मनोरञ्जन

‘भाग्यले बाँचेकाहरू’ लाई अर्को अवार्ड

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन १५, २०७३- भूकम्पमा पुनर्जीवन पाएकाहरूको कथाव्यथा समेटिएको डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ ले फेरि अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । 

भारत पटनामा सम्पन्न बोधिसत्व अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यो डकुमेन्ट्रीले ८० हजार रुपैयाँसहित ‘बोधिसत्व सिल्भर अवार्ड’ जितेको हो । बिहीबार राति आयोजित अवार्ड समारोहमा फेस्टिभलको जुरी अध्यक्ष गोविन्द निहालनीले निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई अवार्डसहित नगद हस्तान्तरण गरे । फेस्टिभलमा संसारभरका ७ सय ३० वटा डकुमेन्ट्रीमध्ये प्रतिस्पर्धाका लागि ९ वटा डकुमेन्ट्री छानिएका थिए । त्यसमध्ये ‘भाग्यले बाँचेकाहरू’ ले दोस्रो स्थान हासिल गरेको हो । 

यो डकुमेन्ट्रीले गत महिना मात्रै भारतकै राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट निर्देशक अवार्ड’ जितेको थियो । नेपालको महाभूकम्पमा परी चामत्कारिक रूपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ ले एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ भने ३२ वटा भन्दा बढी देशमा प्रदर्शनका लागि छनोट भएको छ । निरन्तरको अवार्ड यात्राबाट सिंगो डकुमेन्ट्री टिम खुसी भएको निर्देशक पाण्डेले नेपाल फर्केपछि प्रतिक्रिया दिए ।

प्रकाशित: फाल्गुन १५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार