खेलकुद

इटहरी गोल्डकप शनिबारदेखि

- कान्तिपुर संवाददाता , इटहरी

फाल्गुन १८, २०७३- प्रत्येक वर्ष राष्ट्रिय जागृती क्लबले आयोजना गर्दै आएको अन्तर्राष्ट्र्रिय आमन्त्रण इटहरी गोल्डकपको ११औं संस्करण शनिबारबाट सुरु हुने भएको छ । २०६२ सालसम्म दानबहादुर स्मृति गोल्डकपको नाममा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले त्यसपछि इटहरी गोल्डकपको नाममा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
 
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो पटक ८ वटा टिमले प्रतियोगितामा भाग लिनेछन् । हिमालन शेर्पा, चर्च व्वाइज, मोरङ-११, व्वाइज युनियन, झापा-११, सुनसरी-११, कञ्चनजंघा स्पोर्टिङ क्लब भारत र आयोजक राजा क्लब मैदानमा उत्रदैछन् । व्यस्त तालिकाको कारण यो पटक विभागीय टिमको चाजो मिल्न नसकेको आयोजकले बताए ।
यो पटक प्रथम पुरस्कारको राशि दुई लाख बनाइएको छ । अघिल्लो वर्ष १ लाख ११ हजार मात्र थियो । दोस्रो पुरस्कार एक लाख नगद रहेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ३२ इन्जको टिभी, म्यान अफ दी म्याचलाई ५ हजार नगद र इटहरीका उदयमान खेलाडीलाई २४ इन्चको एलइडी टिभी प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई यो वर्ष १० हजार नगद दिइने छ । पुरस्कार राशि गत वर्षभन्दा दोब्बर गरिएको छ भने टेलिभिजनको साइज पनि यो पटक बढाइएको क्लबका कार्यवहाक सभापति सन्तकुमार डुम्जनले बताए । यो पटक २४ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने खेल सधैंझै जनता प्राविको खेल मैदानमा हुने छ ।

प्रकाशित: फाल्गुन १८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार