमा भारतले देखाएको सहयोगी भावको पुन: मुल्याँकन भयो । साँच्चै मोदीले नेपालप्रति राख्ने सदभाव त्यो समयमा देखिएको थियो । नेपालीलाई कुनै पनि खालको कमी हुन नदिन भारतीय जनतादेखि सरकारसम्मले गरेको सहयोग उदाहरणीय नै थियो । तर, त्यही सद्भाव पनि लामो समय जान सकेन ।  

फरक परिवेसमा राजदूत भएर आएका राय

राय नेपालमा राजदुत भएर आउँदाको समयमा यहा अर्कै खालको परिवेश थियो । त्यतिबेला सर्वोच्च अदालतका प्रधान न्यायाधीशले न्यायलयको जिम्मेवारी थाती राखेर काज कालिन सरकार चलाइरहेका थिए । त्यो अवसर राजनीतिक दलहरुले जुटाईदिएको थियो । तत्कालिन प्रधानन्यायधिश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्व गरिरहेका थिए । तर, उनी प्रधानन्याधिशको पद छोडेका थिएनन । अर्कालाई कार्यभार दिएर सरकारको नेतृत्व गरेका थिए ।

राय आएको केही महिनामा नै नेपालमा दोस्रो पटक संविधान सभाको निर्वाचन सम्पन्न भयो । २०७० मंसिर ४ मा सम्पन्न संविधान सभाको निर्वाचनलाई उनले नजिकबाट नियाले । बनेका सरकार, अनि त्यसका लागि भएका खेलका उनी प्रत्यक्षदर्शीमात्र पक्कै रहेनन् । कतिमा साक्षी बसे होलान्, कतिमा पक्कै भूमिका निर्वाह गरे । महिला राष्ट्रपति, महिला सभामुख र चार फरक कार्यकारी नेतृत्वसंग उनले काम गरे । 

रेग्मी निर्वाचनपछि कोइराला, संविधान जारीपछि केपी ओली र अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारसंग काम गरेर कूटनीतिक करिअरकै सबै भन्दा बढि अनुभव बटुलेर रिटार्यड जीवन विताउन फर्केका छन् । निर्वाचनबाट कांग्रेस मुलुकको ठूलो दल बन्यो भने तत्कालिन ठूलो दल माओवादी तेस्रोमा पु्ग्यो । ठूलो दलको अध्यक्ष नै दुई स्थानबाट निर्वाचन नउठेको भए जनताबाट बाहिरिएको अवस्था उनले देखे ।

जब २०७२ असोज ३ मा सरकारले संविधान जारी गर्‍यो त्यो समयमा भारतीयको कुरा तीन दलले सुन्न चाहेन र नेपाल भारत सम्वन्ध तिक्ततामा पुग्यो । यतिसम्मको तिक्तता आयो की भारतले चौथोपटक नेपालमा पाँच महिना लामो नाकाबन्दी नै लगायो । 

अविवाहित राय शालिन ब्यक्तित्व र नरम प्रस्तुतिमा रहन्थे । संविधान जारीको समयमा मोदीका विशेष दूतको रुपमा आएका जयशंकरको ब्यवहार लगत्तै नेपालतर्फ भएको नाकाबन्दीको समयमा राजदूतले हैरानी खेपे । त्यो समयमा उनी आधा दर्जन पटक दिल्ली काठमाडौं गरे । त्यो पाँच महिना कहिल्यै विर्सन नसक्ने अवस्था भारतीयबाट सिर्जना भयो । त्यसमा सारथी बने मधेसका केही दल र पात्र ।

नाकाबाट अत्यावश्यक सामाग्री समेत भित्रिएन । सीमा अबरोध रहेको भन्दै भारतले पठाएन यद्यपी त्यो अघोषित नाकाबन्दी नै थियो । महाभुकम्पबाट थिलो थिलो भएका नेपालीमाथिको त्यो नाकाबन्दी अमानवीय थियो । इन्धन अभावले नेपालीको न त  चुल्हो बल्यो, नत गाडी गुड्यो । आयातित खानेकुरादेखि औषधिसम्मको अभाव भयो । अन्तराष्ट्रिय समुदायले मानवीय संकट पर्न लागेको भन्दै विज्ञप्ती जारी गरे । विश्वभर भारतविरुद्ध नेपाली जनता विरोधमा उत्रे । मोदीको भ्रमण भएका देशमा नै कालो झण्डा देखाउने र चर्का नारावाजी गर्ने काम विश्वभर छरिएका नेपालीले गर्दै भारतलाई दवाव दिए । नेपाली युवा जमातमा भारत विरोधी भावना बढ्यो ।

भारतीय राजदूत रायले नाकाबन्दी नभएको भन्दै सीमा अवरोधले समस्या पारेको भनेर झुट बोल्न पर्ने अवस्था आयो । त्यो अवस्था विर्सन सक्दा उनको कार्यकाल सुखद नै हो । त्यो समयमा पनि उनले निर्वाह गरेको भुमिका विवादस्पद थिएन । उनले अनौपचारिक रुपमा दुख ब्यक्त गर्दै सुधार हुने र पुर्ववत अवस्थामा फर्कने बताउदै आए । कोइरालाकै समयमा आरम्भ भएको नाकाबन्दीले ओली प्रधानमन्त्री हुँदा पनि निरन्तरता पायो । ओलीले भारत भ्रमण गरे लगत्तै चीनको भ्रमण गरे र पारबाहन सम्झौता चीनसंग गर्दै उनी ‘राष्ट्रबादी’ नेताको रुपमा दरिए । सधै भारतसंग नजिक देखिएका ओली एकाएक भारतको विरुद्ध देखिए । 

अघोषित नाकाबन्दीपछि ल्याएको तिक्त सम्वन्धलाई सुमधुर बनाउन नेपालीको मित्रको रुपमा रहेका भारतीय ‘दा’ राष्ट्रपति प्रणव मुखर्जीले पनि नेपाल भ्रमण गरे । उनको भ्रमणले केही राजनीतिक तिक्ततालाई सम्वोधन भयो । रायको समयमा तीनै सरकार प्रमुखले भारतको भ्रमण गरे । कोइरालको भ्रमण भने दुईपक्षीय नभै मोदीको सपथग्रहण कार्यक्रममा सहभागिताको लागि थियो । कोइरालको दुई पक्षीय भारत भ्रमण नै नभै कार्यकाल सकियो । भारतीय राष्ट्रपतिले २०७३ कात्तिकमा भ्रमण गरे । तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७२ फगुनमा ६ दिन  र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ अन्तिममा तीन दिन भारत भ्रमण गरे । जे जस्तो कारण र फ्याक्टरबाट भारतबाट नेपालतर्फ उच्च स्तरका भ्रमणहरु भएपनि उनको कार्यकाल रहेकैले जस उनैलाई जान्छ ।

 

उनको कार्यकालमा नेपाल बुझेका र संवादमा निकै ‘कुल’ रहने नियोग उपप्रमुख विनय कुमारको पनि साथ र सहयोग उत्तिकै देखिन्छ । नेपालको सीमा नजिकैका विनय बुधबारदेखि कार्यबाहक राजदूत छन् । उनी नेपालको परिवेश बुझेका र नेपालबारे अध्ययन गरेको परिवारका ब्यक्ति हुन । दुईपक्षीय बहुपक्षीय मामिलामा लेख्ने कारण राजदूत र उपप्रमुखसंगको भेटवार्ता सम्झदा उनी आफैमा नेपालप्रति नकारात्मक भने पाइदैन । तर, नेपालमा हुने उतारचढावमा पछिल्लो समय भारतीय गुप्चर संगठन रिसर्च एण्ड एनालाईसि विङ (रअ) र भारतीय जनता पार्टी (विजेपी) को राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) बीचको द्वन्द्वको प्रतिविम्बा देखिन्छ । यस द्वन्द्वको चपेटाबाट पक्कै राजदूत पनि बाहिर रहेनन् होला । 

तर, उनी फर्कंदा खुशी देखिएका छन्। उनले नेपाल सम्वन्धी कुनै न कुनै खाले थिंक ट्यांकमा रहेर निरन्तर सहकार्यमा रहनेछन् । जानुअघि उनले नेपाल–भारतबीचमा बिगतमा भएका सहमति/समझदारी कार्यन्वयन गर्न र अघि बढाउन पाएकोमा खुशी ब्यक्त गरेका थिए । प्रधानमन्त्री दाहालको दिल्ली भ्रमणमा भएका सहमति अनुसार विकाससम्बन्धी काम गर्न संयुक्त संयन्त्र चालू गर्न, हुलाकी राजमार्ग निर्माण गर्न, अरुण तेस्रो निर्माणदेखि पंचेश्वर आयोजनाको डीपीआर तयार गर्ने काम अघि बढेकोमा उनी खुशी देखिन्छन् ।

‘नेपाल–भारत यति निकट छकी बेलाबेलामा उतार–चढाव आउछ नै । यही उतार–चढावले नै सम्बन्धमा थप निखार ल्याउछ । अब नेपाल–भारत सम्बन्ध नयाँ युगमा प्रवेश  गरेको छ,’उनले भने, ‘केही तीतामीठा घटनाहरु भएपनि आफ्नै कार्यकालमा विकाससम्बन्धी उल्लेखनीय उपलब्धीहरु देखा परेकोमा मैले आफ्नो कार्यकाल सुखद मुल्यांकन गरेको छु ।’ उनले यसो भन्दा दलहरुबीचमा द्वन्द्व बढाएर राजनीतिक नेतृत्वकाट कर्मचारी स्तरमा सम्वन्धालाई ओरालो लगाउन भूमिका निर्वाह गरेको आरोप भने उनी माथि छ । 

 

नेपालको राजनीतिमा भारतको हात रहेको भन्नुलाई उनले गलत भन्दै त्यसमा नेपाली पक्षको कमजोरीको समिक्षा गर्न भुल्न नहुने बताएका छन् । नेपालको प्राय: सबै जिल्लामा पुगेका उनले जनस्तरमा भारतप्रति नकारात्मक भावना नभएको दावी गर्दै आएका छन् । राजनीतिक तहमा स्थिर सम्बन्ध भएमा नेपालको विकास टाढा नभएको निश्कर्ष निकालेका छन् ।  जाँदाजादै उनले जारी संविधान हरेक नेपालीको ‘मेरो संविधान’ बन्ने आशा गर्दै निर्वाचनको सफलताको शुभकानमा दिएका छन् । 

प्रकाशित: फाल्गुन १८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार